logo

bar

विश्व क्रिकेट लिगको लागि नेपाली टिमको घोषणा

नयाँ पत्रिका काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको अन्तिम चरणको खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । आगामी २० र २२ गते युएईविरुद्ध उसकै घरेलु मैदानमा हुने खेलमा पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिएको हो ।

आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडीको अन्तिम टुंगो लगाएको हो । विगत केही सातायता क्लोज ‘क्याम्प’मा रहेको नेपाली टिम अन्तिम चरणको खेलका लागि अभ्यासमा व्यस्त रहेको छ ।

पुरानाकै बाहुल्य
राष्ट्रिय टिममा दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम १४ मा झार्दा पुरानै अनुहारको बाहुल्य रहेको छ । सोमबार घोषणा गरिएको टिमको कप्तानी पारस खड्काले गर्दा उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

राष्ट्रिय टिममा बायाँहाते ब्याट्सम्यान दिलीप नाथले पुनरागमन गर्दा शक्ति गौचन पनि टिममा फर्किए । भरपर्दा स्पिनर शक्ति अस्वस्थ भएपछि यसअघि भएको हङकङविरुद्धको खेलबाट नाम फिर्ता लिएका थिए । नाथ भने गत वर्षको चैतमा भएको इमर्जिङ टिम्स कपमा सिनियर टिममा डेब्यु गरेका थिए । त्यसयता टिममा पर्न संघर्षरत रहेका उनले च्याम्पियनसिपको अन्तिम चरणको खेलको अन्तिम १४ मा स्थान बनाउन सफल भए । नाथ र शक्तिको आगमनसँगै यसअघि टिममा रहेका नरेश बुढाएर र सुशील कँडेल बाहिरिए । त्यस्तै, अन्तिम २० मा छनोट भएका हसिम अन्सारी पनि टिममा रहन असफल भए ।

वैकल्पिकमा चार टिममा सहभागी दुई
अन्तिम १४ टिमसँगै चारजना वैकल्पिक खेलाडीको घोषणा गरियो जसमा दुईजना वैकल्पिक खेलाडीलाई टिमसँगै युएईमा लैजाँदा दुई भने नेपालमा नै रहनेछन् । टिमसँगै युएई जाने खेलाडीमा अनिलकुमार साह र कुशल भुर्तेल रहेका छन् । युएईविरुद्धको अन्तिम खेलअघि नेपालले केही अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । शुक्रबार अमेरिका र आइतबार केन्यासँग नेपालले अन्तर्राष्ट्रिय अभ्यास खेल खेल्दै आफ्नो क्षमता परीक्षण गर्नेछ । नेपालले अबुधाबीको शेख जायेद रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

दुवै टिमको प्रतिष्ठा
च्याम्पियनसिपको शीर्ष चारमा पर्न यसअघि नै असफल भइसकेको नेपाल र युएईका लागि यस खेललाई प्रतिष्ठाका रूपमा हेरिएको छ । डिभिजन दुईमा झरिसकेकाले नेपाल आफ्नो अन्तिम प्रतियोगितालाई सुखद बनाउन मैदानमा उत्रँदा घरेलु मैदानमा नेपाललाई पराजित गर्दैै प्रतियोगिताको सुखद अन्त गर्ने युएईको ध्याउन्न हुनेछ ।त्यसो त, फेब्रुअरीमा नामिबियामा हुने डिभिजन–२ को दाबेदारका रूपमा प्रस्तुत गर्ने पनि दुई टिमको ध्याउन्न रहेको छ । ६ टिमबीच प्रतिस्पर्धा हुने खेलमा डिभिजन दुई सबै टिमका लागि महत्वपूर्ण हुनेछ । डिभिजन–२ मा नेपालसहित युएई, नामिबिया, क्यानाडा र ओमानले प्रतिस्पर्धा गर्दा च्याम्पियनसिपमा शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कट्ल्यान्ड, हङकङ र केन्यामध्ये एक टिमको टुंगो लाग्न बाँकी छ ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दिलीपनाथ र शक्ति गौचन वैकल्पिक– कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी ।

तपाईको प्रतिक्रिया