‘गाउँ–गाउँबाट उठ...’ का गीतकार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।’ आमनेपालीमाझ प्रिय छ, यो गीत । जब–जब देशले परिवर्तन खोज्छ, तब परिवर्तनकामीका कण्ठबाट यो गीत स्वस्फूर्त गुनगुनिन थाल्छ । ०३६ र ०४६ को होस् या ०६२–६३ को जनआन्दोलन, गाउँ–गाउँ र बस्ती–बस्तीबाट जनता जगाउन यो गीतले कुनै राजनीतिक दलले भन्दा कमजोर भूमिका खेलेन । ०३३–३४ तिरबाटै यो गीत चर्चामा छायो, तर गीतकार सधैँ गुमनाम । श्याम तमोट यो गीतका लेखक हुन् भन्ने जानकारी अधिकांशले ०६३ तिर मात्रै पाए । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ राष्ट्रिय गानको खोजी हुँदा यो गीत पनि प्रस्ताव गरियो । जे होस्, राष्ट्रिय गानमा छनोट नभए पनि राजनीतिक परिवर्तनका आन्दोलनहरूमा यो गीतले पहिलो स्थान लिँदै आएको छ । आखिर यो चर्चित गीत लेखियो कसरी ? मञ्जुल र रामेशहरूसम्म आइपुग्यो कसरी ? गीत गाउनेहरू चर्चामा रहे, तर लेख्ने किन गुमनाम भए ? नयाँ पत्रिकाका प्रवीण देवकोटाका जिज्ञासा गीतकार श्याम तमोटले यसरी मेटाए :

०३६ देखि आन्दोलनहरूमा घन्किन थालेको गीतका रचनाकार चिन्न अधिकांशले गणतन्त्रसम्म कुर्नुपर्‍यो । गणतन्त्रका लागि लडेको कुनै बलियो दलको शक्तिभन्दा कमजोर थिएन यो गीतको भूमिका । ०६२/६३ को आन्दोलनमा गीत ‘हिट’ भएसँगै वास्तविक गीतकार मिडियाहरूमा पदार्पण भए । 

गाउँ–गाउँबाट उठ यसरी लेखियो

गाउने र बजाउने कार्यक्रममा स्कुलदेखि नै सहभागी हुन्थेँ । भोजपुर सदरमुकामनजिकै पर्छ, मेरो गाउँ । त्यतिखेर गाउँको स्कुलका लागि सरकारले वार्षिक एकमुष्ट रकम दिन्थ्यो । तर, त्यो रकमले शिक्षकलाई तलबदेखि अन्य आवश्यक खर्च पुग्दैनथ्यो । त्यसैले, जात्रा, तिहारलगायत अवसरमा घर–घरमा गीत गाउँदै हिँड्ने र पैसा जम्मा गर्ने गरिन्थ्यो अनि स्कुललाई दिइन्थ्यो । म पनि ती कार्यक्रमहरूमा अग्रमोर्चामा रहेर सहभागी हुन्थेँ । १० कक्षामा पढ्दा राल्फाहरूको एउटा गीति अभियानमा पनि सहभागी हुन पाएको थिएँ । त्यसपछि झन् गीतसंगीतमा लगाव बढ्यो ।

०२८/२९ तिर स्कुले शिक्षा सकाएर क्याम्पस पढ्न धरान झरेँ । हुन त भोजपुरमै पनि क्याम्पस थियो, तर आइकम (वाणिज्य संकाय)को पढाइ हुन्थेन । परिवार र इस्टमित्रबाट मैले आइकम नै पढ्नुपर्ने दबाब थियो । नेवारको छोरो भएर अरू विषय किन पढ्ने भन्ने कुरा उठ्थ्यो ।

धरानमा पढ्न बस्दा गीत–संगीतमा रहेको मेरो मनमा राजनीति मिसियो । धरान र विराटनगरका कलेजहरूमा ०२५ देखि नै विद्यार्थी राजनीति सुरु भएको थियो । खासगरी वामपन्थी धारका विद्यार्थीहरू आन्दोलनमा अगाडि थिए । मेरो पनि पृष्ठभूमि वाम नै थियो, चिनियाँ लाइनतिरको । गोविन्द विकल, बम देवानलगायत कविहरूको संगतले कला साहित्य र चिनियाँ क्रान्तियोद्धाहरूको जीवनी पढेपछि कम्युनिस्ट राजनीतिमा सक्रिय हुन बल मिल्यो ।

०३० मा आइकम सकेर ०३१ मा भोजपुर क्याम्पसमै फर्किएँ । क्याम्पसका साथीहरूले वेला–वेलामा सांस्कृतिक कार्यक्रम गरिरहन्थे । एक दिन मलाई साथीहरूले गीत लेख्न भने । मैले केहीबेर सोचेँ । राजनीतिक चेत पसिसकेकाले मलाई, गाउँकै सवाल, गाउँका मान्छेको जनजीवन फेरिनुपर्ने सवालमा लेख्न मन लाग्यो । आफ्नो परिवर्तनका लागि गाउँलेहरू आफैँ उठ्नुपर्ने विषय जोडेर गीत लेख्छु भन्ने योजना बनाएँ ।

रातिको समय थियो । लालटिनको उज्यालोमा गीत कोर्न सुरु गरेँ । शब्द लेख्दै लय मिलाउँदै अगाडि बढेँ । अन्ततः एकै बसाइमा ६ हरफको गीत तयार पारेँ । ०३१ को अन्तिमतिर लेखेको हुँ ।

पहिलोपटक आफैँले गाएँ

गीत र लय तयार पारेपछि साथीहरूलाई सुनाएँ । मन पराउनुभयो । कार्यक्रममा गाउने निर्णय भयो । मसहित शम्भु श्रेष्ठ र दिल्ली राई (निधन भइसक्यो)ले यो गीत गायौँ । कार्यक्रममा उपस्थित सबैले मन पराउनुभयो । ताली राम्रैसँग बजेको थियो ।

त्यतिवेला टेप रेकर्डर थिएन । मलाई चिन्ता थियो, लय बिर्सिन्छु कि भन्ने । नजिकका साथीहरूलाई लय सम्झिराख्न अनुरोध पनि गरेँ । स्मरणका लागि वेला–वेलामा गीतार बजाउँदै गुनगुनाउँथेँ । गितार धरान पढ्दा किनेको थिएँ ।

मञ्जुल र रामेशसम्म यसरी पुगेछ गीत

भोजपुर क्याम्पसमा गीत गाउँदा सुन्नेमध्येका एकजना भाइले शब्द र लय काठमाडौंमा भएका मञ्जुल दाइसम्म ल्याएछन् । ती भाइको नाम समीर नेपाल हो भन्ने लाग्छ, तर मञ्जुल दाइ पनि यो नाममा स्पष्ट हुनुहुन्न । जे होस्, एकजना व्यक्तिले मञ्जुल दाइसम्म मेरो गीत ल्याएछन् ।
गीत र लय पाएपछि मन परेर मञ्जुल र रामेश दाइले गाउन थाल्नुभएछ । उहाँहरूले विभिन्न कार्यक्रममा गीत गाउँदै हिँड्दासमेत मलाई पत्तो थिएन । केही समयपछि मञ्जुल दाइले मलाई पत्राचार गर्नुभयो । उहाँको घर पनि भोजपुर नै हो । प्रदीप नेपालको दाइ हो, उहाँ । प्रदीपसँग मेरो दौँतरी सम्बन्ध थियो । त्यसैले मञ्जुल दाइलाई मेरो ठेगाना बुझ्न सजिलो भएछ र पत्राचार गर्नुभयो । पत्र पढेपछि म खुसी भएँ र रामेश दाइलाई भेट्ने हतारो लाग्यो । किनभने, उहाँलाई पहिले देखे पनि प्रत्यक्ष भेटेर कुराकानी गर्न भने पाएको थिइनँ ।

रामेश दाइसँग त्यो प्रत्यक्ष भेट

०३४ मा रामेश दाइसँग प्रत्यक्ष भेट भयो । धरानमा एउटा कार्यक्रममा पुग्दा उहाँलाई भेटेको थिएँ । त्यहाँ मेरो गीतको कुरा उठ्यो । उहाँले अरू पनि सिर्जना गर्न भन्नुभयो । मैले अरू केही गीत पनि उहाँलाई सुनाएँ ।

०३५ मा म काठमाडौं आएँ । ०३७ सम्म काठमाडौंमा नै रहेँ । यो अवधिमा उहाँसँग निकट सम्बन्ध रह्यो ।

०३७ मा पहिलोपटक रेकर्ड

०३६ सालको आन्दोलनमा पनि मेरो गीत मञ्जुल र रामेश दाइले गाउँदै हिँड्नुभयो । पहिलो रेकर्ड भने ०३७ तिर भएको हुनुपर्छ । मञ्जुल दाइका भाइ अरिम साउन्ड सिस्टमबारे जानेको प्राविधिक हुनुहुन्थ्यो । उहाँ बाँसुरीबादक पनि हो । उहाँले नै एउटा गोप्य कोठा लिएर गीत रेकर्ड गराउनुभएको हो । पहिलो रेकर्डमा रामेश र मञ्जुलले नै गाउनुभएको हो । रायनले यो गीत गाउन थालेको त ०४६ पछि मात्रै हो । रेकर्डिङ संस्थानतिर रेकर्ड भएको पनि ०४९ पछि मात्रै हो ।

गीत चर्चित हुँदा पनि यसकारण गुमनाम भएँ

त्यो वेला नामको चर्चाका लागि गीत लेख्ने र गाउने भन्ने थिएन । मेरा लागि भन्दा पनि हाम्रा लागि गाउने भन्ने हुन्थ्यो । एउटा मिसनका लागि लेख्ने र गाउने हुन्थ्यो । गीतले त्यो मिसन भने पूरा गरेको छ, म खुसी छु ।

अर्को पाटो, म शिक्षक पेसामा थिएँ । त्यसो त वाम आन्दोलनमा पनि सँगसँगै थिएँ । मेरो नाम, श्याम तमोटकै नाममा सार्वजनिक थियो । यो गीत मैले लेखेको भनेर ०३६ सालमै संकल्पमा छापिएको पनि हो । तर, हल्ला पिट्दै हिँड्ने अवस्था थिएन ।

मञ्जुल र रामेश दाइहरूको भने आधिकारिक नाम थिएन । त्यसैले उहाँहरूलाई केही सजिलो थियो । मलाई बढी ‘एक्स्पोज’ हुन खतरा पनि थियो । मेरो त यो गीतसँग कुनै सम्बन्ध नै नभएजस्तो भयो । ०६३ पछि वातावरण सहज बनेपछि र गीतले झन् चर्चा पाएपछि भने गीतकारका रूपमा मेरो बढी चर्चा भएको हो । यो गीत लेख्ने म हो भन्ने अधिकांशलाई ०६३ पछि मात्रै थाहा भयो ।

मेरो गीतका कारण कसैलाई यातना, कसैलाई उन्मुक्ति

०५८ मा मैले आफ्नो गीतका संग्रहको रूपमा एउटा किताब निकालेँ । गीत पढ्न किताब धेरैले किनेछन् । मेरो किताब बोकेर हिँडेका कारण कसैले यातना पाएछन् भने कसैले ठूलो खतराबाट उन्मुक्ति । एकजना ऋतु बर्मा आशिक भन्ने कवि छन् । उनी मेरा साथी पनि हुन् । एक दिन उनले मेरै किताबका कारण झन्डै जेल बस्नुपरेको घटना सुनाए । प्रहरीले उनको झोला खानतलास गर्दा मेरो किताब भेटेछ र उनलाई धेरै नै केरकार गरेछ । पछि कुरा मिलाएर उम्किएछन् ।

अर्को एकजनाले भने मेरो किताब बोकेकै कारण माओवादीको पञ्जाबाट उम्किएको कहानी सुनाए । उनी कवि थिए र एनजिओमा पनि काम गर्थे । मेरो किताब झोलामा राखेर हिँडेका रहेछन् । त्यतिवेला माओवादीको बिगबिगी थियो । एनजिओ, आइएनजिओमा लागेका मान्छेहरूमाथि माओवादीको बढी निगरानी हुन्थ्यो । संकटकालमा उनी पनि माओवादीको फन्दामा परेछन् । पछि झोलामा मेरो किताब देखेपछि ‘यो त क्रान्तिकारी नै रहेछ’ भनेर छाडिदिएछन् । उनले पछि मलाई यो घटना सुनाएका थिए ।

‘बलिदान’मा कसरी भयो आठ हरफको गीत ?

सुरुमा मैले ६ हरफमै गीत तयार पारेको हो । पछि, मदनकृष्ण र हरिवंशको फिल्म ‘बलिदान’मा यही गीत राख्ने छलफल भएछ । रामेश दाइले मलाई भन्नुभयो । मैले स्वीकृति दिएँ । तर, गीत छोटो हुने भयो । त्यसपछि अन्तिमका दुई हरफ रामेश दाइ र म बसेर थप्यौँ । यी हरफमा रामेश दाइकै बढी योगदान छ । बलिदानमा रामेश, रामकृष्ण ढकाललगायतले गाउनुभएको छ ।

यतिसम्म हुन्छ भन्ने सोचेकै थिइनँ

क्याम्पसको सामान्य कार्यक्रममा आफैँले गाउने भनेर लेखेको गीतले यत्रो चर्चा पायो । मैले यतिसम्म हुन्छ भन्ने सोचेकै थिइनँ । नेपालमा चार भाषामा एउटै लयमा रेकर्ड गरिएको यो नै पहिलो गीत हो । क्यासेट नै उपलब्ध छ । अनुवाद गरेर त १७–१८ भषामा गाइएको छ ।
त्यो वेला न यति छिट्टै गणतन्त्र आउला भन्ने सोचिन्थ्यो, न त यो गीतले यत्रो चर्चा पाउला भन्ने । सुरुमा वामपन्थीको गीत भनेर प्रचार गरिए पनि अन्ततः सबैले मन पराए, गाए ।