logo

bar

उत्तर कोरियासँग सम्बन्ध तोड : अमेरिका

एजेन्सी न्युयोर्क, १५ मंसिर | मङि्सर १५, २०७४

अमेरिकाले उत्तर कोरियासँगको कूटनीतिक र व्यापारिक सम्बन्ध तोड्न विश्वका सम्पूर्ण राष्ट्रलाई आग्रह गरेको छ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकाले यस्तो आग्रह गरेको हो ।

‘कोरिया ध्वस्त हुन सक्छ’
राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भड्किएमा कोरियाली शासन पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिइन् । दुई महिनाको अन्तरमा उत्तर कोरियाले दोस्रो अन्तरमहादेशीय मिसाइल परीक्षण गरेपछि अमेरिका प्योङयाङविरुद्ध क्रुद्ध भएको छ ।

सम्बन्ध तोड्नु उपयुक्त होइन : रसिया
अमेरिकाले उत्तर कोरियाविरुद्ध गरिरहेका गतिविधिबारे विश्वलाई प्रस्ट पार्नुपर्ने रसियाले बताएको छ । ‘अमेरिकाले उत्तर कोरियाबारे के सोचिरहेको छ भन्नेबारे विश्व समुदायलाई यथार्थ बताउनुपर्छ । यदि अमेरिकाले उत्तर कोरियालाई ध्वस्त पार्ने बहाना खोजिरहेको छ भने उसले प्रस्टसँग विश्व समुदायलाई बताउनुपर्छ र अमेरिकी नेतृत्वले त्यसको पुष्टि गर्नुपर्छ,’ रसियाली विदेशमन्त्री सर्जी लाभरोभले भने । यसअघि राष्ट्रसंघका लागि रसियाका राजदूतले उत्तर कोरियाले मिसाइल परीक्षण रोक्नुपर्ने तर अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास रद्द गर्नुपर्ने बताएका थिए । चीनले पनि उत्तर कोरियाले मिसाइल परीक्षण रोक्नुपर्ने तर त्यसको सट्टा अमेरिकाले सैन्य अभ्यास रोक्नुपर्ने बताएको छ । दक्षिण कोरिया र अमेरिकाले आगामी डिसेम्बरदेखि संयुक्त सैन्य अभ्यास गर्दै छन् ।

‘चीनले पहल गरोस्’
राष्ट्रसंघका लागि अमेरिकी दूत हेलीले उत्तरका गतिविधि रोक्न चीनले पहल गर्नुपर्ने बताइन् । उत्तरका आणविक गतिविधि रोक्न चीनले सबैभन्दा बढी पहल गर्नुपर्छ,’ राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग फोन गरेर उत्तरलाई चीनले उपलब्ध गराउँदै आएको तेल आपूर्ति रोक्न आग्रह गरेको बताइन् । ‘उत्तर कोरियाको आणविक उत्पादनको मुख्य चालक तेल हो,’ उनले भनिन्, ‘उत्तरलाई सबैभन्दा बढी तेल आपूर्ति गर्ने मुख्य राष्ट्र पनि चीन भएकाले प्रतिबन्ध महत्वपूर्ण औजार हुन सक्छ,’ उनले भनिन् । चीन उत्तर कोरियाको परम्परागत मित्र र महत्वपूर्ण व्यापार साझेधार मुलुक हो ।

बुधबार मात्र राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई टेलिफोन गरी उत्तर कोरियाका आणविक गतिविधि रोक्न आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति सीले उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता कायम गर्न र उत्तर कोरियालाई निशस्त्रीकरणका लागि पहल गर्ने बताएका थिए । मिसोरीमा बोल्दै ट्रम्पले किमलाई बिरामी पपी र रकेटम्यानको संज्ञा दिएका थिए ।

उत्तर कोरियाको विवादास्पद परीक्षण
उत्तरले बुधबार एक शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । ह्वासोङ–१५ नाम दिइएको सो मिसाइल चार हजार चार सय ७५ किलोमिटरको उचाइमा पुगेर जापानको समुद्रनजिकै खसेको थियो । उत्तरले सो उचाइमा मिसाइल पुगेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

उत्तर कोरियाको दाबीप्रति विज्ञहरूले शंका गरेका छन् । तर, उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले आणविक क्षेत्रमा ब्रेक–थ्रु गरेको बताएका छन् । उत्तर कोरिया आणविक शक्तिसम्पन्न मुलुक भएको उनले घोषणा गरेका छन् । अहिलेसम्मकै शक्तिशाली बताइएको सो परीक्षणलाई राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । परीक्षणपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो ।

उत्तर कोरियाका गतिविधिले यस क्षेत्रमा एसियामा नै अस्थिरता उत्पन्न गरेको दूत निक्की हेलीले बताइन् ।

तपाईको प्रतिक्रिया