logo

bar

सबै प्रदेशमा सम्भाव्य प्रभावकारी भन्सार बिन्दु खोजिने

अच्युत पुरी काठमाडाैं | मङि्सर ०७, २०७४

सरकारले सातवटै प्रदेशमा प्रभावकारी भन्सार बिन्दु पर्ने गरी राजस्व संरचना पुनर्संरचना गर्ने योजना बनाएको छ । संघीयताबमोजिम राजस्व संरचनामा हुने परिवर्तनका वेला उपयुक्त स्थानमा नयाँ भन्सार बिन्दु तथा आन्तरिक राजस्व कार्यालय विस्तारलाई प्राथमिकता दिन यस्तो तयारी गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले बताए । कतिपय प्रदेशमा अहिले सञ्चालनमा रहेका भन्सार कार्यालयको क्षमता अभिवृद्धि गर्ने र सम्भावना भएका क्षेत्रमा भने नया“ भन्सार बिन्दु स्थापना गरिने उनले बताए । अहिले संघीयतामा राजस्व संरचनाको अवस्था के हुने भन्ने सम्बन्धमा मन्त्रालयले सम्बन्धित विभागहरूमार्फत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ गर्दै छ । उक्त सर्वेक्षणबाट प्राप्त हुने सुझाबका आधारमा थप भन्सार बिन्दु तथा आन्तरिक भन्सार कार्यालय विस्तार गरिने उनले बताए ।

अर्थ मन्त्रालका अनुसार अब थप विस्तार तथा क्षमता अभिवृद्धि गरिने भन्सार बिन्दु र आन्तरिक राजस्व कार्यालयका लागि आर्थिक गतिविधि प्रमुख आधार मानिनेछ । यसबाहेक अन्तर्राष्ट्रिय व्यापारको सम्भावनालाई पनि प्राथमिकता दिइनेछ । ‘कतिपय भन्सार बिन्दु भारत तथा चीनस“ग अन्तरदेशीय समन्वयमा तय गर्नुपर्ने हुन्छ,’ उनले भने । मन्त्रालयका अनुसार संघीयतामा सबै प्रदेशमा नियमित राजस्व संकलन हुने गरी ठूला भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयहरू स्थापना हुनेछन् ।

अहिले कति छन् भन्सार बिन्दु ?
भन्सार विभागका अनुसार नेपालमा अहिले कुल ३० वटा प्रमुख भन्सार कार्यालय सञ्चालनमा छन् । यसबाहेक २३ वटा प्रमुख भन्सारमातहत १ सय ४३ छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । तर, संघीयता व्यवस्थाअनुसार सबै प्रदेशमा ठूला भन्सार कार्यालय पर्दैनन् । सरकार कम्तीमा वीरगन्ज भन्सार स्तरका ठूला भन्सार बिन्दुको विकास गर्दै राजस्व प्रशासनलाई मजबुत बनाउने योजनामा छ । भन्सार विभागका अनुसार अहिले भैरहवा र नेपालगन्ज भन्सारको पूर्वाधार तथा क्षमता अभिवृद्धिको योजना छ । ‘भन्सार सुधार र आधुनिकीकरण रणनीति तथा कार्ययोजना २०१७–०२१’ पनि अहिले कार्यान्वयनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु