logo

bar

खान जान्दैनन् नेपाली, रोगीहरुको देश बन्दै छ नेपाल

सरला कट्टेल काठमाडाै‌‌ | मङि्सर १६, २०७४

नेपाली पुरातन खानपिन संस्कृतिका केही असल र केही खराब पक्ष छन् । शरीरलाई बिहान धेरै र बेलुका थोरै क्यालोरी चाहिन्छ । तर, त्यसको ठीक उल्टो हामी नेपाली बिहान थोरै र बेलुका धेरै खाना खान्छौँ, जुन शरीरका लागि घातक हो । भात मात्र धेरै खाने, मदिरा पिउने गलत तरिका तथा जंकफुडको आकर्षणले नेपालीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गइरहेको छ । खानपिन संस्कृति नसुधार्ने हो भने सिंगो देश नै रोगीहरूले भरिने खतरा छ । नेपालीको खानपिन संस्कृतिबारे सरला कट्टेलको रिपोर्ट :

आधुनिक जीवनशैली र खराब खानपिन संस्कृतिका कारण नेपालीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गएको छ । खानेशैली अव्यवस्थित र अस्वस्थ हुँदा युवा अवस्थामै धेरैजना गम्भीर रोगी बनिरहेका छन् । एकतर्फ नेपालीको पुरातन खाने संस्कृति नै फरक छ अर्काेतर्फ धेरै नेपाली आफ्नो मौलिक खानेशैलीलाई परिमार्जित गर्दै सहरिया खानेकुरा र शैलीमा रमाइरहेका छन् । जसकारण स्वास्थ्य बिग्रँदै गइराखेको छ । आधुनिक जीवनशैली अपनाउने लहलहैमा अहिले धेरै नेपाली स्वस्थकर तथा पोषिला खाद्यपदार्थको साटो बजारिया खाद्यपदार्थको स्वादमा रमाइरहेका छन् ।

बिग्रेको बानी
नेपालीमा एउटा उखान प्रचलित छ, ‘बिहान सम्राट्ले जस्तो खाने, दिउँसो साथीसँग बाँडेर खाने र रातिको खाना जोगीलाई दिएर खाने ।’ यो उखानजस्तै खानेशैली बनाउने हो भने धेरै रोगबाट छुटकारा पाउन सकिन्छ । तर, नेपालीको खाना खाने बानी भने यसको ठ्याक्कै उल्टो छ । बिहानको खाना थोरै, दिउँसो र रातिको खाना धेरै खाने हाम्रो बानी छ । तर, स्वास्थ्यको हिसाबले बिहानको खाना धेरै, राति र दिउँसोको खाना एकदमै थोरै खानुपर्छ । जुन खानपिन संस्कृति पश्चिमी राष्ट्रहरूमा प्रचलित छ ।

दिनभर हामी काममा व्यस्त हुन्छौँ । त्यसैले बिहान धेरै खाँदा शरीरमा इनर्जी भइरहन्छ । खाइराख्न मन लाग्दैन । बेलुका धेरै खाना खाँदा इनर्जी खर्च हुँदैन र खाना पच्दैन । शरीरमा क्यालोरी धेरै हुन्छ । जसले गर्दा मोटोपना, मधुमेह, मुटुरोगजस्ता रोग लाग्न सक्छन् । त्यस्तै खाना खाँदा पेट कसेर खाने बानी अत्यन्तै गलत छ । पेट कसेर खाँदा कि पच्दैन कि हाइक्यालोरी हुन्छ र बोसोको रूपमा जम्मा हुन्छ । यस्तो बानीका कारण डाइबेटिज, मुटुरोग, क्यान्सरका बिरामी बढेका छन् ।

मुटुरोग विशेषज्ञ डा. प्रकाराज रेग्मीका अनुसार नेपाली कार्बोहाइड्रेडयुक्त खाना र ड्राइफुडहरू धेरै खान्छन् । यो स्वास्थ्यका लागि निकै हानिकारक छ । तारेको र चिल्लो, जंकफुडजस्ता खानेकुराले पेट भर्नु स्वास्थ्यमाथिको ठूलो खेलबाड हो । डा. रेग्मी भन्छन्, ‘नेपाली खाना दाल, भात, तरकारी, अचार स्वास्थ्यका लागि राम्रो हो । यसमा हाम्रा लागि चाहिने सबै पोषण तत्व पाइन्छ ।’ तर, नेपाली ८० प्रतिशत कार्बोहाइड्रेड र २० प्रतिशत अन्य सागसब्जी खाइरहेका छन् । यसले हाम्रो स्वास्थ्य दिनानुदिन बिगार्दै लगेको छ ।

हाम्रो सबैभन्दा बिग्रेको बानी भनेको ड्राइफुड कल्चर हो । बाल्यकालदेखि जंकफुड खाने बानीले पछिल्लो समय आकस्मिक हर्टअट्याक हुनेको संख्या बढ्दै गएको डा. अरुणा उप्रेती बताउँछिन् । बिस्कुट, आलुचिप्स, चाउचाउजस्ता जंकफुड चिब्रोका लागि स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छन् ।

 

डा. उप्रेती भन्छिन्, ‘यस्ता जंकफुडमा केमिकल प्रयोग गरिएको हुन्छ, नुन, गुलियो, चिल्लो बढी हुन्छ । यसमा भिटामिन र कुनै पनि पौष्टिक तत्व हुँदैन ।’ यसरी नेपालीको खाने बानी अत्यन्तै बिगँ्रदै गएको छ । डा. उप्रेतीका अनुसार घरमा खाने खानामा कार्बोहाइड्रेड बढी खाने, बाहिर खाने खाजामा जंकफुड बढी खाने बानी स्वास्थ्यका लागि निकै घातक छ ।

भोजभतेर, बाहिरी खानामा धेरै चिल्लो, त्यो पनि बिग्रेको चिल्लो हुन्छ । यो मुटु र स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो स्वास्थ्यका लागि आवश्यक भने छ, शरीरलाई आवश्यक क्यालोरी पनि चिल्लोबाट प्राप्त हुन्छ । सामान्य अफिसमा काम गर्नेलाई १८ देखि २० हजार क्यालोरी चाहिन्छ । धेरै शारीरिक श्रम गर्नेलाई ३० हजारसम्म क्यालोरी आवश्यक हुन्छ । हामीले खाने खानाको ३० प्रतिशत क्यालोरी चिल्लोबाट आउनुपर्छ । त्यसभन्दा बढी चिल्लोबाट लियौँ भने त्यसले हानि गर्छ ।

तेललाई धुवाँ आउने गरी तताएर पकाइएका खानेकुराहरू विषाक्तजस्तै हुन्छन् । यस्तो विषाक्त तेल नसामा गएर जम्छ । यसले मुटुरोग, कलेजोमा समस्या हुनुका साथै मधुमेह, क्यान्सरजस्ता रोग लाग्छन् । यस्तो तेलबाट बनेका खाद्यपदार्थहरू खाँदा नसर्ने रोगहरू धेरै बढेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ ।

रोग बढाउँदै छ भात

खानामा पनि हामीलाई भातै चाहिन्छ । त्यो पनि राम्रो सेतो चामलको भात खान्छौँ । जिब्रोको स्वादका लागि मीठो भए पनि सेतो चामलको भात नखानु राम्रो भन्छन् चिकित्सक । सकिन्छ भने बेलुकाको खाना खस्रो चामलको खानुपर्छ । कचौरामा भात र थालमा तरकारी खाने बानी बसाल्नुपर्छ । खानाभन्दा तरकारी धेरै खानुपर्छ । भातले पेट भर्नुहुँदैन । ओभर डाइट अर्थात् धेरै खाना खाँदा विश्वमा ४ जना बालबालिकामा १ जना मोटोपनबाट पीडित छन् ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले २०१३ मा गरेको एक अनुसन्धानले १५ प्रतिशत मानिसमा मोटोपन रहेको तथ्यांक सार्वजनिक गरेको थियो । नेपालमा हेल्दी डाइट पोलेसी छैन, जसको कारण खानपिन संस्कृति बिग्रिएर नेपाली रोगको सिकार भइरहेका छन् ।

 

हामीले खाने भातको चामल पनि चिल्लो र मसिनो पोलिस गरेको हुन्छ । सेतो र चिल्लो चामलमा कार्बोहाइड्रेड एकदमै कम हुन्छ । पोलिस गरेको चामलमा फाइबर र भिटामिन हुँदैन । तर, हामीलाई हेर्दा राम्रो भए पुग्छ । त्यसले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्ला भन्ने थोरैलाई मात्र ज्ञान छ ।

डा. प्रकाशराज रेग्मी भन्छन्, ‘पोलिस नगरेको ब्राउन चामलमा फाइबर, भिटामिन र सोलेनियम भन्ने तत्व हुन्छ । त्यसले मुटुरोग र क्यान्सर हुनबाट बचाउँछ ।’ उनका अनुसार पोलिस गरेको चामलको भात खाँदा मीठो र हेर्दा राम्रो हुन्छ भनेर मानिस त्यसको प्रयोग बढाइरहेका छन् । डा. रेग्मी थप्छन्, ‘अझ भात पकाउँदा माड फालेर खाने चलन एकदमै छ । माडमा हाम्रा लागि आवश्यक मिटामिन हुन्छ ।’

चिया–संस्कृति कति उचित ?

घरदेखि कार्यालयसम्म नेपालमा अतिथिलाई चिया खुवाएर आतिथ्यता दिने चलन छ । चिया हाम्रो स्वास्थ्यका लागि राम्रो हो, तर हामी चिया पकाउने शैलीबारे अनविज्ञ छौँ । चियामा एन्टिअक्सिडेन्ट भन्ने तत्व हुन्छ । जसले मुटुरोग, क्यान्सर, कोलेस्टोरोल घटाउन मद्दत गर्छ । चियामा हुने एन्टिअक्सिडेन्टमा भिटामिन हुन्छ । चियाले नर्भ सिस्टमलाई सक्रिय बनाउन मद्दत गर्छ । गुलियोमा इनर्जी हुने भएका कारण त्यसले हामीलाई केही समय ताजा बनाउँछ ।

‘चिया उमालेर खानु गतल परम्परा हो,’ डा. रेग्मी भन्छन्, ‘चिया उमाल्दा सबै भिटामिन नष्ट हुन्छ । उम्लेको पानीमा चिया राखेर केहीबेर छोपेर खाँदा यसबाट एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । कालो चिया स्वास्थ्यका लागि राम्रो हो । चिया र दूध उमालेर खाँदा प्रोटिन र चियामा हुने एन्टिअक्सिडेन्ट तŒव नमिल्ने हुन्छ ।’

ग्रिन टी स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट धेरै हुन्छ । ग्रिन टी दिनमा ४–५ पटक खाँदा धेरै रोग लाग्नबाट बच्न सकिन्छ । दूध नहाली तरिकासँग खान जाने चियाले फाइदा गर्छ । उम्लेको पानीमा चिया राखेर केही समयपछि खानुपर्छ ।

२ कप भन्दा धेरै कफी घातक

पछिल्लो समय नेपालमा कफी पिउनेको संख्या बढ्दो छ । पहिले साथीभाइसँग कतै भेट्दा चिया खाउँ भन्ने चलन थियो, तर अहिले सहरी क्षेत्रमा कफीले ठाउँ लिँदै गएको छ । पोषणविद् उमा पोखरेलका अनुसार दैनिक २ कप कफी खाँदा हाम्रो शरीरलाई फाइदा गर्छ । कफीले शरीरको नर्भहरूलाई एक्टिभ बनाउने काम गर्छ । साथै ब्लड सर्कुलेसनमा पनि फाइदा पुग्छ ।

डा. पोखरेल भन्छिन्, ‘दैनिक २ कपभन्दा बढी कफी खाँदा शरीरमा सुक्खापन ल्याउँछ । धेरै कफी खाँँदा कफीमा हुने क्याफिन भन्ने तत्वले शरीरमा भएको पोषण तत्वलाई शोषण गर्न दिँदैन ।’

मदिरा पिउने शैली घातक

मदिरा संसारभर धेरैजसोले खान्छन् । मदिरा थोरै खाए औषधि हुन्छ, यसलाई मिलाएर नखाँदा विषयुक्त बनिदिन्छ । विभिन्न अध्ययनले देखाएअनुसार मदिराको थोरै मात्राले मुटुको धमनीको रोगबाट मुक्त हुन सकिन्छ । तर, मदिरा अन्य रोगका लागि भने घातक छ ।

डा. प्रकाशराज रेग्मीका अनुसार पुरुषका लागि ३ युनिट र महिलाका लागि १ देखि २ युनिटसम्म मदिरा खाँदा मुटुका लागि फाइदाजनक हुन्छ । १ सय एमएल वाइनको १ युनिट हुन्छ । ३० एमएल हार्ड ड्रिंक्सको १ युनिट र २२० एमएल बियरको १ युनिट हुन्छ ।

‘मदिरा खाँदा शरीरमा कुनै पनि रोग नभएका व्यक्तिले हप्ताको ५ दिन मात्र खानुपर्छ,’ डा. रेग्मी भन्छन्, ‘हप्ताको दुई दिन मदिरा खानुहुँदैन ।’ कलेजो, पाचनसम्बन्धी समस्या, मुटुको धड्कन बढ्ने, मुटु सुन्निएको अवस्था, कलेजोको समस्या साथै दीर्घरोग लागेको मानिस अथवा डाक्टरले मदिरा खान बन्देज लगाएका बिरामीले त मदिरा छुनु नै हुँदैन । मदिरा धेरै खाँदा मुटुको धड्कन बिग्रन्छ । रक्तचाप ह्वात्तै बढ्छ । मस्तिष्कघात हुन्छ । बेहोस हुने र मृत्यु हुने हुन्छ । नेपालीमा धेरै पिउने र चिल्लोपदार्थहरूसँग मदिरा खाने चलन छ, जुन गलत भएको चिकित्सकहरू बताउँछन् ।

ड्राइफुड जालोमा फस्दै

अहिलेका केटाकेटीले भोक लाग्दा आलुचिप्स, चाउचाउ या ‘एक्स्ट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरू खाइरहेका हुन्छन् । मकै–भटमाससँग चिया या मोहीजस्ता स्वास्थ्यकर खानेकुरा पछिल्लो युवा पुस्ताले बिर्सिसकेको जनस्वास्थ्यविज्ञ अरुणा उप्रेती बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो समयमा खाजामा मकै, भटमास, मोही हुन्थ्यो । खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो । बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो । अहिलेका बालबालिकाले यस्ता खानेकुरा खानै पाएका छैनन् ।’

‘मकै हाम्रो भान्सामा पाइने सस्तो, तर ऊर्जा दिने खाना हो । हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने हो र ? भनेर नाक खुम्च्याउँछन्,’ उनी थप्छिन्, ‘अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरूमा पपकर्नका रूपमा बेच्न राखिएको हुन्छ । हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई÷तीन सय रुपैयाँसम्म तिर्छन् । किनकि पपकर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरूमै देखाइन्छ ।’

के हो जंकफुड ?

जंकफुड भनेको मानिसलाई चाहिनेभन्दा बढी क्यालोरी भएका र अति आवश्यक पर्ने भिटामिनलगायतका तŒवहरू प्रायः नभएका वस्तुहरू हुन् । रेस्टुरेन्टमा पाइने सबै वस्तु जंकफुड हुन् भन्ने भ्रम धेरैलाई परेको हुन्छ, तर त्यसो होइन । रेस्टुरेन्टमा थुप्रै लाभदायक खानाहरू पनि हुन्छन् । जंकफुड हो कि होइन भन्ने छुट्याउन त्यो खाद्यवस्तु कसरी बनाइएको छ भन्नेमा भर पर्छ ।

एउटै वस्तुबाट बनाइएका परिकार पनि कुनै जंकफुड नहुन सक्छ । जस्तोः उसिनेर हल्का मसला वा क्रिममा मलेर बनाइएको आलु पोषिलो हुन्छ र यसलाई जंकफुड भन्न सकिन्न । तर, त्यही आलुलाई पटकपटक तताएर विभिन्न खाना पकाइएको तेलमा तारिएको (फ्रेन्च फ्राई) छ भने त्यसमा कुनै भिटामिन, मिनरल बाँकी रहँदैन । सबै डढिसकेको हुन्छ । योचाहिँ जंकफुड हो । त्यस्तै, फ्राइड चिकेन, केक, चिजबल, चाउचाउ आदि पनि जंकफुड नै हुन् ।

जंकफुडको असर

कुनै जंकफुडमा प्रशस्त मात्रामा चिनी मिसाइने भएकाले यस्ता खाना धेरै खाँदा मानिसलाई मधुमेह रोग हुने सम्भावना निकै बढ्छ । यसले शरीरको  तौल बढाइ सुन्दर शरीर पनि भद्दा हुने डा. प्रकाशराज रेग्मी बताउँछन् । ‘यसको धेरै प्रयोगले आलस्यता बढ्ने, फुर्ती हराउने, खुट्टाहरू दुख्ने समस्या हुन्छ,’ उनी भन्छन्, ‘साथै तौल बढेपछि रक्तचाप हुने, मुटु, मस्तिष्क, मिर्गौलामा पनि समस्या उत्पन्न हुने हुन्छ ।’

जंकफुडमा नुनको मात्रा चाहिनेभन्दा निकै बढी हुन्छ । दालमोट, चिप्सहरू, भुजिया, पापड आदिमा नुनको मात्रा हामीले दैनिक रूपमा घरमा खाने खानाको भन्दा निकै बढी हुन्छ । त्यसकारण जंकफुड खाने बानी गर्दा शरीरमा नुनको मात्रा चाहिनेभन्दा धेरै नै बढी हुन जान्छ । यसले उच्च रक्तचाप वृद्धि हुन्छ । रक्तचाप वृद्धि भएपछि यसले मुटुलाई असर गर्छ ।

किशोरावस्थामा शरीरमा अनेक किसिमका हर्मोनसम्बन्धी परिवर्तन हुन्छन् । यसलाई सन्तुलन गर्न सन्तुलित आहारको जरुरत पर्छ । तर, बारम्बार जंकफुड खाने गर्नाले यसका लागि आवश्यक पौष्टिक तत्व पुग्दैन । जसले गर्दा किशोरकिशोरीमा बानी–व्यहोरा परिवर्तन हुने, चिडचिडाहट हुने, मन उदास हुने, डिप्रेसन हुनेलगायतका विभिन्न मानसिक समस्या उत्पन्न हुन्छ । मानसिक समस्याले कुनै न कुनै रूपमा मुटु र मस्तिष्कलाई पनि असर पु¥याउँछ ।

जंकफुड धेरै खाने गर्दा कुपोषणको समस्या पनि हुने गरेको पाइएको छ । यस्ता खाना खाने बानी परेपछि घरमा बनाइएका अरू खाना खान मन नलाग्ने हुन्छ । कतिपय बालबालिकालाई त यसको लत नै लागेको हुन्छ । यस्ता वस्तुमा पोषणको मात्रा ज्यादै नै न्यून हुने भएकाले जंकफुड धेरै खाने बानी परेका बालबालिकालाई कुपोषणको समस्या हुने गरेको डा. उमा पोखरेलको भनाइ छ । उनी भन्छिन्, ‘जंकफुडको बढी सेवनले कुपोषण भई विभिन्न रोगले आक्रमण गर्ने हुन्छ । जंकफुडमा पोषण हुँदैन, तर क्यालोरी बढी मात्रामा हुने भएकाले बालबालिका सानै उमेरदेखि मोटाउन थाल्छन् ।’ यो मोटोपन भविष्यमा विभिन्न रोगको कारक बन्न पुग्छ ।

जंकफुड हटाउने अभियान असफल

केही वर्षअघि सरकारले चाउचाउ, चिप्सजस्ता जंकफुडलाई स्कुलमा लान तथा बेचबिखन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसलाई सचेत उपभोक्ताले सकारात्मक रूपमा लिएर तारिफ नै गरेका थिए । तर, कार्यान्वयन तथा अनुगमन गर्ने जिम्मा पाएकाहरूले यसलाई लागू गर्ने तत्परता देखाएनन् ।

प्रतिबन्ध लगाउने निर्णय भएको खबर आएलगत्तै चाउचाउ, चिप्स, चिजबललगायतका सरोकारवाला उत्पादकले उक्त निर्णय कार्यान्वयन नगर्न दबाब दिए । उनीहरूले निर्णयको प्रतिरोध गर्दै स्कुलका विद्यार्थीले चाउचाउ नखाए व्यापार नै डुब्ने भएकाले निर्णय कार्यान्वयन नगर्न विविध हतकण्डा अपनाए ।

उनीहरूले चाउचाउ, चिप्स, चिजबलजस्ता वस्तु ‘अस्वस्थकर खाना होइनन्’ भन्ने तर्क दिए । तर, उनीहरूको भनाइमा यी खानाहरू स्वस्थकर छन् र बालबालिकालाई लाभ पुग्छ भन्ने तर्क पनि थिएन । यति हुँदाहुँदै पनि अविभावक, उपभोक्तावादी संस्था आदिले सरकारको पहिले गरेको निर्णय उचित छ र यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने दबाब पनि कतैबाट आएको पाइएन ।

पेयपदार्थको प्रयोग कति ठीक ?

गर्मी र तिर्खा लागेका वेला यस्तै पेयपदार्थहरू पिउनु उपयुक्त हुन्छ भन्ने विज्ञापनका सन्देशहरूले गर्दा आधुनिक जीवनशैली अपनाउनेहरू बढिरहेका छन् । पानी र अन्य स्थानीय पेयपदार्थ जस्तोः मोही, कागती पानी, फलफूलका जुस पिउन नै बिर्सेका छन् । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने विभिन्न चिसा पेयको विज्ञापनले हामीलाई झेली गरिरहेको छ ।

डा. अरुणा उप्रेती भन्छिन्, ‘यस्ता वस्तुहरूको प्रवद्र्धन तथा बिक्रीले राज्यलाई केही न केही कर त अवश्य नै प्राप्त भएको होला, तर नागरिकको स्वास्थ्यमा कति असर गरिरहेको छ, यसले राष्ट्रिय उत्पादनमा कति क्षति पु¥याइरहेको छ भन्ने लेखाजोखा गरी सार्वजनिक गर्न आवश्यक छ ।’ यस्ता पेय वस्तुहरूको उपभोग गरेका कारण स्वास्थ्यमा असर पुगेका मानिसको उपचारमा राज्यले कति रकम व्यहोर्नु परिरहेको छ भन्नेबारेमा पनि अध्ययन गर्ने वेला भइसकेको छ । कतिपय मानिसले दूध, दहीजस्ता पोषिला पेयपदार्थ बेचेर बजारिया पेयपदार्थ प्रयोग गरिरहेको देखिन्छ ।

अति गुलिया र रसायन मिसिएका यस्ता पदार्थका कारण भविष्यमा उपभोक्ताको दाँत, पेट, हाड, जोर्नीलगायत शरीरका अन्य अंगहरूमा कति किसिमका रोगले घर बनाउँछ भन्ने हेक्का कसैमा छैन । बजारमा पाइने कलर मिसाइएका विभिन्न पेयहरूले मोटोपनलगायत अनेक किसिमका रोगहरू सिर्जना गरिरहेका छन् ।

यस्ता चिसो पेयमा चिनीको मात्र अति नै बढी हुन्छ । ‘यस्ता झोलबाट प्राप्त हुने थप चिनी र यसमा हुने अन्य तत्वहरू आवश्यक नपर्ने मात्र होइनन् कि यी पदार्थहरू भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन्,’ डा. उप्रेती भन्छिन्, ‘ती तŒवहरूले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने र क्यान्सरजस्ता रोगहरू लगाउन सक्छन् । त्यसैले यस्ता चिसो पेयको सेवन गर्दा फाइदा केही देखिन्न ।’

कोल्ड ड्रिंक्समा चिनी र फलफूलको बास्ना

चिनी राखिएको पेय भन्नाले सोडा मात्र होइन, चिनी राखेर गुलियो बनाइएका जुसहरू पनि पर्छन् । सामान्यतया बजारमा पाइने फ्रुट जुसहरूमा फलफूलको रस नभई चिनीको झोल र फलफूलको बास्ना मात्र राखिएको हुन्छ ।

चिनीयुक्त सोडा तथा कोल्ड ड्रिंक्सहरू चिनी मिसाएर बनाइएका फ्रुट जुस, इनर्जी ड्रिंक्स, गुलिया चियाहरू तथा अन्य चिनीयुक्त ड्रिंक्सहरू सकेसम्म नखान डाक्टरहरू सुझाब दिन्छन् । ३५० मिलिलिटर सोडा वा कोल्डड्रिंक्समा करिब १५० क्यालोरी र ४० ग्राम कार्बोहाइड्रेट हुन्छ । यो भनेको १० चिया चम्चा चिनीको कार्बोहाइड्रेडबराबर हो । एक कप चिनीयुक्त फ्रुट जुसमा करिब १०० क्यालोरीभन्दा बढी र ३० ग्राम जति कार्बोहाइड्रेट हुन्छ ।

यसले रगतमा ग्लुकोजको मात्रा बढाउनुका साथै शरीरमा क्यालोरीको मात्रा पनि बढाउँछन् र मुटुरोग र डायबिटजको सम्भावना बढाउँछन् । सन् १९६९ मा जाम्बियामा एउटा ठूलै घटना भयो । त्यहाँका थुप्रै आमाले स्तनपानभन्दा कोल्डड्रिंक्स उत्तम हो भन्ने ठानेर आफ्ना बालबच्चालाई बजारका प्रचलित कोल्डड्रिंक्सहरू खुवाए । यसरी आमाको दूधको सट्टा कोल्डड्रिंक्स खाने धेरै बालबच्चा कुपोषणका कारण अस्पताल भर्ना हुन पुगे । जसमध्ये ५४ प्रतिशत बालबच्चालाई गुलियो पारिएका चिसो पेयपदार्थ खुवाइएको पत्ता लागेको थियो । त्यसरी कुपोषित भएका बच्चालाई ‘फान्टा बेबी’ नामाकरण गरिएको थियो ।

कस्ता खाना खाने ?

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीका अनुसार खाना छान्दा हामीले सर्वप्रथम सन्तुलित आहार नै छान्नुपर्छ । मानिसलाई चिल्लो, गुलियो, नुनिलो वस्तु पनि आवश्यक पर्छ । तर, हाम्रो शरीरलाई खनिज, भिटामिन, प्रोटिन, फाइबरलगायत अन्य विभिन्न तत्वको पनि जरुरत पर्छ । खानामा यस्ता तत्त पनि सन्तुलित रूपमा समावेश भएको हुनुपर्छ । तर, चिल्लो, गुलियो र नुन चाहिनेभन्दा बढी र भिटामिन, प्रोटिन, खनिज, फाइबरजस्ता महत्वपूर्ण तत्व नाम मात्रको भएमा हामी रोगी बन्छौँ ।

 

 

 

‘हामीले हाम्रो स्वास्थ्य त्यसमा पनि मुटुलाई स्वस्थ राख्नका लागि जंकफुड होइन, अरू खानालाई छान्नु नै बुद्धिमानी हुन्छ,’ डा. उप्रेती भन्छिन् । जंकफुडको प्रचलन हुनुअघि मानिसले पेयपदार्थका रूपमा पानी, दूध, दही, मोही, लस्सी, ताजा जुस, कागती पानी प्रयोग गरी भिटामिन, खनिज, प्रोटिन आदि प्राप्त गरिरहेका थिए । खाजाको रूपमा गहुँ, कोदो, फापर, मकैको रोटी, गहुँ, चिउरा, भटमास, चना, केराउ, बोडीको परिकार, हरियो मकै, हरियो तरकारीका परिकार, आलु, सखरखण्ड, काँक्रो, गाँजर, मूला, मेवा, केरा आदि जस्ता स्वास्थ्यबद्र्धक खाद्यवस्तुहरू प्रयोग गर्ने गरेका थिए । तर, आज यस्ता खाद्यवस्तुको प्रयोग ज्यादै न्यून भएर गइसकेको छ ।

जंकफुडको सट्टा यस्तै खाद्यवस्तुको प्रयोग बढाउन आवश्यक छ । यस्ता खाद्यवस्तुको प्रयोग अहिले पनि केही मात्रामा भएको छ । तर, यसको प्रयोग गर्दा तेलमा तारेर, भुटेर, ज्यादा मसला, नुन, चिनी प्रयोग गरेर खाने गरिन्छ, जसले गर्दा यसमा भएको पोषक तत्व नष्ट हुन्छ ।

शरीरलाई हानि पु¥याउने तत्वको मात्रा भने बढ्न जान्छ । त्यसकारण परम्परागत खाद्यवस्तुहरूको प्रयोग गर्दा पनि सही तरिकाले पकाउन आवश्यक छ । फलफूल र हरियो तरकारी खानामा दैनिक समावेश गर्न बिर्सनुहुन्न । खानपिनको बारेमा स्कुलतहदेखि नै सजग गराएर यसलाई सुधार्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया