logo

bar

हप्ताअसुलीबाट अन्डरवर्ल्ड शैलीको असुलीमा नेपाली गुन्डा नाइके

नवराज मैनाली काठमाडाैं | मङि्सर १०, २०७४

अपराध गरेपछि अपराधीहरू आफ्नो पहिचान लुकाउन हरसम्भव प्रयास गर्छन् । तर, निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यापछि गुन्डा लोप्साङ लामाले एक घन्टाभित्रै प्रहरीलाई फोन गरेर हत्याको सगर्व जिम्मेवारी लिए । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरेर लोप्साङले हत्याको जिम्मेवारी लिएका थिए । अनुसन्धानका क्रममा उनै लोप्साङको समूहले हत्या गरेको पुष्टि भएको छ ।
आखिर किन उनले घटनाको जिम्मेवारी लिए रु यसको पछाडि उनीहरूको ठूलो योजना थियो । आफूहरूको नाममा आतंक फैलाउने र पैसा कमाउने । अर्थात् अन्र्डरवल्र्ड चलाएर पैसा असुल्ने । हालसम्को प्रहरी अनुसन्धानमा गौचन हत्याको प्रमुख उद्देश्य नै अन्डरवल्र्ड चलाउने देखिएको छ । अहिलेसम्म उनीहरू आफ्नो योजनामा सफल भएका छन् र डेढ महिना बित्दा पनि सो समूहलाई नियन्त्रणमा लिन प्रहरी असफल भएको छ ।
हत्याकै दिन उनीहरूले नेपालका एक दर्जन क श्रेणीका ठेकेदारलाई फोन गरी पैसा नदिए गौचनकै हालत बनाइदिने भन्दै धम्क्याएका थिए । अन्य व्यवसायीलाई समेत धम्क्याएर उनीहरूले पैसा असुल्न थालिसकेका छन् । तर, गिरोहका नाइके समीरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङलगायत कहाँ छन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन । यो विषय प्रहरीका लागि ठूलो चुनौती बनेको छ । गौचन हत्या छानबिन समितिका संयोजक डिआइजी गणेश केसी पनि अन्डरवल्र्ड शैलीकै अपराधमा उनीहरू संलग्न भएको बताउँछन् । ‘तर, उनीहरूलाई हामी छिट्टै पक्राउ गर्छौं,’ डिआइजी केसीले भने, ‘उनीहरू भारतमा रहेका र हामीले पक्राउको प्रयास गरिराखेका छौँ ।’

धेरैजसो निर्माण व्यवसायीलाई धम्क्याए पनि पैसा भने उनीहरूले सुन पसलेसँग धेरै उठाएका छन् । ‘को–को सुन पसलेले तस्करीको सुनको कारोबार गर्छन् भन्ने उनीहरूले सूचना पाएका छन्,’ प्रहरी स्रोत भन्छ, ‘ती सबै सुन व्यापारीहरूलाई धम्क्याएर करोडौँ असुलीसकेका छन् ।’

हत्यापछि करोडौँ असुली
हत्याकै दिनदेखि सो समूहले इन्टरनेट कल गरी व्यवसायीलाई धम्क्याउन थालेको थियो । र, अहिलेसम्म पनि उनीहरूले धम्क्याइरहेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई नै गोली हानी हत्या गरेपछि अन्य व्यापारीहरू सजिलै तर्सने भएकाले उनीहरूले गौचनलाई रोजेका थिए । अर्कोतर्फ समीरलाई गौचनको बारेमा धेरै जानकारी थियो । गौचनको समीरका साथी कुमार घैँटेसँग चिनजान थियो । प्रहरी कारबाहीमा घैँटे मारिएपछि भागेका समीरले गौचनले पाउने सबैजसो ठूला ठेक्कामा कमिसन माग्ने गरेका थिए । तर, गौचनले बेवास्ता गर्दै आएका थिए । ‘सो समूहले गौचनसँग पटक–पटक पैसा मागेको हाम्रो अनुसन्धानमा पुष्टि भएको छ,’ डिआइजी केसीले भने ।
स्रोतका अनुसार धेरैजसो ठेकेदारलाई धम्क्याए पनि पैसा भने उनीहरूले सुन पसलेसँग धेरै उठाएका छन् । ‘कोको सुन पसलेले तस्करीको सुनको कारोबार गर्छन् भन्ने उनीहरूले सूचना पाएका छन्,’ प्रहरी स्रोत भन्छ, ‘ती सबै सुन व्यापारीहरूलाई धम्क्याएर करोडौँ असुलीसकेका छन् ।’ उनीहरूले धेरै व्यापारीलाई धम्क्याएर हुन्डीमार्फत पैसा लिन सक्ने भएकाले प्रहरीले हुन्डीको कारोबार गर्ने सम्भावित व्यापारीलाई सतर्र्क गराएको थियो ।

आर्मी गणबाटै सुरु भएको अपराध यात्रा
प्रहरीले एक सुटरलाई सार्वजनिक गरे पनि मुख्य सुटर भने फरार छन् । मुख्य सुटर अम्बरबहादुर राना मगर हुन् । उनी सेनाका भगौडा सिपाही हुन् । गिरोहका अर्का फरार नाइके श्याम लामा पनि आर्मीका भगौडा हुन् । उनीहरूबीच नवलपरासीको एक गणमा चिनजान भएको थियो । त्यहीँबाट दोस्ती भर्ई उनीहरूले सँगै जागिर छाडेर आपराधिक दुनियाँमा छिरेका थिए । डिआइजी केसीका अनुसार गौचनलाई दुईजना व्यक्तिले फरक–फरक पेस्तोलबाट गोली हानेका थिए । राजीवसहित अम्बरबहादुर रानामगरले गोली हानेका थिए । उनै रानाले गत चैतमा काभ्रेली समूहका दावा लामालाई समेत गोली हानेको प्रहरीको दाबी छ ।

मास्टरमाइन्ड मर्डर
दावाको पनि उनीहरूले हत्या नै गर्न खोजेका थिए । तर, भाग्यले दावा बाँचे । तीनवटा गोली लागे पनि हड्डी र संवेदनशील अंगमा गोली नलागेकाले उनी बाँच्न सफल भएका थिए । उनीहरू गौचनलाई पनि घाइते बनाउन मात्र होइन, उनको हत्या नै गर्न चाहन्थे । जसकारण हत्यामा दुईजना सुटर प्रयोग गरिएको थियो । गौचनलाई गोली हान्नेक्रममा ६ जना व्यक्ति घटनास्थलमा खटिएका थिए । दुईजना सुटर, दुईजना मोटरसाइकलचालक तथा अन्य दुईजना गाडीमा ढुंगाले हान्ने व्यक्ति । घटनास्थलमा सुटरहरू स्याङ्तान र मगरसहित प्रकाश बुढाथोकी, रोशन बुढाथोकी थिए । घटनामा तीनवटा मोटरसाइकल प्रयोग भएका थिए । वसन्त थेवेले घरबाट निस्किएको जानकारी गराएका थिए भने अन्य घटनास्थलमा थिए । योजनाअनुसार नै उनीहरू हत्यापछि सजिलै भाग्न सफल भएका थिए ।
विगतमा भएका हाइप्रोफाइल हत्याकाण्डमा जस्तै गौचन हत्यामा पनि चोरीकै मोटरसाइकल प्रयोग भएको थियो । हत्यामा प्रयोग भएको मोटरसाइकल भारतबाट चोरेर ल्याइएको थियो । भारतबाट चोरेर ल्याइएको साइन मोटरसाइकलमा नेपाली नम्बर प्लेट ९बा।३५प २४६२० राखेर चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका शिवजी महतोले १८ हजार रुपैयाँमा चोरीको मोटरसाइकल खरिद गरी सो समूहलाई बिक्री गरेका थिए । त्यस्तै घटनामा दुईवटा पेस्तोल प्रयोग भएको थियो, जुन भारतबाट शिवजी महतोले ल्याएर सो समूहलाई बिक्री गरेका थिए । ५५ हजार रुपैयाँमा किनेर आफूले ६५ हजारमा पेस्तोल बिक्री गरेको उनले बयान दिएका छन् ।

प्रहरीकै आडमा बलियो बने बस्नेत
मुख्य योजनाकार बस्नेत प्रहरीको गुन्डा नाइकेको सूचीमा परेका व्यक्ति हुन् । उनी प्रहरी मुठभेडमा रहेका गुन्डा नाइके कुमार घैँटेका पार्टनर थिए । घैँटेको मृत्युपछि उनी भारतमा बसेर ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने गर्दथे । बाफल घर भएका उनी पटक–पटक पक्राउ परिसकेका छन् । तर, कांग्रेस नेता तथा प्रहरी अधिकारीकै सोर्सफोर्स लगाएर छुट्ने गरेका थिए ।
उनी लागुऔषध दुव्र्यसनी पनि हुन् । सोहीक्रममा धेरै दुव्र्यसनीहरूसँग संगत बढाएर उनले गुन्डागर्दी गरे । काठमाडौंका केही चल्तापुर्जा प्रहरी अधिकृत आफन्त भएकाले उनी छिट्टै उदाए । ती प्रहरी अधिकारीबाट जोगिन अन्य गुन्डाले समीरसँग दोस्ती बढाए । सोहीकारण उनको महत्वाकांक्षा बढ्दै गयो । विगतमा पक्राउ पर्दा छुटाउन जाने र मुद्दा मिलाउने उनका आफन्त प्रहरीहरू नै अहिले आजित भइसकेका छन् ।
गौचनसँग पनि उनको चिनजान रहेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘गौचनबारे उनलाई धेरै जानकारी थियो, उनको कमाइबारे पनि थाहा थियो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘उनको ठेक्कापट्टाबारे जानकारी लिएर कमिसन माग्ने गरेका थिए, तर नदिने बताएपछि हत्या गरेका हुन् ।’ बस्नेतले एक करोड रुपैयाँ कमिसन मागेका थिए । भारतमा बसेर उनी नेपालमा अन्डरवल्र्ड चलाउने प्रयासमा रहेको प्रहरी अधिकारीहरू बताउँछन् । बस्नेत पछिल्लो समय भारतीय र दुबईमा रहेका माफिया समूहसँग सम्बन्ध विस्तारको प्रयासमा छन् ।

समीरले मनोजको नाक भाँचिदिए
बुटवलका दुर्गा तिवारी हत्यामा समीर र मनोज दुवै सँगै थिए । तिवारीलाई गोली हान्ने व्यक्ति समीरकै विश्वासपात्र लोप्साङ लामा थिए । हत्यापछि मनोजले त्यसको जिम्मेवारी लिए । लगत्तै व्यवसायीहरूलाई धम्क्याएर पैसा असुल्न थाले । बुटवलबाट मात्र करोडौँ उठाए । हुन्डीमार्फत दुबईमा पैसा पठाउन लगाउँथे र दुबईबाट भारतमा मगाएर मस्ती गर्दै आएका छन् ।
धेरै पैसा पुनले मात्र राखेपछि बस्नेतसँग दरार सुरु भयो । पुन बस्नेतभन्दा ‘जुनियर केटा’ हुन् । तर, उनको नाम मात्र चर्चा भयो । पैसा पनि उनले नै राख्न थाले । त्यहीक्रममा उनीहरूबीच कुटाकुट नै भयो । स्रोतका अनुसार करिब ८ महिनाअघि दिल्लीमा उनीहरूबीच कुटाकुट भएको थियो । जसक्रममा समीरले पुनको नाक नै भाँचिदिएका थिए । यद्यपि, उनीहरूबीच अहिले ठूलो दुस्मनी देखिएको छैन । त्यसपछि उनीहरू छुट्टिएर आ–आफ्नो समूह चलाउँदै आएका छन् । मनोज र सोम घले मिलेर एउटा समूह चलाएका छन् भने समीर र लोप्साङ मिलेर अर्को समूह चलाएर पैसा उठाइरहेका छन् ।

