logo

bar

पुस्तक कथा : फाइभ मन्थ्स् राति मात्र लेखेँ

निमेश पौडेल, आख्यानकार काठमाडाैं | मङि्सर ११, २०७४

फाट्ट–फुट्ट स–साना कथा सोचिरहने मेरो मस्तिष्कले दुई वर्षअघि गहन कथा सोच्यो । त्यो कथा मेरो समाजकै थियो । मैले देखेको, भोगेको कथा थियो । समाजमा नियमितजस्तो हुने त्यस्ता घटनामा कुनै गहन पुस्तक लेखिएको थिएन । मैले त्यही कथामा उपन्यास लेख्ने विचार गरेँ ।
उपन्यासको कथा मस्तिष्कमा ‘क्लिक’ भएको ६ महिनापछि लेखनको सुरुवात गरेँ । पहिलो दिन मध्यरातमा उपन्यास लेख्न थालेँ । मध्यरातमै लेख्नुपर्ने कुनै कारण थिएन । तर, विषयवस्तुले लगातार दिमागमा हानिरहेपछि त्यो दिन सुत्न सकिनँ । रातको चकमन्नमा मस्तिष्कमा हुन्डरी चलिरह्यो । त्यसपछि सुरु भएको हो उपन्यास लेखन ।

उपन्यास लेख्न आफ्नै घरबाट सुरु गरेँ । घरमै अन्तिम लेखन पनि गरेँ । होटेल, पार्क वा रिसोर्ट कतै गइनँ । कथावस्तु र पात्र खोज्न पनि धेरै घुम्नुपरेन । मैले देखेकै र भोगेकै अवस्था भएकाले घरमै बसेर मज्जासँग लेखेँ । तर, उपन्यासमा उल्लेख भएका सिफलचौर र हेम्स स्कुलमा भने पटकपटक गएँ ।
उपन्यास सुरु गरिनसक्दै पात्रहरू निश्चित गर्नुपर्छ । पात्रहरूबीचको सम्बन्ध, वातावरण, प्रस्तुतिको शैली निश्चित गर्नुपर्छ । पात्र छनोटमा मलाई टाउको दुखाइ भएन । नाम राख्न पनि धेरै घोत्लिनुपरेन । उपन्यासका सबै पात्र काल्पनिक हुन् । उपन्यासमा सहरे केटा र गाउँबाट सहर पसेकी केटीको प्रेम देखाइएको छ । सहरे केटा हुनाले मैले सहरे नाउँ नै राखेँ । र, केटी गाउँबाट आएकी हुनाले गाउँघरतिरै चलेको नाउँ राखेँ ।
उपन्यास लेख्न मलाई करिब एक वर्ष लाग्यो । साहित्य लेख्ने र पढ्ने काम म पहिल्यैबाट नै राति गर्न रुचाउथेँ । यो उपन्यास पनि राति नै लेखेँ । राति मात्र । दिउँसो आफ्नै पढाइलाई समय दिनुपर्ने भएको हुनाले पनि समय राति नै जुथ्र्यो ।
उपन्यास भनेको काल्पनिक हुन्छ । समाजका घटनालाई कल्पनामा जोडेर लेखिन्छ । यहाँका हरेक पात्र काल्पनिक नै हुन् । त्यसैले घटना वा पात्र खोज्न कतै गइनँ । तर, माथि भनिएको दुई स्थान मेरो उपन्यासको वातावरण थियो । मेरा पात्र त्यहीँ थिएँ । त्यहाँ भेटिने हरेक मान्छेले मलाई उपन्यास झन् परिपक्व बनाउन मद्दत गरे ।
उपन्यास गत वैशाखतिर लेखिसकेको हुँ । लेखिसकेपछि आनन्द मसहुस भयो । जुन पात्रहरूलाई मैले हरबखत बोकेर हिँडिरहेको थिएँ तिनलाई तिनैको स्थानमा ठेगान लगाउन पाउँदा खुसी पनि निक्कै नै भएँ । उपन्यास लेखेर समाजलाई केही पाठ सिकाउनु थियो । पाठ सिकाउने सपना पनि फाइभ मन्थ्स्ले पूरा गरिदियो । त्यसैले एकदमै हर्षित थिएँ ।
उपन्यास मैले पहिलोपटक घनश्याम खड्का दाजुलाई देखाएँ । उहाँ ‘निर्वाण’ उपन्यासका सर्जक हुनुहुन्छ । उपन्यास निकै चर्चित पनि थियो । मेरो प्रिय लेखक भएको हुनाले पान्डुलिपि बोकेर उहाँलाई भेट्न पुगेको थिएँ । तर, उहाँ चाँडै पढाइको सिलसिलामा युके जानुपर्ने भएको हुनाले उपन्यास पढ्न पाउनुभएन । त्यसपछि मैले मलाई सधैँ नेपाली भाषा सिकाउने गुरु हरिहर बराल सरलाई देखाएँ । उपन्यास हेरिसकेपछि उहाँलाई कथा राम्रो लागेछ । त्यसपछि सम्पादन साथसाथै प्रकाशनको काम अघि बढ्यो ।
पहिलो किताब भएको हुनाले उपन्यास लेखिसकेपछि प्रकाशनको चिन्तालगायतका कुरा आए । तर, बुलबुल पब्लिकेसनले सोचेकोभन्दा धेरै ठूलो सहयोग ग¥यो । बजारमा ल्याउन खास ढिलाइ भएन ।
उपन्यासको नाम जुराउन धेरै गाह्रो रहेछ । सायद यो सबै लेखकको समस्या होला । उपन्यासको नाम राम्रो र आकर्षक भयो भने त्यसले पाठकको आँखा सुरुमै तान्छ । पाठकहरूलाई पनि पढुँ–पढुँ लाग्ने खुल्दुली जाग्छ । उपन्यास लेख्दै गर्दा पनि कैयौँ नाम आउँथेँ, हराएर जान्थे । ती नाम केही मनपरे, केही परेनन् । तर, चित्त बुझिरहेको थिएन । नामको सकसले धेरै पिरल्यो । धेरै सोचिसकेपछि उपन्यासको नाम ‘फाइभ मन्थ्स्’ राखेँ । फेरि यही नामबाट मैले पाठकहरूलाई कथा पाँच महिनाको हो भनेर ‘हिन्ट्स’ पनि दिएँ ।

उपन्यासको नाम जुराउन धेरै गाह्रो रहेछ । सायद यो सबै लेखकको समस्या होला । उपन्यास लेख्दै गर्दा पनि कैयौँ नाम आउँथेँ, हराएर जान्थे । ती नाम केही मनपरे, केही परेनन् । तर, चित्त बुझिरहेको थिएन । नामको सकसले धेरै पिरल्यो ।

उपन्यास लेखनको क्रममा मैले परिवारबाट एकदमै साथ र सहयोग पाएँ । उपन्यास लेखन आफैँमा एउटा गाह्रो काम हो । लेखिरहँदा तपाईंलाई वेलाबखतमा ऊर्जा दिने मान्छे रहेन भने दिक्क अनुभव हुन्छ । परिवारमा पनि विशेष गरी मातापिता– निशा पौडेल र नुनेत्रहरि पौडेलले धेरै सहयोग गर्नुभयो । हौसला दिनुभयो ।
उपन्यास पूरै स्कुलजीवनबारेमा छ । मैले उपन्यासमा नलेखेको मेरो स्कुलजीवनको एउटा घटना छ । त्यसवेला म कक्षा ९ मा पढ्थेँ । स्कुल निकै कडाखाले थियो । एक दिन म गणितको गृहकार्य नगरी स्कुल गएको थिएँ । क्लासमा सरले गृहकार्य चेक गर्ने सिलसिलामा म नजिक आइपुग्नुभयो । म डरले रातोपिरो भइसकेको थिएँ । सरले अझ गाली गर्न थाल्नुभयो । त्यही गाली गर्दागर्दै भन्नुभयो, ‘गृहकार्य नगरी पनि स्कुल आउने हो रु अझै हेर त सानले मेरो क्लासमा बसेको छ १’ सरले यति मात्रै के भन्नुभएको थियो म क्लासबाट निक्लिएँ । मैले त्यसवेला सरको गालीलाई ‘सिरियस’ नै लिएँ कि जस्तो लाग्छ । भोलिपल्ट सरले त्यसरी कक्षाबाट निस्केको कुरामा मार झपार्नुभो । अभिभावक बोलाउने कुरा पनि भयो । तर, पछि बोलाइएन । स्कुलजीवनको यो घटनाले पनि मलाई उपन्यास लेख्न प्रेरित गरेको थियो ।

तपाईको प्रतिक्रिया