logo

bar

ट्रम्पको रिट्विटले बेलायतमा हंगामा

एजेन्सी लन्डन, १५ मंसिर | मङि्सर १५, २०७४

ट्रम्पको प्रस्तावित बेलायत भ्रमण रद्द गर्न प्रधानमन्त्री थेरेसा मेलाई बेलायती सांसदहरूको अनुरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको एक दक्षिणपन्थी समूहले अनलाइनमा पोस्ट गरेको मुस्लिमविरोधी भिडियोलाई रिट्विट गरेपछि बेलायतमा चर्को विरोध भएको छ । ट्रम्पले बुधबार बेलायतको ब्रिटिस फस्ट नाम गरेको दक्षिणपन्थी समूहले पोस्ट गरेका मुस्लिमविरोधी तीनवटा उत्तेजक भिडियोलाई रिट्विट गरेपछि उनको आलोचना भएको हो । राष्ट्रपतिले गलत कार्य गरेको बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले बताए । प्रधानमन्त्री मेले आलोचना गरेपछि ट्रम्पले प्रधानमन्त्रीलाई अतिवादीविरुद्ध केन्द्रित हुन आग्रह गरेका छन् ।

अमेरिका र बेलायत निकट सहयोगी राष्ट्र हुन् र उनीहरूबीच विशेष सम्बन्ध छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिका भ्रमण गर्ने पहिलो विदेशी नेता पनि मे नै थिइन् । तर, ट्रम्पको रिट्विटले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याउने देखिएको छ । तर, ट्रम्पले भने आफ्नो कदमको बचाउ गरेका छन् । ‘ममाथिभन्दा बेलायतीको ध्यान त्यहाँ हिंसा मच्चाइरहेका अतिवादी मुस्लिम समूहप्रति होस्,’ ट्रम्पले भनेका छन् ।

रिट्विटलाई लिएर बेलायती सांसदहरूले ट्रम्पको कडा आलोचना गरेका छन् । ट्रम्पको कदमले घृणा फैलाएको भन्दै उनको राजकीय भ्रमण रद्द गर्न सांसदहरूले प्रधानमन्त्री मेलाई आग्रह गरेका छन् । प्रधानमन्त्री थेरेसा मेले राष्ट्रपति ट्रम्पलाई उनको ट्विटर अकाउन्ट डिलिट गर्न विश्वस्त पार्न सकेमा ‘संसार बस्नका लागि उपयुक्त स्थान’ हुने एक टोरी सांसदले बताए । प्रधानमन्त्री मेको आलोचनाको प्रभाव राष्ट्रपति ट्रम्पमा पर्न सक्ने गृहमन्त्री एम्बर रुडले बताइन् । तर, ट्रम्पको भ्रमण रद्द गर्नुपर्ने अन्य सांसदहरूको मागलाई उनले अस्वीकार गरिन् ।

भ्रमणको निम्तो स्वीकार भइसकेको तर मिति र समय तोक्न बाँकी रहेको उनले बताइन् । अधिकांश सांसदले ट्रम्पको प्रस्तावित बेलायत भ्रमण रद्द गर्नुपर्ने माग गरेका छन् । पूर्वमन्त्री वाइभिटी कुपरले ‘बेलायती समुदायमा द्वन्द्व पैदा गर्ने राष्ट्रपतिलाई रातो कार्पेट बिछ्याउन नहुने’ बताएका छन् ।

तपाईको प्रतिक्रिया