logo

bar

नाकाबन्दीका बाबजुद कतारमा तीव्र आर्थिक वृद्धि

एजेन्सी दोहा | मङि्सर ११, २०७४

नाकाबन्दीका बाबजुद कतारको आर्थिक वृद्धिदर तीव्र गतिले भइरहेको कतार सरकारले दाबी गरेको छ । कतारको केन्द्रीय बैंकका गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले सो दाबी गरेका हुन् । ‘छिमेकी देशको नाकाबन्दीका बाबजुद कतारले उल्लेख्य आर्थिक वृद्धि गरिरहेको छ,’ गर्भनर थानीले भने ।

गभर्नर थानीले खाडी सहयोग परिषद् (जिसिसी)मा पर्ने देशहरूमध्ये पनि कतारमा सबैभन्दा धेरै आर्थिक वृद्धि भइरहेको बताए । आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने उनले बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए ।

कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अपनाएकाले वृद्धिदर तीव्र भएको जनाइएको छ । कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल गार्हस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ ।

साउदी अरब, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स (युएई)ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सिर्जना गर्दै नाकाबन्दी गरेका छन् ।

कतारले आतंकवादी र अतिवादीहरूलाई सहयोग गरेको, खाडी मुलकका देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाएको लगायतका आरोप लगाउँदै खाडी देशले कतारमाथि प्रतिबन्ध लगाएका थिए ।

ती आरोप कतारले अस्वीकार गर्दै आएको छ । नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधानका लागि १३ बुँदे माग राखेका थिए । इरानसँगको सम्बन्ध तोड्नुपर्ने र कतारमा रहेका टर्कीका सेनाहरू फिर्ता पठाउनुपर्नेलगायतका माग खाडी मुलुकले राखेका थिए । तर, सहमति नभएपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु