logo

bar

गाउँबाट चुनाव नियाल्दा

झलक सुवेदी | मङि्सर १४, २०७४

अघिल्लो साता चार दिनजति म कास्कीका केही गाउँ पुगेँ । घर नपुगेको पनि दुई वर्ष भइसकेको थियो । आफ्नो रित्तो र बिरानिँदै गएको घर पुग्दा त्यसले नेपालका धेरै गाउँको कथा भनेजस्तो लाग्यो । आफू जन्मे–हुर्केको, खेलेको, लडेको र उठेको आँगनवरपरका दृश्य उनै थिए, तर आमाबा नबसेको घर घरजस्तो लाग्दो रहेनछ । क्रमशः रित्तिँदै गएका बस्ती । मेरो छिमेकमा मेरी माइली आमा र एउटी मूक बहिनी बस्छन् । आमा ८० वर्ष, छोरी ४५ वर्ष । दुइटा भैंसी पालेर दूध दुहुँदै बसे पनि एकलास र बुढेसकालको असहायपनले भरिएको अनुहार लिएर आमाले दिएको दुई गिलास मही पिएँ । अर्कोपट्टिको घरमा एकजना ६५ वर्षजतिकी सानीमा र उनको त्यति नै उमेरको मूक देवर बस्छन् । दुवै घरका अरू सन्तान या पोखरा छन्, या अरू नै ठाउ“मा अध्यवसाय गरेर बसेका छन् । रित्ता घरहरूको यो कथा यताको मात्र होइन । घरहरू रित्तिएसँगै पाखोबारीको जोतभोग घटेको छ । बारीहरू बाँझै पल्टेका छन् । यो दृश्य भाचोकको पनि हो । यही दृश्य थाकको पनि हो ।

माझठानामा भने जिल्लाकै उत्कृष्ट उब्जाउ टारी भएकाले किसानहरू अझै पनि खेतिपाती गर्दै रहेछन् । कसैको खेत बाँझो थिएन । त्यहाँका किसानले बताएअनुसार प्रतिरोपनी सात मुरीजति जेठोबुढो धान फल्ने भएकाले केही दलित परिवारबाहेक त्यहाँका किसानको जीवनस्तर राम्र्र्रै छ । अतिरिक्त श्रम भने यिनले पोखरा या विदेशतिर पोखिरहेका छन् । बाहिरको कमाइ गाउँ प्रायः फर्किन्न । खेतीमा पुनः लगानी छैन । कोहीकोहीबाहेक प्रायः परम्परागत निर्वाहमुखी खेतीमै रमाइरहेका छन् ।

रैकर पुगेका वेला एकजना वाम गठबन्धनका मतदातासँग केहीबेर कुरा गरियो । सउदीतिर १२ वर्षजति काम गरेर फर्केका उनी अहिले गाउँमै रहेछन् । मत वामपन्थी गठबन्धनका उम्मेदवारलाई दिने भए पनि उनी अहिलेसम्म नेताहरूले गरेको काम र व्यवहारबाट निकै असन्तुष्ट थिए । उनको चासो भने गाउँमा भएको आफ्नो जमिनको उपयोग गरेर सहज जीविका गर्ने वातावरण राज्यले बनाइदेओस् भन्ने रहेछ । पुँजी आफ्नै लगानी गर्ने, स्रोत आफ्नै परिचालन गर्ने, आफैँले श्रम गर्ने र राम्रो आम्दानी गर्ने सोच बनाएर पनि पूर्वाधार कमीका कारण केही गर्न नपाएको उनको गुनासो थियो ।

निर्वाचन प्रचारलाई प्रविधि र यातायातको सुविधाले होलो बनाएछ । गाउँगाउँमा नयाँ पुस्ताका सशक्त युवा कार्यकर्ता र नेताको एउटा तह तयार भएछ । अब बिस्तारै दलहरूको नेतृत्व हस्तान्तरणको प्रक्रिया आरम्भ हुने आशा पलाएको छ ।

राजनीतिक दलहरूका घोषणापत्र र नेताहरूको भाषणमा उनका चासोको सम्बोधन कतै पनि थिएन । मैले पनि पाइनँ, उनी पनि आस्वस्त भएनन् । सबै गाउँमा डुल्दा देखिएको एउटा साझा दृश्य भने खेतिपातीमा रहेको परम्परागत प्रचलन हो, जसले किसानहरूको जीवनस्तर उठाउन सहयोग गरिरहेको छैन हरेकजसो सरकारी विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । रैकरको माविमा पहिले सात आठ सय विद्यार्थी हुने गरेकामा अहिले तिनसयको वरपर मात्र रहेछन् । मलाई यो सुन्दा अनौठो लाग्छ । पहिले सामुदायिक विद्यालयमा कम शिक्षकले पढाएर पनि धेरै विद्यार्थी उत्तीर्ण हुन्थे । दरबन्दी नहुँदा गाउँलेले अनेक गरेर तलब खुवाएर पालेका शिक्षक, गाउँलेले श्रम गरेर बनाएका भवन हुँदा पनि चलेकै थियो । अहिले भवन बनाउन कतै न कतै राज्यकोषबाट पैसा जान्छ । सबै दरबन्दीमा सरकारी तलब खाने शिक्षक छन् । विद्यार्थी संख्या घटेको छ, शिक्षक संख्या थपिएको छ । तर त्यहीँको शैक्षिक गुणस्तरबारे मानिस आस्वस्त छैनन् ।

उता मेरो गाउँ मकैखोलाका केही साथीभाइसँग कुरा हुँदा त्यहाँको हाईस्कुलबाट पछिल्लो समय उत्पादन भएका विद्यार्थीले उच्च शिक्षामा राम्रै गरेको भेटियो । कसैले पुल्चोकमा नाम निकालेर र कसैले अरूतिरै इन्जिनियर पढ्दै गरेका पनि रहेछन् । यो सुनेर खुसी लाग्यो । अलि सामान्य विषय पढेका या आधा बाटोमा पढाइ छाडेकाहरूका लागि रोजगारी अहिलेको मुख्य चुनौती भएको देखियो ।
निर्वाचनको समय भएकाले गाउँमा राजनीतिक चहलपहल छ । कच्ची भए पनि सडक सञ्जालले बेरेको गाउँबस्तीमा उम्मेदवार र तिनको प्रचार टोली गाडीमा सरर जान्छ धुलो उडाउँदै । गाउँलेहरू माला र खादाले सत्कार गर्छन् । सायद दलको पहिलेकै योजनामा खाना तयार हुन्छ । यस्ता भोज हुने सबैजसो ठाउँमा मासु खानाको अनिवार्य अंग बनेको देखियो । ०४८ र २०५१ को निर्वाचनसम्म पनि प्रायः प्रचारमा हिँड्नेहरूलाई स्थानीय नेता कार्यकर्ता या शिक्षकले आप्mनै घरमा खाना बनाएर खुवाउँथे । सहर या कुनै पसलमा दिउँसो खाने खाजाबाहेक खानामा पैसा खर्च गर्ने चलन थिएन ।

अहिलेका एमाले उम्मेदवार खगराज अधिकारी उतिवेला पनि उम्मेदवार थिए । म आफैँले व्यवस्थापन गरेको ०४८ सालको निर्वाचनमा उनको खर्च ६१ हजार मात्र भएको थियो । अहिले ६१ लाखमा सक्न पनि मुस्किल रहेछ । पहिलेको यस्तो खर्च पनि धेरैजसो शिक्षक, केही कर्मचारी र केही व्यापारीसँगको चन्दाले चल्थ्यो । अहिले स्थिति बदलिएछ । आर्थिक तरक्की गरेका कार्यकर्ता र व्यापारीले यस्तो खर्च व्यहोर्न सक्ने हैसियत बनाउँदै गएको पाइयो । यद्यपि खर्च कति हुन्छ या कसरी व्यवस्थापन गरिन्छ, चन्दा कसले दिन्छ जस्ता विषयमा कसैले मुख खोलेर कुरा गर्न चाहेन।

निर्वाचन प्रचारलाई प्रविधि र यातायातको सुविधाले होलो बनाएछ । गाउँगाउँमा नयाँ पुस्ताका ससक्त युवा कार्यकर्ता र नेताहरूको एउटा तह तयार भएको रहेछ । यो देखेपछि अब बिस्तारै दलहरूको नेतृत्व हस्तान्तरणको प्रक्रिया आरम्भ हुने आशा पलाएको छ ।

मादी गाउँपालिका र कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख को मात्र कुरा गर्दा नेपाली कांग्रेस ओरालो लाग्दै गरेको जस्तो देखियो । जति गाउँ डुलेँ वामपन्थी गठबन्धनका पक्षमा जनमत बढिरहेको मैले देखेेंँ । वाम गठबन्धनमा रहेका दुवै दलका कार्यकर्ता र मतदातासम्म उत्साहजनक समर्थन देखियो । यो देखेपछि मलाई निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता हुन सम्भव छ जस्तो लाग्यो । केही वर्षदेखि निष्क्रिय रहेका कांग्रेस पनि वाम गठबन्धन बनेपछि कांग्रेसका पक्षमा सक्रिय भएका भेटिए । मैले भेटेका वाम गठबन्धनका प्रदेश सभाका उम्मेदवारहरू कृष्ण थापा, मनबहादुर गुरुङ र रामजी बराल आफ्नो जितमा ढुक्क थिए ।

समग्र रूपमा कास्कीमा जनमत बुझ्ने प्रयास पनि गरेको थिएँ । ३ नम्बरमा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार शुक्रराज शर्मा वामपन्थी उम्मेदवार जगत् विश्वकर्माभन्दा अलि प्रभावशाली रहेको भन्ने चर्चा थियो । तर, स्थानीय तहको निर्वाचनको परिणाम र संगठित मत तथा वाम गठबन्धनले जगाएको उत्साह हेर्दा सबै सिट वामपन्थीको पोल्टामा जाने अनुमान धेरैले गरेको पाएँ । म भने यसपटक कसैबारे कुनै पूर्वानुमान सार्वजनिक गर्ने पक्षमा छैन ।

अहिलेको उम्मेदवारी हेर्दा एउटा सन्तोक गर्ने ठाउँ पनि छ । कास्की २ को ‘ख’ तिर प्रदेश सभामा कांग्रेस उम्मेदवार बिन्दु थापाले मात्रै पेसेवर राजनीतिबाहिरबाट आफूले आर्जन गरेको धनका कारण उम्मेदवार बनेको देखियो । अरू सबै राजनीति गरेरै आएकाहरू उम्मेदवार भएका छन् । महिला प्रत्यक्षतर्फ उम्मेदवार बनाइएका छैनन्, जुन देख्दा निकै खट्किन्छ । दलितबाट जीवन परियार र जगत् विश्वकर्माले प्रत्यक्षतर्फ पाएको उम्मेदवारीले दलितहरूको राजनीतिक शक्ति विस्तार भएको देखाउँछ ।

निर्वाचनमा कास्कीको २ नम्बर क्षेत्रका वामपन्थी उम्मेदवार रवीन्द्र अधिकारीको सक्रियता र उनले पाइरहेको जनसमर्थन पनि प्रशंसायोग्य छ । उनका बारे गुनासो नै नभएको त होइन, तर त्यो व्यक्तिगतस्तरमा छ र असन्तुष्ट पनि चुनावमा सक्रियतापूर्वक खटिएकै छन् । दुईपटक सांसद भइसकेर पनि त्यो लोकप्रियता कायम रहनु सजिलो हुँदैन ।

निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार खगराज अधिकारी, कांग्रेस उम्मेदवार यज्ञबहादुर थापा र २ नम्बर क्षेत्रमा कांग्रेसका उम्मेदवार देवराज चालिसेको भाषण गर्ने शैली भने अझै पनि विद्यार्थी नेता हुँदाको जस्तो अलि तीतो–टर्रो भयो भनेर आमवृत्तमा टीकाटिप्पणी गरेको सुनियो । मेरो अुनभवमा उनीहरूका सार्वजनिक भएका विचार हेर्दा अलि वासी कुरा र पूर्वाग्रह बढी देखेँ । शैली पनि उनीहरूको व्यक्तित्व सुहाउँदो नभएको सुनिँदै थियो ।

समृद्धि र विकासको नारा चर्काचर्का लागे पनि त्यो कसरी हासिल हुने हो, त्यस्तो समृद्धिको वितरण कसरी गरिन्छ तथा आम जनसमुदाय यस्तो अभियानमा कसरी सामेल हुन्छ भन्ने विषयमा कुनै उम्मेदवारको पनि खास ध्यान गएको पाइएन । परम्परागत बाटो र पानीका कुरा र पर्यटन तथा जलस्रोत विकासका अमूर्त कुरा गरेरै मत मागिरहेको देखिन्छ । यसै पनि कास्की देशकै सम्पन्न जिल्लामा पर्ने भएकाले व्यक्तिका समस्याको घेरा साँघुरो छ । तर, ती सबै वर्गका मतदातालाई छुने विषय प्रस्ट राख्न उम्मेदवार र दलका नेता चुकिरहेको देखेँ ।

उनीहरू राजनीतिका ठूला ‘न्यारेटिभ’को तुँवालो उठाएर मतदातालाई भ्रमित पार्न र एकप्रकारको भय उत्पन्न गराउने प्रयासमा थिए । यसमा कांग्रेस बढी आक्रामक र वाम गठबन्धन रक्षात्मक देखियो । कांग्रेसले जे आरोप लगाउँदै थियो, ती आफैँमा म्याद सकिएको विष या नपड्कने बमजस्ता थिए । तैपनि, यसको प्रभाव मतदातामा पर्ने नै भयो ।

मेरा लागि यसपालिको घुमाइ केही पुराना सम्बन्ध नवीकरण गर्न सहयोगी भयो । उहिले विद्यालयमा पढाएका या आफूले राजनीति सिकाएकाहरू अहिले गाउँ या प्रदेशको मात्र होइन, केन्द्रीय संसद्को पनि जिम्मेवारी मजाले सम्हाल्न सक्ने राजनीतिक पंक्तिका रूपमा विकास भएको पाउँदा एकप्रकारको आनन्द पनि लाग्यो । कास्कीका सबै क्षेत्र विकास सम्भावनाका दृष्टिले उम्दा छन् । चुनौती र नयाँ सम्भावन दुवै छन् । खाँचो केवल जसले जिते पनि त्यसलाई सम्भावनामा रूपान्तरण गर्ने दृष्टि र सक्रियताको मात्र छ ।

(यस अंकमा लेखुँला भनेर पहिले भनिएका कुरा अब आफैँ बासी हुँदै गएकाले त्यता प्रवेश गरिएन) ।

तपाईको प्रतिक्रिया