logo

bar

निर्वाचन कार्यालय मौन बस्दा जताततै आचारसंहिताकाे उल्लंघन

नयाँ पत्रिका चितवन | मङि्सर ०१, २०७४

दिपेन्द्र अधिकारी/नयाँ पत्रिका

आचारसंहिता उल्लंघनका घटना भइरहेपनि जिल्ला निर्वाचन कार्यालय चितवनमा हालसम्म एउटा पनि उजुरी परेको छैन । दल तथा उम्मेदवारले आचारसंहिता उल्लंघन गरे भनेर हाल सम्म कसैले पनि मौखिक तथा लिखित उजुरी नदिएका चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले बताए । उम्मेदवारको टुंगो लागेदेखि नै निर्वाचन आचारसंहिता लागू भएको थियो ।

आचारसंहिता उल्लंघन सम्बन्धि समाचार स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा नियमित प्रकाशन–प्रशारण भइरहे पनि निर्वाचन अधिकृतको कार्यालयले यस सम्बन्धमा अहिलेसम्म कुनै उजुरी नपरेको जनाएको छ ।

अनुगमनको समेत जिम्मा पाएको निर्वाचन अधिकृतको कार्यालय समेत यस विषयमा मौन देखिएको छ । ‘आचारसंहिता उल्लंघन भएको भनेर हालसम्म कहिँ कतैबाट मौखिक वा लिखित कुनै पनि उजुरी आएको छैन,’ मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘आचारसंहिता उल्लंघन भएका र सिंगो निर्वाचन प्रक्रियालाई नै असर गर्ने कुनै घटना भएका पनि छैनन् ।’

सामान्य आचरण सम्बन्धि आचारसंहितामा निजी जीवनलाई आघात पुग्ने गरी दलका नेता र उम्मेदवारले कसैको आलोचना गर्न नपाइने उल्लेख छ । तर चितवनमा पछिल्लो समय उम्मेदवार र दलहरु एकअर्कालाई आरोप प्रत्यारोप लगाउनमै व्यस्त छन् ।

निर्वाचन आचारसंहिताले धार्मिक स्थलमा निर्वाचन प्रचारप्रशार गर्न, राजनीतिक दलको निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला प्रयोग गर्न निषेध गरेको छ । तर चितवनमा राजनीतिक दलको चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी र ज्याकेट लगाएर हिड्ने धेरै भेटिन्छन् । दलहरुले सभा र जुलुशमा समेत बालबालिकाको प्रयोग गरिरहेका छन् ।

यस्ता गतिविधिहरु निर्वाचन आचारसंहिता विपरितका भए पनि निर्वाचन कार्यालले यसलाई नियन्त्रण गर्नेतर्फ कुनै चासो देखाएको छैन । त्यस्तै दलहरुले आचारसंहिता बिपरित सार्बजनिक स्थलहरुमा चुनावी सभा समारोह गरिरहँदा पनि निर्वाचन कार्यालय मौन बस्ने गरेको छ ।

चितवनका राजनीतिक दलले सवारी साधनमा ठूला झण्डा राखेर, ठूलठूला स्वरमा माइक बजाएर, तोकिएको समय (विहान ८ वजेदेखि वेलुकी ७ वजेसम्म मात्र) बाहेकका समयमा चुनाब प्रचारप्रशार गरेर आचारसंहिताको ठाडो उल्लंघन गरिरहेका भए पनि निर्वाचन कार्यालय मौन बसेको हो ।

दलहरुले सवारी साधनको प्रयोग पनि मनलाग्दी ढंगले गरिरहेका छन् । उम्मेदवारले ४ वटा चारपाग्रे र ४ वटा मोटरसाइकल मात्र प्रयोग गर्न पाइने आचारसंहितामा उल्लेख छ । तर प्रचारप्रसारको क्रममा आफ्नो उपस्थिति बलियो देखाउन उम्मेदवार र दलहरुले अघिपछि गाडी र मोटरसाइकलका लावा लस्कर लिएर चुनाव प्रचार गरिरहेका छन् ।

कतिपय उम्मेदवारले हालसम्म सवारी साधन सञ्चालनको लागि निर्वाचन अधिकृतको कार्यालयबाट सवारी अनुमति समेत लिएका छैनन् । विज्ञापन प्रकाशन/प्रशारणमा पनि दलहरुले आचारसंहिता उल्लंघन गरिरहेका छन् । समय र पटकका आधारमा दल र उम्मेदबारको विज्ञापन गर्न पाइने आचारसंहितामा उल्लेख छ । तर आयोगले तोकेको भन्दा बढी समय र एकै पटक धेरै पत्रिकामा एकै उम्मेदवारको विज्ञापन समेत आउने गरेको छ ।

निर्वाचन कार्यालय चितवनले अहिलेसम्म आचारसंहिता उल्लंघनका एउटा पनि उजुरी नपरेको कारण कसैलाई कारबाही पनि नगरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु