logo

bar

क्यासिनो व्यापारभित्रको गोप्य भेद

नयाँ पत्रिका | मङि्सर १६, २०७४

नेपालमा जुवाका बारेमा कलम चलाउने एक मात्र लेखक तथा सर्जक हुन् सर्वज्ञ वाग्ले । उनी अमेरिका बसेर साहित्य सिर्जनामा तल्लीन छन् । काठमाडौंमा रहेका जुवाघरमा झन्डै १५ वर्षसम्म काम गरेका वाग्लेले आफ्नो हृदयमा पोतिएका अनुभूतिलाई यस कथा संग्रहका कथामा उतारेका छन् । जुवाघरमा दैनिक धाउने जुवाका लतमा चुर्लुम्म डुबेका महाभारतका राजा नल र धर्मराज युधिष्ठिर सम्पूर्ण राज्य नसकिँदासम्म जुवाबाट उठ्न सकेनन् । धर्मराज युधिष्ठिरले त राज्य, आफूसँगै चार भाइ र द्रौपदीसमेत जुवामा हारेको देख्दा संसारमा युधिष्ठिरलाई जुवाको कुलतमा कसैले जित्न नसकेको देखी उनकै नामबाट यो कथा संग्रहको नाम युधिष्ठिर रहन गएको हो ।

कथा संग्रहभित्र जुवासँग सम्बन्धित २४ वटा कथा छन् । यी कथाले अहिलेको नेपाली समाज विशेषगरी काठमाडौं कसरी सुरा, सुन्दरी र जुवामा निर्लिप्त भएर डुबेको छ, ती यथार्थ बोल्छन् । कथाहरू हाम्रो समाज र जुवाका एकएक यथार्थ र भित्री भेद खोल्न पनि सफल छन् ।

अग्ला, आकर्षक, अर्धनग्न सुन्दरीहरूको सेवाले मनमा उठाउने कुतकुतीको ज्वारभाटा, मद र मस्ती एकै ठाउँमा मिसिएपछि मनको भित्री कुनाबाट जागेर आउने अनियन्त्रित उत्साह र अन्धो जोस, त्यहाँको मनोरम कुतकुत्याउने प्रकाश, परिवेश र परिपन्चले भित्रैदेखि जाग्ने एक किसिमको खुलदुली, उत्साह, भोग र भोक, म्यारिज, बाक्रा, स्लोट, रुलेट, किट्टी, ब्ल्याक ज्याक, पोकर, पल्लु, मन्ज्याड आदि खेलका आआफ्ना रंगमञ्च र हारजितका कथा । यिनैभित्र मस्त छन् राजधानीका हुनेखाने, पुँजीपति, व्यापारी, नेता, उच्चपदस्थ कर्मचारी र कलाकार । त्यहाँबाट कसैले एक पैसा जितेर फर्कने भए त्यहाँका हजारौँ स्टाफ, जुवाघरको चमकधमक, अर्धनग्न सुरा सुन्दरी, त्यहा“को रंगीन वातावरण, गाडी, मिठामिठा भोजन, बिजुली, फोन खर्च कसरी चल्न सक्थ्यो र ? एक–दुईपटक झुक्किए कसैले जिते पनि घुमाइघुमाई उसलाई बोलाएर अर्को दिन जसरी पनि फसाई छाडिहाल्छन् ।

बालक विवेक लुइँटेलको अपहरणपछिको निर्मम हत्या होस् वा किशोरी ख्याति श्रेष्ठ यी दुवैका हत्यारा लगातार क्यासिनो गइरहने, खेलिरहने र जुवाको कुलतमा डुबेका जुवाडेहरू नै थिए । चाहे ‘बिकिनी किलर’ कुख्यात् चाल्र्स शोभराज नै किन नहोस् सबै क्यासिनो लतले नै जन्माएका कुख्यात् हत्यारा हुन् । चाहे उच्चपदस्थ कर्मचारी, प्रहरी प्रशासनका ठूलाबडा, कलाकार, डाक्टर, देशका सम्भ्रान्त वा प्रबुद्ध वर्गलाई प्रायः क्यासिनोभित्र देख्न पाइन्छ । अझ पूर्वदरबारिया भाइभारदारको त पशुपति मन्दिरजत्तिकै तीर्थस्थल भइहाल्यो काठमाडौंका क्यासिनो । त्यसमा देश चलाउने जिम्मा लिएका राजनीतिक दलका नेता पनि क्यासिनो लतमा पछाडि छैनन् । यी त भए पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट सबैले सुनेजानेको कुरा, तर नेपालका क्यासिनोभित्र के–केसम्म हुन्छ ? को–कोसम्म पुग्छन् ? त्यहाँभित्र गुम्सिई बसेका तर विस्फोटन नभइसकेका घटना कि त जुवाघरका मजदुर र कर्मचारी कि त तिनै जुवाडेलाई नै थाहा हुन्छ र त लेखिएका हुन् यी कथाहरू ।

क्यासिनोे अर्थात् ‘क्यास इन, नो आउट’ । यही मूल मन्त्र जपेर चलेको महाभारत रूपी शकुनी पासाको नयाँ रूप नै त हो । यही त हो काठमाडौंका क्यासिनोहरूको भित्री धन्दा । यिनको प्रमुख उद्देश्य भनेको नै सुरा सुन्दरी, मद्यपान, धुम्रपान र जुवाको लतमा फसाएर नेपालीलाई लुट्नु । कसैले कुनै दिन दुई–चार लाख मात्र जितेर लगोस् त भोलिपल्ट त्यो टेबलमा जुवा खेलाउने कर्मचारी र म्यानेजरको जागिर नै धरापमा पर्छ । न त यिनले कहिल्यै राज्यलाई तिर्नुपर्ने पूरा कर तिर्छन्, न त कहिल्यै कर्मचारीलाई तोकेबमोजिम तलब नै दिन्छन्, तर यिनले नेपालीको अरबौँ लुटे । हजारौँलाई घरबारविहीन बनाए । हजारौँ परिवारलाई घर न घाट बनाएर बिचल्ली तुल्याए र नेपालको पैसा विदेश पु¥याए । काठमाडौंमा खुलेका अधिकांश क्यासिनोहरूमा ‘नेपाली नागरिकलाई प्रवेश निषेध’ भनी बाहिर साइन बोर्ड टाँसे पनि अधिकांश त्यहाँ खेल्न जाने ग्राहक नेपाली नै हुन् । प्रहरीका उच्चपदस्थ कर्मचारीसँग उनीहरूकै मिलेमतो हुन्छ र त नेपालीको प्रवेश सहज बनिरहेको छ ।

काठमाडौंका कतिपय टोलमा सबैको मिलेमतोमा जुवाघर सञ्चालित छन् । यसबारे आमसञ्चार माध्यम, सरकार, प्रहरी प्रशासन सबैलाई थाहा छ र पनि सबै तैँ चुप मै चुप छन् । यसले हाम्रो देश र समाजको भविष्य कतातिर जाँदै छ सहजै अनुमान गर्न सकिन्छ । यस्ता जुवाका अखडामा प्रहरी आफूले प्राप्त गर्ने रकम कलम नमिलेमा तर्साउनका लागि मात्र छापा हान्छ । के यही हो त राज्यको उपस्थिति ? धेरै कथाले यी र यस्तै प्रश्न उठाएका छन् । तर, ती यावत् प्रश्न सबैतिरबाट अनुत्तरित छन्, मौन छन् ।

जुवाडेका कथाको कथात्मक अभिव्यक्ति पाइने यस संग्रहलाई सामाजिक ढाँचाका नीतिवादी उपदेशात्मक कथा स“गालोको रूपमा लिन सकिन्छ । कथा संग्रह पढिसकेपछि जुवाका प्रकार र त्यो खेल्दाका परिणतिबारे जानकारी त प्राप्त हुन्छ, तर ती खेलमा हुने छलकपट, झेल, छलछामबारे कथाहरू मौन छन् । ती गुप्त विषयमा पनि कथाकारले केही लेख्न सकेको भए आममानिस जो देशको दूरदराजमा बस्छन् र तिनले क्यासिनोको नाम मात्र सुनेका छन्, उनीहरूले पनि यसबारे राम्रो जानकारी हासिल गर्ने थिए । यो पक्षमा कथा संग्रहभित्रका कथा भने केही कमजोर हुनुका साथै कहीँ कतै चुकेका पनि छन् । युधिष्ठिर कथा संग्रहभित्रका कथा स्तरीयताको मापनमा कुन स्तरका छन्, त्यो आफ्नो ठाउँमा छ । तर, यस कथा संग्रहभित्र संग्रहित कथाले हाम्रो समाजलाई दिएको सन्देश भने निकै ठूलो छ । कथाहरू कल्पनाको सागरमा पौडिएर लेखिएका काल्पनिक होइनन् । स्वयं कथाकारले आफू क्यासिनोमा जागिरे रहँदा देखेभोगेका, सुनेका, आफैँले प्रत्यक्ष अनुभव गरेका यथार्थ घटनालाई कथामा उतारेका छन् । भाषा र लेखाइको स्तरमा कथा केही खस्किए पनि सन्देशको दृष्टिकोणले जानकारीमूलक र सन्देशमूलक छन् ।

नेपाल पहिला योग, ध्यानको केन्द्र थियो । ऋषिमुनिहरू शान्ति खोज्न हिमालय पर्वतमुनि ध्यान गर्न र शिक्षा लिन आउँथे । तर, अहिले काठमाडौंको परिचय फेरिएको छ । काठमाडौंमा रहेका क्यासिनोजति नै योग, ध्यान, साधना गर्ने केन्द्र खोल्न सकेको भए हाम्रो समाज आध्यात्मिक ध्यान, ज्ञानतिर अग्रसर हुने थियो । तर, विडम्बना राजधानी सुरा, सुन्दरी र जुवाको लतभित्र चुर्लुम्म डुबेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग सहवास गर्न लगाएर त्यो पैसाले पनि क्यासिनो जुवा खेल्नेसम्मको विकृति काठमाडौंका क्यासिनोले जन्माइसकेका छन् । जुवाडे पतिको शारीरिक यातना खप्न नसकेर जुवाको टेबलमा आएर श्रीमान्लाई थुक्नुपर्ने बाध्यता, आफ्नो श्रीमान् खोज्न एक हातमा फोटो र एक हातमा छोरो बोकेर हिँड्न बाध्य हाम्रै दिदीबहिनी र चेलीहरू, छोरा र श्रीमतीले क्यासिनोबाट घिसार्दै लगेको बाबु, झन्डावाला गाडी लिएर क्यासिनो छिर्ने मन्त्री यी सबै क्यासिनोले उमारेका विकृति हुन् । जुन देशमा दारु, वेश्यावृत्ति र जुवा मौलाउ“छ, त्यो देशमा हत्याहिंसा, मारकाट चोरी–डकैती, लुटपाट र अपहरणको बिगबिगी बढ्छ । महाभारतका मुख्य पात्र युधिष्ठिरजस्तो भगवान्ले त जुवाको लत छाड्न सेकेनन् भने साधारण मानिस यो लतमा फसिसकेपछि कसरी बाहिर निस्कन सक्ला ? तसर्थ युधिष्ठिरभित्रका कथाका पात्रले जीवनको कदम–कदममा जुवा देख्छन् ।

हाम्रो महान् चाड दीपावलीमा जुवा खेल्नैपर्ने रीतभित्रको कुरीति हटाउन र क्यान्सररूपी जुवालाई निर्मूल गर्न यो कथा संग्रहका माध्यमबाट कथाकारले सचेत गराएका छन् । कथाकारले जुवाघरमा काम गर्दा कतिको घरबार बिग्रिएको देखे, नेपालजस्तो सानो गरिब देशमा झन्डै दर्जन पुग्न लागेका जुवाघरलाई करको दायरामा ल्याउन नसक्नु देश पटक–पटक ठगिनु हो । तसर्थ जुनसुकै नाम दिएर खोलिएको क्यासिनो भए पनि यसले अन्तिममा लुट्ने भनेको नेपाली जनतालाई नै हो । यसरी लुटेर पनि नेपाल सरकारलाई तिर्नुपर्ने कर कहिल्यै तिर्दैनन् भने नेपालमा खोलिएका सबै क्यासिनो बन्द गर्नुको विकल्प छैन । यो कथा संग्रहको मूल सन्देश यही हो । आफू जन्मेहुर्केको समाजप्रतिको कर्तव्य सम्झेर सामाजिक चेतना विस्तार गर्न र सबैलाई सचेत पार्न लेखिएका कथा हुन् यी । कथाकारले उठाएका विषयमा देश, सरकार, आमनेपाली जनताले चासो दिएर लागि परेमा यी दर्जन पुग्न लागेका जुवा केन्द्र सधैँका लागि नामेट पार्न सकिने थियो ।
कृति ः युधिष्ठिर
विधा ः कथा
लेखक ः सर्वज्ञ वाग्ले
मूल्य ः रु. २५० ।–

तपाईको प्रतिक्रिया