logo

bar

निर्वाचनको असर बजारमा, २१ अंक बढ्यो नेप्से

नयाँ पत्रिका काठमाडौं, ११ मंसिर | मङि्सर ११, २०७४

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१ दशमलव शून्य ५ अंक बढेको छ । पहिलो चरण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । त्यसैगरी, दोस्रो चरणको चुनाव पनि सोही तरिकाले सम्पन्न हुने अपेक्षा गरिएको छ । निर्वाचनपछि देशले नयाँ गति लिनेछ । देशको नेतृत्व गर्नेहरूले आर्थिक एजेन्डालाई प्राथमिकता दिने अपेक्षा गरिएको छ । यही अपेक्षाका कारण लगानीकर्ताको मनोबल बढ्नुको मुख्य कारण मानिएको छ । गत सातादेखि उकालो लागेको नेप्सेले यस साता पनि सोही गतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । सस्तो मूल्यमा राम्रा कम्पनीहरूको सेयर खरिद गर्न लगानीकर्ता आकर्षित भएपछि बजार उकालो लागेको हो ।

आइतबार नेप्सेमा १ सय ५५ कम्पनीका ५ हजार ६ सय ४१ पटकको कारोबारमा ५९ करोड ४ लाख ४४ हजार ९ सय ११ रुपैयाँबराबरको १० लाख ७४ हजार १ सय ९६ कित्ता सेयर खरिद–बिक्री भएको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७२ अंक बढेर ३ सय १९ दशमलव १५ बिन्दुमा पुगेको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ५२ दशमलव ९८ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । बजार बढेसँगै लगानीकर्ताको सम्पत्ति पनि बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन लगानीकर्ताको सम्पत्ति २३ अर्ब ३० करोड रुपैयाँ बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै सेयर खरिद–बिक्री भएको छ । यस दिन सो बैंकको ६ करोड ८६ लाख रुपैयँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, नेपाल बैंक लिमिटेडको यस दिन ५ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ । बैंकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सोही कारण नयाँ नेपाल लघुवित्तमा लगानीकर्ता आकर्षित भएका हुन् । त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन ९ दशलमव ७७ प्रतिशत बढेको छ । विशाल बजार कम्पनीको सेयर मूल्य भने ४ दशमलव ८७ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५५ कम्पनीमध्ये १ सय १५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने यस दिन स्थिर रहेको छ ।

आइतबार ट्रेडिङ समूहको परिसूचकबाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५६ प्रतिशत बढेको छ । त्यसैगरी, ‘अन्य’ समूहको परिसूचक १ दशमलव ६३ प्रतिशत, माइक्रोफाइनान्स समूहको १ दशमलव ६१ प्रतिशत, बैंकिङ समूहको १ दशमलव ४६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य ८ प्रतिशत र बिमा समूहको १ दशमलव शून्य ३ प्रतिशत बढेको छ । कारोबारमा आएको वित्त समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३३ प्रतिशत बढेको छ भने ट्रेडिङ समूहको २ दशमलव ९४ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया