logo

bar
logo
Advertisment
SKIP THIS

अपराधको बोलवाला

नयाँ पत्रिका काठमाडौं, १५ मंसिर | मङि्सर १५, २०७४

निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू शक्ति आर्जनका लागि अन्तिम प्रयास गरिरहेका छन् । आगामी साता हुने मतदानले आगामी पाँच वर्षका लागि देशको राजनीतिक चित्रमा दल तथा व्यक्तिको स्थान र हैसियत निर्धारण गरिदिने भएकाले यस्तो प्रयासलाई स्वाभाविक रूपले लिनुपर्ने हुन्छ । राजनीति सामूहिक प्रयास र परिणामको व्यवस्थापन भए पनि व्यक्तिव्यक्तिका लागि यसको अनेक महत्व हुन्छ । यसपटक कांग्रेसले बहुमत ल्याउन सकेन र आगामी पाँच वर्ष वामपन्थीको सरकार बन्ने भयो भने शेरबहादुर देउवा र रामचन्द्र पौडेलको राजनीतिक विश्रामको समय आउनेछ । यसपटक पराजित भए भने माधव नेपाल या झलनाथ खनालहरूको राजनीतिक तागत खुम्चिनेछ । वामपन्थी गठबन्धनले एक्लै सरकार बनाउन आवश्यक बहुमत जुटाउन नसक्ने अवस्थामा केपी ओली र प्रचण्डको राजनीति पनि कमजोर हुनेछ । यस्तो अवस्था व्यक्ति र दल दुवैको हुन्छ ।

तर, यसरी जित्नैपर्ने बाध्यतामा पर्नेहरूले अल्पकालका लागि लिने गलत कदमले भने राजनीतिलाई दीर्घकालीन रूपमा नोक्सान पार्ने खतरा रहिरहन्छ । धेरै पैसा खर्च गरेर जित्न खोज्नेले निर्वाचनलाई धानिनसक्नु महँगो बनाइदिनेछन् । त्यस्तो अवस्थामा राजनीति तल्लो वर्गबाट खोसिएर पूरै उपल्लो वर्गको क्रिडामा परिवर्तन हुनेछ । त्यसरी नै गलत राजनीतिक विचारलाई समर्थन गर्दा त्यसले देशले परिकल्पना गरेको राजनीतिक भविष्य धरापमा पर्नेछ । यतिवेला प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दूराष्ट्रको पक्षमा बोल्छु भनेर दिएको अभिव्यक्ति र विमलेन्द्र निधिले जनकपुर बमकाण्डको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सञ्जय शाहको समर्थनमा निर्वाचन जित्न गरेका प्रयास नेपाली राजनीतिमा भित्रिन सक्ने दीर्घकालीन रोग हुन् ।

जनकपुरका सञ्चारकर्मी सिंघानियाको हत्यामा आरोपित सञ्जय साहलाई जेलबाट लाइभ अन्तर्वार्ता दिने सुविधासहित निर्वाचन प्रचारमा खटाउने कार्यले राजनीतिलाई अपराधीको शरणमा पुर्‍याएको संकेत गर्छ

विश्व हिन्दू परिषद्का प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफू अब नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भनेर बोल्ने वचन दिएका छन् । केही महिनादेखि नै कांग्रेस महामन्त्री शाशांक कोइरालालगायत केही नेताले हिन्दू राज्यलाई कांग्रेसको एजेन्डा बनाउने बताउँदै आएका थिए । यो कार्यसूची अहिले नेपालका केही हिन्दू धार्मिक समुदायबाट उठाइए पनि यसको पछिल्तिर बृहत् भारतीय स्वार्थसँग गाँसिएको छ भन्ने सबैलाई थाहा छ । यस्तो विषयमा भर्खर नेपालको संविधानले जे फैसला गरेको छ, त्यसैमा उभिएर अघि बढ्नु नै श्रेयष्कर छ । तर, चुनावमा जितकै लागि देउवाजस्तो व्यक्तिले यो विचार बोकेर हिँड्छु भन्न थाले भने यसको असर नेपाली राजनीतिमा लामो समयसम्म पर्न जाने देखिन्छ ।

उता जनकपुरका सञ्चारकर्मी सिंघानियाको हत्यामा आरोपित सञ्जयलाई जेलबाट लाइभ अन्तर्वार्ता दिने सुविधासहित निर्वाचन प्रचारमा खटाएर अहिलेको सरकार र विमलेन्द्र निधिले गम्भीर भुल गरिरहेका छन् । एकातिर यसले राजनीतिलाई अपराधीको शरणमा पुर्‍याएको छ, प्रचलित लोकतन्त्रका मूल्य प्रणालीबाट बाहिर हुत्याएर विचलित गराउने देखिन्छ भने अर्कातिर निर्वाचन जित्न प्रयोग गरिने यी हतियारले पछि अहिले उपयोग गर्नेलाई निरन्तर लखेटिरहने निश्चित छ । यो अल्पकालीन स्वार्थका लागि राजनीतिज्ञले खेल्ने जुवाले देश र लोकतन्त्रको भविष्य दाउमा लगाउने काम गरेको छ । यसबाट वेलैमा सचेत हुनु राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु