logo

bar

साथीहरुले “स्याङ्जामा कांग्रेस पाल्ने गोपालमान हो” भन्थे

रमेश सापकोटा काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

कांग्रेस उपसभापति भइसकेका गोपालमान श्रेष्ठसँग पटक–पटक मन्त्री पद सम्हालेको अनुभव छ । अहिले उनी उपप्रधानमन्त्री तथा शिक्षामन्त्री छन् । प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका श्रेष्ठले नयाँ पत्रिकाका रमेश सापकोटासँग आफ्नो राजनीतिक यात्रा सुनाए :

निबन्ध लेखेर पहिलो पुरस्कार
स्याङ्जामा हुनेखाने परिवारमै जन्मिएँ । बाबु–आमा व्यापार गर्नुहुन्थ्यो, खान–लाउन दुःख थिएन । पढ्नका लागि आर्थिक अभाव पनि थिएन । तर, गाउँको विद्यालय नियमित सञ्चालन नहुने भएकाले म स्याङ्जादेखि पाल्पासम्म पढ्न पुगेँ । स्याङ्जास्थित घरबाट पढ्नका लागि पाल्पाको विद्यालय जान दैनिक हिँडेर सम्भव थिएन । दुरी लामो थियो । त्यसैले पाल्पामै बसेर १० कक्षासम्म अध्ययन गरेँ ।

विद्यालय पढ्दै गर्दा ०१९ मा एउटा निबन्ध प्रतियोगितामा भाग लिने अवसर मिल्यो । देशव्यापी अन्तरविद्यालयस्तरीय निबन्ध प्रतियोगिता थियो त्यो । ०१८ मा तत्कालीन राजा महेन्द्रले नवलपरासीको गैँडाकोटमा पूर्व–पश्चिम राजमार्गको शिलान्यास गरेका थिए । तत्कालीन समयमा निकै महत्वपूर्ण मानिएको राजमार्ग शिलान्यास भएपछि सोही विषयमा निबन्ध प्रतियोगिता हुने भएको रहेछ । मैले भाग लिएँ ।

‘पूर्व–पश्चिम राजमार्ग नेपालीको भाग्यरेखा’ भन्ने शीर्षकमा निबन्ध लेख्नुपथ्र्यो । मैले पनि निबन्ध तयार गरेर काठमाडौँ पठाएँ । देशभरका प्रतियोगीलाई पछि पार्दै मेरो निबन्धले प्रथम पुरस्कार प्राप्त गरेछ ।

तर, मलाई तत्काल पुरस्कार जितेको जानकारी भएन । अहिलेजस्तो सञ्चारका साधन थिएनन् । छुट्टीमा स्याङ्जा आउँदा मात्रै आफूले पुरस्कार जितेको समाचार सुनेँ । निबन्ध प्रतियोगितामा प्रथम भएको घोषणा रेडियो नेपालबाट भएपछि थाहा पाएको थिएँ । अझ आफैँले लेखेको निबन्ध रेडियो नेपालबाट वाचनसमेत भएपछि खुसीको सीमा रहेन । रमाइलो लाग्यो । विद्यालय पढ्दै गर्दा जित्दाको त्यो क्षणले अहिले पनि रोमाञ्चित बनाउँछ ।

राजाको हातबाट थापिनँ पुरस्कार
पुरस्कार जितेपछि ग्रहण गर्न काठमाडौँ बोलाइयो । तत्कालीन राजा महेन्द्रले वितरण गर्ने कार्यक्रम थियो । पुरस्कारमा स्वर्ण पदक थियो । तर, राजाबाट पुरस्कार थाप्न पाइने रहर मलाई भएन । किनभने, महेन्द्रले बहुदल मास्दै पञ्चायती व्यवस्था सुरु गरेको मलाई मन परेको थिएन । दुईतिहाइ मत ल्याएर कांग्रेसका बिपी कोइरालाले बनाएको सरकारलाई अपदस्थ गरेका थिए । नेतालाई अपदस्थ गरेर जेल हालेको मलाई चित्त बुझेन । यस्ता तानाशाहको हातबाट पुरस्कार लिन्नँ भन्ने सोचले मनमा घर गर्‍यो । पुरस्कार थाप्न काठमाडौँ आइनँ । तर, पुरस्कार भने इन्कार गरिनँ । राजाको हातबाट पुरस्कार लिन्नँ मात्रै भनेको थिएँ ।

राजाको हातबाट थाप्न अस्वीकार गरेको पुरस्कार त्यतिवेलाका शिक्षामन्त्री केदारमान व्यथितले वितरण गर्नुभयो । तक्मा र नगद पुरस्कार मैले उहाँको हातबाट बुटवलमा भएको कार्यक्रममा थापेँ । राजाको हातबाट भए पुरस्कार थाप्दिनथेँ । तर, मन्त्रीले नै वितरण गरेपछि तक्मा र एक सय रुपैयाँ नगद पुरस्कार थापेँ । अहिलेको हिसाबमा एक सय रुपैयाँको ठूलो मूल्य छैन, तर विद्यालय पढ्दा ०१९ तिर सय रुपैयाँको मूल्य एकदमै धेरै थियो ।

राजाकै हातबाट थाप्न दबाब
परिवार, आफन्त र गाउँलेहरूले राजाबाट दिइने पुरस्कार कार्यक्रम बहिस्कार गर्न हुँदैन भनेर दबाब दिएका थिए । तर, आफ्नो सोचबाट बाहिर आइनँ । कसैको दबाबबाट झुकिनँ । जनताले निकै मिहिनेतपूर्वक ल्याएको प्रजातान्त्र ‘कू’ गरेपछि तिनै राजाको हातबाट पुरस्कार लिन मेरो मनले चाहेको थिएन । तर, राजाबाटै पुरस्कार लिनु राम्रो हुन्छ भन्ने अरू अभिभावक र शुभचिन्तकको धारणा थियो । मैले उहाँहरूलाई ‘तपाईंहरू कुरो बुझ्नुहुन्न’ भन्दै गाली गरेको थिएँ । पछि परिवारका सदस्यलाई भने यथार्थ बताएर सम्झाएँ ।

त्रिचन्द्र कलेजमा देउवा र पौडेलसँग भेट
पाल्पाबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौँ आएँ । त्रिचन्द्र कलेजमा भर्ना भएँ । अहिलेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाजीसँग त्रिचन्द्रमै भेट भएको हो । रामचन्द्रजी पनि तनहुँबाट त्यहीँ पढ्न आउनुभएको थियो । पढाइमा एक–दुई ब्याच तलमाथि भए पनि हामी दौँतरी थियौँ । उहाँहरूको संगतपछि ममा राजनीतिक चेतना झनै बढ्यो । राजनीतिमा सक्रियता बढ्न थाल्यो । राजनीतिमा मिलेर अघि बढ्ने प्रेरणा थप मिल्दै गयो ।

जब ०१६ मै बिपीलाई भेटेँ
मेरा दाजु काजीमान श्रेष्ठकै कारण राजनीतितिर मेरो झुकाब हुन थाल्यो । उहाँ कांग्रेस जिल्लासचिव हुनुहुन्थ्यो । यसकारण पनि घरमा राजनीतिक वातावरण थियो । उहाँको पछिपछि लाग्दालाग्दै मैले राजनीति बुझ्ने मौका पाएँ ।

तत्कालीन समयमा पार्टी कार्यालय पुतलीखेतमा थियो । नेपालमा रेडियो नेपालबाहेक सञ्चारका अरू माध्यम थिएनन् । दाइसँगै म बिहान ७ बजेको समाचार सुन्थेँ । अल इन्डिया रेडियो पनि सुनिन्थ्यो । घरकै पारिवारिक माहोल राजनीतिक भएकाले यतातिर लागेँ ।

बिपी कोइरालालाई ०१६ मा पोखराको अमृत थकालीको घरमा पहिलोपटक भेटेको थिएँ । उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, त्यसको एक वर्षपछि सेनाको बलमा महेन्द्रले दुईतिहाइ ल्याएको निर्वाचित सरकारलाई भंग गरे । कू मात्र गरेनन्, बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराईसहितका नेतालाई थुने । तरुण दलको कार्यक्रम हुँदै गर्दा राजाले संकटकाल लगाएर ‘कू’ गरेका थिए । त्यसैवेलादेखि राजाप्रति घृणा उत्पन्न हुन थाल्यो ।

चुनाव भएपछि हुर्किंदै गरेको प्रजातन्त्रलाई १७ महिनामै निमोठेपछि राजा र राजसंस्थाप्रति विश्वास भएन । १३–१४ वर्षको थिएँ, तर पनि घरको वातावरण राजनीतिक हुँदा यति चेतना विकसित भएको थियो । १४ सालको भद्र अवज्ञा आन्दोलन हुँदा भने बच्चै थिएँ । तर, अलिअलि त थाहा छ, सम्झना आउँछ । प्रजातन्त्रमाथि महेन्द्रको हस्तक्षेपछि विद्यालयमै स्ववियु गठन गरेर म राजनीतिमा होमिएको हो ।

व्यापारी बाउको छोरो पैसाको दुःख भएन
मेरा बाबु व्यापारी हुनुहुन्थ्यो । तर, म सानो छँदा बुबा बित्नुभयो । टुहुरो पनि भएँ, बाबुको देहवसान हुँदा म दुई वर्ष पनि पुगेको थिइनँ । व्यापार सम्हाल्ने र मलाई हुर्काउने आमाले गर्नुभयो । उमेरमा दाइ १२–१३ वर्ष जेठो हुनुहुन्थ्यो । उहाँ ठूलो भएको हुनाले व्यापारमा पनि उहाँले नै सघाउनुहुन्थ्यो । व्यापारी परिवार भएकाले विद्यालय तथा कलेज पढ्दा मसँग खर्च गर्ने पैसाको कमी कहिल्यै भएन । पढ्दा आमा र दाइले छुट्टाछुट्टै गरेर पैसा दिनुहुन्थ्यो ।

स्याङ्जाबाट काठमाडौं आउँदा पैदल र प्लेनको यात्रा गर्थें । स्याङ्जाबाट पोखरासम्म हिँडेर आउँथेँ । पोखराबाट ५०–६० रुपैयाँ तिरेर डेकोटा प्लेन चढेर काठमाडौं आउँथेँ । त्यतिखेर प्लेनमा विद्यार्थी छुट पनि पाइन्थ्यो । घर जाँदा पनि बिहान पोखरासम्म प्लेनमा र त्यहाँबाट हिँडेर बेलुका घर पुगिन्थ्यो ।

गण्डकी अञ्चलको विद्यार्थीको नेता
कलेज पढ्न सुरु गर्दा विद्यार्थी आन्दोलनमा झन् सक्रिय भएँ । पढ्ने र विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गर्दा काठमाडौंमा स्याङ्जा विद्यार्थी संघ खोलेँ । स्याङ्जाबाट पढ्नका लागि काठमाडौं आएका विद्यार्थी यसमा समेटिए । यसको विधि विधान बनाउने र नेतृत्व लिने काम गरिरहन्थेँ । गण्डकी साझा समितिको ‘प्रेसिडेन्ट’ पनि भएँ । विद्यार्थीको पनि नेता थिएँ । त्यतिखेरसम्म नेविसंघ गठन भइसकेको थिएन । स्याङ्जालगायत गण्डकी अञ्चलका जिल्लाबाट आएका विद्यार्थीको नेतृत्व गर्दा पहुँच र संगत काठमाडौंमा अरू नेतासँग पनि बढ्दै गयो ।

विद्यार्थी राजनीति गर्दा शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल पनि मेरा दौँतरी थिए । रामचन्द्रजीसँग पनि गण्डकी साझामै भेट भयो । कलेजमा पनि भेट भयो । सँगै पढ्नेमा रामशरण महत पनि थिए । उहाँ पातलो दुब्लो हुनुहुन्थ्यो ।

खर्च हुने ठाउँमा मलाई अगाडि सार्थे
मसँग पैसा भइरहने । राजनीतिक संगत र गतिविधि गर्दा पनि साथीहरूले मलाई नै अघि सार्थे । अलि राम्रो रेस्टुरेन्टमा जानुप¥यो भने ‘गोपालमान छँदै छ नि’ भनेर साथीहरूले मलाई देखाउँथे । खर्च गर्न पैसाको कमी थिएन । म त्यतिखेर पनि खर्च गर्न हौसिने स्वभावकै थिएँ । खर्चको आधार परिवार भएपछि मलाई साथीहरूसँग खर्च गर्न र रमाइलो गर्न गाह्रो थिएन । साथीहरूलाई खुवाउन र रमाइलो गर्न आनन्द लाग्थ्यो । ०१८–२० सालमै टाइसुट लगाएर हिँड्थेँ । त्यो फोटो अहिले पनि छ । गणेशमान दाइसँग भेट्दाको फोटो हेर्दा पनि म त्यतिवेला कस्तो थिएँ भन्ने थाहा हुन्छ । पहिलेदेखि नै राम्रै लाउने, राम्रै खाने, दुई–चार पैसा गोजीमा भइरहनेमा पर्थें । यो मेरो आफ्नै मात्र दाबी होइन, अरू सहपाठी र सहकर्मी साथीहरूले पनि यसै भन्छन् । ‘स्याङ्जामा पनि कांग्रेस पाल्ने गोपालमान हो’ भन्थे । यस्ता कहानी धेरै लामा छन् । म स्याङ्जाली थिएँ । तर, बच्चावेलादेखि नै पाल्पामा पढेको र संगत पनि पाल्पालीहरूसँगै धेरै भएकाले मलाई धेरैले ‘पाल्पाली’ भन्थे ।

त्रिचन्द्रमा पढ्थ्यौँ अस्कलको होस्टेलमा बस्थ्यौँ
त्रिचन्द्रमा म आर्टस्को विद्यार्थी । तर, बसाइ भने साइन्स पढाइ हुने अमृत साइन्स क्याम्पस (अस्कल)को होस्टेलमा हुन पुग्यो । प्रिन्सिपल अमृत जोशी हुनुहुन्थ्यो । म र पाल्पाको मेरो साथी विनोद श्रेष्ठले उहाँलाई कलेजको होस्टेलमा बस्न दिन अनुरोध गर्‍यौँ । ‘हामीलाई गाह्रो भयो, एउटा रुम दिनुस्, बस्छौँ’ भन्यौँ । उहाँ हाम्रो आग्रहमा ‘कन्भिन्स’ हुनुभयो । र, हामी अस्कलको होस्टेलमा बसेर त्रिचन्द्रमा पढ्न थाल्यौँ । तत्कालीन समयमा अस्कलको नाम पब्लिक साइन्स कलेज थियो ।
वैज्ञानिक सम्मेलनमा जाँदा प्लेन दुर्घटनामा अमृत सरको निधन भएपछि कलेजको नाम नै अमृत साइन्स राखिएको हो । अमृत साइन्स कलेजमा म ‘साहित्यमन्त्री’ थिएँ । त्यहाँ गण्डकी साझाबाट ‘बिपीबिन्दु’ पत्रिका निकाल्यौँ । त्यसअघि हामीले स्याङ्जाबाट ‘आँधीखोला’ पत्रिका निकालेका थियौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु