logo

bar

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी म्याड्रिड, १२ मंसिर | मङि्सर १२, २०७४

स्पेनिस ला लिगा फुटबलमा जारी सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोना दोस्रो बराबरीको सिकार भएको छ । बार्सिलोनालाई पछ्याइरहेको भ्यालेन्सियाविरुद्ध आइतबार बार्सिलोनाले एक–एक गोलको बराबरी खेल्यो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमले सुरुवाती अग्रता बनाए पनि बार्सिलोनाले अन्तिम समयमा बराबरी गोल फर्काउँदै सिजनको सम्भावित पहिलो पराजय टारेको थियो । भ्यालेन्सियालाई घरेलु मैदानमा अग्रता दिलाउने क्रममा ६०औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

गोललाइन टेक्नोलोजी नहुँदा मेसीको गोल भएन
स्पेनिस लिगमा गोललाई टेक्नोलोजीको प्रयोगको बहस पुनः एकपटक सतहमा आएको छ । आइतबार भएको खेलमा बार्सिलोना स्टार लियोनेल मेसीले पहिलो हाफको ३० मिनेटमा नै गोल गरेका थिए । तर, रेफ्रीले मान्यता नदिएपछि बार्सिलोना स्तब्ध भयो । मेसीले प्रहार गरेको बल हातबाट फुस्कँदै गोललाइन क्रस गरेको थियो । यद्यपि, गोलरक्षकले बललाई तत्काल वान टचमा फिर्ता ल्याएका थिए । स्पष्ट गोल भएको रिप्लेमा देखिएको थियो । बार्सिलोनाका खेलाडीहरू गोलको खुसी मनाइरहेका थिए । तर, रेफ्रीले गोलको मान्यता नदिएपछि पुनः खेल सुचारु भएको थियो ।

अन्तिम समयमा बराबरी
पहिलो हाफको गोलले मान्यता नपाएर स्तब्ध बनेको बार्सिलोनाविरुद्ध घरेलु टोलीले दोस्रो हाफमा अग्रता लियो । अग्रतापछि बार्सिलोना थप दबाबमा थियो । यस्तोमा बार्सिलोनाका जोर्डी अल्बाले खेल सकिन आठ मिनेट बाँकी रहँदा मेसीकै क्रसमा आकर्षक हेड गर्दै टिमको हार टार्न सफल भए ।

चार अंकको अग्रता
बार्सिलोनालाई पछ्याइरहेको भ्यालेन्सियाले बराबरी गर्दै एक अंक खोसेपछि बार्सिलोनासँग अंक दुरी चार अंकमा कायम गर्न सफल भयो । बराबरीपछि पनि बार्सिलोना शीर्ष स्थानमा कायमै रहेको छ । बार्सिलोना १३ खेलबाट अपराजित रहँदै दुई बराबरीका साथमा ३५ अंक जोड्न सफल भएको छ भने, भ्यालेन्सिया ३१ अंकसहित दोस्रो स्थानमा छ । लिगको तेस्रो स्थानमा एथलेटिकको म्याड्रिड र रियल म्याड्रिडको समान २७ अंकका साथमा तेस्रो र चौथो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया