logo

bar

माक्र्सका पुस्तक बुझ्न सकेको छैन

नयाँ पत्रिका काठमाडाैं | मङि्सर ०८, २०७४

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले किशोर साहित्यमा काम गरिरहेका छौँ । त्यहीसम्बन्धी पुस्तक पढिरहेको छु । किशोर को हुन् ? तिनीहरूको प्रवृत्ति के हो भन्ने कुरा पुस्तक, पत्रपत्रिका र युट्युबबाट पढिरहेको छु ।
किन किशोर साहित्यतिर लाग्नुभयो ?
पहिला हामीले बालसाहित्यका पुस्तक धेरै प्रकाशन गर्यौँ । पुस्तक पढ्ने बालबालिकाको संख्या पनि वृद्धि भयो । तर, कक्षा ८ देखि १२ का विद्यार्थीका लागि भने गतिलो साहित्य नभएको थाहा पायौँ । हामीले अध्ययन गर्दा पनि किशोरका लागि उपन्यास, कथा वा उनीहरूको रुचि समेटिएका पुस्तक नभएको पायौँ । त्यो उमेर समूहका विद्यार्थी पढ्नमा रुचि नगर्ने, कक्षाबाट भाग्ने, कुलतमा लाग्ने गरेको पाइयो । त्यसकारण उनीहरूका लागि साहित्य लेख्नुपर्छ भनेर हामी पाँचजना रामकुमार पाँडे, डा. चूडामणि बन्धु, विनय कसजू, प्रमोद प्रधान र म यसमै लागिरहेका छौँ ।
किशोरहरु कस्ता पुस्तक पढ्न रुचाउँदा रहेछन् ?
नेपालमा लेखिएका साहित्य किशोर साहित्य होइन । धेरैजसो लेखकले आफ्ना किशोरावस्थाका अनुभव लेख्ने र त्यसैलाई किशोर साहित्य भन्ने गरे । तर, ती किशोर साहित्य होइनन् । पुराना कुराले अहिलेको समयका किशोरको भावना समेट्न सक्दैन । अहिलेका विद्यार्थीलाई न्यु मिडियाको ठूलो प्रभाव छ । प्राविधिक कुराको ज्ञान छ । हलिउड र बलिउडको प्रभाव छ । उनीहरू आफूले भोगेको र देखेको कुरा नै पढ्न चाहन्छन् ।
किशोरहरुलाई पुराना साहित्यकार र उनीहरुका पुस्तकको नाम थाहा रहेछ ?
केही साहित्यकारका नाम थाहा पाएका छन् । कतिपय पुस्तक आफ्नै तरिकाले पनि पढेका छन् । तर, नेपालका भन्दा विदेशका धेरै पढेका छन् । उनीहरूले ह्यारी पोटरजस्ता पुस्तक पढेका छन् । फ्याक्ट बुकहधमा स्टेफिन हकिङ्सको अ ब्रिफ हिस्ट्री अफ टाइम, थ्योरी अफ एभ्रिथिङजस्ता पुस्तक पनि पढ्ने गरेको पाइयो । तर, नेपाली पुस्तक पढ्दाचाहिँ उनीहरूलाई दाँतमा ढुंगा लागेजस्तो हुँदो रहेछ । त्यसैले कमै मात्र पढ्छन् ।
साहित्यमा राम्रा पुस्तकको नाम लिनुपर्दा कुन–कुन पुस्तकको नाम लिनुहुन्छ ?
मेरो जीवन साहित्यिक पुस्तकले धेरै परिवर्तन गरेको छ । म्याक्सिम गोर्कीको आमा र चिनियाँ उपन्यास ओ
याङ् हाईका गीत मैले पढेका राम्रा पुस्तक हुन् । यी पुस्तकले चरम निराशाबाट पनि निस्कन सहयोग गरेका छन् ।


ती पुस्तकसँग सम्बन्धित कुनै संस्मरण छ ?
म विवेक सिर्जनशील प्रकाशनमा आबद्ध छु । हामी प्रगतिशील पुस्तक छाप्छौँ । माओवादी जनयुद्धको वेला थियो । म माओवादी थिइनँ । तर, हामीले छाप्ने पुस्तकका कारण सेनाले मलाई गिरफ्तार गरेर लग्यो । तीन दिन बेपत्ता बनाएर तीन महिना हनुमानढोका राख्यो । सेनाले बेपत्ता बनाउँदा आफूलाई आमा उपन्यासको मुख्य पात्र पावेल भएको महसुस गरेको थिएँ । सेनाको कर्णेलले पनि ‘तैँले आमा उपन्यास पढेको छस् ?’ भनेर सोधेको थियो ? मैले पढेको बताएपछि ‘पावेल हुन्छु भनेर हिँडेको होस् ?’ भनेको थियो । त्यो उपन्यास त आर्मीले पनि पढेका रहेछन् ।
तपाईंले पहिलोपटक पढ्नुभएको साहित्यिक पुस्तक कुन हो ?
मैले सबैभन्दा पहिला ‘कालु स्कुल जाँदैन’ भन्ने पुस्तक पढेको थिएँ । म ६÷७ कक्षा पढ्दै विद्यार्थी आन्दोलनमा लागेको थिएँ । त्यतिवेलै यो पुस्तक पढेको हुँ । यो चाइनिज बाल उपन्यासको अंगे्रजी नामचाहिँ ‘आइरन बोई’ थियो ।
किशोरावस्थामा यौन पुस्तक वा उपन्यास पढ्नुभयो ?
यस्ता कुरा मान्छेको जीवनशैलीमा भर पर्दोरहेछ । म सानैबाट विद्यार्थी राजनीतिमा लागेको थिएँ । त्यसैले आन्दोलनसँग सम्बन्धित साहित्य पढियो । संगतै त्यही भयो । मैले प्रेम गर्ने, यौन पुस्तक पढ्ने कहिल्यै गरिनँ । अन्य पुस्तक जस्तो बिपी कोइरालाका सबै पुस्तक पढेँ, प्रदीप नेपालले सञ्जय थापाका नाममा लेखेका पुस्तक पनि पढेँ । मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह, पुष्पलाल, माओ, लेनिनका पुस्तक पनि पढेको छु । माक्र्सका पुस्तकचाहिँ धेरै बुझ्दिनँ ।
पुस्तक पढेर रुनुभएको छ ?
म फिल्म हेर्दा रोएको छु । जस्तो आमिर खानको तारे जमिन पर । तर, पुस्तक पढेरचाहिँ रोएको छैन ।
पढ्दापढ्दै झुर लागेर छाडिदिनुभएको पुस्तक पनि छन् ?
धेरै छन् । नाम नै भन्नु उचित नहोला । कुनै पुस्तक पाँच मिनेट पढ्दा त्यसले तानेन भने पढ्न छाडिदिन्छु । त्यस्ता पुस्तकका चाङ धेरै छन् । म कविता विधा भने पढ्दिनँ ।
पुस्तक पढेर भेट्न मन लागेको कोही लेखक हुनुहुन्छ ?
पारिजात हुन् । उहाँका सबै पुस्तक पढेको छु । म ०५० सालमा आएँ, उहाँ ०४९ सालमा नै बित्नुभयो । मैले धेरै लेखक भेटेको छु । धेरै मन परेका लेखक भेटेपछि उनीहरूको बानी र व्यवहारले मन पर्न छाड्दो रहेछ । तर, पारिजातलाई भने भेट्न नपाएकोमा अफसोच छ । उहाँको शिरीषको फूल चर्चित छ । तर, मलाई अनिँदो पहाडसँगै मनपर्छ ।

  • विजयराज आचार्य, बालसाहित्यकार

तपाईको प्रतिक्रिया