logo

bar
logo
Advertisment
SKIP THIS

राज्यको अपहरणमा बालकृष्ण ढुंगेल

गोपाल किराती काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

१४ गते २०७४ दिउँसो १ बजेतिर कमरेड बालकृष्ण ढुंगेल गिरफ्तारीको खबर आयो । लगत्तै पार्टी केन्द्रमा जानकारी गराइयो । पूर्वको प्रदेश पार्टीका नेताहरूलाई जानकारी गराउँदै अनलाइन पत्रिकामा विज्ञप्ति पठाइयो । बालकृष्ण ढुंगेलको जीवनरक्षा र पार्टी केन्द्रले पठाउने योजनामा प्रतिरोध संघर्षको तयारी आह्वान गरियो । यद्यपि, पार्टी केन्द्रीय कार्यालयबाट कुनै पनि संघर्षको कार्यक्रम जारी भएन । सँगसँगै, ओखलढुंगा पार्टीमा कार्यरत कमरेडहरूलाई आवश्यक लुगाफाटा पुर्‍याउन भनियो ।

गोपाल किराती

विभिन्न अनलाइन पत्रिकाले हाम्रो विज्ञप्तिलाई महत्वसाथ समाचार सम्प्रेषण गरे । त्यही समाचारको आधारमा बेलुकातिर अधिवक्ता सतीश मैनालीले फोन सम्पर्क गरे । उनको भनाइ थियो कि सर्वोच्च अदालतको फैसलामा गम्भीर त्रुटि छ । ढुंगेल गिरफ्तारीमा चासो दिनुभएकाले भेट्न चाहन्छु । भोलि बिहान ७ बजे हामीले भेट्यौँ र फैसला हेर्‍यौँ । तुरुन्त अध्यक्ष प्रचण्डलाई भेट्न लाजिम्पाट सम्पर्क गरियो । ११ बजेको समय दिइयो । हामी पुगेको २ घन्टापछि अध्यक्षसँग भेटियो । त्यसपछि हामी डिल्लीबजारतर्फ लाग्यौँ र बालकृष्ण ढुंगेलसित भेट्यौँ ।

श्री तपबहादुर मगर र श्री राजेन्द्रप्रसाद कोइराला निर्णित सर्वोच्च अदालतको फैसलाको पृष्ठ १५ मा भनिएको रहेछ–‘पोस्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भन्ने उज्वलकुमारको मृत्यु कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’ जब कि मृतक भनिएको उज्जनकुमार श्रेष्ठको लास नै फेला परेको छैन । तब प्रश्न उठेको छ, अदालतको फैसलामा कहाँबाट आयो पोस्टमार्टम रिपोर्ट ? जसको लाससमेत फेला परेको छैन, त्यसको कुन र कस्तो पोस्टमार्टम रिपोर्टका आधारमा सर्वोच्चमा मगर र कोइरालाले फैसला दिए ? न्यायाधीशद्वय मगर र कोइराला निर्णित सर्वोच्चले यसरी राजनीतिक पूर्वाग्रहमा बालकृष्ण ढुंगेलको ठाडो अपहरण गर्‍यो ।

बालकृष्ण ढुंगेललाई भेटेर फर्केपछि सामाजिक सञ्जालमा हामीले लेख्यौँ– सर्वोच्च अदालतका श्रीमान्, उज्जनकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट हेर्न पाऊँ ! सन्देश व्यापक बन्यो । अनलाइन पत्रिकाले जोडदार समाचार दिए । अधिवक्ता मैनालीले पूर्वाग्रहपूर्ण फैसला पुनरावलोकन गर्नुपर्ने, अन्यथा फैसलाले अदालतप्रति नागरिकमा अनास्था बढाएको विचार व्यक्त गर्नुभयो । अधिवक्ता सतीश मैनालीको चातुर्दिक पहल र सञ्चारमाध्यमको भूमिकाले बालकृष्ण ढुंगेलबारे सामाजिक न्यायको आधार सुदृढ गरेको छ । यद्यपि राज्यको न्यायले अपहरण गरि नै रहेको छ ।

सर्वोच्चको फैसलासँग जोडिएको अर्को प्रसंग पनि स्वतः प्रयोजित छ । उजुरीमा मृतकको नाम ‘उज्जनकुमार’ भनिएकोमा फैसलामा ‘उज्वलकुमार’ लेखिएबाट फैसला लेख्दै गर्दा मगर र कोइराला कुनै ओल्ड दरबारको धङधङीमा झुमेको स्थिति अवगत हुन्छ । अब सर्वोच्च प्रशासनले नागरिकलाई जवाफ दिनैपर्छ कि उुजुरीविपरीत त्यस फैसलामा उज्वलकुमार भनेको को हो ? के उजुरी र फैसलाको नाम ठेगाना विवरण मिल्नुपर्छ भनेर सर्वोच्च अदालतलाई सडकबाट सिकाउनुपर्छ ? के उज्जनकुमारको मुद्दामा प्रतिवादी बालकृष्ण ढुंगेललाई तथाकथित उज्वलकुमारको आरोपमा सजाय गर्न मिल्छ ? प्रहरी प्रशासनले पनि यसको जवाफ दिनुपर्छ ।

भौतिकवादी लेखक युग पाठक र नरेश ज्ञवाली लामो समयदेखि बालकृष्ण ढुंगेल मुद्दाको अध्ययनमा केन्द्रित छन् । उनीहरूका अनुसार उजुरी र घटनाको प्रत्यक्षदर्शीको बयानमा पनि गम्भीर कैफियत छ । ढुंगेलविरुद्ध उजुरीमा लेखिएको रहेछ– ‘रातको ३ बजे पुष्कर गौतमले टर्च देखाए र बालकृष्णले गोली हाने ।’ स्वतः प्रश्न खडा हुन्छ, पुष्कर गौतमले टर्च कथित उज्जनकुमारतर्फ देखाए कि आफू र बालकृष्णको अनुहारतर्फ देखाए ? यदि उज्जनकुमारतर्फ देखाएको हो भने टर्च देखाउने मानिस र गोली हान्ने मानिसको अनुहार कसरी देखियो र चिनियो ? त्यो टर्च पुष्कर गौतमले आफूतिर र बालकृष्णतिर देखाएको हो भने बालकृष्णले कहाँ ताकेर उज्जनकुमारलाई गोली हाने होलान् ?

त्यस्तै, बालकृष्ण ढुंगेल र त्यसै मुद्दामा ३ वर्षदेखि बन्दी बनाइएका पुष्कर गौतमविरुद्ध घटनाको प्रत्यक्षदर्शी भनिएका जुन नाम ठेगानाका २ जना साक्षी उभ्याइएका छन्, ठीक तिनै नाम ठेगानाका २ जना व्यक्ति दोलखा जिल्ला अदालतको गंगाबहादुर कार्की र विशाल खड्काविरुद्ध मुद्दामा पनि देखिजान्ने साक्षीमा छन् । यो के हो ? अतः वस्तुगत रूपले प्रस्ट हुन्छ कि बालकृष्ण ढुंगेल र पुष्कर गौतमविरुद्धको उजुरी तथा साक्षीका साथसाथै अदालतको फैसला शतप्रतिशत प्रायोजित छ । कुनै राजनीतिक पूर्वाग्रह र ठूलै लोभलालचमा जिम्मेवार नागरिकलाई राज्यद्वारा निर्मम अपहरण गरिएको छ । ढुंगेल र गौतम घटनालाई राज्यको ठाडो दमनबाहेक अरू भन्न मिल्दैन ।

‘बरु दोषी छुटोस्, निर्दाेष कोही नपरोस्’ भनेर अदालत वा प्रहरी कार्यालयको ढोकामा लेखिने मान्यता पनि बालकृष्ण ढुंगेलको हकमा मिथ्या सावित भएको छ । राज्यका अधिकारीको ङिच्याउने दाँत मात्र भएको छ । उजुरीदेखि फैसलासम्मका शतप्रतिशत झुटका पुलिन्दाले स्वयं प्रस्ट गर्छन् कि माओवादी नेता बालकृष्ण ढुंगेल शतप्रतिशत निर्दोष छन् । राज्यका अपहरणकारी अधिकारीको दृष्टिमा उनको दोष भनेको माओवादी आन्दोलनको नेता भएर सामन्ती राजतन्त्रविरुद्ध लड्नु थियो । राजतन्त्रको स्थानीय जरा काट्नु तथा किला उखेल्नु थियो ।

जहाँसम्म नेकपा (माओवादी केन्द्र) बालकृष्ण ढुंगेलको मुद्दामा उदासीन रहेको भन्ने ओखलढुंगाको पार्टी र सुभेच्छुकको टिप्पणी छ, ढुंगेल गिरफ्तारीयता पार्टीका उच्च नेताहरूको रवैयाले उक्त टिप्पणीलाई सही प्रमाणित गर्ने वातावरण दिएको छ । जानकारहरू भन्दै छन्, शान्तिसम्झौता कार्यान्वयनमा दृढतापूर्वक नलाग्ने हो भने माओवादी सम्बद्ध दर्जन मन्त्री र पूर्वप्रधानमन्त्रीहरू जेल जाँदै छन् । त्यसपछि गणतन्त्रलगायत प्रगतिशील उपलब्धिको भविष्य के होला ?

पुरानो सत्ताको सम्पूर्ण रूपले ध्वंस र नयाँ राज्यसत्ता निर्माण तथा सामन्त र दलालको हातबाट खोसेर जनवर्गको हातमा राज्यसत्ता हस्तान्तरणको लक्ष्यमा महान् जनयुद्ध लडिएको हो । सर्वहारावर्गले अपेक्षित सामथ्र्य आर्जन गर्न नसक्दा सम्झौता गर्नुपरेको तथ्य प्रस्ट छ । त्यो विस्तृत शान्तिसम्झौता उल्लंघन गर्दै जनयुद्धलाई अपराधीकरण गरेर विशुद्ध जनयुद्ध लडेका योद्धालाई मात्र दमन गर्न पाइँदैन । यदि त्यस्तो दमन जारी रहेमा अर्को हिंसात्मक विद्रोहलाई कसैले रोक्न सक्दैन ।

अन्त्यमा, सामाजिक न्याय जागरणका निम्ति लौरो ठड्याउँदै सभ्य नागरिक अग्रसर बन्नुपर्छ । अदालतलगायत राज्यका अंगले गणतन्त्र नेपालको अंग भएर निर्मम समीक्षा तथा आत्मसमीक्षा गर्नुपर्छ र तथ्यको आधारमा सत्य खोज्दै बालकृष्ण ढुंगेललाई यथाशीघ्र अपहरणमुक्त गर्नुपर्छ । तब जनसमुदायले चाहेको दिगो शान्ति र सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिको ढोका खुल्न सक्छ । हुन त बालकृष्ण ढुंगेल जनयुद्ध लडेका योद्धाहरूको समाजमा ‘नायक’ प्रमाणित भइसकेका छन् । ओखलढुंगाको एमाले वृत्तले सुरु गरेको ढुंगेल फसाउ षड्यन्त्रमा काठमाडौंका प्रतिक्रियावादीहरू हुँदै पूरै साम्राज्यवादले लगानी गरेको छ र ढुंगेल नायक बनेका छन् । तर, उनको नायकत्वले मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको तहमा राज्यको रूपान्तरण ठहर्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु