logo

bar

भानुभक्तका तीन घुम्ती

नयाँ पत्रिका | मङि्सर १६, २०७४

मञ्चको बायाँतिर भानुभक्त र दायाँतिर घाँसीको सालिक छ । सालिकमा माल्यार्पण गर्नेको घुइँचो छ । तर, माल्यार्पण भानुको सालिकमा मात्र हुन्छ । घाँसीको सालिक उदास छ । न गलामा फूलको माला छ, न अनुहार फूलजस्तै हाँसेको छ ।

 

घाँसीको वास्तविक नाम के हो ? थर के हो ? किन पाएन घाँसीले आफ्नो पहिचान ? किन खोजिएन उसको इतिहास ? भानुभक्तलाई महान् बनाउनेहरूले किन घा“सीलाई उपेक्षा गरे ? अहिले पहिचानको राजनीति चलिरहँदा यी प्रश्न अस्वाभाविक लाग्दैनन् । तर, सजिलै जवाफ पाउन सकिने प्रश्न पनि होइनन् ।

केही दिनदेखि शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘रात चिन्र्या भानु’ मा घाँसी र घाँसीजस्तै ओझेलमा परेका ऐतिहासिक पात्रको खोजी गरिएको छ । स्वयम् भानुको पनि जीवनका महत्वपूर्ण घटनाको खोजी गरिएको छ । नाटकका लेखक तथा निर्देशक प्रभाकर न्यौपाने केही तथ्य भेटाउन पनि सफल भएका छन् । जस्तो नाटक हेरिसकेपछि कवि प्रोल्लास सिन्धुलीयले फेसबुकमा लेखे, ‘भानुभक्तको जन्मस्थलमै मैले मञ्चबाटै सोधेको थिएँ– कृपया भानुभक्तकी पत्नीको नाम बताइदिनुहुन्छ कि ! आफूलाई भानुको स्वघोषित नाति–पनाति साबित गर्न तँछाडमछाड गर्नेहरूको भीड थियो, तर कसैले जवाफ दिएनन् । त्यही भीडमा भेटेको थिएँ प्रभाकर न्यौपानेको नाट्यसमूहलाई । आज त्यही नाटकको विस्तृत रूप हेर्न पाइयो, भानुकी पत्नीको नाम पनि थाहा पाइयो ।’

आरम्भ कलाकारहरूको समूहको प्रस्तुति नाटक ‘रात चिन्र्या भानु’ रहस्यबाटै सुरु हुन्छ । मञ्चको बायाँतिर भानुभक्त र दायाँतिर घाँसीको सालिक छ । सालिकमा माल्यार्पण गर्नेको घुइँचो छ । तर, माल्यार्पण भानुको सालिकमा मात्र हुन्छ । घाँसीको सालिक उदास छ । न गलामा फूलको माला छ, न अनुहार फूलजस्तै हाँसेको छ । शुभेच्छुक भनिने पात्र मञ्चमा प्रवेश गर्छ । भानुलाई मात्र होइन, घाँसीलाई पनि माला लगाइदिन्छ । र, सुरुमै उसले भानुमाथि प्रश्न तेस्र्याउँछ कि घाँसी को हुन् ?
हो यो प्रश्न भानुलाई नै हो । भानुले बाँचेको समयका शासकलाई हो । भानुले रचना गरेको कृतिलाई हो । भानुको प्रचार गर्ने मोतिराम भट्टलाई हो । किन लुकाइयो घाँसीको परिचय ? यहीँबाट नाटक सुरु हुन्छ । तर, नाटक घाँसीको परिचय खोज्नभन्दा भानुको जीवनयात्रामा केन्द्रित हुन्छ ।
नाटकको सुरुवातमा बाल्यकालको भानुलाई देखाइएको छ । उनको शिक्षादीक्षा हजुरबुबाबाट हुन्छ । हजुरबुबासँगै भानु पढ्नका लागि काशी जान्छन् ।

त्यसपछि भानु जवान हुन्छन् । उनी पढेर गाउँ चुँदीरम्घा फर्कन्छन् । उनको पुराण वाचनशैलीले गाउँमा ठूलै चर्चा पाइसकेको हुन्छ । त्यो कुरा घाँसीसँगको भेटबाट खुल्छ । अनि घाँसीकै आग्रहमा उनले रामायणलाई नेपालीमा उल्था गर्न थाल्छन् । तर, उनलाई पण्डितहरूले त्यो नगर्न चेतावनी दिन्छन् । भानु भन्छन्, ‘धर्मका कुरा, ईश्वरका कुरा कसैका पेवा हुँदैनन्, लोकहितको काम गर्दा पाप लाग्या पनि म भोग्न तयार छु ।’ उनी रामायणमा दत्तचित्त हुन्छन् ।

– भानुभक्तबारे अहिलेसम्म बनेका सबै इतिहास, नाटक र चलचित्रभन्दा फरक ढंगले भानुभक्तलाई देखाउनु ‘रात चिन्र्या भानु’को सफलता हो । तर, सम्बन्धका बारेमा भने लेखक–निर्देशक प्रभाकर न्यौपाने र नाटककार बालकृष्ण समको कुरा बाझिएको छ ।

– नाटकमा भानुभक्तको जीवनका तीन घुम्ती छन्– पढ्नका लागि बनारस जानुअघिका भानु, घाँसी भेटिएपछिका भानु र सरकारको मुद्दा लागेपछिका भानु । निर्देशक यी तीनवटै घुम्तीलाई दर्शकले बुझ्ने गरी प्रस्तुत गर्न सफल भएका छन् ।

भानुलाई नेपाल (काठमाडौं) बाट सरकारको चिठी जान्छ । घरका काममा केही दिन बिताएपछि उनी नेपाल आउँछन् । उनलाई जेल हालिन्छ । जेलमा पनि रामायण उल्था गरिरहन्छन् । लामखुट्टे, उडुस र उपियाँबारे कविता रच्छन् । राजाका स्तुतिगान रच्छन् । उनको शालीन व्यक्तित्व र इमानदारीबाट खुसी भएका ‘महाराज’ले तारेखमा छाडिदिन्छन् ।

गाउँ फर्किएपछि उनले गरेको समाजसेवालाई पनि नाटकमा देखाइएको छ । भानुको मृत्युसँगै नाटक समाप्तितिर लाग्छ । तर, सकिँदैन । किनभने घाँसीको कुरा त बाँकी नै छ । घाँसीबारे पत्ता लगाउन ‘समुद्रमा डुबेर मोती ल्याउँछु’ भनेर पहिलो दृश्यबाट हराएको शुभेच्छुक अन्तिम दृश्यमा फेरि देखापर्छ ।

शुभेच्छुकलाई फेरि घाँसीकै चिन्ता हुन्छ । किनभने पूरा नाटक शुभेच्छुकले घाँसी खोज्न गरेको प्रयत्न हो, जहाँ भानुभक्तको जीवनका महत्वपूर्ण घटना देखाइएको छ । तर, घाँसीबारे भने धेरै घटना छैनन् । घाँस काट्दै गरेको ठाउँमा भानुसँग भेट भएको घटना नौलो होइन ।

शुभेच्छुकले घाँसी हुनु नै उसको परिचय भएको स्विकार्छ । अर्थात्, श्रमको, सम्मानको र गुरुको कुनै नाम हुन्न, घाँसी श्रमको प्रतीक हो, शिक्षादाता हो र समाजसेवी हो भन्ने उसको निष्कर्ष छ । यसको अर्थ नाटकका लेखक तथा निर्देशक प्रभाकर न्यौपानेले पनि घाँसीबारे नयाँ तथ्य पत्ता लगाउन सकेका छैनन् ।

अहिले पनि भानुभक्तलाई रामायण लेख्न प्रेरित गर्ने घाँसीको परिचय रहस्यमा नै छ । उसको परिचय बाहिर ल्याउन त्यतिवेला न भानुभक्तले नै आवश्यक ठाने, न भानुभक्तको इतिहास खोजी गर्नेले घाँसी खोजे । आखिर घाँसी घाँसी मात्र रहिरह्यो । घाँसीलाई काल्पनिक पात्र ठान्नेहरू पनि छन् । भानुभक्तबारे बखान गर्ने मोतिराम भट्टले खडा गरेको काल्पनिक पात्र ।

त्यसो त नाटकमा घाँसीलाई झ्याप्प दाह्री पालेको स्वरूपमा देखाइएको छ । यो भने अलिक अमिल्दो छ । नेपालका जातजातिमध्ये आर्यहरूको मात्र त्यसरी दाह्री आउँछ । यदि घाँसी ब्राह्मण वा क्षेत्री भएको भए परिचय पक्कै लुकाइँदैन थियो । अथवा उच्च जाति भएको भए ‘घाँसी’ होइन पण्डित, वा मुखिया भनिन्थे । नाटकमा घाँसीको र भानुभक्तलगायत उच्च जातिको लवज एकैप्रकारको छ, त्यसैले दलित भएको कुनै आशंका गर्न सकिन्न । घाँसी जनजाति वा कुनै पिछडिएको जाति पनि हुन सक्छ । यसर्थ घाँसीको शरीरको बनावट र पोसाक अलि अमिल्दो लाग्छ । उसलाई मोटोघाटो र भुँडीवाल स्वरूपमा देखाइएको छ ।

नाटकमा हाँस्यरसका दुई पात्र छन्, चिबे र गजाधर सोतीकी श्रीमती । चिबे भानुभक्तको बालसखा हो । उसले नाटकलाई निरस हुन दिएको छैन । दर्शकको ध्यान नाटकमा केन्द्रित गराइराख्न निर्देशकले चिबेको राम्रो प्रयोग गरेका छन् । ऊ भानुभक्तको बालसखा मात्र नभएर घरको सहयोगी पनि हो । यसर्थ कथामा उसको भूमिका महत्वपूर्ण लाग्छ ।

गजाधर सोती भानुभक्तका मित हुन् । उनी पर्वततिरका ब्राह्मण भएको मानिन्छ । भानुभक्त मामाघर जाने क्रममा वासका लागि गजाधर सोतीको घर पुग्छन् । तर, घरमा मितज्यू हुँदैनन् । सोतीकी श्रीमती भने गाउँलेसँग झगडा गरेर बसेकी हुन्छिन् । उनको रौद्ररूपले दर्शकलाई भने हाँसो दिएको छ । उनले भानुभक्तलाई छिँडीमा पनि वास नदिई लखेटेपछि बाटोमै श्लोक रच्छन् :

गजाधर सोतीकी घरबुढी अलच्छिनकी रहिछन्

नरक जानालाई सबसित बिदाबारी भइछन्

पुग्यौँ साँझमा तिनका घरछिँडीमा बास गरियो

लघारिन् साँझैमा अलिक पर गई गुज्रान गरियो

नाटकमा कोरसको प्रयोग निकै सुन्दर ढंगमा गरिएको छ । कोरसले मनोरञ्जन मात्र नभएर सन्देश पनि दिएका छन् । कोरसका वेशभूषा साधारण तर अर्थपूर्ण छ ।
त्यसो त पूरै नाटकमा पात्रको वेशभूषालाई निर्देशकले विशेष महत्व दिएका छन् । भानुभक्तको समयको वेशभूषाबारे पनि लेखकले राम्रो अध्ययन गरेको देखिन्छ । यति हुँदाहुँदै पनि महिला पात्रको वेशभूषामा निर्देशक केही चुकेका छन् । उनीहरूको ‘मेकअप’मा आधुनिकताको छनक देखिन्छ । जस्तो भानुभक्तकी श्रीमतीको वेशभूषा पुरातन प्रकारको हुँदाहुँदै पनि ‘मेकअप’ आधुनिक लाग्छ ।
नाटकमा ‘सेटिङ’ भने निकै सुन्दर ढंगले तयार गरिएको छ । एउटै स्टेजलाई भानुभक्तको घर, जेल, जर्नेलको कार्यकक्ष, गजाधर सोतीको घर र चुँदीरम्घा गाउँ देखाउन गरिएको सजावट उत्कृष्ट छ ।
नाटकको लेखक तथा निर्देशक प्रभाकर न्यौपानेले भानुका जीवनको केही प्रेरणादायी र महत्वपूर्ण अंशलाई नाट्य रूपान्तरण गरेको बताए । भानुका जीवनको तीन कालखण्डलाई नाटकमा समेट्ने प्रयास गरेको उनको भनाइ छ । उनले निश्चय नै आफ्नो अनुसन्धानबाट प्राप्त नयाँ तथ्यलाई पनि नाटकमा उल्लेख गरेका छन् । यसकारण नाटकले भानुभक्तबारे नया“ जानकारी पनि दिन्छ । तर, नाटकमा भानुभक्तका जीवनका नकारात्मक कुरा देखाइएको छैन । यसकारण निर्देशक विवादबाट जोगिन खोजेको स्पष्ट हुन्छ ।

भानुभक्त रामायण अनुवादजस्तो गहन काममा लागेपछि उनको घरव्यवहार बिग्रिएको थियो । श्रीमती पनि भानुभक्तसँग हैरान थिइन् भनिन्छ । ती प्रसंग नाटकमा परेका छैनन् ।

नाटकमा भानुभक्तको जीवनका तीन घुम्ती छन् । पढ्नका लागि बनारस जानुअघिका भानु, घाँसी भेटिएपछिका भानु र सरकारको मुद्दा लागेपछिका भानु । यी तीनवटै घुम्तीलाई निर्देशक दर्शकले बुझ्ने गरी प्रस्तुत गर्न सफल भएका छन् । तर, भानुभक्तविरुद्ध लागेका मुद्दा फैसला नभई उनको देहवसान भएको नाटकमा देखाइएको छ । ती मुद्दाबारे चुप रहँदा भानुभक्तमाथि न्याय भएन कि भन्ने लाग्न सक्छ । मृत्युपछि पनि मुद्दा के भए भन्ने सन्देश दर्शकलाई दिन सकेको भए निर्देशक अझ सफल हुने थिए ।

भानुभक्तबारे धेरैले लेखेका छन् । बालकृष्ण समको ‘भक्त भानुभक्त’ नाटकले त धेरै नै चर्चा पाएको छ । यी सबै इतिहास, नाटक र चलचित्रभन्दा फरक ढंगले भानुभक्तलाई देखाउनु ‘रात चिन्र्या भानु’को सफलता हो । तर, सम्बन्धका बारेमा भने लेखक–निर्देशक प्रभाकर न्यौपाने र नाटककार बालकृष्ण समको कुरा बाझिएको छ । समले भानुभक्तका छोरा रमानाथलाई जेठी श्रीमती रेवतीकै सन्तान भएको उल्लेख गरेका छन् । उनको नाटकमा कान्छी श्रीमतीबारे उल्लेख छैन । तर, न्यौपानेले जेठी श्रीमतीबारे केही उल्लेख गरेका छैनन् । रमानाथलाई कान्छी श्रीमती चन्द्रकलाको सन्तानको रूपमा देखाएका छन् ।

नाटकलाई जहाँबाट उठान गरिएको छ, त्यहीँ लगेर समाप्त गरिएको छ । नाटक हेरिरहँदा नयाँ जिज्ञासा पनि मनमा उठिरहन्छ । भानुभक्तकालीन भाषा बोल्दा पात्र घरिघरी झुक्किएर चिप्लन्छन् । तर, निकै मीठो गरी बोल्छन् । पात्रहरूको बोल्ने शैलीले पनि दर्शकलाई तानेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु