logo

bar
logo
Advertisment
SKIP THIS

चितवनमा बढ्दो असुरक्षा

दीपेन्द्र अधिकारी चितवन, १२ मंसिर | मङि्सर १२, २०७४

निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनमा चुनावविरोधी गतिविधि बढेका छन् । सर्वसाधारणलाई आतंकित पार्ने र उम्मेदवारलाई लक्षित गरी चुनावविरोधी गतिविधि भएपछि प्रहरीले पनि सुरक्षा सतर्कता बढाएको छ ।

प्रहरीका अनुसार उम्मेदवार र सर्वसाधारणलाई त्रसित पार्न विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ता सक्रिय रहेका छन् । प्रहरीका अनुसार सोमबार बिहान ४ बजे रत्ननगरपालिका– २ स्थित राप्रपाका उम्मेदवार पीताम्बर आचार्यको ना.१ज ५२७५ नम्बरको गाडीमा आगजनी प्रयास भएको छ।

मट्टीतेल छर्केर आगो लगाउँदै गरेको अवस्थामा उम्मेदवार आचार्यले निभाएका थिए । आगजनीबाट गाडीको पछिल्लो भागमा क्षति पुगेको छ । घटनामा संलग्न भएको आरोपमा नेकपाका कार्यकर्ता गञ्जसिंह गुरुङलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

यस्तै, आइतबार राति ९ बजे कालिका नगरपालिकामा पनि बम विस्फोट भएको थियो । केही दिनअघि खैरहनी नपा क्षेत्रमा बम विस्फोट हुनुका साथै वनमन्त्री विक्रम पाण्डेको भरतपुरस्थित निवासनजिक आतंकित पार्ने उद्देश्यले बम राखिएको थियो ।

विप्लवका १८ कार्यकर्ता पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले हालसम्म नेकपाका १८ जनालाई पक्राउ गरिसकेको जनाएको छ । दैनिकजसो विप्लवका कार्यकर्ता पक्राउ परे पनि चुनावविरोधी गतिविधिमा कमी आएको छैन । नेकपाका चितवन इन्चार्ज लालबहादुर बिसीसहितका जिल्लाका नेता–कार्यकर्ता अहिले सार्वजनिक अपराधअन्तर्गतका मुद्दामा हिरासतमा रहेका छन् ।

हतियारसहित पक्राउ
अवैध हतियारसहित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का मजदुर फ्याक्सन इन्चार्ज एवं जनसत्ता सदस्य पूर्वेली कान्छा र पुरन राई भनिने पूर्णबहादुर राईलाई सोमबार भरतपुरबाट अवैध हातहतियार, गोलीसहित पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनको घर खोटाङ केपिलासगढी गाउँपालिका– ७ भए पनि भरतपुर महानगर–१६ मा बस्दै आएका थिए । यसअघिको स्थानीय निर्वाचनताका पनि राई पक्राउ परेका थिए । उनको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने कार्टिज एक थान, पटाका (आलु बम) १० थान र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनको चन्दा रसिद एक ठेली बरामद भएको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।

व्यापारी तथा सर्वसाधारणलाई फोन गरी धम्की दिई रकम माग गरेको आरोपमा प्रहरीले सोमबार दुईजनालाई पक्राउ गरेको छ । भरतपुर– ११ बस्ने ३३ वर्षीय अमित लामा र भरतपुर– १० बस्ने ३६ वर्षीय सचिन गुरुङलाई पक्रेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । यस्तै, आइतबार राति भरतपुर– १० भरतपुर ओरालोबाट खुँडा देखाई सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा भरतपुर– २ बस्ने १७ वर्षीय राजन परियार र २० वर्षीय राजेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु