logo

bar

निर्वाचनका लागि धनकुटामा गोला प्रथाद्धारा कर्मचारी खटिए

सन्तोष रुचाल धनकुटा, ७ मंसिर | मङि्सर ०७, २०७४

आसन्न मंसिर २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि धनकुटामा कर्मचारीहरुलाई गोला प्रथाद्धारा खटाएको छ । कर्मचारीहरु साना बाकसबाट स–साना कागजका टुक्रा टिप्दै अगाडि बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउदै थिए । झट्ट हेर्दा गोला तान्ने खेल खेले झै देखिन्थ्यो । तर, उक्त कार्य खेल नभएर निर्वाचनमा कर्मचारीलाई निष्पक्ष रुपमा खटाउने विधि थियो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रुपमा कर्मचारी खटाउने उद्देश्यले धनकुटामा गोला प्रथा विधि अपनाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले सर्वपक्षिय रोहवरमा आज गोला प्रथाद्धारा मतदान केन्द्रमा खटाईने कर्मचारीको टुंगो लगाएको छ ।

विगतका निर्वाचनमा कर्मचारी खटाउँदा विभेद गरिएको गुनासो बढेसँगै निर्वाचन आयोगले संयम अपनाएर निष्पक्ष विधिको रुपमा गोला प्रथा गराउने निर्देशन गरेको छ । जिल्लामा दोस्रो चरण अन्तरगत मंसिर २१ गते सम्पन्न हुन गईरहेको निर्वाचनका लागि मंसिर १८ गतेसम्म सबै मतदान केन्द्रमा कर्मचारी खटाइने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले भने–‘निर्वाचनमा खटाउँदा निष्पक्ष विधिको रुपमा गोलाप्रथा प्रक्रिया अपनाइएको हो ।’ निर्वाचनमा खटिएका कर्मचारीहरुले पनि गोलाप्रथा प्रक्रियालाई स्वीकार गरेका छन् ।

निर्वाचनमा खटिन तयारी रहेका हरी रिजालले गोलाप्रथा निष्पक्ष विधि रहेको बताए । जिल्लामा १ सय ५३ मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रमा १ हजार २ सय १४ जना सरकारी कर्मचारी खटाइने छ । मतदान केन्द्रमा खट्ने कर्मचारीलाई आगामी मंसिर १३ गतेदेखि तीन दिन तालिम दिइने जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए ।

तपाईको प्रतिक्रिया