logo

bar
logo
Advertisment
SKIP THIS

पहिलो चरणका नेता दोस्रो चरणमा कहाँ खटिँदै ?

नयाँ पत्रिका काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएपछि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका नेताहरू फुर्सदिला भएका छन् । विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबाट उम्मेदवार बनेकालाई ती दलले दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारमा खटाउने तयारी गरेका छन् । तीनवटै दलले उनीहरूकै रोजाइमा जिल्ला–जिल्लामा आ–आफ्ना पार्टीका उम्मेदवारको प्रचारमा पठाउन लागेका हुन् । 

बाबुराम भट्टराई पूर्व–पश्चिम प्रचारमा हिँड्ने
गोरखा २ बाट चुनाव लडेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई आइतबार काठमाडौं फर्किएका छन् । काठमाडौं, ललितपुर र भक्तपुुरका चुनावी सभालाई सम्बोधन गरेपछि उनी १४ मंसिरदेखि पूर्वी तराईदेखि पश्चिमको कैलालीसम्म पुग्ने कार्यक्रम छ ।

नारायणकाजी १६ मंसिरदेखि प्रचारमा सक्रिय हुने
चुनावी धपेडीले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ज्वरो आएको छ । गोरखा २ बाट उम्मेदवार बनेका उनी १६ मंसिरदेखि महोत्तरी,मोरङ,धनुषा, पाल्पालगायतका जिल्लाका चुनावी सभामा सहमागी हुँदै छन् ।

योगेश आजदेखि चुनावी सभामा सहभागी हुँदै

ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराई मंगलबार तेह्रथुमको चुनावी सभालाई सम्बोधन गर्दै छन् । त्यसपछि उनी झापा र मोरङका सभामा सहभागी हुनेछन् । वाम गठबन्धनको प्रचारलाई व्यवस्थित बनाउने उनले बताए ।

केही दिन आराम गरेपछि जिल्ला जाँदै महत र केसी
नुवाकोट १ र २ बाट प्रतिनिधिसभा सदस्य चुनाव लडेका कांग्रेस नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी चुनावी धपेडीपछि आराममा छन् । जिल्लाको अनुरोधअनुसार प्रचारमा खटिने उनीहरूले बताए ।

लोकतान्त्रिक गठबन्धन

तराईका जिल्लामा खटिने तयारीमा खतिवडा
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता रामहरि खतिवडा निर्वाचनपछि पनि कार्यकर्तासँग छलफल, कुराकानी र भेटघाटमै छन् । ‘जित–हार एउटा ठाउँमा छ, तर मतदान भएपछि चुनावी प्रचारजसरी नै घर–घरमा गएर जनतालाई भेटेँ,’ उनले भने, ‘अब उदयपुर हुँदै तराईका जिल्लामा कांग्रेसलाई जिताउने अभियानमा जान्छु ।’

आङदेम्बे प्रदेश नम्बर १ कै जिल्लामा सक्रिय
पाँचथरबाट उम्मेदवार बनेका नेता भीष्मराज आङदेम्बे निर्वाचन सकिएलगत्तै सोमबार झापाको चुनावी सभामा सहभागी भए । ‘जिल्लामा चुनाव सकिएलगत्तै प्रधानमन्त्री, रामचन्द्र दाइसहितका नेता सहभागी भएको झापाको सभामा सहभागी भएँ,’ आङदेम्बेले भने, ‘दुई दिन जिल्लामा बस्छु । त्यसपछि इलाम, मोरङ, धनकुटासहितका जिल्लामा हुने चुनावी प्रचारमा सक्रिय बन्छु ।’

चिनकाजीको कार्यक्रम छैन
गोरखा १ बाट कांग्रेस उम्मेदवार बनेका चिनकाजी श्रेष्ठ मंगलबार काठमाडौं फर्किंदै छन् । ‘चुनावी दौडधुपले थाकिएको पनि छ, अब काठमाडौं फर्किएपछि एक–दुई दिन आराम गर्छु,’ उनले भने, ‘अहिलेसम्म जिल्लाबाट बोलाएका छैनन् । बोलाए भने जिल्ला जान्छु ।’

हुम्लामा शाही
हुम्ला प्रदेश सभा (ख) बाट उम्मेदवार बनेका जीवनबहादुर शाही सोमबार जिल्ला सदरमुकाम सिमकोट आइपुगे । हिमाली जिल्लामा चुनावी प्रचारका क्रममा भएको दौडधुपले थाकेको भन्दै आफू केही दिन आराम गर्ने सोचमा रहेको उनले बताए । ‘हिमाली जिल्लामा हिउँ पर्ने ठाउँमा समेत चुनावी प्रचारमा जाँदा थाकिएको छ । जिउ भरिनै दुई महिना लाग्ला जस्तो भएको छ,’ शाहीले भने, ‘एकपटक काठमाडौं आएर मतगणनाका लागि पुनः जिल्ला फर्किने तयारीमा छु ।’ पार्टीले खटाए जिल्लातिर जाने उनको भनाइ छ ।

गौचन पार्टीले खटाएको ठाउँमा जाँदै
मुस्ताङबाट प्रतिनिधिसभा उम्मेदवार बनेका रोमी गौचन मंगलबार पोखरामा हुने पार्टीको प्रचार कार्यक्रममा सहभागी हुँदै छन् । त्यसपछि पार्टीले खटाएको ठाउँमा जाने तयारीमा रहेको उनले बताए।

राणा सिन्धुपाल्चोकमै, कार्यक्रम तय हुन बाँकी
सिन्धुपाल्चोक २ बाट कांग्रेसको सहयोगमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा सोमबार जिल्लामा बसे । राणाको चुनावी प्रचारमा जाने कार्यक्रम तय भइसकेको छैन । राणाबाहेक राप्रपाका प्रतिनिधिसभामा तीन उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरू सबैलाई कांग्रेसले समर्थन गरेको छ ।

वाम गठबन्धन
वर्षमान पुन सोमबारदेखि चुनावी सभामा सक्रिय
रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वर्षमान पुन मंगलबारदेखि दोस्रो चरणमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । उनी दाङको भालुवाङ हुँदै ललितपुरको गोटिखेलको सभासम्म आउनेछन् । त्यसपछि दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मोरङ र ललितपुरका चुनावी सभामा खटिनेछन् ।

जनार्दन शर्मा दोस्रो चरणको प्रचारमा सक्रिय
पश्चिम रुकुमबाट प्रतिनिधिसभा उम्मेदवार भएका जनार्दन शर्माले आइतबार र सोमबार दाङका चुनावी सभालाई सम्बोधन गरेका छन् । मंगलबार काठमाडौंको बानेश्वरमा हुने चुुनावी सभामा प्रचण्ड, केपी ओलीसँगै उनले पनि सम्बोधन गर्नेछन् ।

शेरधन राई प्रदेश नम्बर १ मा केन्द्रित हुने
भोजपुर प्रदेश सभा ‘ख’का उम्मेदवार शेरधन राई आफ्नो क्षेत्रमा निर्वाचन सकेपछि प्रदेश नम्बर १ मा केन्द्रित हुने भएका छन् । आफूलाई आगामी मुख्य मन्त्रीका रूपमा हेरेकाले दोस्रो चरणको निर्वाचनमा आफ्नै प्रदेशका चुनावी सभामा केन्द्रित हुने राईले बताए । झापा, मोरङ, उदयपुर, तेहथुम, इलाम लगायतका विभिन्न जिल्लामा केन्द्रित हुने उनले बताए । पार्टी केन्द्रको निर्देशन नभएकाले स्थानीय नेता–कार्यकर्ताको आवश्यकताअनुसार चुनावी प्रचारमा लाग्ने राईले बताए ।

शक्तिबहादुर बस्नेत चुनावी सभामा सहभागी हुने
जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार भएका शक्ति बस्नेत सबै मतपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिसकेपछि दोस्रो चरणको निर्वाचन प्रचार–प्रसारमा खटिनेछन् । धेरै ठाउँबाट चुनावी सभाका लागि आग्रह गरेकाले मंगलबार बेलुका कार्यतालिका बनाई चुनावी सभामा सहभागी हुने उनले बताए । बस्नेत प्रदेश नम्बर ५ र ६ पर्ने जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुनेछन् । ‘मेरो निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ,’ बस्नेतले भने, ‘आगामी दिनमा निर्वाचन प्रचार–प्रसारमा स्थानीय पार्टी नेता– कार्यकर्तासँग सल्लाह गरेर कार्यतालिका बनाई खटिन्छु ।’

अग्निप्रसाद सापकोटा चितवनमा खटिने
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार भएका अग्नि सापकोटा पनि विभिन्न चुनावी सभामा सहभागी हुने भएका छन् । सापकोटा चितवनमा हुने विभिन्न चुनावी सभामा सहभागी हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु