logo

bar

वैदेशिक रोजगारीमा युएई आएका युवा जनचेतनामा सकृय

लक्ष्मण खनाल युएई | मङि्सर ०९, २०७४

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका केही नेपाली युवाले यहाँको कानुनले बर्जित गरेका कुराहरूबाट आफ्ना देशका नागरिकलाई सजग बनाउन जनचेतनामूलक कार्य सुरु गरेका छन् ।

शुक्रबार साप्ताहिक विदाको दिन बरदुबईमा नेपालीहरू भेला हुने पार्क र चोकहरूमा केही नेपाली युवा यस्तै कार्यमा लागिरहेका थिए ।

 

‘जेव्रा क्रसको प्रयोग गरौँ, आफ्नो सुरक्षा गरौँ, जरिवाना जोगाऔँ’, ‘नेपालमा हाम्रा परिवार प्रतीक्षा गरी बसेका छन्’, ‘असल नागरिकको परिचय दिऊ’ जस्ता जनचेतनामूलक सन्देश लेखिएका पम्पलेट वितरण गरिरहेको अवस्थामा भेटिए ।

पाल्पाका राजा बगर, स्याङ्जाका प्रकाश ढकाल, पर्वतका नरेन सापकोटालगायतका युवा जनचेतना फैलाउन अघि सरेका हुन् । उनीहरूले विगत दुई हप्तादेखि विदाको दिन यसरी नै जनचेतनमूलक पर्चाहरु वितरण गर्ने गरेको जानकार दिए ।

दुई हप्तामा करिब एक हजार पर्चा वितरण गरेको बताउँदै उनीहरूले नेपालीद्वारा सञ्चालित नेपाली रेष्टुरेन्टहरूमा पनि पर्चा वितरण गरेको बताए ।

अभियन्ता राजा बगरले वैदेशिक रोजगारीका लागि आएका नेपालीमा जनचेतनाको अभाव हुँदा अनाहकमा दुःख पाउने तथा दुर्घटनामा पर्ने गरेकाले यस्तो कार्य गरिएको बताए ।

उनले युएईमा रहेका सबै संघसंस्थाले यस्ता कार्य गरेर नेपाली नागरिकलाई दुर्घटनामा पर्नबाट जोगाउनुपर्ने धारणा राखे ।

युएईको कानुनअनुसार स्थानीय प्रशासनले तोकेको ठाउँभन्दा अन्यत्रबाट बाटो वारपार गरे जरिवाना तिर्नुपर्छ । यस्तै, यहाँका सडकमा धेरै गतिमा गाडी गुड्ने गरेकाले दुर्घटनामा समेत नेपाली पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया