logo

bar

युएईमा दोस्रो नेपाली म्युजिक अवार्ड हुने

लक्ष्मण खनाल युएई | मङि्सर ०८, २०७४

संगिक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सको सहकार्यमा आगामी डिसेम्बर १ शुक्रबार युएईमा हुने दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा यहाँ क्रियाशिल नेपाली कलाकारहरु पनि सहभागी हुने भएका छन् ।

बैदेशिक रोजगारीको क्रममा युएईमा रहेका कला संस्कृतिप्रतिको मोह र प्रतिभालाई निरन्तरता दिइरहेका नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रवासका कलाकारहरुलाई पनि सहभागी गराइएको आयोजक नमस्ते ट्राभल्सका एकेन्द्र थापाले बताए ।

उनका अनुसार विभिन्न उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष/महिला, उत्कृष्ट म्युजिक भिडियो गायक÷गायिका, उत्कृष्ट म्युजिक भिडियो लिरिक्स, उत्कृष्ट म्युजिक भिडियो निर्देशक र उत्कृष्ट म्युजिक भिडियो छाँयाकार गरी पाँच विधामा युएईमा रहेका कलाकारहरुलाई सहभागी गराइनेछ । उक्त विधाहरुको लागि नोभेम्बर १ देखी नोभेम्बर १७ सम्म आवेदन खुलाइएको र ५० जना कलाकारले मनोनयन दर्ता गरेको थापाले जानकारी दिए ।

कार्यक्रम अबुधावीमा रहेको फोल्कलोर थिएटरमा हुन गइरहेकोछ । उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक, कलाकार, पत्रकार सहित करिब ५० जनाको टोली युएई आउनेछ ।
गत बर्ष पनि संगिक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सको सहकार्यमा पहिलो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रम युएईमा सम्पन्न भएको थियो तर सो कार्यक्रममा युएईमा क्रियाशिल नेपाली कलाकारहरुलाई भने सहभागी गराइएन ।

तपाईको प्रतिक्रिया