अन्डरवल्र्ड चलाउने प्रयास सन्दीप पाठकदेखि समीर बस्नेतसम्म

नेपाली गुन्डाहरूको पहिचान हप्ताअसुलीमा सीमित छ । आ–आफ्नो क्षेत्रमा सञ्चालित व्यवसायसँग उनीहरू नियमित पैसा उठाउँछन् । अहिले पनि कतिपय स्थानमा गुन्डाहरूको हप्ताअसुली जारी छ । प्रहरी आक्रामक भएपछि ठूला गुन्डाहरू भने बालुवा तस्करी तथा गिटीढुंगाको तस्करी र ठेक्कापट्टामा लागे । ठेक्कापट्टाको काम नै नगरे पनि कमिसन खान थाले । यहीक्रममा कसैले राजनीतिक छहारीमा आफ्ना अवैध धन्दालाई अघि बढाए भने केहीले विदेशी डनहरूको सिको गर्दै अन्डरवल्र्ड चलाउन थाले ।
नेपालमा सुरुमा ब्लाक स्पाइडर नामक समूहबाट अन्डरवल्र्ड चलाउने प्रयास भयो । सिन्धुलीका मिलन लामा भनिने सन्दीप पाठकले यस्तो धन्दा सुरु गरे । देशका ठूला व्यापारी र डाक्टरलाई भारतबाट धम्क्याएर पैसा माग्न थाले । पैसा नदिनेमाथि गोली हान्न थाले । उनले डा। हेमांग दीक्षित, डा।वीरमान राणा, वैदेशिक रोजगार व्यवसायी एलपी साँवा लिम्बूलगायतलाई गोली हानेका थिए ।
भारतमा बसेर आतंक मच्चाई पैसा असुल्ने पाठकको समूहलाई आफूहरूले ठूलो मिहिनेतपछि पक्राउ गरेको सिआइबीका तत्कालीन प्रमुख राजेन्द्रसिंह भण्डारी बताउँछन् । पाठक हाल जेलमा छन् ।
त्यसपछि गुन्डा नाइके रमेश बाहुन ९सुजन पौडेल० र दिनेश अधिकारी ९चरी०ले छुट्टाछुट्टै अन्डरवल्र्ड शैलीमा पैसा असुल्ने प्रयास गरे । भूमिगत बसेर बाहुनले करोडौँ पैसा असुले । भारतमै बसेरसमेत उनले नेपालका ठेकेदारलाई धम्क्याएर पैसा माग्ने गर्दथे । कतिसम्म भने गुन्डा नाइके गणेश लामाकै कन्स्ट्रक्सनलाई समेत धम्क्याएर पैसा असुलेका थिए । किनकि उनी आफ्ना ‘केटा’हरू पठाएर आक्रमणको धम्की दिने गर्दथे । भारतबाटै तीन वर्षअघि उनलाई पक्राउ गरी प्रहरीले ल्याएको थियो । हाल उनी जेलमा छन् । जेलबाटै पनि उनले ठेकेदारहरूसँग पैसा लिने गरेको स्रोत बताउँछ ।
प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारीले पनि अन्डरवल्र्ड शैलीमा पैसा असुलेका थिए । प्रहरीबाट जोगिन उनले भाइबर मात्र चलाउँथे । भूमिगत बसेर धेरैलाई धम्क्याएर उनले पैसा असुली गर्दै लुक्दै आएका थिए । सोहीकारण प्रहरी नेतृत्वले उनलाई जहाँ देखे त्यहीँ गोली हान्ने आदेश दिएको थियो । सोहीअनुसार उनी तीन वर्षअघि मारिए ।
तर, अहिले पुन र बस्नेतले अझै योजनाबद्ध रूपमा अन्डरवल्र्ड चलाउन खोजेको प्रहरी अधिकारीहरू बताउँछन् । भारतमा गोप्य रूपमा बस्ने, धम्क्याएर पैसा असुल्ने र त्यही पैसा प्रयोग गरी ‘भाडाका अपराधी’ प्रयोग गरेर धम्क्याउने, गोली हान्ने र पैसा असुल्ने काम गर्दै आएका छन् । विगतमा कोही मारिए, कोही जेल कोचिए, तर अहिले सक्रिय समूहलाई नियन्त्रण गर्न प्रहरीलाई विगतमा भन्दा धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड
बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् ।
उनको उद्देश्य नै चर्चित माफिया डन दाउद इब्राहिमजस्तो भूमिगत भएर पैसा कमाउने थियो । उनले त्यही सिको गरे । भारतमा गए । प्रहरीलाई कसरी प्रविधिमा झुक्याउन सकिन्छ, सिके । त्यसपछि नेपालमा व्यवसायीहरूलाई धम्क्याउन थाले । केही व्यवसायीले हुन्डीमार्फत उनलाई फिरौती दिए, केहीले दिएनन् । त्यसपछि अरूलाई तर्साउन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या योजना बनाए । तिवारीसँग उनको व्यक्तिगत रिस पनि थियो । सोहीकारण उनले तिवारीलाई आफ्नो निशाना बनाए । लगत्तै उनले आफूले हत्या गरेको भन्दै इप्रका बुटवलका तत्कालीन डिएसपी मुकुन्द मरासनीलाई फोन गरी पुनले जिम्मा लिएका थिए । प्रहरीले एक महिना लामो अनुसन्धानपछि उनका सहयोगीलाई पक्राउ गर्यो, तर पुनलाई पक्राउ गर्न सकेन । उनलाई पक्राउ गर्न पटकपटक प्रहरी भारत गए पनि सफल हुन सकेन ।
प्रहरीले पाएको सूचनाअुनसार उनले अर्कै नाममा भुटानी पासपोर्ट बनाइसकेका छन् । सोही पासपोर्ट प्रयोग गरी उनी विदेश जाने गर्दछन् । त्यस्तै उनी रसियन प्रेमिकासँग बस्दै आएका छन् । पक्राउ पर्ने डरले उनी फोन प्रयोग गर्दैनन्, भारतकै विभिन्न सहरहरूमा घुम्ने गरेका छन् । उनलाई भारतमा केही व्यक्तिहरूले समेत संरक्षण गरेको आकलन गरिएको छ ।

हुन्डी र प्रविधिले प्रहरी दबाबमा
गौचन हत्यामा संलग्नहरू पक्राउ गर्न नेपाल प्रहरीका अनुसन्धानमा अब्बल सबै दुई दर्जन प्रहरी अधिकारीहरू आबद्ध थिए । तर पनि उनीहरूले गिरोहका नाइकेहरू कसैलाई पक्राउ गर्न सकेनन् । किनकि उनीहरूले प्रहरीले भन्दा आधुनिक प्रविधिको प्रयोग गरेका थिए । प्रहरीको सबै अनुसन्धान विधि थाहा थियो ।
उनीहरूले स्काइपमार्फत मात्र एकअर्काबीच फोन गर्दथे । व्यवसायीलाई धम्क्याउँदा पनि डिङटोन नामक एप्लिकेसन प्रयोग गर्दथे । जसबाट प्रोक्सी सर्भरबाट फोन जाने भएकाले अनुसन्धान गर्नै सम्भव नभएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसैको फाइदा उठाउँदै उनीहरू विदेशमा लुकेर धम्क्याउँदै पैसा असुलिरहेका छन् । प्रविधिमा राज्यले सहयोग नगर्दा आफूहरूलाई अपराध अनुसन्धानमा समस्या भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी बताउँछन् ।
पैसा पनि उनीहरूले हुन्डीबाट लिने गरेका छन् । हुन्डीबाट पनि सीधै भारतमा मगाउँदैनन् । दुबईमा पठाउन लगाएर दुबईबाट भारतमा बुझ्ने गरेका छन् । हुन्डी कारोबारका कारण अपराध नियन्त्रण निकै कठिन हुँदै गएको डिआइजी केसी बताउँछन् ।

प्रहरीले देशभर गुन्डाविरुद्ध ‘स्विप अप्रेसन’ चलाउनुपर्छ : राजेन्द्रसिंह भण्डारी, अवकाशप्राप्त एआइजी

राजेन्द्रसिंह भण्डारी
अवकाशप्राप्त एआइजी

नेपालमा पहिले पनि गुन्डाहरू शक्तिशाली थिएनन्, अहिले पनि छैनन् र अबको ५० वर्षपछि पनि शक्तिशाली बन्ने छैनन् । त्यसका निश्चित कारणहरू छन् । किनकि उनीहरू अझै सुसज्जित हुन पाएका छैनन् । उनीहरूको ठूलो संगठन पनि छैन । दाउद, छोटा राजनजस्ता समूहसँग यिनीहरूको एक्सेस र नेक्सस दुवै छैन । तिनीहरूले यिनलाई पत्याउँदै पत्याउँदैनन्, खातेबराबर ठान्छन् ।
नेपालका गुन्डाहरूको सबैभन्दा ठूलो शक्ति भनेको राजनीतिक संरक्षण हो । हरेक सफल नेताको सफलतापछाडि गुुन्डा र अपराध नै प्रमुख कारण हुन थालेको छ । उनीहरू हौसिनुको अर्काे कारण भनेको अदालत अलि उदार बनेको छ । गुन्डाले सजिलै अदालतबाट उन्मुक्ति पाउने गरेका छन् । जसले गर्दा पक्राउ परे पनि छुटिहाल्छु भन्ने मानसिकता विकास भएको छ ।
नेपालमा ‘डर्टी बिजनेस’ गर्नेहरू धेरै छन् । गुन्डाहरूले पनि त्यस्तै व्यक्तिसँग अवसर खोज्छ । शरदकुमार गौचन हत्यामा पनि केही लेनदेनको विवाद हुनुपर्छ । कमिसन खोजेको हुन सक्छ ।
गुन्डाहरू राजनीतिको महत्वपूर्ण समयमा बढी सक्रिय हुन्छन् । किनकि नेताहरूलाई यही वेला गुन्डा र पैसा चाहिन्छ । गणेश लामा, दीपक मनाङलगायतले त पैसा पनि पाए ।
नेपालमा सुरुमा अन्डरवल्र्ड शैलीमा आतंक फैलाएर पैसा उठाउने वाइसिएलहरू थिए । पछि स्पाइडर ग्याङका नाममा एउटा समूह जन्मियो । जसको सञ्जाल हामीले नै तोडेका थियौँ । गिरोहका नाइके सन्दीप पाठकलाई हामीले भारतबाट पक्राउ गरेर ल्यायौँ । सिलगुढी, दिल्ली र कोलकाताबाट हामीले सो समूहका मान्छेलाई पक्राउ गरेर ल्यायौँ । भारतमा गएर एक महिनासम्म भाडामा बसेर निगरानी गरी हामी पक्राउ गरेर उनीहरूलाई नेपाल ल्याउन सफल भएका थियौँ । भारतले पनि सहयोग गथ्र्याे र अप्रेसन खर्च पनि प्रशस्त पाउँथ्यौँ । अहिले त्यसमा केही कमी आएको छ ।

प्रहरीले ‘स्विप अभियान’ चलाउनुपर्छ
अब केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयन्त्रले मात्र पुग्दैन । देशभरि नै यस्ता किसिमका अपराध हेर्ने इकाइ स्थापना गर्नुपर्छ । अब नेपाल प्रहरीले निश्चित अवधि मिसनकै रूपमा गुन्डाविरुद्ध ‘स्विप अभियान’ चलाउनुपर्छ । गुन्डागर्दी र असुलीविरुद्ध देशव्यापी रूपमा विशेष कारबाही अभियान चलाउनुपर्छ ।
छिमेकी राष्ट्र भारतसँग सहकार्य बढाउनुप¥यो । अपराध गरेर धेरै भारतमै भाग्छन् । त्यसकारण भारतीय पक्षसँग सहकार्य बढाउनु जरुरी छ । इन्टेलिजेन्समा सरकारले धेरै खर्च गर्नुपर्छ । अपराध नियन्त्रणमा सूचना महत्वपूर्ण कुरा हो । अर्काे कुरा, अदालतबाट जसरी उनीहरू छुटिरहेका छन्, यसले चुनौती खडा गरेको छ । तर, उनीहरूलाई अन्य अपराधमा पनि कारबाही गर्नुपर्छ । सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा कारबाही गर्नुपर्छ । म सिआइबीमा हुँदा धेरै गुन्डाहरूको सम्पत्ति शुद्धीकरणको अनुसन्धान फाइल बनाएको थिएँ । त्यो अघि बढेको छैन । पैसाकै लागि उनीहरूले अपराध गर्ने हुन्, त्यसकारण सम्पत्ति अनुसन्धान गर्नैपर्छ । उनीहरूको नेता र व्यापारीसँग पनि कनेक्सन हुने भएकाले अब प्रहरीले अपराधी मात्र होइन, नेता र व्यापारीको पनि अभिलेख राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु