आफ्नै आङमा काउसो दल्नेहरू - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २६, २०७४

थर्ड ल अफ मोसन

न्युटनको थर्ड ल अफ मोसनले हरेक क्रियाको उत्तिकै शक्तिशाली विपरीत प्रतिक्रिया हुन्छ भन्छ । तपाईं जति जोडले बल भुइँमा बजार्नुहुन्छ त्यति नै जोडसित त्यो माथि उफ्रन्छ । ओलम्पिक खेलमा पौडी प्रतियोगितामा खेलाडीले पोखरीमा हामफाल्नुअघि आफू उभिएको स्प्रिङबोर्डलाई जोडले तल थिच्छन् र त्यही बोर्डले दिने विपरीत प्रतिक्रियाका कारण हुत्तिएर हावामा पुग्छन् । यता राजनीतिमा क्रिया–प्रतिक्रियाका यस्ता भौतिक नियम पनि अनेक रूपमा देखिन्छन् ।

भर्खर नेपालका दुइटा ठूला वामपन्थी (?) दलहरूले आपसमा मिलेर निर्वाचन लड्ने र पछि पार्टी नै एकीकरण गर्ने घोषणा के गरेका थिए, त्यसले ती दलभित्र र बाहिर त्यस्तै शक्तिशाली प्रतिक्रिया जन्माइरहेको छ । यसपटकको रमाइलो के छ भने यो एकताले निर्माण गर्ने शक्ति, त्यसको भविष्य र आयुबारे तथा यसले नेपालको समकालीन राजनीतिमा पार्ने प्रभावबारे चर्चा गर्नुभन्दा पहिले नै एकथरि व्यक्ति, समूह र शक्ति ताउरमाउर गर्दै दिनको तीनपटक गोसाइँकुण्डमा हामफाल्दै, निस्कँदै गरिरहेको देखिन्छ । उनीहरू यसरी अत्तालिएका छन्, मानौँ सयौँ माहुरीले चिलेको होस् या आङमा काउसोको पोको घोप्टिएको होस् ।

यसले न्युटनले व्याख्या गरेको गतिको तेस्रो नियमले झैँ प्रतिपक्षी शक्तिमा तीव्र र शक्तिशाली प्रतिक्रिया निर्माण गरेको अनुमान लगाउन सकिन्छ । यस्तो प्रतिक्रिया देशभित्र नेपाली कांग्रेस र उसका निकट नेता–कार्यकर्तादेखि बौद्धिकहरूसम्म र छिमेकमा भारतीय सत्ताका केन्द्रमा देख्न सकिन्छ । आफूलाई अप्ठ्यारो पर्ने घटना नघटुन्जेल निकै तटस्थ र तार्किक देखिने कतिपय महानुभावसमेत तटस्थताको बर्को फालेर पाखुरा सुर्किंदै बहसमा निस्केका छन् । यता यी दलबीचको एकताले साँच्चै नेपालमा समाजवादका लक्ष्यलाई के–कस्तो सहयोग गर्लान् भन्ने अनुत्तरित प्रश्न उठिरहेका भए पनि यो तालमेलबाट अत्तालिएर प्रतिपक्षी वृत्तबाट आइरहेका प्रतिक्रियाबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

एकता आफैँमा ओलीलाई शक्तिशाली बनाउने मात्र होइन, कमजोर बनाउने हतियार पनि हो । उनले भिन्न विचार र मान्यतासँग सम्झौता नगरी यो गठबन्धन तन्काउन सक्नेछैनन् । यसैले गठबन्धन बनेको देखेर जो–जो आफ्नो शरीरमा काउसो दल्दै हिँडेका छन्, तिनले केही समय पर्खन र सकिन्छ भने दक्षिणपन्थी या मध्यदक्षिणपन्थी गठबन्धन बनाउन ध्यान दिनु राम्रो देखिन्छ ।

आफ्नै ज्यानमा काउसो

एमाले र माओवादी दुइटा कम्युनिस्ट पार्टीले निर्वाचनमा पनि तालमेल गर्ने र विचार मिल्ने भएकाले एउटै दल बनाएर जाने निर्णय गर्दा मूलतः आगामी निर्वाचनमा बहुमत हासिल गरेर सरकार बनाउन एउटा गठबन्धन बनाएको भनेर बुझ्न सकिन्छ । मिश्रित निर्वाचन प्रणाली अपनाइएको हुनाले एउटै दलले संसद्मा बहुमत ल्याउन कठिन भएको अनुमान सबैले गरेकै हुन् । यसरी कसैको बहुमत नआउने भएपछि निर्वाचनअघि होस् या पछि सरकार बनाउन दुई या दुईभन्दा बढी दलको गठबन्धन अनिवार्य नै देखिन्थ्यो । यसअघिको संसद्मा पनि त्यस्तै स्थिति भएकाले मधेसवादी दलसमेतको समर्थनमा सरकार बन्ने भत्कने र नयाँ समीकरण बन्ने गरेकै हुन् । स्थानीय तहका तीनै चरणका निर्वाचनमा पनि दलबीच यो–त्यो नभनी जोसँग जहाँ अनुकूल हुन्छ, त्यसैसँग तालमेल भएको पनि देखिएकै हो ।

यस्तो अवस्थामा एमाले र माओवादी केन्द्रबीच निर्वाचनअघि नै गठबन्धन बन्न लाग्नु हाम्रो संसदीय अभ्यासका लागि स्वाभाविक मात्र होइन, सकारात्मक मान्नुपर्ने हो । यस्तो गठबन्धन कांग्रेस र एमालेबीचबाहेक जो–जसको मिले पनि स्वाभाविक हुन्थ्यो । अझ दुई दल मिलेर एउटै बन्छन् भने त्यो पनि राम्रो कुरा हो । यस्तो भयो भने अनेक दलबीच अराजनीतिक गठबन्धन बन्ने, भत्कने र सरकार अस्थिर बनिरहने परम्पराबाट मुक्त हुन सजिलो हुन्छ । विचारधारात्मक संघर्षका आधारमा दलहरूको स्थान निर्धारण हुन्छ । कांग्रेसले जसरी गैरवामपन्थी गठबन्धन बनाउन खोजेको छ, त्यसलाई पनि स्वाभाविक रूपमा लिनुपर्छ । तर, कांग्रेस वृत्तबाट जे–जस्ता प्रतिक्रिया आए, त्यसलाई भने स्वाभाविक रूपमा लिन सकिन्न ।

समाज, अर्थतन्त्र र राजनीतिसहित वर्गसंरचना पनि तीव्र रूपमा परिवर्तन भइरहेको नेपाली समाजमा दलहरू बन्ने, भत्कने र नयाँ बन्ने प्रक्रिया स्वाभाविक हो । यो लामो पुँजीवादी क्रान्तिको चरणमा अनेक विभाजन र समाहितीकरणको चरणबाट वामपन्थीहरू मात्र होइन दक्षिणपन्थीहरू, कम्युनिस्ट पार्टी मात्र होइन नेपाली कांग्रेस पार्टीले पनि गुज्रनुपरेको छ । यति वेला नयाँ संविधान कार्यान्वयनको चरणमा गरिएका राजनीतिक दलसम्बन्धी केही व्यवस्थाले चाहिँ विभाजन र नयाँ दल बन्ने प्रक्रियालाई भन्दा दलबीच गठबन्धन र एकतालाई जोड दिएको छ ।

एमाले र माओवादी केन्द्र मात्र मिलेका होइनन्, केही साना दल एमालेमा मिलेका छन् र सूर्य चिह्न लिएर निर्वाचन लड्दै छन् । केही दल माओवादीमा मिलेका छन् र हँसिया हथौडा चिह्नमा निर्वाचन लड्दै छन् । मधेसमा मुख्य प्रभाव रहेका संघीय समाजवादी फोरम र राजपा गठबन्धनमा गए । राजपासमेत भर्खर मात्र ६ वटा दल मिलेर बनेको हो । स्वयंं कांग्रेस पहिले माओवादी केन्द्रसँग तालमेलको कसरतमा थियो र अहिले गैरवामपन्थी गठबन्धनको कसरतमा छ । यस्तो अवस्थामा एमाले र माओवादी केन्द्रबीचको तालमेल र एकताविरुद्ध कसैले पनि खनिनुपर्ने कुनै कारण देखिन्न ।

तर, जब विद्वान् प्रदीप गिरि र कांग्रेसका युवा नेता गगन थापाका तर्फबाट यस्तो गठबन्धनका विपक्षमा लाञ्छनायुक्त टिप्पणी आउन थाले अनि घटनाको सार्वजनिक बहसले एउटा अनपेक्षित र गलत मोड लिन पुग्यो । प्रचण्डको अन्तिम चमत्कारका रूपमा दुई दलीय गठबन्धनलाई चित्रित गर्दै प्रचण्डको राजनीतिक अविच्युरी लेख्न खोजेर प्रदीप गिरिले आफ्नो शालीनता भंग गर्न पुगे । प्रचण्ड अझै गतिशील नै छन्, सम्भवतः समकालीन नेतामा सबैभन्दा बढी । उनको र ओलीको यो नयाँ राजनीतिक प्रयोग सफल भयो भने नेपालको अहिलेसम्मको राजनीतिक दलहरूको चरित्र र तिनीहरूप्रतिको अवधारणा बदलिन सक्छ ।

किनभने यो एकीकरणअघि र पछि जुन बहस सिर्जना हुनेछ (बुधबार कान्तिपुरमा एउटा लामो आलेखमार्फत घनश्याम भुसालले यस्तो बहसको थालनी गरिसकेका छन्), त्यसपछिको नयाँ पार्टी न एमालेको निरन्तरता हुनेछ, न माओवादीको । यो प्रस्टसँग नेपाली वामपन्थीहरूले आफैँले निर्धारण गरेको फरक बाटो समातेको दल हुनेछ । यस्तो नहुने हो भने या त एकीकरण नै हुनेछैन, या त्यस्तो एकता लामो समय टिक्नेछैन । अर्थात्, यति एउटा घटनाले प्रचण्डको अविच्युरी लेख्नु हतार मात्र हुनेछ ।

गगन थापाले पनि यही सेरोफेरोमा कम्युनिस्ट अधिनायकत्वको हौवा सिर्जना गरेर राजनीतिक रोटी सेक्ने प्रयास गरे । नेपालका कम्युनिस्टहरूलाई लोकतन्त्र, वैयक्तिक स्वतन्त्रता र आवधिक निर्वाचनको मूल्यबारे कसैले शिक्षा दिइरहनुपर्दैन । ००७ सालदेखि ०६३ सालसम्मका खुला समाज र उदारवादी व्यवस्थाका कम्युनिस्टले गरेको आन्दोलनले यी सबै आशंकाको स्वतः खण्डन गर्छन् । उनको विचारले त कांग्रेस वृत्तमा भारी छटपटी भएको मात्र बुझ्न सकिन्छ । निर्वाचनको मुखमा आफू पराजित हुने गरी अर्को गठबन्धन बन्दा हुने अत्यासको अभिव्यक्तिसम्म त ठीकै हो ।

तर, दुई दलबीच बनेको गठबन्धन कसरी यो व्यवस्था, लोकतन्त्र र देशको अहितमा हुन्छ ? यस्तो गठबन्धन आफैँ सत्ता खोस्न जाने होइन । यसले आगामी निर्वाचनमा जनमतबाट परीक्षण हुनैपर्नेछ । कांग्रेसको जोड त जनमतबाट यो गठबन्धनलाई पराजित गर्नमा हुनुपर्ने हो । उनीहरू त उल्टो ज्यानमा काउछो दलिएझैँ हसिनपसिन भइरहेका देखिन्छन्, जसले निर्वाचनभन्दा पहिले नै पराजित भएको सन्देश मात्र प्रवाहित गरेको छ । प्रस्ट छ, एमाले, माओवादी र कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतको हिसाब गर्दा अहिलेको तालमेलले कांग्रेसको भविष्य कमसेकम यो निर्वाचनका हकमा संकटमा परेको छ ।

त्यही भएर प्रदीप गिरि र गगन थापा अत्तालिएका हुन् भन्न अप्ठ्यारो छैन । तर, योपटकको निर्वाचन नै हाम्रो लोकतन्त्रको अन्तिम अभ्यासचाहिँ होइन । पाँच वर्षपछि फेरि निर्वाचन आउनेछ । यसरी आत्तिनुको साटो यो तालमेललाई स्वाभाविक रूपमा लिएर आफ्नो शक्ति विस्तारमा लागेको भए उनीहरूलाई फाइदा हुन्थ्यो । वामपन्थी दलहरूले एकआपसमा तालमेल गर्दा कांग्रेसको अनुमति लिनुपर्ने हो कि झैँ गरेर यी नेताले आफ्नो बचकनापन मात्र उदांगो पारेका छन् ।

भारतीय सत्ता केन्द्रमा झट्का लागेकोबारे केही दिनअघि पत्रकार आनन्द स्वरूप वर्माले दिल्लीबाट लेखेको एउटा लेखमा त्यसका अर्थराजनीतिक कारणसहित प्रस्ट पारेका छन् । केही विश्वस्त सूचनाअनुसार यो गठबन्धनबाट अताल्लिएको दिल्लीको जासुसी संयन्त्रका केही अधिकारी काठमाडाैँमा ओर्लेर सक्रिय भएका छन् । दिल्लीले यसलाई आफ्ना हितविरुद्धको चलखेल मानेको छ र यसलाई वेलैमा रोक्न नसकेकोमा पछुतो मानिरहेको छ ।

नेपालको राजनीतिमा कांग्रेस र माओवादी गठबन्धनलाई आफ्नो अनुकूलको भन्दै समर्थन गर्दै आएको भारत वाम गठबन्धनले नेपालामा चीनको प्रभाव विस्तार हुने भयले ग्रस्त भएको बुझ्न सकिन्छ । तर, वास्तविकता के हो भने स्थिर सरकार भएको, प्रस्ट अवधारणासहित आर्थिक समृद्धितिर लागेको नेपाल नै भारतको पनि हितमा छ । केही वर्षयता लगातार नेपाल मामिलामा आफ्ना गलत नीतिको सिकार बन्दै आएको भारतले अहिलेको निर्वाचन तालमेलबाट वामपन्थी सरकार बन्यो भने त्यससँग सहकार्य गर्ने तयारी गर्दा नै उसको पनि हित हुनेछ ।

यो एकताको चरित्र

विश्लेषक सिके लालले चाहिँ दुईतिहाइ ल्याउनु भनेको सत्ता कब्जा नै हो भनेर यो समीकरणप्रति एउटा आतंक सिर्जना गर्ने प्रयास गरेको पढ्न पाइयो । सामान्य बहुमत ल्याउँदा त अधिनायकवादी शैलीमा काम गर्ने गरिएका उदाहरण भएको समाजमा यस्तो आशंका उठ्नु स्वाभाविक पनि हो । तर, नेपाली राजनीतिको वास्तविकता भने यसलाई पुष्टि गर्ने खालका छैनन् । पहिलो कुरा त नेपाली समाजमा कसैले अधिनायकवाद लाद्ने सम्भावना छैन किनभने यहाँको राजनीतिक आन्दोलनको मुख्य चरित्र बहुलवादी विचारप्रतिको प्रतिबद्धताका रूपमा रहेको छ ।

अर्को कुरा हाम्रो समाजको वर्ग चरित्र अत्यन्त जटिल छ । दलाल तथा नोकरशाही पुँजीपति वर्ग मात्रै समाजलाई नियन्त्रण गर्न सक्ने हैसियतमा छैन । मध्यम, निम्न मध्यम र वर्किङ क्लास निर्णायक बहुमतमा रहेको समाजमा बहुलवाद प्रभावी हुन्छ । अर्को विशेषता हाम्रो सामाजिक सांस्कृतिक विविधता पनि हो, जसले अधिनायकवादलाई आफैँ चुनौती दिइरहेको हुन्छ, खासगरी जनयुद्ध र मधेस आन्दोलनले यो बहुलताको जगलाई बलियो बनाइदिएको छ ।

यो गठबन्धनको चरित्र एमालेले मात्र निर्धारण गर्‍यो भने, ओलीले मात्र निर्धारण गर्न सके भनेचाहिँ यसमा केही जोखिम रहन्छ । तर, एकता आफैँमा ओलीलाई शक्तिशाली बनाउने मात्र होइन, कमजोर बनाउने हतियार पनि हो । उनले भिन्न विचार र मान्यतासँग सम्झौता नगरी यो गठबन्धन तन्काउन सक्नेछैनन् । यसैले गठबन्धन बनेको देखेर जो–जो आफ्नो शरीरमा काउसो दल्दै हिँडेका छन्, तिनले केही समय पर्खन र सकिन्छ भने दक्षिणपन्थी या मध्यदक्षिणपन्थी गठबन्धन बनाउन ध्यान दिनु राम्रो देखिन्छ ।