समृद्धिको बाटोमा नेपाल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

नेपालका दुई सशक्त कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का साथै दुई वर्षअघि माओवादीबाट अलग्गिएर बनेको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरणको सहमति भएको छ । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी २०१९ सालबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले विभाजित भएदेखि नै नेपाली जनताले कम्युनिस्ट पार्टीहरूको एकताको चाहना राख्दै आएका हुन् । तर, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणका अतिरिक्त माक्र्सवादप्रतिको आ–आफ्ना बुझाइ र यसको प्रयोगको फरक मोडल तथा कार्यशैलीमा रहेका भिन्नताजस्ता कारणले कम्युनिस्ट पार्टीहरूको एकताको कार्य अधुरै रहेकोमा वस्तुगत आवश्यकता र चाहनालाई मूर्तता दिँदै यी पार्टी एकताको प्रक्रियामा अघि बढेका छन् । यसले मुलुकमा शान्ति, स्थायित्व र दिगो विकास मात्र होइन, समाजवादको आधारशिला नै खडा गर्ने निश्चित छ । परिणाम र परिमाण दुवै दृष्टिकोणले यो घटना नेपालको इतिहासमा दुर्लभ रूपमा हुने विभिन्न घटनामध्ये त्यत्तिकै एक युगान्तकारी महत्वको हुनेछ, जति नेकपा स्थापनाको महत्व रहेको छ ।

पार्टी एकीकरणको सहमतिको घोषणासँगसँगै यसको व्यापक मात्रामा स्वागत भएको छ भने कतिपय मात्रामा आशंका र अन्यमनस्कताका साथै इतरपक्षबाट रोष प्रकट भएको पनि नदेखिएको होइन । यसको स्वागत हुनु र खुसी प्रकट गरिनु अत्यन्तै स्वाभाविक हो । यी दुई धार ०३० को दशकको सुरुवातबाटै अलग–अलग स्कुलिङबाट विकसित भएका पार्टी हुनुका कारण, चीन–सोभियत संघको विवादमा एकैठाउँ भए पनि माओको देहावसानपश्चात् देङ सियाओ पिङको नेतृत्वमा विकसित चिनियाँ मोडलको समाजवादप्रतिको दृष्टिकोणमा फरकपना रहनु, दुवै धारले सशस्त्र संघर्षको अभ्यास गरेको हुँदाहुँदै पनि एमाले धार (यसपछि पहिलो धार लेखिन्छ) केहीअघि र माओवादी धार (यसपछि दोस्रोे धार लेखिन्छ) केही पछि मात्र संसद्को उपयोगको नीति लिई प्रतिस्पर्धामा आउनु, (यद्यपि दोस्रो धारभित्रको चौम समूहले भने पहिलो धारसँगै उक्त नीति लिएको थियो), पछिल्ला दशकमा पहिलो धारले जनआन्दोलन र निर्वाचनद्वारा जनअनुमोदनलाई सत्ताप्राप्तिको स्रोत मानेर सोहीअनुसारको संगठन र कार्यकर्तापंक्ति तयार पार्नु तर दोस्रो धारले सशस्त्र शक्तिलाई सत्ताप्राप्तिको स्रोत मान्नुजस्ता पृष्ठभूमिका वैचारिक र नीतिगत दृष्टिकोण तथा कार्यशैलीका अतिरिक्त दुवैको एउटै कार्यनीति बनिसक्दा पनि विगत र हालैका चुनावमा यी पार्टीबीच तालमेल गर्नुको सट्टा कतिपय स्थानमा असैद्धान्तिक गठबन्धन गरी प्रतिस्पर्धा गरिनु, एकले अर्कालाई स्पर्धी ठान्नुजस्ता व्यवहारका कारण कार्यकर्तामा आशंका र अन्यमनस्कता प्रकट गरिनुलाई पनि अनौठो मान्न सकिँदैन । इतरपक्षबाट यो एकता र एकीकरणको सहमतिलाई होच्याउने, अपमानित गर्ने, यसप्रति रोष प्रकट गर्ने र यो एकता र एकीकरणलाई भत्काउनेसम्मका प्रयत्न गरेका छन् । यसबाट कार्यकर्तापंक्ति प्रभावित बन्नु हुँदैन, इमानदारितापूर्वक लाग्नुपर्छ ।

समृद्धिका निम्ति यो एकताको महत्व सावित हुनेछ । यस एकताका कारणले समाजलाई आगामी चुनावबाट निर्वाचित हुने संघीय संसद् र सबै प्रादेशिक सभामा दुईतिहाइ बहुमत पाउन कठिनाइ पर्दैन । परिणामतः मुलुकलाई अस्थिरताबाट स्थिरतातर्फ, आचरणहीनताबाट सदाचारतर्फ, अशान्तिबाट दिगो शान्तितर्फ, अविकासबाट विकासतर्फ, गरिबीबाट समृद्धितर्फ, दिशाहीनताबाट अग्रगमनतर्फ अनि यथास्थितिवादबाट समाजवादी मार्गमा पदार्पण गराउन सक्नेछ । र, यो एकताले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने मात्र नभएर समाजवादको जग बसाउने पनि निश्चित छ । यसबाट न्याय नपाएकाले न्याय, उत्पीडनमा परेकाले मुक्ति, पछाडि परेकाले प्राथमिकता पाउनेछन् । वर्गीय हिसाबले भन्ने हो भने तल्ला वर्गका लागि यो एकताले अभूतपूर्व अवसरको ढोका खोल्नेछ । मुलुक पुँजीवादी युगमा प्रवेश गरेको भए पनि त्यो विकसित भएको छैन, प्रारम्भिक अवस्थामै छ । राष्ट्रिय पुँजीको विकास भएकै छैन, जुनविना समाजवादको कल्पनासम्म पनि गर्न सकिँदैन । त्यसैले राष्ट्रिय पुँजीपति वर्गका निम्तिसमेत समाजवादोन्मुख समाज वरदान हुनेछ । समाजवादोन्मुख समाज त्यसका निम्ति मात्र अभिशाप हुनेछ, जसले राज्यशक्तिको उपयोग गरेर, राज्यको सम्पत्तिको दोहन गरी देश र जनतालाई गरिब बनाइरहेका छन् ।

कपिल पाेखरेल

नेताहरूको ‘यो एकता कसैप्रति लक्षित छैन, नेपालको पक्षमा छ, समृद्धिको पक्षमा छ’ भन्ने भनाइका आधारमा कम्युनिस्टइतर शक्ति पनि यसबाट डराउनु पर्नेछैन । नेकपा (एमाले)ले झन्डै तीन दशक र माओवादीले त्यसको केहीपछिबाट ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काइसौँ शताब्दीको जनवाद’का आधारमा बहुदलीय प्रतिस्पर्धाको अभ्यास गरिरहेको छ, फरक पार्टीको अस्तित्व स्वीकार गरेको छ, कम्युनिस्टइतर दललाई निषेध गर्ने नीति नै लिएका छैनन् भने मुलुकको समृसद्धिका निम्ति एकताबद्ध हुँदा किन आत्तिनु ? एकताको सहमति हस्ताक्ष्।र समारोहमा ‘आगामी प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा सहकार्य तथा तालमेलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिलाई आह्वान गर्ने’ भनिएबाट लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिप्रति कुनै दुर्भावना रहेको छैन भन्ने प्रस्ट भएपछि देशको समृद्धि चाहने लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्ति त सहकार्यको प्रक्रियामा पो आउनुपर्ने त ।

राष्ट्रियताको संरक्षणका निम्ति पनि यो एकता महत्वपूर्ण सावित हुनेछ । कम्यनिस्टहरू नेपालका मात्र होइनन्, संसारभरि नै देशभक्त हुन्छन् । नेकपाको स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलन देशभक्तिपूर्ण आन्दोलनको पर्याय रहिआएको छ । देशभक्ति र राष्ट्रियताका लागि समाजवादी मुलुकहरू चीन र भियतनामबीचसमेत द्वन्द्व भएको इतिहास छ । वर्गीय व्यवस्था रहेसम्म राज्य कायमै रहने भएकाले कुनै पनि देशका कम्युनिस्टले आफ्नो मुलुकको हितलाई सिद्धान्तभन्दा माथि राख्छन्, स्वतन्त्रता गुमाउन चाहँदैनन्, उपनिवेश बनेर अर्काको दासत्व स्वीकार गर्दैनन् ।

यो पार्टी चीनतर्फ ढल्किन्छ कि ? भारतसँग तनाव सिर्जना हुन्छ कि ? भन्ने चिन्ता पनि यदाकदा सुनिन्छ । यो सर्वथा गलत कुरा हो, सहमतिपत्र हस्ताक्षर समारोहमा एमाले अध्यक्ष केपी ओलीको ‘नेपालको स्वतन्त्रताको रक्षा गर्दै, स्वतन्त्र राष्ट्रको हैसियतले त्यसअनुसारको छिमेक सम्बन्ध राख्ने’ भन्ने स्पष्ट भनाइबाट नयाँ बन्ने पार्टी र सरकार कुनै देशको पक्ष वा विपक्षमा छैन र होइन, सन्तुलित छिमेक सम्बन्ध, मैत्रिपूर्ण छिमेक सम्बन्ध, बराबरीको हैसियतमा छिमेक सम्बन्ध राख्न चाहन्छ भन्ने प्रस्ट हुन्छ । यसरी, नेपाल न चीनको पक्ष र भारतको विपक्षमा, न भारतको पक्ष र चीनको विपक्षमा रहन्छ, बरु नेपाल त नेपालकै स्वतन्त्रताको पक्षमा अडिग रहेर संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा, पञ्चशीलको सिद्धान्तका आधारमा मैत्रीपूर्ण छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध राख्दछ भन्ने प्रस्टै छ ।

अन्तमा, नेपालको राष्ट्रिय एकता र स्वतन्त्रताका निम्ति, मुलुकको विकास र समृद्धिका निम्ति, जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय शोषण–उत्पीडनबाट मुक्त हुनका निम्ति, न्याय र समानताका निम्ति, मुलुकमा दिगो शान्ति स्थापनाका निम्ति, समाजवादी समाजको आधारशिला खडा गर्नका निम्ति यो एकता र एकीकरणको प्रक्रियालाई सहयोग गर्नु र सफल पार्नुमा सबैको हित छ । यो एकता सफल भएमा मुलुक तीव्र गतिमा समृद्धिको बाटोमा अघि बढ्ने निश्चित छ ।

(पोखरेल मानवशास्त्री तथा एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन्)