logo

bar

नेप्सेमा सामान्य सुधार

नयाँ पत्रिका काठमाडौं, १५ मंसिर | मङि्सर १५, २०७४

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । बजार खुलेको केही समयपछि ओरालो लागेको नेप्से मध्याह्नसम्ममा यस दिनको न्यून बिन्दु १ हजार ५ सय २७ मा पुगेको थियो । त्यसपछिको समयमा उकालो लागेको नेप्से अन्तिम समयसम्ममा १ दशमलव ५५ अंक बढेर १ हजार ५ सय ३७ दशमलव ६७ बिन्दुमा पुगेर बन्द भएको छ ।

बजार बढेको मौकामा नाफा सुरक्षित गर्न सेयर बिक्री गर्नेहरूको चाप बढेपछि बजार ओरालो लागेको एक ब्रोकरले बताए । तर, मध्याह्नपछि बिक्रीकर्ताको तुलनामा खरिदकर्ता आएपछि बजारले पुनः सकारात्मक गति लिएको उनको भनाइ छ । यस दिन कारोबारमा आएका ९ समूहमध्ये ६ समूहको परिसूचक बढेपछि नेप्से उकालो लागेको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २३ अंक बढेर ३ सय २४ दशमलव २६ बिन्दुमा पुगेको छ । अघिल्लो दिन १ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन भने १ सय ६४ कम्पनीको ६ हजार ९ सय ३३ पटकको कारोबारमा ७४ करोड ६८ लाख ३९ हजार २ सय ९२ रुपैयाँबराबरको १३ लाख ५२ हजार ६ सय ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५९ दशमलव ८८ स्केलमा पुगेको छ ।

न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । कुल बजार पुँजीकरण भने अघिल्लो दिनको तुलनामा १ अर्ब ७९ करोड बढेर १७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । युनाइटेड इन्स्योरेन्सको यस दिन सर्वाधिक धेरै ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

त्यसैगरी, बुटवल पावर कम्पनी र चिलिमे हाइड्रोपावरको यस दिन ४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य यस दिन करिब १० प्रतिशत बढेको छ । जानकी फाइनान्स, सिर्जना फाइनान्स र कर्णाली विकास बैंकको सेयर मूल्य भने यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव २ प्रतिशत बढेको छ । कारोबारमा आएका तीनवटै होटेल कम्पनीको सेयर मूल्य बढेपछि यस समूहको परिसूचक बढेको हो । त्यसैगरी, जलविद्युत् समूहको १ दशमलव शून्य ७ प्रतिशत, माइक्रोफाइनान्सको शून्य दशमलव ३३ प्रतिशत, बिमा समूहको शून्य दशमलव २५ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । कारोबारमा आएको वित्त समूहको परिसूचक शून्य दशमलव ५२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ३२ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया