logo

bar

फस्टाउँदो साहित्य कमजोर समालोचना

डा. अमर गिरी काठमाडौं, ९ मंसिर | मङि्सर ०९, २०७४

– अचेल साहित्यकार एवं साहित्यप्रति अभिरुचि राख्ने धेरैले नेपाली समालोचना कमजोर भयो भनेर टिप्पणी गर्छन् । कतिपयले त यसप्रति तीव्र रोेषसमेत प्रकट गर्छन् । कैयौँ समालोचकहरू स्वयम् पनि समालोचना लेखनप्रति त्यति सन्तुष्ट पाइन्नन् । साहित्य फस्टाएको छ तर समालोचना साँघुरिएको छ भन्ने टिप्पणी आम र सामान्य जस्तै बनेको छ । समालोचनाका बारेमा गरिने टिप्पणीहरूले यससम्बन्धी गहिरो विमर्शको आवश्यकतालाई औंल्याउँछन् । समालोचना फस्टाउँदा र गहकिलो हुँदा स्तरीय साहित्य सिर्जनालाई सघाउ पुग्छ । समालोचनाले सिर्जनाको गुण–दोष त केलाउँछ नै, साहित्यलाई पाठकसँग जोड्न, स्रष्टाको सिर्जनशीलतालाई अझ माझ्न र समृद्ध गर्न एवं साहित्यिक विमर्शका सामान्य र विशिष्ट विषयहरूमा स्पष्ट हुन पनि योगदान दिन्छ । साहित्यिक विमर्शका विविध रूपमध्ये समालोचना सबैभन्दा व्यवस्थित रूप हो । साहित्य सिद्धान्त र रचनाका विषयमा समालोचनामा व्यवस्थित रूपले छलफल गरिन्छ ।

डा. अमर गिरी

समालोचना कमजोर भयो भनेर गरिने टिप्पणीहरू अस्वाभाविक र अनुचित छैनन् । यसको असर सिर्जना, मूल्याङ्कन, पाठक सबैतिर परेको छ । कमजोर समालोचनाका कारण साहित्यिक विमर्शका अन्य रूपहरू पनि प्रभावित छन् । साहित्य सिर्जना जति धेरै हुन्छ, त्यसले त्यति नै धेरै समालोचनाको पनि अपेक्षा गर्छ । नयाँ स्रष्टा र सृजनाका सन्दर्भमा यसको अझ धेरै महत्व हुन्छ । यसै अनुरूप समालोचनालाई फराकिलो र खँदिलो बनाउँदै जानुपर्छ । समकालीन समालोचना यसअनुरूप भने जस्तो गरी अघि बढ्न सकेको पाइन्न ।

आधुनिक नेपाली साहित्यको आरम्भसँगसँगै जसो आधुनिक नेपाली समालोचनाको पनि आरम्भ भएको थियो । यो निरन्तर फराकिलो र गहकिलो हुँदै अघि बढ्यो । अनेकौँ समालोचना सिद्धान्तहरू भित्रिए । त्यस आधारमा साहित्यिक विमर्श र कृतिहरूको विश्लेषण, मूल्याङ्कन सुरु भयो । समालोचना सिद्धान्त र पद्धतिहरूकै बारेमा गम्भीर विमर्शहरू आरम्भ भए । सिर्जनाको परिष्कार गर्न, साहित्य र पाठकलाई एक–आपसमा जोड्न र सार्थक साहित्यिक विमर्शको आधारलाई बलियो बनाउन समालोचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो । नेपाली साहित्य आज जहाँ छ, यसमा समालोचनाको ठूलो योगदान छ । नेपाली साहित्यमा सैद्धान्तिक र प्रायोगिक गरी दुवै थरी समालोचनाहरू लेखिँदै आएका छन् । सैद्धान्तिक समालोचनामा साहित्यिक विमर्शका सैद्धान्तिक पक्षहरू समेटिएका छन् भने प्रायोगिक समालोचनाअन्तर्गत विभिन्न समालोचना सिद्धान्तका आधारमा कृतिहरूको विश्लेषण एवं मूल्याङ्कन गर्ने गरिएको छ । आज पनि नेपाली समालोचनाले यसैगरी आफ्नो भूमिका सम्पादन गर्दै छ ।

बेलायती साहित्य होस् वा अमेरिकन साहित्य, चिनियाँ साहित्य होस् वा जापानी साहित्य, फ्रान्सेली साहित्य होस् वा भारतीय साहित्य, सबैको उचाइ गहकिलो समालोचना परम्परासँग जोडिएको छ । समालोचना कमजोर हुँदा साहित्य गम्भीर रूपमा प्रभावित हुन्छ । विश्व साहित्यमा यसका पर्याप्त दृष्टान्तहरू छन् । साहित्य जीवन र जगत्को कलात्मक पुनःसिर्जन भएकाले एउटा स्रष्टा सिर्जनाको उद्देश्य, लेखकीय प्रतिबद्धता, मूल्य एवं आदर्शप्रति जति सचेत र स्पष्ट हुन आवश्यक हुन्छ, त्यत्तिकै सचेत र स्पष्ट जीवन र जगत्को कलात्मक पुनः सिर्जनका साथसाथै आफ्नो लेखनका सबल र दुर्बल पक्षका बारेमा हुन जरुरी हुन्छ । समालोचनाले यसमा सहयोग पु¥याउँछ । गम्भीर समालोचनालाई कैयौँ महान् स्रष्टाहरूले ‘प्रकाश’का रूपमा अथ्र्याउनु र ग्रहण गर्नुको कारण पनि यही रहँदै आएको छ ।

समालोचना कमजोर भयो भनेर गरिने टिप्पणीहरू अस्वाभाविक र अनुचित छैनन् । यसको असर सिर्जना, मूल्याङ्कन, पाठक सबैतिर परेको छ । कमजोर समालोचनाका कारण साहित्यिक विमर्शका अन्य रूपहरू पनि प्रभावित छन् । साहित्य सिर्जना जति धेरै हुन्छ, त्यसले त्यति नै धेरै समालोचनाको पनि अपेक्षा गर्छ

समालोचना जस्तो समालोचना आज कम लेखिँदै छ । स्तरीयताका दृष्टिले मात्र होइन, परिमाणका दृष्टिले पनि समालोचना लेखन कम छ । फस्टाउँदो साहित्य तर न्यून र तुलनात्मक रूपमा कमजोर समालोचना लेखन आजको कटु यथार्थ हो । समकालीन साहित्य लेखनमा समालोचनाले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नुको महत्वपूर्ण कारण यही रहेको छ । समालोचना कतिपय महान् साहित्यकारहरूले भनेजस्तो ‘प्रकाश’ बन्न सकेको छैन । स्रष्टाहरूले यसको उज्यालोको त्यति अनुभव गर्न सकेका छैनन् । समालोचना साहित्य लेखनभन्दा पछि छ र यो आफ्नो दायित्व निर्वाहमा कमजोर भएको छ । समालोचना कमजोर हुँदा सिर्जनात्मक लेखन र पाठकीय चेतना पनि प्रभावित भएको छ । साहित्य लेखनमा बढेको बजारको प्रभाव र परिणाम, सौन्दर्यबोधको सतहीकरण, स्तरहीन सिर्जनात्मक लेखनको बाढी, सिर्जनात्मक कर्ममा हुनुपर्ने गम्भीरतामा ह्रास, साहित्यको प्रतिबद्धता र प्रयोजनलाई लिएर विकसित भ्रम, स्तरीय र कमजोर साहित्यबीच हराउँदो भेद, कमजोर विमर्श र टिप्पणीहरू आदि स्तरीय समालोचना लेखनमा आएको ह्राससँग पनि जोडिएका छन् । गम्भीर समालोचना कर्मले गम्भीर साहित्य लेखन र रचनात्मक साहित्यिक परिदृश्यको निर्माणमा महत्वपूर्ण योगदान दिन्छ । स्रष्टा, समालोचक र पाठकबीचको रचनात्मक सम्बन्धमै सिर्जना र समालोचना लेखन फस्टाउँछ । आज यसको अभाव खट्कन्छ।

समकालीन समालोचना लेखनमा विश्वविद्यालयका नेपाली भाषा साहित्य पढाउने प्राध्यापक नै बढी छन् । विश्वविद्यालय बाहिर बसेर समालोचना लेख्नेहरू थोरै छन् । थोरैमा पनि धेरै अखबारी टिप्पणी लेख्छन् । थोरै टिप्पणीहरू मात्र टिप्पणी जस्ता हुन्छन् । अधिकांश पुस्तक समीक्षा प्रायोजित जस्ता लाग्छन् । त्यहाँ समीक्षा कम, प्रशंसा वा आलोचना बढी हुन्छ । यस्तो प्रशंसा र आलोचनामा वस्तुनिष्ठता कम पाइनु स्वाभाविक छ । समालोचकीय दायित्व र मर्मको उल्लंघनले समीक्षात्मक टिप्पणीहरू स्वयम् प्रतिटिप्पणीका विषय बन्छन् र तिनले आफ्नो विश्वसनीयता गुमाउँछन् । अखबारी समीक्षात्मक टिप्पणीहरूको यो तस्बिर पनि आजको समालोचनाको स्थितिसँग जोडिएको छ । केही कमजोरीहरूका अतिरिक्त समालोचनालाई अघि बढाउने कार्य मूलतः विश्वविद्यालयका शिक्षकहरूले नै गरेका छन् । आलोचना पनि उनीहरूकै बढी हुने गरेको छ । विश्वविद्यालयका शिक्षकहरू समालोचना कर्मसँग बढी जोडिएकाले उनीहरूको आलोचना पनि बढी भएको देखिन्छ।

विश्वविद्यालयका शिक्षकहरूको समालोचना लेखनबारे आलोचना गर्दा बढी ‘प्राध्यापकीय समालोचना’ पदावलीको प्रयोग गर्ने गरिन्छ । यस्तो टिप्पणी विश्वविद्यालयका शिक्षकहरूको समालोचना लेखनसँग जोडिएको छ । यहाँ मात्र होइन बाहिर पनि समालोचना धेरै लेख्नेमा विश्वविद्यालयका शिक्षकहरू नै छन् । उनीहरू प्राय एक निश्चित फरमेट वा ढाँचामा समालोचना लेख्छन् तर निश्चित ढाँचा वा फरमेटमा लेख्नु ‘प्राध्यापकीय समालोचना’ लेख्नु होइन । समालोचना एक निश्चित फरमेटमा लेख्न सकिन्छ । फरमेट साध्य होइन साधन हो । व्यवस्थित लेखनका निम्ति एक निश्चित ढाँचाको प्रयोग गर्न सकिन्छ । फरमेटमा नलेख्नेहरू पनि छन् । समस्या फरमेट होइन समालोचना जस्तो समालोचना नलेखिनु हो । वास्तवमा ‘प्राध्यापकीय समालोचना’ भन्ने नै हुँदैन । ‘प्राध्यापकीय समालोचना’ पदावलीको प्रयोग नेपाली साहित्यिक विमर्शमा पाठ्यक्रम र विद्यार्थी आधारित लेखन, सतही मूल्य निरूपण, तथाकथित तटस्थता, क्लिष्ट एवं कोरा प्राज्ञिक समालोचना आदिसँग सम्बन्धित रहेको छ । पाठ्यक्रम र विद्यार्थी आधारित सामग्री तयार गर्ने र त्यसैलाई समालोचना भन्ने र ठान्ने प्रवृत्ति बढेको छ । गाइड लेखेर तिनलाई आफ्ना समालोचनात्मक कृतिहरूको सूचीमा राख्नेहरू निकै छन् । समग्रमा भन्दा हामीकहाँ समालोचकीय दायित्व निर्बाह नगरी प्राध्यापकहरूद्वारा लेखिएका समालोचनात्मक रचनाहरूलाई तिरस्कार र व्यङ्ग्यपूर्वक ‘प्राध्यापकीय समालोचना’ भनिएको पाइन्छ । समालोचनाको टिप्पणीका निम्ति यस्तो पदावलीको प्रयोग उपयुक्त देखिन्न । प्राध्यापकले लेखुन वा अरू कसैले, समालोचनाको मर्मलाई आत्मसात् नगरी लेखिएका समालोचना समालोचना नै होइनन् । समालोचनाको मर्मलाई आत्मसात् गरी लेखिएपछि मात्र समालोचना, समालोचना जस्तो हुन्छ।

समालोचनाको केन्द्र मानिने विश्वविद्यालयले गम्भीर समालोचनाको खाँचोलाई पूरा गर्न महत्वपूर्ण भूमिका सम्पादन गर्न सक्छ । यसका निम्ति विद्यमान कमजोरीहरूबाट मुक्त हुन आवश्यक छ । कमजोरीहरूकै कारण भूमिका सबल बन्न सकेको छैन । यद्यपि स्तरीय समालोचना पनि विश्वविद्यालयबाटै लेखिँदै छ तर यस्ता समालोचकहरूको संख्या थोरै छ । विश्वविद्यालयभन्दा बाहिरको तस्बिर अझ निराशाजनक छ ।समालोचना आज कमजोर मात्र छैन, यसमा विसङ्गतिहरू पनि बढेका छन् । आग्रह–पूर्वाग्रह, अति प्रशंसा वा निन्दा, सङ्कीर्णता आदि जस्ता दुर्गुणहरू समालोचनामा पाइन्छन्।

समालोचकीय दायित्व, गम्भीरता र रचनात्मकतामा आएको ह्रासलाई आजको साहित्यिक परिदृश्यसँग पनि जोडेर हेर्नुपर्छ । आजको साहित्यिक परिदृश्यका अनेकौँ आलोचनात्मक पक्षहरू छन् । साहित्यका फाँटमा अनेकौँ साहित्यिक समूहहरू क्रियाशील छन् । यस्ता कयौँ समूहहरूको निर्माणमा विचारधारात्मक समानताले खास भूमिका खेलेको पाइन्न । भिन्न भिन्न विचार र उमेर समूहका स्रष्टाहरूबाट निर्मित यस्ता समूहहरू आ–आफ्ना हित र आभीष्टहरूका निम्ति बढी क्रियाशील पाइन्छन् । उनीहरू कयौँमा प्राज्ञिक गम्भीरता, इमान्दारिता र रचनात्मक प्रतिस्पर्धा पाइन्न । आफ्नालाई माथि उठाउने, प्रशंसामा लेखहरू लेख्ने, अरूको बारेमा चर्चै नगर्ने, एकले अर्कालाई गतिलो स्रष्टा नै नठान्ने, अरूलाई गम्भीरतापूर्वक पढ्दै नपढ्ने र लेखक नै होइन भन्दिने आदि जस्ता कुरा आजको साहित्यिक परिदृश्यमा सामान्य जस्तै लाग्छन् । विमर्शका माध्यमहरू पनि गम्भीर पाइन्नन् । समालोचनाका बारेमा टिप्पणी गर्नेहरू पनि आफ्ना टिप्पणीहरूप्रति गम्भीर र उत्तरदायी देखिन्नन् । विमर्शको आवश्यकता औँल्याउने कैयौँमा यसका निम्ति अपेक्षित इमान्दारिता र प्राज्ञिकता नै पाइन्न । यस स्थितिले समालोचना कर्मलाई प्रभावित गरेको छ ।

वैचारिक भिन्नताका कारण पनि समालोचनामा आग्रह र सङ्कीर्णता पाइन्छ । साहित्य विचारमुक्त हुन्न । साहित्य मात्र होइन कलाका कुनै पनि रूपहरू विचारमुक्त हुन्नन् । समालोचना सिद्धान्त र पद्धति आधारित हुन्छ । सिद्धान्त र पद्धति मुक्त भएर समालोचना सम्भव छैन । वैचारिक भिन्नताको सम्बन्ध आग्रह र सङ्कीर्णतासँग हुनहुन्न । सैद्धान्तिक, वैचारिक मतभेद र आग्रह एवं सङ्कीर्णता एउटै होइनन् । कुनै पनि सिद्धान्त, विचार र रचनाको आलोचना वा प्रशंसा गर्न सकिन्छ तर त्यो समालोचकीय दायित्वको मर्मअनुसार गरिनुपर्छ । समकालीन नेपाली समालोचनामा वैचारिक आग्रह एवं सङ्कीर्णता पनि पाइन्छ । पियेरे बोर्दियको शब्दमा भन्ने हो भने राजनीतिक जीवनको तर्कको विशेषता आजको समालोचना, समीक्षात्मक टिप्पणी र साहित्यिक परिदृश्यमा पनि पाइन्छ । उनका अनुसार कसैको निन्दा गर्नु, कसैलाई बद्नाम गर्नु, सतही र भ्रामक नारा अघि सार्नु, अर्काको विचारको सचेतन रूपमा अपव्याख्या गर्नु आदि राजनीतिक जीवनको तर्कको विशेषता हुन् र यी समालोचना, समीक्षात्मक टिप्पणी र साहित्यिक परिदृश्यमा पनि पाइन्छन् । समालोचनात्मक लेखन र साहित्यिक परिदृश्यको कुनै खास सन्दर्भमा बोर्दियले व्यक्त गरेका यी विचारहरू हाम्रा सन्दर्भमा पनि मिल्छन् ।

साहित्य जीवन र जगत्को कलात्मक पुनः सिर्जन भएकाले एउटा स्रष्टा सिर्जनाको उद्देश्य, लेखकीय प्रतिबद्धता, मूल्य एवं आदर्शप्रति जति सचेत र स्पष्ट हुन आवश्यक हुन्छ, त्यत्तिकै सचेत र स्पष्ट जीवन र जगत्को कलात्मक पुनः सिर्जनका साथसाथै आफ्नो लेखनका सबल र दुर्बल पक्षका बारेमा हुन जरुरी हुन्छ । समालोचनाले यसमा सहयोग पुर्‍याउँछ ।

यसको ठीक उल्टो सैद्धान्तिक, वैचारिक समानता भए स्रष्टा, तिनका रचना एवं योगदानका बारेमा अति प्रशंसा गर्ने कमजोरीहरूप्रति आँखा चिम्लने, समालोचकीय दायित्वलाई इमान्दारीपूर्वक निर्बाह नगर्ने आदि जस्ता प्रवृत्तिहरूले पनि नेपाली समालोचनाको स्तरीयतामा प्रश्न उठाउने आधार प्रदान गरेका छन् । आफ्नाका कमजोरीहरूप्रति आँखा चिम्लने र प्रशंसा गर्ने प्रवृत्तिले पनि नेपाली समालोचनाको विकासमा अवरोध खडा गर्दै आएको छ । आफ्नो होस् वा अर्काे, समालोचकले सबैप्रति समालोचकीय दायित्व निर्वाह गर्नुपर्छ । आलोचना वा प्रशंसा विश्वसनीय, तथ्य र तर्कपूर्ण हुनुपर्छ । समालोचक वस्तुनिष्ठ बन्नुपर्छ । सैद्धान्तिक एवं व्यावहारिक समालोचनामा वैचारिक विमति जनाउन सकिन्छ तर यो समालोचकीय मर्मअनुरूप हुनुपर्छ ।

समालोचना रचनाको गुण–दोष निरूपणको प्राज्ञिक कार्य हो । यो सिद्धान्त, पद्धतिसँगत र मूल्य आधारित हुनुपर्छ । आग्रह–पूर्वाग्रह, संकीर्णता, अतिप्रशंसा वा निन्दा आदि जस्ता दुर्गुणहरूबाट समालोचना मुक्त हुनुपर्छ । यस्ता दुर्गुणहरू समालोचनामा भित्रिँदा बोर्दियले भने जस्तै अवस्था जन्मन्छ । एक खास समालोचना सिद्धान्त र पद्धतिमा आधारित रहेर कलम चलाउनु समस्या होइन, समस्या मूल्य आधारित नहुनु र समालोचना कर्मप्रति गम्भीर नबन्नु हो । सिद्धान्त र पद्धतिहरूका बीचमा रहने भिन्नताको संकीर्णता, आग्रह–पूर्वाग्रह लगायतका कुराहरूसँग कुनै सम्बन्ध छैन र हुनुहुँदैन । यिनले गम्भीर समालोचना कर्मलाई पाखा लागाउँछन् । समकालीन नेपाली समालोचनामा यस्तो कमजोरी पाइन्छ । यस्तै कमजोरीहरूका कारण समालोचना प्रशस्तै लेखिए पनि समालोचना जस्ता समालोचना कम छन् ।

टेरी इगल्टनले समकालीन समालोचनाबारे गरेको टिप्पणी हाम्रा निम्ति पनि घतलाग्दो र मननीय छ । इगल्टन आजभोलि समालोचना या साहित्य उद्योगको जनसम्पर्क विभागको अङ्ग बनेको छ या त शिक्षण संस्थाहरूको आन्तरिक विषय भनेर रोष प्रकट गर्छन् । हामी कहाँ पनि साहित्य उद्योग फस्टाएको छ । साहित्यसम्बन्धी विद्यार्थी उपयोगी सामग्रीहरूको उत्पादन बढेको छ । यसबाट समालोचना प्रभावित छ । कतिपय प्रकाशन गृहहरूबाट आफूलाई फाइदा पुग्नेगरी समीक्षात्मक टिप्पणीहरू लेख्न लगाइन्छ । बजारको प्रभाव आलोचनात्मक विवेकमा मात्र होइन, साहित्यका समग्र पक्षहरूमा पनि परेको छ । समालोचना शिक्षण संस्थाहरूको आन्तरिक विषय जस्तै बनेको छ । यस स्थितिका कारण इगल्टनले भने जस्तै समालोचनामा सामाजिक दायित्व र लक्ष्य कम भेटिन्छ । समालोचना आफ्नो समयको बौद्धिकताको उपस्थिति हो । तर हाम्रो समालोचना यस्तो अलि बन्न सकेको छैन । यस यथार्थलाई स्वीकार गर्न र नेपाली समालोचनालाई आफ्नो समयको प्रखर बौद्धिक उपस्थितिका रूपमा अघि बढाउन जरुरी छ ।

समालोचना पछि परेका कारण एकातिर समग्र नेपाली साहित्यकै गम्भीर एवं फराकिलो अध्ययन, विश्लेषण र मूल्याङ्कन हुन सकेको छैन भने अर्कातिर समकालीन साहित्यलाई केन्द्रमा राखेर त निकै कम समालोचना लेखिएको छ । यसबाट समकालीन नेपाली साहित्य सबैभन्दा बढी प्रभावित भएको छ । फस्टाँउदो समकालीन साहित्यका उज्याला–अँध्यारा पक्षहरू छन् । स्तरीयसँगै कमजोर लेखन पनि मौलाएको छ । स्तरीय लेखनमा पनि विविध कमजोरीहरू छन् । प्रचारको ‘माया लोक’ले राम्रो नराम्रो छुट्याउनै गाह्रो बनाएको छ । साहित्यमाथि बजारको प्रभाव र नियन्त्रण बढ्दै छ । गहिरो अध्ययन र रचनात्मक विमर्शको ठाउँ सतही अध्ययन र कमजोर विमर्शले लिदैछ । यस स्थितिमाथि गम्भीर समालोचना कर्मले नै हस्तक्षेप गर्न सक्छ । समकालीन समालोचनाका बारेमा कतै कतै अतिशयोक्तिपूर्ण र अध्ययनहीन टिप्पणीहरू भए पनि समालोचना यतिबेला विगतको तुलनामा कमजोर भएको छ भन्ने यथार्थलाई निसङ्कोच स्वीकार गर्न जरुरी छ ।

वस्तुनिष्ठताको कमी, रचनात्मकताको अभाव, स्तरीयतामा ह्रास, वैचारिक आग्रह र संकीर्णता आदि आजको समालोचना लेखनमा पाइने कमजोरीहरू हुन् । साहित्यको सोद्देश्यतामाथि नै प्रहार गर्ने समालोचकीय दृष्टि साहित्यको समाज र सौन्दर्यपरक भूमिकाकै विरुद्धमा उभिएको यथार्थ पनि हाम्रा अगाडि छ । समालोचना स्वयम्लाई बजारको अनुचर बनाउने प्रयासहरू भएका छन् । गम्भीर समालोचना लेखनका निम्ति यसको प्रतिवाद आवश्यक छ । स्तरीय र पर्याप्त समालोचना लेखनका निम्ति रचनात्मक साहित्यिक परिदृश्यको निर्माण पनि जरूरी छ । समालोचना मैत्री परिदृश्यमै समालोचना फस्टाउँछ । समालोचनाले साहित्यका क्षेत्रमा मर्यादित जनतन्त्रको अपेक्षा गर्छ । वस्तुनिष्ट भएर कृतिको मूल्याङ्कन गर्दा आलोचनाको निशाना बन्ने स्रष्टाहरूबाट जिन्दगीभरि गाली खानुपर्छ र बोलचाल बन्द गर्नुपर्छ भने समालोचना किन लेख्ने भन्ने प्रश्न पनि उठ्न सक्छ । समालोचक स्वयम्ले पनि समालोचनालाई ‘साटो फेर्ने’ हतियार बनाउनु हुन्न । समालोचनामा रहेका कमजोरीहरूप्रति गम्भीर बन्दै अघि बढ्नु समालोचकहरूको दायित्व हो । समालोचनामा रहने कमीकमजोरीहरूप्रति स्वस्थ, सन्तुलित र रचनात्मक टिप्पणी गर्नु स्रष्टा एवम् पाठकहरूको दायित्व हो । समालोचक, स्रष्टा र पाठक तीनै पक्ष साहित्य सिर्जना र समालोचनाप्रति गम्भीर बन्न सक्दा सिर्जना र समालोचना लेखन स्तरीय हुँदै अघि बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया