logo

bar

लमजुङमा महिलाको मत बढी खस्यो, मतपेटिका सीसीटीभी र दलको निगरानीमा

शान्ता कमली लमजुङ, १२ मंसिर | मङि्सर १२, २०७४

लमजुङमा पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पुरुष मतदाताभन्दा बढी महिला मतदाताले मत खसालेका छन् । पुरुष मतदाताभन्दा झण्डै ५ हजार ३ सय ६७ बढी महिला मतदाताले मत खसालेका हुन् ।

जिल्लामा रहेका १ लाख १५ हजार ४ सय ४९ मतदाता मध्ये ४१ हजार ३ सय ४९ महिला मतदाताले निर्वाचनमा मतदान गरेका छन् भने ३५ हजार ९ सय ८२ पुरुष मतदाताले निर्वाचनमा मतदान गरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताहरू रोजगारीका लागि विदेश लगाएतका अन्य क्षेत्रमा काम गर्न गएका कारणले महिलाहरूको मत बढी खसेको हुनसक्ने मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचर्यले बताए । उनले भने ‘अधिंकास पुरुष मतदाता रोजगारका लागि विदेशीनुका साथै अन्य ठाउँमा रोजगारीका लागि गएका कारणले महिलाहरूको मतदान बढी भएको हो ।’ उनले भने,‘जिल्लामा रोजगारी नहुदाँ यो समस्या आएको हो ।’

६७ प्रतिशत मत खस्यो

जिल्लामा रहेका १२३ वटा मतदान स्थल र १६५ मतदान केन्द्र रहेकोमा यस जिल्लाबाट ६७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमील्सीनाले बताए । ‘१ लख ६४ हजार ४ सय ४९ मतदातामध्ये ७७ हजार हजार ३ सय ३१ जनाले मतदान गरेका छन् ।’ उनले भने,‘यो कुल मतदाताको ६७ प्रतिशत हो ।’ स्थानीय तहको निर्वाचनमा जिल्लामा ७३ प्रतिशत मत खसेको थियो । अहिले कुल मतको ६ प्रतिशत कम हो ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले कम्तिमा ७५ प्रतिशत मत खस्ने आँकलन गरेको थियो । मत कम खस्नुमा उम्मेद्वारको संख्या कम हुने र गाडीको प्रयोग कम भएकोले पनि असर गरेको अनुमान गरिएको छ ।

मतपेटिकाको सीसीटीभी र दलको निगरानीमा

प्रतिनिधि र प्रदेशसभा पहिलो चरणको निर्वाचनको मतपेटिका निगरानीमा सीसीटीभी जडान गरिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रका २, २ जना प्रतिनिधिले रातदिन निगरानी गरिरहेका छन् । साना दलले भने मतपेटिकाको निगरानीमा प्रतिनिधि पठाएका छैनन् ।

आइतबार राति जिल्ला समन्वय समितिको हलमा राखिएको १ सय ६५ मतदान केन्द्रबाट ल्याइएका ४ सय ९५ मतपेटिकालाई सोमबार ३ ठाउँमा सारिएको छ । मतपेटिका सुरक्षामा सुरुको घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ ।

नेपाली सेनाले जिल्ला समन्वय समितिको कम्पाउण्ड बाहिर नियमित गस्ती गर्ने नेपाल प्रहरी र सशस्त्र सुरक्षा फौजले भित्रै सुरक्षा प्रदान गर्ने प्रजिअ युवराज मैनालीले बताए । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मतगणनाको नतिजा घोषणा नहुञ्जेलसम्म मतपेटिका सीसीटीभीको निगरानीमा रहने बताए । उनले भने बिजुली गएको बेलामा पनि सञ्चालनको लागि ब्याट्रीको व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र समानुपातिक मतपेटिका जिल्ला समन्वय समितिको समीक्षा हल, प्रदेशसभा (क) र (ख) को छुट्टाछुट्टै कोठामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको तत्कालीन जिल्ला विकास समितिको पुरानो हलमा भण्डारण गरिएको छ ।

मतपेटिकाको निगरानीका लागि १० वटा सीसीटीभी जडान गरिएको प्रजिअ मैनालीले बताए । उनका अनुसार मतपेटिका राखेको कोठा, मतगणना हुने जिल्ला समन्वय समितिको ठूलो हल तथा बाहिर सीसीटीभी राखिएको छ । यस्तै, जिल्ला समन्व्य समितिले बाहिर राखेको सीसीटीभीले पनि मतपेटिकाको निगरानी गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु