logo

bar

रामशरण महत एम्बुस विस्फोटबाट छिनले बाँचे (फोटोफिचर)

नयाँ पत्रिका नुवाकोट | मङि्सर ०१, २०७४

नवदीप अजनबी/नयाँ पत्रिका 

नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा तर्फका उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतमाथि शुक्रबार लक्षित गरि एम्बुस विष्फोट भएको छ । ककनी गाउँपालिका–५, डाँडागाउँ शिकारीचौरमा एम्बुस विस्फोट हुँदा चुनावी प्रचारप्रसारमा हिँडेका कांग्रेसका पाँच जना कार्यकर्ता घाइते भएका छन् ।

सडकमा पुरेर राखेको अवस्थामा रहेको कुकर बम विस्फोट हुँदा बा. १६ च ६६५ नम्बरको स्कार्पियो गाडी सडकमै पल्टिदा पाँच जना गम्भीर घाइते भएका हुन् । घटनामा उपेन्द्र मिश्र, सविन लामा, एसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।  ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेको टोलीमाथि एम्बुस आक्रमण भएको हो ।

बिस्फोटमा क्षेत्र नं. १ प्रदेश ‘ख’ का कांग्रेस उम्मेदवार रमेशकुमार महत सवार गाडी भने एक मिटर वरै रहेकाले मात्रै जोगिन सफल भएका थिए । ‘म चढेको गाडी भन्दा अगाडीको गाडी विस्फोटमा परेको हो । एक मिटरले मात्रै म जोगिएँ । तर, साथीहरु गम्भीर घाइते हुनुभयो’ महतले भने ‘कायरतापूर्वक आक्रमण भयो ।’ विस्फोट हुँदा डा. रामशरण महत चढेको गाडी भने पाँच सय मिटर पर पुगिसकेको थियो ।

घटनाको अहिलेसम्म कसैले जिम्मावारी लिएको छैन । घटनास्थल वरपर पनि कसैको केही पर्चा लगायतका सामाग्री फेला नपरेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई हेलिकप्टरमा राखी उपचारको लागि राजधानी लगिएको छ ।

नुवाकोटक्षेत्र १ प्रदेश ‘ख’ का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु