logo

bar

प्रवासमा पनि निर्वाचनको प्रभाव, भातृसंगठनहरू सकृय

लक्ष्मण खनाल युएई, ९ मंसिर | मङि्सर ०९, २०७४

नेपालमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको चटारो विदेशस्थित राजनीतिक दलका भातृ संगठनहरूलाई समेत परेको छ ।

आफूनिकट दललाई निर्वाचनमा विजयी गराउन प्रवासस्थित भातृ संगठनहरू सकृय देखिएका छन् ।

वाम गठबन्धनको संयुक्त चुनावी अभियान
एमालेनिकट प्रवासी नेपाली मञ्च र माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च युएईले वामगठबन्धनका उम्मेदबारहरूलाई जिताउन आह्वान गर्दै युएईका विभिन्न राज्यमा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न गरेका छन् ।

दुई संगठनले फुजेराह, रस अल खैमह, दुबई, शारजाह, अजमान र उमअलक्वाइनमा संयुक्त रूपमा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । फुजेराहमा प्रवासीका निवर्तमान अध्यक्ष प्रकाश कोइराला र जनप्रगतिशीलका निशब्द घिमिरे, शारजाहमा प्रवासीका बाबुराम सापकोटा र जनप्रगतिशीलका उत्तम विकले नेतृत्व गर्दै कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यसैगरी, उत्तरीराज्य रस अल खैमहमा प्रवासीका महासचिव भेषराज ढकाल र जनप्रगतिशीलका दीपक बिष्ट र संकल्प चन्दको नेतृत्वमा प्रशिक्षण भेला आयोजना गरिएको थियो ।

दुबईमा प्रवासीकातर्फबाट श्याम पाठक र जनप्रगतिशीलकातर्फबाट कार्यवाहक अध्यक्ष बाबुराम विश्वकर्मा र प्रवक्ता अनिश तामाङले सम्बोधन गरेका थिए । अमअलक्वाइनमा प्रवासीका भीम गुरुङ र जनप्रगतिशीलका मिलन गुरुङले कार्यक्रमको नेतृत्व गरेका थिए ।

भेलामा वामगठबन्धनलाई भोट हाल्न आआफ्नोतर्फबाट पहल गर्न उपस्थित कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरिएको थियो ।

रस अल खैमहमा आयोजिक कार्यक्रममा प्रवासीका महासचिव भेषराज ढकालले वामगठबन्धन चुनावपछि पार्टी एकताको प्रकृयामा रहेको भन्दै नेपालमा कम्युनिस्टहरू एक हुनुको विकल्प नरहेको बताए ।

दुबई भेलामा बोल्दै प्रवासीका श्याम पाठकले देशको समृद्धिका लागि वाम एकता अपरिहार्य रहेको बताए ।

नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष बाबुराम विश्वाकर्माले वाम एकताले नेपाली कम्युनिस्ट आन्दोलन उचाइमा पुग्ने भन्दै आगामी निर्वाचनमा कम्युनिस्टहरूलाई हार्ने सुविधा नरहेको बताए ।

मञ्चका प्रवक्ता अनिश तामाङले दुईतिहाइभन्दा बढी कम्युनिस्ट रहेको नेपालमा कम्युनिस्टलाई लडाएर कांग्रेसले शासन गर्ने गरेकाले देशको दुर्दशा भएको बताए । तामाङले यी दुई संगठनका कार्यकर्ताहरूले विगतका कटुता भुल्नपर्ने र गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने स्पस्ट पारे ।

भेलाले विभिन्न राज्यमा चुनाव प्रसार प्रसार टोलीको निर्माण गरेको छ । टोलीले नेपालीहरू रहेको क्याम्पहरूमा पुगेर वामगठबन्धनका उम्मेदवारलाई भोट हाल्न नेपालमा रहेका परिवार, आफन्त, नातगोता र छिमेकीहरूलाई अनुरोध गर्न आह्वान गर्नेछ ।

प्रवासीका अध्यक्ष श्याम कंडेलले देशको समृद्धिका लागि वाम गठबन्धनलाई जिताउनु अनिवार्य रहेको र वाम गठबन्धनले जित हासिल गरे रोजगारीका लागि विदेशिनु नपर्ने बताए ।

सात सदस्यीय प्रचार समिति
युएईमा रहेका नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति युएईले निवर्तमान अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।

समितीको उपसंयोजकमा भुवानीप्रसाद तिमल्सिना र सदस्यहरूमा मणिकुमार लामा, सुर्य बस्नेत, राजेन्द्र अधिकारी, विनोद तामाङ, र भूमिराज चालिसे रहेका छन् ।

समितिले शिवप्रसाद चालिसेको संयोजकत्वमा प्रेस संचार तथा टेक्नोलोजी उपसमिति गठन गरेको छ भने नेपाल जानका लागि मनोज गोर्खालीको नेतृत्वमा उपसमिति गठन गरेको छ ।

कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति युएईले खुल्ला रूपमा अहिलेसम्म कुनै पनि कार्यक्रम नगरेको समितिका अध्यक्ष खेमराज बस्नेतले जानकारी दिएका छन् ।

आन्तरिक रूपमा कार्यकर्ता भेटघाट नियमित हुने गरेको उनले स्पस्ट पारे । ‘हामी युएईमा रहेका नेपालीहरूका परिवारलाई नेपालमा लोकतान्त्रिक गठबन्धनलाई भोट हालेर जिताउन आह्वान गर्छौं,’ बस्नेतले भने ।

तपाईको प्रतिक्रिया