logo

bar

महरा जिताउन राेल्पाबाट दाङ झरे अनन्त

नवीन लोचनमगर रोल्पा, १२ मंसिर | मङि्सर १२, २०७४

पहिलो चरणको निर्वाचन सकिएसँगै त्यसक्षेत्रमा खटिएका नेता कार्यकर्ता निर्वाचन सम्पन्न हुन बाँकी क्षेत्रतिर खटिन थालेका छन् । प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ आफ्ना गुरु कृष्णबहादुर महरा तथा वाम उम्मेदवारलाई जिताउन मंगलबार दाङ झरेका छन् ।

रोल्पाबाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका अनन्त निर्वाचन सकिएपछि दोस्रो चरणको निर्वाचनका वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दाङ झरेका हुन् । अनन्त नेकपा माओवादी केन्द्र प्रदेश नं. पाँचका इन्चार्ज समेत हुन् ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कृष्णबहादुर महरा अनन्तका राजनीतिक तथा शैक्षिक गुरु समेत हुन् । अनन्तलाई जिताउन भोट माग्दै महरा दुईपटक रोल्पा पुगेका थिए । ‘मेरो शैक्षिक गुरुमात्रै होइन, राजनीतिक गुरु पनि हो महरा सर’, अनन्तले भनेका छन् । महराले रोल्पामा अनन्तले जित्दा आफ्नो पनि जित हुने बताएका थिए ।

अनन्तसँगै निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि दाङ झरेकी छन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार हुन् । उनले दाङमा महरालगायत वाम गठबन्धनका उम्मेदवारलाई भोट माग्नेछिन् ।

सोनाम प्यूठान, सिजल पाल्पा

रोल्पाबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरु दोस्रो चरणको निर्वाचनमा गठबन्धनलाई सहयोग गर्न प्रदेशका अन्यत्र जिल्ला जाने भएका छन् । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् क्षेत्र नं. १ का प्रदेशसभा सदस्य उम्मेदवार कुलप्रसाद केसी ‘सोनाम’ प्यूठान जाने भएका छन् । सचिवालय सदस्य एवम् क्षेत्र नं. २ का प्रदेशसभा सदस्य उम्मेदवार दिपेन्द्र पुन ‘सिजल’ पाल्पा जाने भएका छन् ।

उनी पाल्पाका पूर्व ईन्चार्ज पनि हुन् । यसैगरी समानुपातिक उम्मेदवारहरु सीता आचार्य, हरीसरा घर्तीमगर दाङ जाने भएका छन् । अर्का समानुपातिक उम्मेदवार कर्मलाल परियार प्यूठान जाने भएका छन् । माओवादी केन्द्र रोल्पाका नेता तथा कार्यकर्ताहरु रोल्पाबाट दाङसहित छिमेकी जिल्लामा निर्वाचन प्रचारप्रसारमा खटिने बुझिएको छ ।

तपाईको प्रतिक्रिया