logo

bar

निर्वाचनमा सार्वभौम नागरिकको छनोट

प्रा.डा. नृसिंहकुमार खत्री | मङि्सर ११, २०७४

हिजो १० मंसिरमा नेपालका ३२ हिमाली र पहाडी जिल्लामा पहिलोपटक संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भयो । निर्वाचनमा मतदाताले आफ्नो मनले खाएका दल र उम्मेदवारलाई आफ्नो अमूल्य मतमार्फत छनोट गरिसकेका छन्, मतगणना नभएको भए पनि । जनप्रतिनिधिको आमसहमति, यसको अभिलेखन र प्रमाणीकरणबाट नीति, विधि बन्छ, जसको विश्वासिलो अभ्यासबाट लोकतान्त्रिक शासन व्यवस्था स्थापित भई सञ्चालन हुनेछ ।

स्वतन्त्र राष्ट्र नेपालमा भारतीय र चिनियाँ शक्तिका कारण बारम्बार चलखेल भइरहेको छ । नेपालमा भारत र चीनको ठाडो हस्तक्षेप भइरहेको छ । त्यसलाई व्यवस्थापन र कूटनीतिक तरिकाले सहजीकरण गर्ने काम नेपालका राजनीतिक दल र नेताहरूले गर्न नसकेका हुन् । यो समस्याको हल खोज्न भने आवश्यक छ । नेपाली विगत नबिर्सने जाति पनि हो । उसले भारतीय नाकाबन्दी र लिपु लेकको मामिला बिर्सिएको छैन, ताजै छ । यसका लागि हामी सबैले दबाब दिन सक्नु र सिक्नुपर्छ । मतदाता भएर विचार गर्दा आइरहने प्रश्नमा किन ७, ८ पटकसम्म एउटै पार्टीका एउटै मानिसलाई मात्र नेता जनप्रतिनिधि भनेर छान्नैपर्ने ? म त त्यसरी छान्दिनँ । यही हो मेरो मतदान, मतदाताको सार्वभौमिकता । उनीहरूले धेरैपल्ट उठिरहन हुने, सरकारमा गएपछि मन लागेको गर्न हुने, जनताका मनोभावनालाई कुल्चन मिल्ने, देशको अवस्था बर्बादी गर्न मिल्ने तर सार्वभौम मतदाताले स्वतन्त्रता र विधिबमोजिम स्वयं र मन खुसीसाथ लागेको प्रतिनिधि छान्न नपाउने हो भने स्वतन्त्रता, व्यक्तिको मौलिक हक कहाँ गयो ? दलीय नेतृत्वले नागरिकको मान राख्दैनन् भने त्यहाँ दोहोरो क्रिया–प्रतिक्रिया भई नै रहन्छ भन्ने विज्ञानकै न्युटनको तेस्रो नियम हो । मैले आजसम्म कसैलाई नहेपेको नदबाएको हुनाले मैले दब्नुपर्दैन । मैले हेपिनु पनि पर्दैन । त्यसका साथै मेरो विश्वास त्यसलाई छ, जसले बारम्बार पटक–पटक नेपालमा असल समाज बन्ने, नियम र विधिबमोजिमको काम गरेको छ । खाई–नखाई आदर्शता, नैतिकतामा जसले सादा जीवन व्यवहार, उच्च विचार अपनाएको छ । कर्तव्य पूरा गरेको छ, अधिकारप्रति सचेत र सजग पनि छ । उसले यो देश, यहाँका मानिस, उनीहरूको अधिकारका लागि सधैँ लडेको, लागिपरेको छ । परिवार, धन, मन, ज्यान समर्पण गरेको छ मेरो नेता अब उही हो । झन्डै चित्रबहादुर केसीजस्तै वा नारायणमानजीझैँ ।

नवलपरासी टुक्य्राउने सरकारको योजनामा जनताले गरेको आन्दोलनको समर्थन र सरकारको निर्णयको विरोध गरी जनताको आन्दोलनमा मिल्न जाँदा चन्द्र भण्डारीलाई के सजिलो थियो होला ? म नेताको आदेशबमोजिम सरकारी कोषको रकम आफैँले उपचार गर्ने हैसियत रहेको धनीमानी नेतालाई दिन्नँ भनेर गगन थापाले लिएको अडान उनैका ठालु नेताले आफ्नै हातले झिकेर उनैका आँखा अगाडि दिँदा सहन गर्न सजिलो थियो होला ? रवीन्द्र अधिकारीजीले राष्ट्रनिर्माणका लागि संसद्मा साझा मुद्दाको एजेन्डा कार्यान्वयनमा जोड दिँदा आफ्नै दलका नेताको हप्की सहनु के सजिलो थियो होला ? मधेस आन्दोलनमा मधेसी जनताको हक र हितको विरोधी भनेर प्रचार गरी घरसम्पत्तिको क्षति र परिवारको अपमान सहनु निधि र सीतादेवीका लागि सजिलो थियो होला ? म बारम्बार प्रजातन्त्रका नाममा मरिरहेको छु, सहिद बनिरहेको छु भनेर कांग्रेसको ब्रान्ड बनेर पीडा भोगिरहेका केबी सरलाई कांग्रेस भइरहनु के सजिलो होला ? जनार्दन शर्माले जलस्रोतमन्त्री हुँदा कुलमान घिसिङलाई थामेर नेपालको लोडसेडिङ हटाउन सजिलो थियो होला र ? नेपाल बसैया अनि दिल्ली हगैया भएजस्तो गरी पिआर लिने, अनि नेपालको उच्च पदमा बसेर सरकारी जागिर पनि खाइरहनेलाई लालबाबु पण्डितले एउटा कुरा मात्र रोज्न विकल्प दिएकोमा ती कर्मचारीबाट भएको विरोध र असहयोग थेग्न के सजिलो थियो होला ?

नेपालको जेल र समाज, जनताका शक्ति सामथ्र्य धेरै बुझेको तर नेपाली राजनीति नबुझेका बिपीका असली चेलाहरू प्रदीप गिरि र नारायण खड्कालाई मधेसी भनिएको आन्दोलनको मार तथा सिराहा र उदयपुरका वनजंगलमा बसेका मुसहर, हलखोर तत्मा, साहु चौधरीलाई किन कांग्रेस बन्ने भनी आकर्षित गर्न के सजिलो थियो होला ? आफ्नै समुदायमा राजा, मन्त्री र रैतीको राज्य चलाएर बसेको धाइजनको किसान समुदायलाई कांग्रेसी बनाउने विश्वप्रकाश र अनि माओवादीको त्यसवेलाको बम, बारुद र गोलाभित्र विचारको उत्ताउलो लाभा विस्फोटनमाझ पनि फरक मत राख्ने अनि काठमाडौंमा जनताका लागि फराकिलो सडक चाहिन्छ भनी सडक निर्माणमा डोजर लगाउने बाबुराम भट्टराईलाई के सजिलो थियो होला ? तर तिनीहरूले आफ्नो जीवनको मूल्यमा पनि अनेक प्रयास जुक्ति, चाल र मन, हृदय योग र त्यागले ती क्षण पार गरेकाले यी मानिसले जितेर वर्तमान संघीय संसद्लाई प्रभावकारी भरपर्दो बनाऊन् भन्ने पनि कामना छ ।

तपाईको प्रतिक्रिया