logo

bar

सानो छँदा : चोरेको चामल किनिदिने साहुजी

सुरवीर पण्डित, कलाकार काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

सानो छँदा :  साथीभाइ मिलेर चलचित्र हेर्न सिनेमाघर खुबै गइन्थ्यो । सिनेमा हेर्ने रहर सानैदेखि औधी थियो मलाई । तर, पैसा कहाँ पाउनु ? पहिलो त घरमा थाहा दिएर सिनेमा हेर्न जानै पाइन्नथ्यो, दोस्रो पैसा हुन्नथ्यो ।

हामी तीन–चारजना साथीहरू मिलेर जुक्ति निकाल्थ्यौँ र सिनेमा हेर्ने बजेट जुटाउँथ्यौँ । चार–पाँच कक्षामा पढ्दाको प्रसंग हो । खासगरी आफ्नै घरको चामल चोर्ने र बेचेर जम्मा भएको पैसाले विश्वज्योति हलमा सिनेमा हेर्न पुग्थ्यौँ ।

त्यतिवेला मिथुन चक्रवर्तीका सिनेमा बढी चल्थे । घरमा चोरेको चामल बेच्न पनि विश्वासिलो मान्छे चाहिन्थ्यो । घरमा भनिदियो भने त बर्बादै भइहाल्थ्यो । तर, हाम्रो चोरी कर्ममा साथ दिने एकजना साहुजी थिए ।

ती साहुजीको नाम थियो– शेरे साइँला । चस्मा लगाएर बस्थे । त्यतिवेला किताबमा देखिने राजा महेन्द्रको फोटोसँग उनको अनुहार दुरुस्तै मेल खान्थ्यो । चोरेको चामल उनैले किनिदिन्थे, तर निकै कम मूल्यमा । सुरुमा ‘तेरो बालाई भन्दिम्’ भन्दै डर देखाउँथे र उनैले सस्तोमा किनिदिन्थे ।

मैले चामल चोरेको नदेखे पनि घरमा बा–आमालाई शंका भने लागेको रहेछ, राखेको भाँडोमा कम हुँदै गएको देखेर । मेरा सबै साथी मैजस्ता बदमास थिए ।

एक दिन चामल चोर्दै गर्दा बाबुले थाहा पाएपछि नराम्रोसँग कुटाइ खाएँ । त्यस दिनदेखि चामल चोर्ने काम बन्द भयो । कहिल्यै लामो हात गर्न सकिनँ ।

तपाईको प्रतिक्रिया