logo

bar

सेतो धरती लेख्दा रात र दिन नै भुलेँ

अमर न्यौपाने, आख्यानकार काठमाडाैं | मङि्सर ०८, २०७४

०६७ सालको कुरा हो । मेरो मनोलोकमा एउटा प्रश्न उठ्यो— सानासाना नानीहरूको भविष्य हुन्छ; युवाहरूको वर्तमान हुन्छ तर बुढाबुढीको के हुन्छ ?
यो प्रश्नको उत्तर बुढाबुढीहरूकै जीवनमा खोज्ने विचार गरेँ । पहाडी गाउँहरू लगभग सबै वृद्धाश्रमजस्तै भएका छन् । क्षमता र पहुँच हुने युवा युरोप, अमेरिका र अस्ट्रेलिया गएका छन् । नहुने खाडी मुलुक । गाउँमा मलामी पनि पाउन मुस्किल छ । मेरो विषय गाउँमै थियो ।
म वेलावेलामा काठमाडौंकै केही वृद्धाश्रममा पनि गएँ । यसै सिलसिलामा ०६७ सालको दसैँ बिदामा घटस्थापनादेखि फूलपातीसम्म देवघाट बस्छु र सामग्री संकलन गर्छु; त्यसपछि घर गएर दसैँ मान्छु भन्ने सोचेर देवघाटतिर लागेँ ।
साथमा सविना भान्जी पनि थिइन् । उनी भर्खर पन्ध्र वर्षकी । ‘भो नजाऊ, त्यहाँ कुनै रमाइलो छैन’ भनेँ । तर, मानिनन् ।
देवघाट जान नारायणगढको पोखरा बसपार्कमा बस चढ्नुपर्छ । बसमा रंगीन लुगा लगाउनेभन्दा पहेँला लुगा लगाउनेहरू धेरै थिए । अर्थात् देवघाटमा बस्नेहरू धेरै थिए ।
मेरो आडको सिटमा पहेँलो वस्त्र धारण गरेकी वृद्धा थिइन् । मैले अनुमान लगाएँ, उनले सन्न्यास ग्रहण गरेकी छन् । पातलो र हँसियाझैँ कुप्री परेको शरीर; खद्दरको लुगा भिजाएर निचोरेपछि जसरी खुम्चिन्छ त्यसरी नै मुजामुजा परेको अनुहार; अनुहारमा गहिरा तर रसिला आँखा । हिमालझैँ सेतै कपाल । कपाल छोटो थियो ।
उनको केही क्लिप्स तस्बिर खिँचेँ, उनले थाहा नपाई । पाँच किलोमिटर यात्रा गरेपछि त्रिशूलीको किनार आइपुग्यो; जहाँ झोलुंगे पुल छ । त्यो पुल पार गरेपछि देवघाट पुगिन्छ ।
ती आमालाई पछ्याएँ । झुलुंगे पुलमा पनि उनी लठ्ठी टेकेर अगाडिअगाडि फूर्तिका साथ हिँडेकी थिइन् । पुल तरेपछि एउटा चौतारो आउँछ । म चौतारोमा पुग्दा उनी त्यहीँ सुस्ताइरहेकी थिइन् । त्यही चौतारोमा स्थानीय केरा देखेर एक दर्जन किनेँ र आमालाई भनेँ, ‘आमा केरा खानुहुन्छ ?’
उनले भनिन्, ‘किन खाँदैन्ते !’


उनको प्रयोग गरेको भाषिकाबाट अनुमान लगाएँ, उनी पक्कै पनि पर्वत, बाग्लुङतिरको हुनुपर्छ । केरा दिएँ । उनले भनिन्, ‘भारा लाम्च नि बा !’
मैले भनेँ, ‘तपाईंलाई पनि कत्तिले भारा तिर्नुहोला नि ?’
‘मैले कल्लाई के अर्न सौचु र ?’
‘सक्ने वेलामा त गर्नुभयो होला नि आमा ?’
‘ऊ वेलाँ त केके अरियो केके नि बा !’
त्यसपछि एकएक कोसा केरा हामी मामाभान्जीले लिएर १० कोसा आमाको झोलामा राखिदिएँ ।
एकछिन सुस्ताएपछि उनी गलेश्वर आश्रमतिर उकालो लागिन् । मैले फेरि पछ्याएँ । दाहिने हातले लठ्ठी टेके पनि देब्रे हातमा बोराको गह्रुङ्गोजस्तो लाग्ने झोला थियो । मैले भनेँ, ‘दिनोस् आमा म झोला लिइदिन्छु ।’
फेरि उनले उही वाक्य दोहो¥याइन्, ‘भारा लाम्च नि बा !’
मैले भनेँ, ‘म तपाईंको नातिनातिनाजस्तै त हो नि ।’
उनले सहज रूपमा भनिन्, ‘मेरा नातिनातिना छैनन् ।’
मैले जिज्ञासा राखेँ, ‘छोराछोरी नि ?’
उनले उसरी नै भनिन्, ‘छोराछोरी नि छैनन् ।’
त्यसपछि उनी हाम्रो नजिकै बगिरहेको त्रिशूली नदीझैँ सुसाएर भन्न थालिन्, ‘मेरो सात वर्षां बिआ भो अरे । बाहुन बनारस जानुभाथ्यो अरे पढ्न । गंगाँ डुबेर हो कि मोटरले हानेर उतै बित्नुअच । म नौ वर्षां विधवा भएँ अरे । एकदिन भान्छा जुठो लोटाउँदै थेँ । सासूले मेरो छोटो कपालाँ समाएर भान्छा’ट मझेरीआँ, मझेरी’ट पिँढीआँ, पिँढी’ट आँगनाँ ल्यार लडाइदिइन् । किन रच भनेको म पुडो सरेकी रचु । विधवा भएको सात वर्षपछि पुडो सरेकी थेँ । त्यसपछि घर बस्नै मन लान । के भनेर बसम् ? को भनेर बसम् । अनि माइत आर बसेँ । बाआमा बितेपछि माइत पनि बस्न मन लान । दाजुभाइहरूको आ–आफ्नै घरपरिवार भो । म बोझजस्तो भएँ । अनि देवघाट आएर बस्न थालेँ । एकातिरट गोसाइँकुण्ड बग्दैबग्दै त्रिशूली भर आकी छन्; अर्कोतिरट दामोदर कुण्ड बग्दैबग्दै कालीगण्डकी भर आकी छन् । भगवान्को शरणमा छु; जीवनको अन्तिम चरनमा छु; अब आनन्दले मर्न पाम् यत्ति भए पुग्छ ।’
यति भनिसक्दा उनको कुटी आइसकेको थियो । पटुकाबाट चाबी झिकेर दैलो खोलिन् । हामी पनि पछिपछि भित्र पस्यौँ । यस्ती बूढी आमाले कसरी खाना पकाएर खान्छिन् होला ? कसरी लुगा धुन्छिन्
होला ? जिज्ञासाले मन छोयो । सोधेँ, ‘आमा ! कुटीमा एक्लै हुनुहुन्छ ?’
उनले लामो निश्वास छोडेर भनिन्— ‘भगमान् हुनुहुन्च नि !’
त्यसपछि आवाज ननिकालीकन रोइन् । तर, आँसु उनका गालामा देखिएनन् । उनकै उमेरले बनाएका अनुहारका चाहुरीहरूमा बिलाए । लाग्यो, बुढाबुढी भएपछि आँसु पनि देखिँदोरहेनछ ।
उत्तिखेरै मनमा एउटा गहन प्रश्न उठ्यो, ‘भगवान् पाएर पनि यी आमा किन रोइन् हँ ?’
लाग्यो, म कथा यही हरफमा टुंग्याउँछु । दोस्रो विश्वयुद्धपछिको विध्वंशबाट निराश भएर नित्सेले ईश्वरको मृत्युको घोषणा लेखेका थिए । उनले ईश्वरमाथि कति रुखो र ठाडो तरिकाले प्रश्न गरेका थिए, तर यी आमाले जिन्दगीभर ईश्वरका नाममा बाँचेर कति कोमल ढंगले ईश्वरमाथि प्रश्न गरेकी छन् । मलाई नित्सेको भन्दा यी आमाको प्रश्न गर्ने तरिका कता हो कता मन प¥यो ।
म त बुढाबुढीहरूको कथा लेख्न गएको मान्छे । जाँदाजाँदै एउटा कथा तयार भयो भन्ने लाग्यो । त्यसपछि चार दिन बसेर अरू कथा पनि खोजेँ ।
फूलपातीको दिन घर गएर दसैँपछि फेरि काठमाडौं फर्कें । एकरात निद्रा लागेन । ती आमालाई सम्झेँ । त्यो रात अबेरतिर एउटा निर्णय गरेँ, ‘म यसलाई कथा बनाएर लेख्दिनँ; उपन्यास लेख्छु । उपन्यासमा उनको जीवनका धेरै पक्षलाई अटाएर लेख्न सकिन्छ ।’
यसरी उपन्यासको थिम मेरो मनोलोकमा क्लिक भयो । त्यसपछि ०६८ वैशाखमा एक महिनासम्म देवघाटमा आमाहरूसँग बसेर उपन्यासको सामग्री जम्मा गरेँ । आफूले पनि आमाहरूले झैँ दिनचर्या बिताएर बस्दा आफैँ सन्न्यस्त बालविधवा हुँ कि भन्ने भान भएको थियो ।
मलाई तीनजना पात्र चाहिएको थियो । ताराजस्तै, पवित्राजस्तै र यमुनाजस्तै । ती पात्र पनि पाएँ । आफूले पाएका पात्रमा आफूलाई पनि मिसेँ । मलाई लाग्छ, लेखक नीलो रङ हो भने पात्र पहेँलो रङ हो । दुवै रङलाई मिसिदियो भने हरियो रङ बन्छ । मेरा पात्रहरू मैले हरियो बनाएको छु । सबै पात्र वास्तविक हुन् । कल्पना पनि गरेको छु, तर सत्यलाई अझ सत्य देखाउन कल्पना गरेको छु ।
पात्र पछ्याएर देवघाट त गएँ । यसको मूल थलो हाम्रै पहाडघर माझगाउँ हंसपुरलाई बनाएँ । मूल पात्रको बिहे भएर जाने घरचाहिँ लमजुङको दूराडाँडा बनाएँ । यी ठाउँ र यहाँको संस्कृति, प्रकृति र परम्परा मलाई थाहा भएकाले त्यत्ति धेरै गाह्रो भएन ।
देवघाटमा बसेर सामग्री संकलन गरेपछि काठमाडौंको बबरमहल डेरामा बसेर उपन्यास लेखेँ । ०६८ साल मंसिर २८ गतेबाट पुस २८ गतेभित्र पहिलो लेखन सकेको थिएँ ।
लेखिसकेपछि दुई महिना सम्पादनमा लागेँ । यो उपन्यास लेख्दा मैले दिन थियो कि रात कहिल्यै विचार गरिनँ । लेख्दालेख्दै कापीलाई नै सिरानी बनाएर धेरैपटक निदाएको छु । त्यो वेला जतिखेर निदाउँथेँ त्यो रात थियो; जतिखेर ब्युँझन्थेँ त्यो बिहान थियो । म पात्रहरूमा यति धेरै डुबेँछु कि कहिले त म लोग्नेमान्छे हो भन्ने पनि बिर्सन्थेँ ।
मेरो बाले मेरा प्रत्येक किताबको पाण्डुलिपि पढ्नुहुन्छ । सुझाब पनि दिनुहुन्छ । आमा संवेदनाको खानी हुनुहुन्छ । उहाँबाट लेखनमा संवेदना भर्न सिकेको छु । लेखिसकेपछि पहिलोपटक बालाई नै देखाएँ । त्यो वेलाको चालचलनबारेमा केही कुरा बनाइदिनुभयो । उपन्यास लेखनमा बा र आमाको पनि सहयोग छ ।

तपाईको प्रतिक्रिया