logo

bar

तुलनात्मक विवेक र भोटको सदुपयोग

नीलकण्ठ तिवारी | मङि्सर १४, २०७४

संघ तथा प्रदेशका लागि पहिलो चरणको निर्वाचन भएलगत्तै मुलुक दोस्रो चरणको निर्वाचनमा होमिइसकेको छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्दै दल र व्यक्ति नरुचाउनेको संख्या सानो भए पनि देशको बहुसंख्यक नागरिक चुनावी अभियानमा सामेल हुने संकेत प्राप्त भइसकेको छ ।

मत सामान्य विषय होइन । मानव सभ्यता व्यवस्थापनका लागि विधि र नेतृत्व तय गर्ने प्रक्रिया हो । गरिबी र अशिक्षाका कारण भोटको महत्व सही रूपमा सम्प्रेषित हुन सकेको छैन । अझै वर्तमान निर्वाचनको बेथिति र पैसा नभए आँट्न नसकिने परिस्थितिले निर्वाचनको महत्व र गरिमालाई ओझेलमा पार्ने गरेको छ । यति हुँदाहुँदै पनि मुलुक र नागरिक सबै निर्वाचनमय भइसकेकाले दोस्रो चरणमा अब अन्तिम विवेकको विषयले प्रवेश पाएको छ । यतिवेलाको अन्तिम विवेक भनेको हामी नेपालीले भोट केका लागि खसाल्दै छौँ भन्ने विषयसँग सीधा जोडिएको छ ।

दक्षिण र उत्तरका दुई ठूला देशको हाराहारीमै राजनीतिक परिवर्तन संस्थागत गर्दै अघि बढ्न खोजेको हाम्रो देशले विकास र समृद्धिमा परिवर्तनको बहाव ल्याउन सकेन । विकास र समृद्धिको प्रश्नमा नीति र नेतृत्व सीधा जोडिएको हुन्छ । ००७ सालमा हामी राणाशासन अन्त्य गरी बहुदलीय व्यवस्थातर्फ उन्मुख भए पनि नेतृत्वको मानसिकता, सामाजिक र सांस्कृतिक सम्बन्धका कारण मुलुकले प्रगतिशील पुँजीवादको बाटो सही रूपमा पक्रन सकेन । समाजवादी चिन्तक बिपी कोइरालालाई जनताले स्पष्ट बहुमत दिए, तर ढुलुमुले स्वभावको तत्कालीन कांग्रेसका धेरै सदस्य पञ्चायततर्फ लहसिए । यसबीच विकासका लागि पञ्चवर्षीय योजना पनि सुरु त भए तर आत्मनिर्भर र स्वाधीन विकासको मार्ग बनाइएन । दातामुखी परनिर्भर अर्थतन्त्रमा रमाउ“दै सत्ताको स्वाद लिइरहने संस्कृतिको विकास भयो ।

भोट भनेको विवेक भएकाले नेपालका राजनीतिक दलको इमानदारी, निष्ठा, प्रतिबद्धता र व्यावहारिक कार्यान्वयनको सही विश्लेषण यतिवेला गरिनुपर्छ । नेपाली कांग्रेसले २००७ सालपछि धेरै अवसर प्राप्त गर्‍यो । ०१५, ०४८ र ०५६ मा त बहुमतको सरकार बनाउने सुविधा पायो । ०१७ मा बहुमत सदस्यले प्रतिगमनमा बत्ती बालेको, ०४८ मा सत्ता बाँडफाँडको असन्तुष्टिका कारण छत्तीसे र चौहत्तरेको तीतो इतिहास भोग्दै गणेशमान र अन्ततः कृष्णप्रसाद भट्टराईसमेत बाहिरिनुपरेको तथा ०५६ को बहुमतपछि ०५८ मा आइपुग्दा संकटकाल हुँदै कांग्रेसकै हातबाट राजालाई सत्ता बुझाएको घटना कसैले छिपाएर छिप्दैन ।

नेपालमा वामपन्थी पार्टी मुख्यतः माओवादी केन्द्र र नेकपा एमालेको छुट्टाछुट्टै र संयोगवशका व्यावहारिक प्रयोग एवं सहकार्यबाट मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । व्यवस्थाभित्रको विकृति र विसंगतिका कारण वाम आन्दोलनभित्रका पात्र पनि जनअपेक्षाअनुसार चल्न नसकेको कुरो स्विकार्नुपर्छ । तर, ६० वर्ष नाघेकालाई कम्युनिस्टले गोली हानेर मार्छन् भनेर कोकोहोलो मच्चाउनेलाई ०५१ सालमा अल्पमतको सरकार चलाउने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले व्यवहारमै जवाफ दिएका थिए, वृद्ध भत्ता सुरु गरेर । अन्य सामाजिक सुरक्षाका विषय तथा ‘नौ स’ अभियान र आफ्नो गाउँ आफैँ बनाउँजस्ता कार्यक्रम अघि सारेर उनले वामपन्थी शक्ति देश र जनताप्रति इमानदार छ भनेर व्यवहारमै जँचाएका हुन् ।

त्यसैगरी वर्गसंघर्षको स्वरूप विकास गर्दै र संसारै हल्लाउने जनयुद्धमार्फत नेपाली सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्र अन्त्य गराउने प्रमुख शक्ति माओवादीले ०६५ को संयुक्त सरकारमार्फत मुख्यत शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउने जोड गरेकै वेला घेराबन्दी सहनुपर्‍यो । त्यसलगत्तै वाम नेतृत्वका सरकारबाट जनता र देशको हितमा भएका सकारात्मक कामका अलावा ओली नेतृत्वको सरकारले आत्मनिर्भरता र स्वाधीनतालाई गरेको प्रतिबद्धता एवं प्रचण्ड नेतृत्वको दोस्रो सरकारले हटाएको लोडसेडिङ तथा विकास परियोजनामा तीव्रता र सुशासन कसैले छेकेर नछेकिने भएको छ ।
नेपाली जनता अहिले संसारकै विकसित र समृद्ध देशका नागरिकजस्तै प्रविधिमैत्री भएकाले सुख र समृद्धिको चाहना पनि उही रूपमा राखेका छन् । तर, देशको विकासको गति निकै पछौटे छ । बिजुली जन्मिएको १०८ वर्षमा ९ सय मेगावाट उत्पादन हुन नसक्नु र जलस्रोतको धनी देश भनेर भाषण बजाइरहनु हाम्रो नियति बनेको छ । यो कछुवा गतिको विकासलाई बुलेट ट्रेनको रूपमा परिकल्पना गर्ने नेपाली मस्तिष्कलाई सम्बोधन गर्न सक्ने तागत वामपन्थीसँगै बढी छ ।

प्राप्त उपलब्धिको जगेर्ना गर्दै संविधानको अग्रगामी कार्यान्वयन भएको देख्न चाहने, बहुमत प्राप्त स्थिर सरकारबाट विकासको गति हुइँकिएको देख्न चाहने अनियमितता, भ्रष्टाचार, कुशासन र बेथितिको विकल्पमा स्वच्छ, निष्पक्ष, जवाफदेही, भ्रष्टाचारमुक्त र सुशासनका मान्यतामा आधारित पारदर्शी प्रणाली स्थापना गर्न चाहने जनमतको कुनै कमी छैन यहाँ । गरिबी, बेरोजगारी र असमानता हटाउँदै शिक्षा, स्वास्थ्य, रोजगारीसहित सुनिश्चितता भएको देख्न चाहने, उत्पादनमार्फत आत्मनिर्भरता र आत्मनिर्भरता मार्फत स्वाधीनता एवं स्वाधीनतासहितको समृद्धिमार्फत समाजवादको अनुभूति गर्न चाहने र आर्थिक समानतासहितको सामाजिक न्याय बहाली भएको देख्न चाहने परिवर्तनप्रेमी नेपाली आफ्नो मतको विवेकपूर्ण प्रयोग गर्न आतुर छन् । सत्ताकब्जा र अधिनायकवादको बासी कोकोहोलो सबैका कानबाट आउटडेटेड भइसकेको छ । कांग्रेस आफैँ कति लोकतान्त्रिक छ भन्ने हेर्न धेरै पर पुग्नै पर्दैन । एमालेसँग सहकार्य बढाउनासाथ कांग्रेसले माओवादी मन्त्रीलाई विनाविभागीय त बनाएकै छ ।
(तिवारी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया