logo

bar

सातै प्रदेशमा महादान मञ्चन

नयाँ पत्रिका काठमाडौं, १३ मंसिर | मङि्सर १३, २०७४

निर्वाचन आयोगले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन तथा आरोहण गुरुकुलको सहकार्यमा तयार गरेको मतदाता शिक्षासम्बन्धी नाटक ‘महादान’ मंगलबार पनि देशका सातै प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिएको छ ।

नाटकले सर्वसाधरणमा मतदानसम्बन्धी यथेष्ट जानकारी दिइरहेको राष्ट्रिय नाचघरका प्रबन्ध निर्देशक राजेश थापाको दाबी छ । महादान मञ्चन गर्न देशभर २२ वटा नाट्य टोली सक्रिय छन् ।

२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे शिक्षा दिने महादान नाटक आफ्नै भाषामा हेर्न पाउँदा सुदूरपश्चिमका स्थानीय दंग परेका थिए । नाटक सुदूरपश्चिमेलीसहित अछामी, डोटेली, बाजुराली र थारू भाषामा प्रस्तुत गरिएको नाट्य समूह लोटस युवा क्लबका ज्ञानेन्द्र गिरीले बताएका छन् ।

महादान मंगलबार मोरङको रतुवामाई नगरपालिकाको सिजुवा, सुनमसी नगरपालिकाको डाइनिया र रंगेली नगरपालिकाको कालीमन्दिर चोकमा आरोहण गुरुकुल समूहले मञ्चन गरेको टोलीका निर्देशक दीपेश भण्डारीले जानकारी दिए । त्यसैगरी, मंगलबार नै काभ्रेको धुलिखेल बजारमा सेलो थिएटरले नाटक मञ्चन गर्‍यो ।

चेतना नाट्य समूहले मंगलबार नै इलामको रोङ गाउँपालिकाको हर्कट बजार र सूर्योदय नगरपालिकाको फिकल बजारमा नाटक मञ्चन गरेको टोलीका प्रमुख सुरेश पोर्तेलले बताए । प्रदेश नं १ कै तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारमा नाटक महादान मञ्चन गरिएको झोरहाट नाट्य समूहका निर्देशक भरत गुरागाईंले बताए ।

यस्तै, प्रदेश २ को सप्तरीमा पनि विराट मैथिल नाट्यकला परिषद्ले तिलाठी कोइलाडी गाउँपालिकाको तोपा, महादेवा गाउँपालिकाको बथनाह टिकुली, तिरहुत गाउँपालिकाको मयोनाकडेरी नगर, शम्भुनाथ नगरपालिकाको कठौना बजार र खडक नगरपालिकाको कल्याणपुर बजारमा महादान प्रदर्शन गरिएको समूहका निर्देशक रामभजन कामतले जानकारी दिए । प्रदेश नं २ मा पर्ने महोत्तरीमा लोकसञ्चार समूहले नाटक देखायो ।

समूहका निर्देशक प्रियंका झाकाले बर्दिवास नगरपालिकाको बर्दिवास बजारमा नेपालीमा, औरही नगरपालिकाको औरही बजारमा नेपाली र मैथिलीमा, रामगोपालपुर नगरपालिकाको नगर बजार, गौशाला नगरपालिकाको गौशाला बजार र भंगाहा नगरपालिकाको भंगाहा बजारमा नेपाली र मैथिलीमा महादान मञ्चन गरिएको बताइन् ।

प्रदेश नं २ को रौतहट जिल्लाको विन्द्रावन नगरपालिकाको विश्रामपुर बजार, गढीमाई नगरपालिकाको समानीपुर र वाइपुर गाउँमा पनि नाटक प्रदर्शन गरिएको शृंखला नाट्य समूहका निर्देशक आशाकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेश नं ४ को काठमाडाैँमा आकाश थापाको समूहले दक्षिणकाली नगरपालिकाको फर्पिङ बजार, काठमाडौं महानगरपालिकाको महादेव–पावर्तीपरिसरमा महादान मञ्चन गर्‍यो । प्रदेश नं ४ मै सांस्कृतिक संस्थानकै रमेश केसी मट्टारेको समूहले ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँ र लगनखेल, महालक्ष्मी नगरपालिकाको लुभुमा महादान मञ्चन गर्‍यो ।

समूहका निर्देशक रमेशले ती ठाउँमा नेपाली र नेवारी भाषामा नाटक प्रदर्शन गरिएको बताए । भिक्टोरिया नाट्य समूहले प्रदेश नं ४ कास्कीको मादी गाउँपालिकाको याङ्जाकोटमा सो नाटक मञ्चन गरेको छ ।

यस्तै, प्रदेश नं ४ को पर्वतस्थित लुखुह्वास गाउँपालिकाको मेलमिलाप चोक, पैयुँ गाउँपालिकाको स्कुल चोक र फलेवास गाउँपालिकाको खानीगाउँमा सिड नेपाल नाट्य समूहले नाटक प्रदर्शन गर्‍यो । समूहका निर्देशक डम्बर गिरीले ती ठाउँमा स्थानीय प्रचलित भाषामा नाटक देखाइएको बताए ।

प्रदेश नं ६ को दैलेखस्थित चामुण्डा विन्द्रासैनी नगरपालिकाको चामुण्डा बजार, भैरवी गाउँपालिकाको डाँडीमाडी बजार, दुल्लु नगरपालिकाको दुल्लु बजार, आठबिस नगरपालिकाको राकम बजारमा नाटक देखाइएको आरंग नाट्य समूहका निर्देशक गणेश गौतमले जानकारी दिए ।

दियालो परिवार नाट्य समूहले प्रदेश नं ६ कै बर्दिया नगरपालिकाको बैदी, ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजार र राजापुर नगरपालिकाको राजापुर बजारमा महादान मञ्चन गरेको निर्देशक सन्तकुमार विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया