logo

bar

थप दुई आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान

अच्युत पुरी काठमाडाैँ | मङि्सर १६, २०७४

चालू आर्थिक वर्ष ०७४/७५ भित्र नेपालका थप दुई आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान–अवतरण सुविधा थपिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चालू आवभित्र पश्चिम नेपालको धनगढी र पूर्वी नेपालको चन्द्रगढी विमानस्थल रात्रिकालीन उडान–अवतरणयोग्य बन्नेछन् । धनगढी विमानस्थल कैलाली जिल्लामा अवस्थित छ भने चन्द्रगढी झापामा छ । प्राधिकरणले चालू आवको बजेट तथा कार्यक्रममा यी दुई विमानस्थलमा आवश्यक प्राविधिक पूर्वाधारसहित स्तरोन्नति गरी रात्रिकालीन उडान–अवतरणयोग्य बनाउने योजना समेटेको छ ।

तराईका ठूला विमानस्थलमा रात्रिकालीन सेवा

यी दुई विमानस्थलमा रात्रिकालीन उडान–अवतरण सेवा थप भएपछि तराई क्षेत्रका ठूला विमानस्थलमा रात्रिकालीन सेवा विस्तार हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार अहिले त्रिभुवन विमानस्थलसहित नेपालगन्ज, भैरहवा, सिमरा र विराटनगर गरी ५ विमानस्थलमा मात्र रात्रिकालीन उडान–अवतरणको सुविधा छ । सिमराबाहेक यी सबै विमानस्थल एटिआर७२ मोडलसम्मका ठूला जहाज उडान–अवतरण गर्न सक्ने क्षमताका हुन् ।

रात्रिकालीन उडान/सुविधाको फाइदा के ?

नेपालसँग काठमाडौंमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । यस विमानस्थलबाट आन्तरिक र बाह्य दुवै उडान भइरहेको छ । साँघुरो संरचना तथा अधिक क्षमतामा सञ्चालन गर्नुपर्दा विमानस्थल व्यवस्थापन चुनौतीपूर्ण रहेको विमानस्थल व्यवस्थापनले बताउँदै आएको छ । यस स्थितिमा आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान–अवतरण गर्न सम्भव भए दिउँसोको समयमा एकैपटक आन्तरिक र बाह्य उडान गर्दा हुने चाप घटाउन सकिने अधिकारीहरू बताउँछन् । विमानस्थल व्यवस्थापनले ‘स्लट म्यानेजमेन्ट (उडान–अवतरणका लागि वायुसेवा कम्पनीलाई दिइने समय)’ सही तरिकाले गर्न नसक्दा उडान ढिला हुने र ट्राफिक जामका कारण आकाशमा जहाज होल्ड गर्नुपर्र्ने समस्या बढेको वायुसेवा कम्पनीले गर्दै आएका छन् ।

तराईका सबै विमानस्थलमा एटिआर७२ उड्न सक्ने

प्राधिकरणले तराई–मधेसमा अवस्थित सबै विमानस्थललाई ७२ सिट क्षमताको ‘एटिआर७२’ या सोसरहका जहाज उड्न सक्ने गरी विस्तारको योजना बजेट तथा कार्यक्रममा समेटेको छ । यस क्षेत्रका चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलमा ठूला जहाज उडाउन सकिने गरी आवश्यक भौतिक पूर्वाधार निर्माण तथा जग्गा अधिग्रहण गर्ने योजना छ । यसक्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार पूर्वाधार निर्माण गरिने प्राधिकरणले उल्लेख गरेको छ ।

पछिल्लो समय नेपालमा वायुसेवा कम्पनीहरू ठूला जहाज भिœयाएर तराई–मधेस क्षेत्रमा उडान विस्तारको प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, श्री एयरलाइन्स, यती एयर, सौर्य एयरले ठूला जहाज उडाइरहेका छन् ।

प्राधिकरणको बजेट साढे ४३ अर्ब

– आर्थिक वर्ष सुरु भएको ४ महिनापछि यसै साता पारित प्राधिकरणको बजेट साढे ४३ अर्ब पुगेको छ । चालू आवमा प्राधिकरणको आयतर्फ ४३ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ रहने अनुमान गरिएको छ । व्ययतर्फ ४३ अर्ब ५९ करोड ६९ लाख रुपैयाँ रहने अनुमान गरेको प्राधिकरणले यस आवमा ६ करोड ८८ लाख खुद बचत गर्ने लक्ष्य सार्वजनिक गरेको छ । प्राधिकरणको मुख्य आम्दानी ऋण–सेयर तथा अनुदानका रूपमा हुने गर्छ । प्राधिकरणलाई नेपाल सरकारले नै यो रकम ऋण–सेयर तथा अनुदानका रूपमा उपलब्ध गराउँछ ।

– यसबाहेक देशभरका विमानस्थलहरूबाट हुने आम्दानी, त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने यात्रुबाट उठाइने विमानस्थल विकास शुल्कजस्ता शीर्षकमा पनि प्राधिकरणले आम्दानी गर्दै आएको छ । आम्दानीमध्ये पुँजीगत खर्च ३२ अर्ब ६५ करोड १३ लाख र कार्य सञ्चालन खर्च ३ अर्ब ५३ करोड १५ लाख हुने प्राधिकरणले उल्लेख गरेको छ । यसबाहेक सावाँ–ब्याज भुक्तानी, कर्मचारीलाई बोनस, मूल्य अभिवृद्धि कर, लाभांश, आयकरजस्ता शीर्षकको भुक्तानीमा खर्च हुने बजेट तथा कार्यक्रममा उल्लेख छ ।

रात्रिकालीन उडान–अवतरण सेवा उपलब्ध विमानस्थल

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
– नेपालगन्ज
– भैरहवा
– सिमरा
– विराटनगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु