logo

bar

साताको दोस्रो दिन नेप्सेमा झिनो अंकले गिरावट

नयाँ पत्रिका काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । बजार खुलेको केही समयपछि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक, कारोबारको १ घन्टा अवधिपछि उकालो लागेको थियो । त्यसपछिको समयमा सामान्य उतार–चढाव रहेको बजार अन्तिम समयसम्ममा शून्य दशमलव ६० अंक घटेर १ हजार ५ सय १३ दशमलव ७४ बिन्दुमा पुगेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनमा कुल ४५ दशमलव १८ अंक बढेको थियो । कारोबारमा आएका नौ समूहमध्ये ६ समूहको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचक पनि ओरालो लागेको हो । देशमा राजनीतिक स्थिरको अपेक्षाले लगानीकर्ताको मनोबल बढेको छ । नेप्से ओरालो लागे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम भने बढेको छ ।

यस दिन १ सय ५९ कम्पनीको ६ हजार १ सय ८९ पटकको कारोबारमा ६६ करोड ९८ लाख ९४ हजार २ सय १२ रुपैयाँबराबरको १२ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर खरिद–बिक्री भएको छ । यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ दशमलव ४६ प्रतिशत बढेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५२ दशमलव ७७ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य १ अंक घटेर ३ सय १९ दशमलव १४ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएको चिलिमे हाइड्रोपावर कम्पनीको सेयर यस दिन सबैभन्दा धेरै खरिद–बिक्री भएको छ । यस दिन सो कम्पनीको ६ करोड ४८ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको यस दिन ४ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन ९ दशमलव १४ प्रतिशत बढेको छ । राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य भने यस दिन ६ दशमलव ३ प्रतिशत घटेको छ । यस दिन कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १८ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव २१ प्रतिशत बढेको छ भने वित्त समूहको परिसूचक शून्य दशमलव ४८ प्रतिशत बढेको छ । ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत बढेको छ । कारोबारमा आएको होटेल समूहको परिसूचक सर्वाधिक १ दशमलव ६७ प्रतिशत र ट्रेडिङ समूहको १ दशमलव ५ प्रतिशत घटेको छ । यस दिन बिमा समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २८ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव १५ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया