logo

bar

धरा जातीय सौन्दर्यबोधले लेखाएको महाकाव्य

डा. नवराज लम्साल काठमाडाैं | मङि्सर ०८, २०७४

धरा र यसको अन्तरकथामा पुग्नुअघि केही पूर्वस्मृति छन् । काव्य लेख्ने चेतना नउम्रिँदै धराको अन्तरवस्तुसँग साक्षात्कार गरेका केही प्रसङ्ग छन् । धरा मेरो लहड होइन र लेख्छु भनेर ठूलो योजनाले लेखेको पनि होइन । विषय आफैँले मलाई लेख भनेको हो । त्यसैले धराभित्र एउटा पात्रको नाम नै नवराज लम्साल छ । त्यो मै हुँ । काव्य शर्मा र कविता कल्पना पात्र हुन् ।
जागिर खोज्दै गर्दा ०४८ देखि ०५० सालसम्म धेरै ठाउँमा लिखित परीक्षा उत्तीर्ण गरेँ । तर, प्रायः सबैतिर अन्तर्वार्तामा अनुत्तीर्ण भएँ । भानुभक्त मेमोरियल स्कुलमा पढाउँथेँ । मैले सहज रूपमा काम गर्न पाइनँ र स्कुल छोडेँ । संयोग, स्कुल छोडेपछि रेडियो नेपालको क्षेत्रीय प्रसारणका लागि छनोट भएर सुर्खेत गएँ । आधा जीवन राजधानीमै छोडेर एक प्रकारको शून्यता र एक्लोपन लिएर सुर्खेत गएको थिएँ ।
सुर्खेतमा जागिर खानुभन्दा मलाई म बनाएर उठाउनु थियो । मभित्र ठूलो आगो थियो । गोरखापत्र संस्थानमा सात तहको उपसम्पादकमा लिखितमा एक नम्बरमा नाम निकाल्दा लिखितमै फेल हुनेहरू घुमाउरो बाटोबाट हाकिम भइसकेका थिए । सुर्खेतमा जागिर खाइनँ, काम गरेँ । कलाकारहरूको टिम लिएर नाटक र स्थानीय गीतहरू उत्पादन गरेँ, शिक्षक÷प्राध्यापकसँग मिलेर शिक्षा, संस्कृतिको बहस गरेँ र चिरञ्जीवी अर्यालसँग मिलेर सुसेली साप्ताहिक सम्पादन गरेँ । जंगल गएर राउटेको आवाज रेकर्ड गरेँ । थारू, राजी, वादी, मगर आदि जाति, जनजातिको घरमै पुगेर तिनका संस्कृति, इतिहास र भूगोलका बारेमा बहस चलाएँ ।


तिनै समयदेखि हो, मैले देशका जातजाति, तिनका सौन्दर्य र समस्या पढ्न पाएको । त्यही वेला हो भूगोल बुझेको र देशलाई नजिकबाट छाम्न थालेको । तिनताका जातजातिको मुद्दा यसरी उठेकै थिएन । काठमाडौंले नेपाली भनन, किन चाहियो थारू, मगर, राउटे र राजीहरू भनेर पटकपटक हकारे पनि मैले टेरिनँ । मलाई जातीय सौन्दर्यबोध भइसकेको थियो । लोकसंस्कृति मोहले म हुरुक्क भइसकेको थिएँ । तर, ती विषयमा काव्य लेख्ने कुरा कहिल्यै सोचिनँ । समस्या दालभात डुकुकै थियो । छोरीको स्कुल जाने उमेर भइसकेको थियो । छोरा टुकुटुकु खेल्न थालिसकेको थियो । उनीहरू धादिङ ज्यामरुङमै थिए । पाए काठमाडौं आउने नभए मसँगै सुर्खेत जाने दिन गनेर बसेका थिए । म त्रिकोणात्मक समस्यामा थिएँ । आफ्नो सपना र काठमाडौंले लुटेको अवसर, काठमाडौंमा मेरै आसमा बसेका भाइहरू जनार्दन र रमेशको भविष्य र श्रीमती, छोराछोरीको चिन्ता ।
ठूलो बलजोडले काठमाडौं आएँ । त्यसपछि रंगमञ्चको उद्घोषकका रूपमा देशका धेरै ठाउँ पुग्ने अवसर मिल्यो । मनाङ, मुस्ताङ र हुम्लाबाहेक सबै जिल्ला र काठमाडौंदेखि अमेरिकासम्म हातमा माइक लिएरै पुगेँ । जातजातिका विषयमा झन् बढी पढ्ने र बुझ्ने मौका पाएँ । अब देशको पूर्ण स्वरूप आयो मनमा । दुर्गमका ती जाति, जनजाति सहअस्तित्व र पहिचान खोजिरहेछन् । उनीहरू आफूलाई राज्यले सम्बोधन गरोस् भन्ने चाहन्छन् । राज्यसत्ताको मूल प्रवाहमा मिसिन चाहन्छन् । तर, उनीहरूलाई नै भ¥याङ बनाएर विकासे संस्था चलाएको र राजनीति गरेको मन पराउँदैनन् भन्ने मेरो बुझाइ रह्यो । त्यो भावलाई काव्यमा उतारेर केही लेखूँ भन्ने लाग्यो । सबै जातजातिको नाम र सम्भव भएसम्म भूगोल र संस्कृतिको सुगन्ध आउने गरी शार्दूलविक्रीडित छन्दमा ५० श्लोकजति लेखेँ । तर, विषय धेरै बाँकी भएझैँ लाग्यो । म अटाइनँ ती हरफहरूमा र अरू लेख्न मन लाग्यो । त्यसलाई कथामा उनेर काव्य बनाऊँ भन्ने लाग्यो । अझै महाकाव्य बनाऊँ भन्ने सोचिसकेको थिइनँ । ०६६ सालमा कर्ण अन्तिम चरणमा पुग्दा पनि म यिनै विषयमा सोचिरहन्थेँ तर, बाटो प्रस्ट भइसकेको थिएन ।
कर्ण लेखिसकेपछि महाकाव्य हुन चाहिने संरचनागत फ्रेम र सीमाबोध भइसकेको थियो । यस विषयलाई पनि महाकाव्यको ढाँचामा झारेँ । स्वैरकल्पना गरेर देशले मान्छेको रूप धारणा गरेको र कवितालाई साथमा लिएर हिँडेको कथा संयोजन गरँे । सबै देशले केही गरेन भन्छन् र देशलाई गाली गर्छन् । तर, देश आफैँले देशलाई गाली गरेको सुन्दा के भन्ला त रु यही प्रश्नको उत्तरमा कथा बगाएँ । एउटा चित्तचौतारोको कल्पना गरेँ । त्यो श्रीमद्भागवत्को पहिलो शब्द सच्चिदानन्दको प्रतीक हो । असफलता र पीडाले भौँतारिएको नवराज लम्साललाई पनि पात्र बनाएँ । अन्त्यतिर आफ्नो सहयात्री देश हो भन्ने थाहा पाएपछि नवराज सोध्छ– देशले के दियो रु देश खोज्न कहाँ जाऊँ रु यी फरकफरक शीर्षक हुन् । यही हो धराको क्लाइमेक्स ।
मातातीर्थमा भेटिएकी एक बूढीआमा देशकी अस्मिता हुन् । ‘म अस्मिता’ भनेर उनले गरेको तर्क आफैँलाई अद्भूत लाग्छ । चिसो
रातमा लेखेको हुँ त्यो अंश । भोलिपल्ट बिहान आफ्नै हरफ पढेर आफैँलाई कस्तो–कस्तो भयो । त्यति सन्तुष्टि आजसम्म प्राप्त गरेकै छैन । राति निद्राको सुरमा देवकोटै आएर पो लेखिदिएछन् कि भनेजस्तो भो । म उमंग र पागलपनको त्यो क्षणमा पुगेको थिएँ ।
यसमा केही छन्द, केही गद्य र केही गीत प्रयोग गरेको छु । सयभन्दा धेरैपटक पुनर्लेखन गरेको छु र धेरैपटक तलमाथि पारेको छु । लेख्न सुरु गर्दाको पहिलो हरफ नै २३औँ सर्गमा पुगेको छ । सबै काम सकिएपछि राष्ट्रकवि माधव घिमिरेको घरमा दिनभरि बसेर सुनाएँ । उहाँले अत्यन्तै प्रेमले ‘यो काव्य नेपाल र नेपालको काव्य हो, तत्काल छाप’ भन्नुभयो । त्यसपछि डा। राजेन्द्र विमलको निवास जनकपुर पठाएँ । उहाँले देश जोड्ने सूत्र हुने बताउनुभयो । जातजाति, भूगोल, भाषा र इतिहासको कुरा छ, के भन्छन् त राजनीतिज्ञ रु मनमा तर्क आयो । केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा। बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दलाई पाण्डुलिपि पठाएँ ।
कुनै भावुकता र लहडमा खेल्नुहुन्न भन्ने कुरामा सचेत थिएँ । मैले इतिहासका केही पुस्तक ध्यानपूर्वक पढेँ । गीता र विवेक चूडामणिको अन्तरवस्तु र अध्यात्मको केही सूक्ष्मता खोजेँ । धेरैपटक प्रज्ञाभवन, कीर्तिपुर, चोभार, विष्णुदेवीको फाँट, सुन्दरीजल र स्वयम्भू पुगेर दिनदिनभरि बसेँ । चरम निराश भएको पुस्तासँग संवाद गरेँ । विश्वविद्यालयका धेरै प्राध्यापकसँग अन्तर्वार्ताहरू गरेँ र धेरैपटक कीर्तिपुर क्याम्पसमै पुगेर भाइपुस्तासँग साक्षात्कार गरेँ । रेडियो नेपालमा भएका कारण सजिलो पनि भयो– सबैको स्वर रेकर्ड गर्दै कार्यक्रम पनि बनाएँ । सबै कुरा आफूभित्र लुकाएर आँखा चिम्म गर्दै सबै जातिजनजाति आफैँ भएको कल्पना गरँे । तमाम निराशाबीच आशाको राष्ट्रिय दस्ताबेज भयो भन्ने लागेपछि बल्ल प्रकाशन गरेँ । यी सबैका निम्ति मैले जिन्दगीको १० वर्ष सदुपयोग गरेको छु । जे–जति गर्न सकेँ, आजले होइन, भोलिले भन्नेछ सायद । यही मेरो विश्वास छ ।

  • डा. नवराज लम्साल, कवि

तपाईको प्रतिक्रिया