logo

bar

अरुण तेस्रोको काम अगाडि बढ्यो

उमेश पौडेल काठमाडौं, ७ मंसिर | मङि्सर ०७, २०७४

बहुप्रतिक्षित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन सतलजले पहिलो चरणको ठेक्का प्रक्रियाको काम अगाडि बढाएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध, डाइभर्सन टनेल, ३ दशमलव २ किलोमिटरको मुख्य हेडबक्स सुरुङ तथा अन्य सहायक संरचनाको निर्माण गर्न सतलजले भने भारतको जयप्रकाश (जेपी) कन्ट्रक्सनलाई जिम्मा दिएको छ ।

एसजेभिएन भारतको केन्द्रीय सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी भएको सरकारी कम्पनी हो । कम्पनीले सेप्टेम्बर २२ मा जेपी कन्सट्रक्सनलाई आशयपत्र (एलओआई) दिएको थियो ।

आशयपत्र दिएको दुई महिनापछि नोभेम्बर १४ मा सतलजले जेपीलाई ठेक्का दिने सम्झौता गरेको हो । दुवै कम्पनीबीच अघिल्लो हप्ता संखुवासभाको खाँदबारीमा पहिलो फेजअन्तर्गत १८ अर्ब रुपैयाँबराबरको भौतिक संरचना निर्माण गर्ने सम्झौता भएको एसजेभिएन अरुण ३ हाइड्रोवावर डेभलपमेन्ट कम्पनीका नेपाल आवासीय प्रतिनिधि हरेराम सुवदीले बताए ।

सम्झौताअन्तर्गत जेपीले पहिलो प्याकेजमा आयोजनाको बाँध र ३ दशमलव २ किलोमिटर लामो मुख्य सुरुङ, हेडबक्स सुरुङ तथा ड्याम निर्माण गर्नेछ । कम्पनीले सम्झौता भएसँगै आयोजना निर्माणस्थलमा काम सुरु गरिसकेको उनले बताए ।

यसअघि अघिल्लो महिना लगानी बोर्डको बैठकले आयोजनाको समय ६ महिना थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले माथिल्लो कर्णालीसहित अरुण तेस्रोलाई ६ महिना समय थप गर्ने निर्णय गरेको थियो ।

सतलजले आयोजना निर्माणका लागि ४ प्याकेजमा काम अगाडि बढाएको छ । जसअनुसार पहिलोमा ड्याम, डाइभर्सन सुरुङ र हेडबक्स रहेको छ । दोस्रो प्याकेजमा विद्युत्गृह निर्माण तथा ८ किलोमिटर सुरुङ निर्माण, तेस्रोमा इलेक्ट्रोमेकानिकलको काम र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको काम गर्ने जनाएको छ ।

पहिलो प्याकेजको ठेक्का भइसकेको र बाँकीको तीनवटा प्याकेज भने प्रक्रियामा रहेको सुवेदीले जानकारी दिए । पहिलो प्याकेजको काम सुरु भएसँगै दोस्रो प्याकेजको पावरहाउस विडिङको काम अगाडि बढिसकेको छ ।

आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । आयोजना निर्माणका लागि अघिल्लो वर्ष नै भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ ।

कम्पनीले भारत र बंगलादेशलाई विद्युत् बिक्री गर्ने योजना बनाएको छ । आयोजनाको सम्झौताअनुसार नेपालले २ सय मेगावाट बिजुली सित्तैमा पाउनेछ ।

नेपालका सिइओ परिवर्तन
सतलजको नयाँ सिइओका रूपमा सतिशकुमार शर्मा नेपाल आएका छन् । यसअघि सतलजले नेपालका लागि कम्पनीका सिइओको जिम्मेवारी सुरेशचन्द्र अग्रवाललाई दिएको थियो । उनको कामप्रति असन्तुष्टि जनाउँदै कम्पनीले हालै उनलाई दिल्ली फिर्ता बोलाएको छ ।

नेपाल सरकारका प्रतिनिधिसँग समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै उनलाई फिर्ता बोलाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु