logo

bar

थरीथरीका चुनावी विश्लेषण

शिव अधिकारी | मङि्सर १५, २०७४

अहिले देश निर्वाचनमय भएको छ । जनता झन्डै २० वर्षको लामो पर्खाइपछि स्थानीय सरकार गठन गर्न सफल भएका छन् । अनेकौँ बाधा व्यवधान चिरेरै भए पनि जनताले त्यसलाई सफल बनाइसकेका छन् । अब प्रदेश र केन्द्रको निर्वाचनमा देश होमिएको छ । हो, जतिसुकै राजनीतिलाई वास्ता गर्दिनँ भने पनि सबैमाथि शासन गर्ने राजनीति नै हुने रहेछ । यसैले जनता यसबाट कहिल्यै टाढा नहुने र यसैको उचित प्रयोग भयो भने मात्र देशले समृद्धिको बाटो लिने यथार्थ हो भन्ने सबैले बुझ्नु पनि जरुरी छ ।

जनता अहिले पहिलेको जस्तो जे भन्यो त्यही गर्ने र सधैँ हजुरियाको हुइँयामा लाग्ने अवस्थामा छैनन् । स्थानीय निर्वाचनको अवस्थालाई हेर्दा मात्र पनि अब यो मुलुकमा एउटा परिवर्तनको शृंखला बन्दै गएको स्पष्ट भएको छ । साँच्चै भन्नुपर्दा अब हामी धेरै तल एवं पिँधैमा पुगेको अवस्था भएकाले हाम्रा लागि दुई विकल्प छन् । पहिलो, पिँधैमा पुगेको अवस्थाबाट उम्कने वा बाहिर निस्कने प्रयास नगर्ने नै हो भने समाप्त हुनुपर्‍यो । त्यसो नभए त्यो खाल्टोबाट बाहिर निस्कने प्रयास गर्नैपर्ने अवस्था अहिलेको हो । किनभने, हाम्रो देशमा प्रचुर सम्भावना रहँदारहँदै पनि हामी गरिब र भिखमंगा भएको अवस्थामा छौँ ।

अहिले देश निर्वाचनमा होमिएको छ । निर्वाचन प्रचारका क्रममा विभिन्न दलका आआफ्नै खालका घोषणापत्र जनताको हातहातमा पुगेको अवस्था पनि हो । अहिले सबैको ध्यान वाम गठबन्धनतर्फ मोडिएको अवस्था छ । यो गठबन्धनले तुलनात्मक रूपमा उत्कृष्ट कार्ययोजना प्रस्तुत गरेको पनि पाइन्छ । शैक्षिक क्षेत्रमा सुधार गर्ने, स्वास्थ्य सुविधा सरल गर्ने, जनताको जीवनस्तर माथि उठाउने, विद्युत् उत्पादन र ऊर्जाशक्तिले देशलाई सक्षम बनाउने, पर्यटन प्रवर्धन र कृषिमा व्यवसायीकरणबाट देशका युवा जनशक्तिलाई विदेशमा रोजगारीमा जानुपर्ने अवस्थाबाट मुक्त गर्ने । विद्युतीय रेल मेट्रोरेलजस्ता यातायातका साधनको प्रयोगबाट जीवनस्तर सहज बनाउने । वातावरण संरक्षण गर्दै कृषि उत्पादनमा आधुनिकीकरण गरी देशलाई अग्र्यानिक उत्पादनको नमुना केन्द्रका रूपमा विकास गर्नेजस्ता विषयलाई वाम गठबन्धनले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएको छ । त्यसैगरी, स्वाधीन अर्थतन्त्रको विकास, राष्ट्रिय सार्वभौमिकताको रक्षाजस्ता अति संवेदनशील पक्षलाई समेत समेटेर लेखिएको घोषणापत्र प्रयोगको प्रतीक्षामा जनता छन् ।

कांग्रेस र अन्य दलले पनि आआफ्नो घोषणापत्रमा देशलाई सुन्दर बनाउने कुरा त उल्लेख गरेका छन् । तैपनि ती कुरा व्यावहारिक रूपमा कांग्रेस सरकारको कार्यक्रमलाई लामो समयसम्म हेरिरहेका जनताले विश्वासमा लिन सकेका छैनन् । बरु कम्युनिस्टले दिएका वृद्धभत्ता, सामाजिक सुरक्षा कार्यक्रम, सडक विस्तार र सुधार, गणतन्त्र स्थापनाजस्ता विषयमा भने जनताको चासो देखिन्छ । उद्देश्यकै हिसाबले पार्टीहरूको घोषणापत्र हेर्दा राष्ट्रिय जनता पार्टीले आपत्तिजनक अभिव्यक्तिसहितको प्रस्तुति दिइरहँदा आमनेपाली यो पार्टीका नियतप्रति अत्यन्त सशंकित बनेका छन् । यो पार्टीले विकास निर्माण र मधेसी जनताको समृद्धिको कुरै नगरेर नेपाल बहुराष्ट्रिय राज्य हो, मधेस नेपालमै रहनुपर्छ भन्ने छैन भन्नु देश विखण्डनको उद्देश्य स्पष्ट झल्किनु हो । त्यसैगरी, मधेस आन्दोलनमा मारिएका परिवारलाई ५० लाख दिने, उमेर पुगेकी मधेसी युवतीलाई विवाहमा सुनको मंगलसुत्र दिने जस्ता अस्वाभाविक बुँदा रहेको यो घोषणापत्रमाथि अहिले व्यापक टीकाटिप्पणी भइरहेको छ । संविधानतः यस्तो घोर आपत्तिजनक विषयलाई एजेन्डा बनाएर पनि देशको पार्टी भनेर निर्वाचन लड्नु कति जायज हो ?

निर्वाचन जति नजिकिँदै गयो, त्यति नै चर्चा पाउनु स्वाभाविक हो । भर्खरै पहिलो चरणको निर्वाचन सफलतापूर्वक सकिइसकेको छ । यस्तो अवस्थामा खास गरी कांग्रेस, वाम गठबन्धन र अन्यले कति सिट वा मत प्राप्त गर्लान् भन्ने विभिन्न कोणबाट चर्चा भइरहेको छ । हामीले कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरेर २५ सिटभन्दा माथि ल्याउन कठिन भएको अनुमान प्रक्षेपण गरेका थियौँ । त्यसैगरी वाम गठबन्धनबाट एमालेले ११५ सिट, माओवादी केन्द्र ९५ सिट, अन्य ३० सिट र १० सिट भने कांग्रेस वा अन्य दलको सक्रियतामा भर पर्ने गरी मत बाँडिन्छ भन्ने अनुमान पनि सार्वजनिक गरेका थियौँ । तर, प्राध्यापकहरूको एक समूहको प्रक्षेपणअनुसार कांग्रेसले ११६, एमालेले ९५, माओवादीले २८ र अन्यले बाँकी सिट जित्ने अनुमान गरिएको छ । जे होस् अब देशको संकटग्रस्त अवस्थालाई सम्बोधन गरेर छोटै अवधिमा सम्पन्न बनाउने शक्तिको यो देशलाई खाँचो छ । यो काम गारो नभएर नेपालको लागि सहज पनि छ । यसैले यतिखेर जनताको ध्यान बाम गठबन्धनतिरै फर्केको पाइन्छ ।

तपाईको प्रतिक्रिया