logo

bar

म थाकेको छैन अभियान जारी छ : धीरज राई

| मङि्सर १४, २०७४

म थाकेको छैन अभियान जारी छ : धीरज राई – भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले केही दिनअघि भगवान् गौतम बुद्धको जन्मबारे विवादास्पद अभिव्यक्ति दिए । उनले बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको दाबी पेस गरे । लामाको अभिव्यक्तिले आमनेपालीलाई उत्तेजित बनायो । सामाजिक सञ्जालमार्फत विरोध ओइरियो । नेपालमा जन्मिएका बुद्धबारे विश्वभर प्रचार गर्ने भूमिका खेलेका गायक धीरज राई पनि मौन बस्न सकेनन् । ‘बुद्ध भारतमा जन्मिएको’ भनेर लेखिएको पुस्तक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमबाट हटाउन गरेको आन्दोलनदेखि ‘बुद्ध नेपालमा जन्मिएको’ खबर विश्वभर फैलाउन कोरियाको सांगीतिक मञ्च प्रयोग गरेका गायक राईले फेरि लेखेका छन्, ‘बुद्ध वाज नट बर्न इन इन्डिया’ :

‘बुद्ध बर्न इन इन्डिया’
लेखेको पुस्तक हटाइयो
सन् २००६ मा एमए अंग्रेजी साहित्यको दोस्रो वर्षमा भर्खर प्रवेश गरेको थिएँ । चाल्र्स भ्यान डोरेनले लेख्नुभएको पुस्तक ‘हिस्ट्री अफ नलेज’ हाम्रो पाठ्यक्रममा थियो । भृकुटीमण्डपस्थित आरआर कलेजको क्याटिनमा मित्र खगेन्द्र राईले डेरेन लिखित पुस्तक मलाई पहिलोचोटि देखाउनुभयो । पल्टाउँदै जाँदा किताबको एउटा पानामा गएर मेरा आँखा अडिए । ‘लौ राई सर… यहाँ त यस्तो पो लेखेको रहेछ त’, म बोलेपछि खगेन्द्र सरले आफूतिर पुस्तक तान्नुभयो । ‘ए हो त रहेछ नि’ उहाँ पनि झस्किनुभयो । लेखिएको थियो, ‘बुद्ध वाज बर्न टु द नो दन पार्ट अफ इन्डिया’ अर्थात् ‘भगवान् बुद्धको जन्म भारतको उत्तरी भागमा भएको हो’ ।

एकैचोटि तीनवटा प्रश्नहरू मनमा आए । एमएजस्तो उच्च तहको पाठ्यक्रममा यस्तो गल्ती कसरी हुन गयो ? हामीभन्दा अघिल्ला ब्याजका साथीहरूले यसको विरोध किन गरेनन् ? अब के गर्ने ? प्रश्नसँगै मनमा खुल्दुली बढ्यो र साथीहरूसँग भन्दै हिँडेँ । थुप्रै साथीहरू भेटिए, जो मजस्तै अचम्ममा थिए र आक्रोशित पनि । केही दिनमै हामीले एउटा समूह तयार गर्‍यौँ । देशका विभिन्न कलेजका हामीजस्तै असन्तुष्ट र हाम्रो मुद्दालाई समर्थन गर्ने साथीहरूको समूह नै तयार भयो । अंग्रेजी विषयको ‘हेड अफ डिपार्टमेन्ट’का सरहरूसँग कलेजमै यो विषयमा बहस र छलफल गरियो । उहाँहरूले हामीलाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमै गएर यो विषय उठाउन सल्लाह दिनुभयो । क्याम्पसका युनियनका साथीहरूले पनि ऐक्यबद्धता जनाए ।

हामीले एउटा संघर्ष समिति बनाएका थियौँ । चर्को दबाब र धेरैपटकको वादविवादपछि त्यसैवर्षदेखि लागू हुने गरी एमए अंग्रेजी साहित्य दोस्रो वर्षको पाठ्यक्रमबाट सो पुस्तक नै हटाइयो । ‘धीरजजी अब गीत–संगीतबाट पनि यो विषय उठाउनुपर्ने भो तपाईंले,’ एकजना मित्रले सल्लाह दिनुभयो । मैले पनि मनमनै यो संकल्प गरिसकेको थिएँ । अंग्रेजी भाषामा गाउन सके गीतलाई अन्तर्राष्ट्रिय रूपमै अगाडि बढाउन सकिने सम्भावना थियो । बुद्ध नेपालमा जन्मिनुभएको जानकारी नेपालीलाई बताउन जरुरी थिएन, विश्वलाई भन्न आवश्यक थियो । त्यही वर्ष मैले गीत लेखेँ– ‘बुद्ध वाज बर्न इन नेपाल’ । यो नै अंग्रेजी भाषाको मेरो पहिलो गीत थियो ।

‘बुद्ध बर्न इन नेपाल’
शान्ति र्‍यालीको नतिजा
पाँच वर्षअघिको प्रसंग हो । समाचार हेर्दै थिएँ । विज्ञापनको पालो आएपछि रिमोट अन्य च्यानलतिर मोडेँ । २१ नम्बरको च्यानलमा पुग्दा म झस्किएँ । भारतीय टिभी च्यानल जी टिभीबाट टेलिसिरियल ‘बुद्ध’ प्रसारण हुने समाचार आइरहेको थियो । टेलिसिरियलका निर्देशकले ‘भगवान् बुद्धको जन्म भारतमा भएको’ खुलमखुल्ला बताएका थिए । त्यसको केहीअघि ‘भारतको पिपरामा नक्कली कपिलवस्तु बन्दै गरेको’ समाचार पत्रपत्रिकामा आएको थियो । समाचारमा आएको विषयलाई लिएर आलोचनात्मक टिप्पणी सुनिँदै आएको थियो ।

भारतीय टेलिभिजनबाट आएको भ्रामक समाचारको सत्यतथ्य कसरी उजागर गर्ने भन्ने प्रश्न मनमा उठ्यो । केही समयमै खासगरी फेसबुकका साथीहरूले पनि असन्तुष्टि व्यक्त गरे । संयोग नै हुनुपर्छ, मेरो नयाँ एल्बम ‘बुद्ध वाज बर्न इन नेपाल’ भर्खरै रिलिज भएको थियो । केही न केही त गर्नैपर्छ भनेर फेसबुकका साथीहरूसँग वार्तालाप भयो ।

शान्ति र्‍याली आयोजना गरेर जी टिभीले प्रसारण गर्न लागेको अभियानको विरोध गर्ने निष्कर्षमा पुग्यौँ । मेरो गीत समयसान्दर्भिक भएको र सेलेब्रिटीले भाग लिएमा विरोध अझ सशक्त हुने आवाज उठ्यो । कसैलाई पनि आयोजक नराखी शान्तिपूर्ण विरोध र्‍याली गर्ने योजना बन्यो । कुनै
पनि राजनीतिक पूर्वाग्रह लिएर आउन नपाइने सर्त पनि राखियो । एकले अर्कालाई सेयर गर्दै फेसबुकमा सबैलाई निमन्त्रणा गरियो ।

शनिबारको दिन थियो, स्थानः वसन्तपुर । मध्याह्न १२ बजेभित्र सोच्दै नसोचेको भिड जम्मा भयो । युवावर्गको बाहुल्यता बढी थियो । म र नायक रमीत ढुंगानाले शान्ति र्‍यालीको नेतृत्व गरेका थियौँ । नायक रमीत ढुंगानाले पनि त्यतिखेरै ‘बुद्ध’ नामक चलचित्र निर्माण गर्नुहुँदै थियो ।

बाटोको दायाँ–बायाँ घरको झ्यालबाट मानिसहरूले ताली बजाएर हामीलाई स्वागत गरे । ‘गौतम बुद्ध नेपाली’, ‘माफी होइन प्रतिबद्धता चाहन्छौँ’, ‘बुद्ध बर्न इन नेपाल’ लेखिएका ब्यानरहरू थिए । वसन्तपुरबाट र्‍याली सुरु गरेर असन, रानीपोखरी, सोह्रखुट्टे, लाजिम्पाट हुँदै बालुवाटार प्रधानमन्त्री निवासमा पुग्यौँ । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीज्यूलाई हस्ताक्षरसहितको निवेदन बुझाएर र्‍याली समाप्त भयो । त्यसपछि देशका विभिन्न ठाउँहरूमा पनि शान्ति ¥याली आयोजना भए । त्यसको केही समयपछि भारतीय राजदूतावासले औपचारिक रूपमै ‘भगवान् बुद्धको जन्म नेपालमै भएको’ समाचार प्रकाशित गर्‍यो ।

क्यानडामा भएको शान्ति र्‍यालीमा

कोरियामा नाराबाजी
सन् २०१३ मा कोरियामा भएको एक कार्यक्रमको प्रसंग बताउँदै छु । त्यहाँ कुनै पनि किसिमको नाराबाजी गर्न मनाही थियो । विशुद्ध आफ्नो गीत–संगीत मात्र प्रस्तुत गर्नुपर्ने सर्त थियो । तर, स्टेजमा चढिसकेपछि मलाई लाग्यो, यो मौका घरीघरी आउने छैन । मैले यो सन्देश संसारसम्म पुर्‍याउनु नै थियो । देशको स्वार्थका लागि यति ‘रिस्क’ त मैले लिनैपर्छ । मलाई थाहा थियो, आयोजकले मेरो यो कदमलाई कदापि सभ्य मान्ने छैनन् । यो जान्दाजान्दै मैले नियम तोडेँ । सुरुमै जोड जोडले चिच्याएँ ‘आई एम हियर टु टेल द वल्र्ड, द्याट लर्ड बुद्ध वाज बर्न इन नेपाल’ (म संसारलाई यो बताउन यहाँ आएको छु कि बुद्धको जन्म नेपालमा नै भएको हो) । नेपालको झन्डा हातमा बोकेका थुप्रै नेपाली दाजुभाइले ‘होमा हो’ मिलाउँदै समर्थन जनाउनुभयो । एक किसिमको रमाइलो महसुस भयो, आत्मबल झनै बढ्यो । मैले गीत गाउन सुरु गरें– ‘बुद्ध वाज बर्न इन नेपाल…’।

गीत गाइरहँदा अत्यन्त भावुक भएको थिएँ । जिउभरि काँडा उम्रेको थियो, आँखाभरि नेपाल चम्केको थियो । पाँच मिनेटको गीत केही सेकेन्डमै सकिएझैँ लाग्यो । गीत गाइसक्दा साह्रै ठूलो आनन्द मिल्यो । ठूलो भारी बिसाएझैँ लाग्यो । खुसीले लामो सास फेरेँ र दर्शकहरूलाई सोधेँ– ‘बुद्ध वाज बर्न इन…?’ ‘नेपाल…’ दर्शकदीर्घाबाट जवाफ आयो । तर, मलाई थाहा भयो कोरियन आयोजक साथीहरूले यो नाराबाजीलाई त्यति निको मानेनन् ।

कोरियामा बस्नुहुने आदरणीय मित्र रुवेनप्रताप खड्काजीले म अघिल्लो साल युरोप टुरको सिलसिलामा बेल्जियममा छँदादेखि नै यो कन्सर्टका लागि निमन्त्रणा गर्नुभएको थियो । रुवेनजी कोरियामै रहेर नेपाली गीत–संगीत, कला र संस्कृतिको विकासको लागि दिनरात खटिनुभएको व्यक्ति । हुन त कोरियामा मैले धेरैपटक कार्यक्रम गरिसकेको थिएँ, तर रुवेनजीले भनेपछि मलाई यो कार्यक्रम विशेष लाग्यो । संसारभरका गायक, संगीतकारहरू एकै ठाउँमा आएर प्रस्तुति दिने कार्यक्रम थियो । अझ महत्वपूर्ण कुरा त त्यो कार्यक्रम एरिराङ टेलिभिजनमार्फत संसारभरका दर्शकमाझ प्रत्यक्ष प्रसारण हुँदै थियो ।

नेपालीको तर्फबाट कार्यक्रम संयोजक यज्ञराज सुवेदीजी हुनुहुन्थ्यो । उहाँ समाजसेवी व्यक्ति । ‘हेर्नुस् न धीरज भाइ, खालि सेवा–सेवा भनेर कुद्दा ४० वर्षको उमेरमै उहाँ ६० को देखिसक्नुभयो,’ भाउजूले ठट्टा गर्नुभयो । कार्यक्रममा नेपालको तर्फबाट मैले प्रतिनिधित्व गरेको थिएँ । कन्सर्ट सुरु हुनुअघि कोरियामा रहनुभएका सबै नेपाली मिलेर शान्ति र्‍याली सम्पन्न गर्‍यौँ । र्‍याली र कार्यक्रम दुवैमा भगवान् बुद्ध नेपालमा जन्मिनुभएको कुरालाई बढी जोड दिइयो । करिब १३ वटा देशका कलाकारहरूले आफ्नो प्रस्तुति दिए । धेरैलाई भगवान् बुद्ध नेपालमा जन्मेको जानकारी रहेनछ । कन्सर्ट सकेर बाटोमा जाँदाजाँदै मैले सुनेँ– ‘अब भने कोरियनहरूले बुद्ध नेपालमा जन्मिएको कुरा पत्याउने भए ।’

क्यानडामा शान्ति सद्भाव दूत नियुक्त
सन् २०१५ मा गायिका सुनिता दुलाल र म कन्सर्टका लागि क्यानडा भ्रमणमा निक्लेका थियौँ । लोकगीत र पपगीतको फ्युजनले गर्दा हाम्रो जोडी खुब जम्यो । आफू प्रकृतिप्रेमी भएकाले होला, क्यानडा मलाई साह्रै मन पर्‍यो । डाँडाकाँडा, खोलानाला, वन जंगल र वन्यजन्तुले गर्दा मन साह्रै रमायो । यसै क्रममा एक दिन क्यानडाको ‘टोरन्टो’मा छँदा त्यहाँका साथीहरूले मलाई सम्पर्क गर्नुभयो । संयोग नै भन्नुपर्छ, त्यसको अर्को साता बुद्ध जयन्ति परेको रहेछ । बुद्धको सन्देश र शान्ति र्‍यालीका बारेमा उहाँहरूले पहिलेदेखि नै सुन्नुभएको रहेछ । ‘धीरजजी क्यानडाको शान्ति र्‍यालीको उद्घाटन पनि तपाईंकै हातबाट गर्नुपर्ने भयो’ भन्नुभयो ।

टोरन्टोको मुख्य चोकबाट र्‍याली सुरु गर्ने योजना थियो । तर, हाम्रो गाडी बिग्रिएकाले तोकिएको समयभन्दा करिब ३० मिनेट ढिलो पुगेँ । र्‍याली सुरु भएर अघि बढिसकेको रहेछ । ‘धीरज भाइ, हामी एक किलोमिटरजति अगाडि बढ्दै छौँ, पुलिसले हामीलाई तोकिएको समयभन्दा बढी त्यहाँ बस्न दिएन,’ एक सहभागीले मलाई खबर गर्नुभयो । समयको महत्व विदेश पुगेपछि मात्रै थाहा हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेँ । नभन्दै एक किलोमिटरको दूरीमा म पनि र्‍यालीमा मिसिन पुगेँ । सेलेब्रिटी अनुहार अगाडि हिँड्नुपर्‍यो भन्दै राम मोक्तानजीले पोज–पोजमा फोटो खिच्नुभयो ।

दुईजना स्थानीय प्रहरीले साइकलमा चढेर हामीलाई सुरक्षा प्रदान गरिरहेका थिए । स्टेफेन र पलले म गायक भएको र शान्तिको सन्देश लिएर कन्सर्ट गर्दै हिँडेको थाहा पाएका रहेछन् । ‘नेपाल– बुद्ध, सगरमाथा र गोर्खालीको देश’ भनेर मैले चिनाएँ । क्यानडा साह्रै मन परेको र राम्रा हिमालहरू हेर्न ‘क्याल्गरी’ गएको पनि बताएँ । मूल सडकमा शान्ति र्‍याली अघि बढिरहँदा गाडी रोक्दै मानिसहरूले हामीलाई ‘चियर अप’ गरे ।

पाँच किलोमिटर हिँडिसकेपछि एउटा ठूलो चौरमा थुप्रै नेपाली जम्मा भयौँ । बुद्ध जयन्तिका बारेमा केही औपचारिक कुराकानीपछि मलाई स्टेजमा निमन्त्रणा गरियो । मलाई ठूलो ‘सरप्राइज’ मिल्यो । खुसीसँगै जिम्मेवारीबोध भयो । ‘बुद्ध र बुद्ध जन्मेको देशलाई संसारमा गीत–संगीतमार्फत चिनाउन लागिपर्नुभएका गायक तपार्इंलाई यो वर्षको शान्ति सद्भावना दूतमा नियुक्त गरिएको छ,’ सुनौलो फ्रेममा मोडिएको प्रमाणपत्र हात पर्‍यो ।

बुद्ध बर्न इन नेपाल ? ‘द्याट्स नन्सेन्स्’
एमएको त्यो पुस्तक, त्यसपछि जी टिभीको टेलिसिरियल, नरेन्द्र मोदीको विवादास्पद भाषण, अब फेरि दलाई लामा ? नोबेल शान्ति पुरस्कार विजेता धर्मगुरु दलाई लामा बुद्ध धर्मका आध्यात्मिक गुरु हुन् । यो सन्दर्भमा उनी आफ्नै कित्ताका हुन् भन्ने ठम्याइ नेपाली बुद्धधर्मावलम्बीको छ । तर, केही समयअघि युट्युबमा उनको भाषण सुनेर प्रायः सबै नेपाली अचम्मित भए र आक्रोशित पनि । किनभने, यो विषय बुद्ध धर्मावलम्बीभन्दा पनि नेपाल र नेपालीको सरोकारको विषय थियो । बुद्ध नेपालमा जन्मेको कुरालाई वाहियात भनी उनले गरेको भाषण सुनेर म पनि छक्कै परेँ । पाँच वर्षअघि नै यो कुरा स्पष्ट भइसकेको थियो भन्ने मलाई लाग्थ्यो । किनभने सोही वर्ष जी टिभीविरुद्ध गरिएको शान्ति र्‍यालीपछि भारतीय दूतावासले लिखित रूपमै ‘बुद्ध नेपालमै जन्मेको’ जानकारी गराएको थियो । यसबीचमा मैले विदेशमा अभियान सञ्चालन गर्दै आएँ ।

हुन त यो लेख लेख्दासम्म धर्मगुरुले माफी मागिसक्नुभएको छ । तर, कुरो ‘बुढी मरीभन्दा पनि काल पल्कियो’ भन्ने हो । भविष्यमा यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न । सुरुका दिनहरूमा मलाई आफ्नो प्रेमिकाका लागि गाइएको गीत सबैभन्दा ठूलो लाग्थ्यो । तर, गाउँदै जाँदा गीत–संगीत ‘समाज परिवर्तनका लागि’ हुनपर्छ भन्ने लाग्यो । आज २५ वर्षपछि लाग्दै छ, व्यक्ति, जाति, भाषा, धर्मभन्दा राष्ट्र र राष्ट्रियता ठूलो रहेछ । यसका लागि हरबखत तयारी अवस्थामा रहन जरुरी छ । नबिर्सौं हामी पनि ‘सैनिक पोसाक’ नलगाएका सैनिक हौँ । म पनि थाकेको छैन, अभियान जारी छ । ‘बुद्ध वाज नट बर्न इन इन्डिया, ही वाज बर्न इन नेपाल’ ।

तपाईको प्रतिक्रिया