logo

bar

अतिवादीद्वारा पाकिस्तानको पेसावर कलेजमा आक्रमण : नौको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी इस्लामाबाद | मङि्सर १६, २०७४

पाकिस्तानको पेसावर सहरको एउटा क्याम्पसमा अतिवादीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा नौजनाको मृत्यु भएको छ । पेसावर कृषि तालिम केन्द्रमा शुक्रबार भएको हमलामा नौजनाको मृत्यु भएको हो । आक्रमणमा ३६ जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या घट्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा आठजना विद्यार्थी र एक कर्मचारी रहेका छन् ।

बुर्काको भेषमा हमला

बुर्का लगाएर रिक्सामा आएको अतिवादी समूहले कलेजमा प्रवेश गरेर अन्धाधुन्ध गोली प्रहार गरेको थियो । सेनाको जवाफी कारबाहीमा तीनजना अतिवादी मारिएका छन् । मुस्लिमहरूको इद इ मिलाद पर्वको अवसरमा सो क्याम्पस बन्द थियो । आक्रमणकारीले क्यापस क्षेत्रभित्र प्रवेश गरेपछि बमसमेत विस्फोट गराएका थिए । आक्रमणपछि प्रहरी र सेनाले आक्रमणस्थललाई घेरा हालेको थियो ।

ठूलो मानवीय क्षति ट¥यो

बिदाको समयमा अधिकांश विद्यार्थी घर गएकाले ठूलो मानवीय क्षति टरेको अधिकारीहरूले बताएका छन् । अतिवादीले आक्रमण गर्दा क्याम्पसमा एक सय २० विद्यार्थी रहेको सो आक्रमणका घाइते अटेसन उल हकले बताए । टाउकोमा बुर्का लगाएका आक्रमणकारी क्याम्पसभित्र प्रवेश गरेपछि अन्धाधुन्ध हमला गरेको उनले बताए ।

आक्रमणपछि क्याम्पसमा कोलाहल मच्चिएको थियो । केही विद्यार्थी भागेका थिए । भागेका विद्यार्थीलाई अतिवादीले ताकेर गोली प्रहार गरेका थिए । आक्रमणको समयमा विद्यार्थी होस्टेलमा सुतिरहेका थिए । ‘हामीले निद्रामा नै गोली बर्सिएको आवाज सुन्यौँ । एक सेकेन्डभित्रै विद्यार्थीको भागदौड र कोलाहल मच्चिएको थियो,’ अर्का घाइते विद्यार्थीले भने ।

बारम्बार हिंसाको केन्द्र

अफगानिस्तानको सीमा रहेको पेसावर सहर बारम्बार अतिवादीको निसानामा पर्ने गरेको छ । यसअघि पनि पेसावरमा अतिवादीले डरलाग्दा हिंसा मच्चाएका थिए । सन् २०१४ मा तालिवान लडाकुले सेनाले सञ्चालन गरेको एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा छात्रछात्रासहित एक सय ४१ जनाको मृत्यु भएको थियो । आफ्नो नियन्त्रणमा लिएर अतिवादीले स्कुलका कलिला बालबालिकाको हत्या गरेको थियो । सो हमलालाई पाकिस्तानको आधुनिक इतिहासकै एक कुख्यात
आक्रमण बताइन्छ ।

पाक तालिवानले लियो आक्रमणको जिम्मा

आक्रमणको जिम्मा पाकिस्तानी तालिवानहरूले लिएका छन् । शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गरी पाकिस्तान तालिवानले आक्रमणको जिम्मा लिएको हो । आगामी दिनमा पनि यस्तै बीभत्स हत्या मच्चाउने उनीहरूले चेतावनी दिएका छन् । सरकारले तालिवानविरुद्ध विशेष कारबाही चलाइरहेको दाबी गराइरहेका वेला सो हमला भएको छ । गत साता पाक सेनाले तालिवानविरुद्ध गरेको कारबाहीमा कम्तीमा १३ तालिवान मारिएका थिए । सेनाले तालिवानका बन्दोबस्तीका सामग्री र ठूलो मात्रामा हतियार बरामद गरेको थियो ।

आक्रमणको निन्दा

पाकिस्तानका राष्ट्रपति मामनुन हुसेनले आक्रमणको निन्दा गरेका छन् । विश्वविद्यालयजस्तो पवित्र स्थलमा आक्रमण गरेर अतिवादीले आफ्नो चरित्र उदांगो पारेको उनले बताए । आक्रमणका योजनाकारलाई कारबाही गरी न्यायको कठघरामा उभ्याउन पनि राष्ट्रपतिले सरकारलाई निर्देशन दिएका छन् । त्यस्तै प्रधानमन्त्री सहिद खक्कान अब्बसीले पनि आक्रमणको निन्दा गरेका छन् । सो आक्रमणमा संलग्न रहेका अन्य व्यक्तिको पनि खोजी गरी कारबाही गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन् । आक्रमणको अन्य राजनीतिक दलहरूले पनि विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया