दरबारसँगको संगत : जब दिएँ राजा वीरेन्द्रलाई सिगार उपहार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २५, २०७४

आनन्द कार्कीले गजल गाउन सुरु गर्दा नेपालमा गजल गायक कमै थिए । लखनउमा संगीत पढेर फर्किएका कार्कीले गाएका हिन्दी र उर्दू गजल यति छिटो चम्कियो कि सजिलै राजदरबारसम्म छिर्ने पहुँच बन्यो । गजल गाएर राजारानीलाई मन्त्रमुग्ध पार्न सफल कार्की अन्ततः दरबारकै प्रिय गायक बनिरहे, अन्तिमसम्म । राजारानी जहाँ पुग्थे, त्यहाँ मनोरञ्जनका लागि कार्कीलाई नै बोलावट हुन्थ्यो । नारायणहिटीको ‘डाइनिङ टेबल’सम्म ‘एक्सेस’ बनाएका गायक कार्कीको दरबारसँगको संगत रोचक छ । नयाँ पत्रिकाका प्रवीण देवकोटासँग उनले सुनाए :

प्रेक्षा शाहमार्फत दरबारमा मेरो नाम

भारतको लखनउमा संगीत पढ्थेँ । ०४१/४२ तिर एउटा कार्यक्रम गर्न भन्दै नेपाल आएँ । त्यतिवेला हिन्दी र उर्दू गीतका श्रोता धेरै थिए । तर, राम्रो ‘पर्फम’ गर्न सक्ने कम थिए । भारतीय गायक गुलाम अली र किशोरकुमारका गजल बढी सुनिन्थ्यो । म उनीहरूकै गजल गाउँथेँ । लखनउबाट एक हप्ताको कार्यक्रम गर्न आएको थिएँ । तर, यहाँ एक महिना बसेँ । मेरो परिवार यतै हुनुहुन्थ्यो । एक महिनापछि पनि लखनउ फर्किने मेसो मिलेन । कार्यक्रमहरूमा बोलावट भएपछि यतै भुल्न थालेँ ।

त्यति नै वेला एभरेस्ट सेरेटन होटेलमा एउटा गजल रेस्टुरेन्ट खुलेको रहेछ । त्यहाँ प्रस्तुतिका लागि सांगीतिक टिमको माग भएको रहेछ । नयाँ गायकको पनि खोजी भएको मेरो भतिजोले सुनायो । त्यतिखेर म १८–१९ वर्षको ठिटो थिएँ । एक–डेढ महिनाको नेपाल बसाइमा संगत गरेका न्ह्यु बज्राचार्य र सुरेन्द्र श्रेष्ठलगायतसँग कुरा गरेँ । न्ह्यु गितार र सुरेन्द्र तबलामा पोख्त हुनुहुन्थ्यो । ट्रायलमा हामी पास भयौँ । भोलिपल्टदेखि नै ‘प्रस्तुतिका लागि आउनू’ भनियो । संगीत सिकिरहेको भर्खरको ठिटोले यो अवसर चुकाउन चाहने कुरै भएन ।

प्रस्तुतिको पहिलो दिन नै दरबारको पार्टी रहेछ । त्यहाँ रानी ऐश्वर्याकी कान्छी बहिनी प्रेक्षा शाह आउनुभएको रहेछ । मैले गुलाम अलीका गजलहरू गाएँ । भर्खर सार्वजनिक भएको उनको ‘गाजलु ती ठूला–ठूला आँखा…’ गाएँ । उपस्थितहरूले मन पराए । प्रेक्षामार्फत मेरो गायकीको तारिफ दरबारसम्म पुगेछ ।


राजाको सामुन्ने त्यो पहिलो प्रस्तुति

एभरेस्टको गजल रेस्टुरेन्टमा गाएको झन्डै ६ महिनापछि मलाई दरबारमै गाउन बोलाइयो । नातिकाजी, शिवशंकरहरू बजाउन जानुभएको थियो । तारादेवी र म गाउन । राजा वीरेन्द्रको जन्मदिनमा दरबारभित्रै आयोजित कार्यक्रममा गाउन गएको थिएँ ।

त्यतिवेलासम्म मेरै पहिलो एल्बम निस्किसकेको थियो, ‘आनन्द कार्कीका गजलहरू’ भन्ने । ०४२ मै सार्वजनिक एल्बमका गीतहरू राम्रै चलेका थिए । ‘तिम्रो पनि मुटु नै भए यति साह्रै कठोर किन, मेरा दोषहरू भन मौन बसिदिन्छौ किन ?…’ रेडियो नेपालमा घन्किन थालेपछि गजल धेरैले रुचाइसकेका थिए । यही गजल रानीले राजाको जन्मदिनमा ‘फर्माइस’ पनि गर्नुभयो । दिनभर लगातार रेडियो नेपालमा बज्यो । त्यति नै वेलातिर नेपाल टेलिभिजन पनि सुरु भएको थियो । त्यहाँ पनि गाएँ । साँझ दरबारको कन्सर्टमा पनि त्यही गीत गाएँ ।

राजाको आँखामा आँखा जुधाएर गाएँ

दरबारमा मेरो पहिलो प्रवेश थियो । पहिल्यै नातिकाजी दाइले धेरै कुरा अथ्र्याउनुभएको थियो । उहाँले भनेजस्तै वातावरण त्यहाँ पाएँ । राजा देखेपछि सबै जुरुक्क उठ्नुपर्ने । राजा यताउता जाँदा पनि उठ्नुपर्ने । त्यतिवेला एउटा कुरामा म राजा वीरेन्द्रसँग प्रभावित भएँ । सबै उठ्दा उहाँले इशारा गर्दै बस्न भन्नुभएको थियो ।

नातिकाजी दाइले पहिल्यै भन्नुभएको थियो, ‘राजाको अगाडि निहुरिएर गाउनू, आँखामा आँखा नजुधाउनू ।’ तर, त्यसरी गाउन त मलाई गाह्रो हुन्छ पनि भनेको थिएँ । उहाँले भने दरबारको अनुशासन सकेसम्म नतोड्न निर्देश गर्नुभएको थियो । गाउन सुरु गर्नुअघि मुटुको ढुकढुकी दौडिन थाल्यो । तै पनि त्यो अवसरमा मैले अठोट गरेँ, गाउन सुरु गरेँ । डरमै भए पनि मैले राजासँग आँखा जुधाएर गाएँ । नातिकाजी दाइले ‘दुईवटाभन्दा बढी गीत नगाउनू’ भन्नुभएको थियो, तर पाँच–छवटा गाएँ ।

जहाँ राजारानी त्यहाँ मेरो माग

मेरो गायकी राजारानीले मन पराउनुभयो । दरबारभित्र हुने कन्सर्टमा मात्रै होइन, राजारानी उपस्थित हुने बाहिरी कार्यक्रममा पनि मेरो माग हुन थाल्यो । राजारानीकै ‘फर्माइस’मा मलाई डाकिएका कतिपय कार्यक्रम मलाई सम्झना छ । लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दको बिहे पार्टीमा निकै जोड गरेर मलाई बोलाइयो । बिहेको अघिल्लो दिनसम्म उहाँहरू आएर भन्नुभएको थियो, ‘जे चाहिन्छ भन्नुस्, पैसा तपाईंले भनेअनुसार दिन्छौँ । राजारानीकै फर्माइस छ, जसरी पनि उपस्थित हुनुपर्छ ।’ म गएँ ।

राजारानीसँग एउटै डाइनिङ टेबलमा

एकपटक दरबारमा गाउन जाँदाकै प्रसंग स्मरण हुन्छ । तारादेवी, नातिकाजी, योगेश वैद्य र म गएका थियौँ । तारादेवी बिरामी हुनुहुन्थ्यो । नातिकाजीको जोडमा तारादेवी नसक्दानसक्दै जानुभएको थियो । बिरामी तारादेवीलाई देखेपछि रानी ऐश्वर्या नातिकाजी दाइसँग रिसाउनुभयो । बिरामी मान्छेलाई किन ल्याएको ? भनेर प्रश्न गर्नुभयो ।

कार्यक्रम सकिएपछि खानपिन सुरु भयो । त्यो वेला रानी आफैँले तारादेवीलाई खाना ‘सर्भ’ गर्नुभएको थियो । राजा वीरेन्द्र सरकारले ‘आनन्द बाबु बस’ भनेर मलाई एउटै डाइनिङ टेबलमा राख्नुभयो । म आत्तिएँ, नर्भस भएँ । बच्चादेखि नै राजालाई मान्नुपर्छ भन्ने ‘स्कुलिङ’मा हुर्किएको सामान्य नागरिकलाई राजासामु प्रस्तुत हुन असहज हुने रहेछ । तर, कलाकारप्रति राजारानीको त्यो प्रेमले म प्रभावित हुन्थेँ । हामी सबै राजासँग एउटै टेबुलमा बसेर खायौँ । त्यो वेला युवराज दीपेन्द्रको स्वभाव पनि नजिकबाट महसुस गरेँ । उहाँ आफ्ना आमाबाबुलाई निकै सम्मान गर्नुहुन्थ्यो । मैले दरबारभित्र कहिल्यै राजा र प्रजाको व्यवहार महसुस गरिनँ ।

दरबारको सम्झना यसरी राखेको छु

दरबारमा धेरै फोटोहरू खिचियो, राजारानीसँगै । तर, त्यहाँका फोटा बाहिर कसैलाई दिइन्थेन । मलाई भने राजारानीसँगका फोटा राख्ने औधी इच्छा थियो । एकपटक भारतीय दूतावासले राजाको जन्मदिनमा कार्यक्रम गरेको थियो । म गाउन गएको थिएँ, ¥याडिसन होटेलमा ।
यो कार्यक्रममा भने मैले सुरुमै दूतावासका अधिकारीसँग भनेको थिएँ, बरु पारिश्रमिक चाहिँदैन, तर राजारानीसँगको फोटो दिनुहोला । मैले केही फोटोहरू पाएँ । ती फोटा घरमा सुरक्षित छन् । ¥याडिसनको त्यो कार्यक्रममा मेरो गीत रुचाएर दीपेन्द्र सरकारले खाममा राखेर एउटा उपहार दिनुभयो । पछि हेर्दा त्यहाँ एक लाख रुपैयाँ रहेछ ।

जुन गीत वीरेन्द्रले फेरि गाउन भन्नुभयो

राजा वीरेन्द्र वेला–वेलामा भन्नुहुन्थ्यो– मलाई संगीतको ‘स’ पनि थाहा छैन, सबै सिकाउने आनन्द नै हो । ‘यी हल्लाहरू हुन् तिमीले सुनेका…’ बोलको मेरो गीत राजालाई निकै मन पर्ने रहेछ । एकपटक दरबारमै गाउँदा उहाँले हाँसेर ‘यो कसका लागि हो ?’ भन्नुभएको थियो । फेरि सुनौँ, रमाइलो लाग्यो भनेपछि मैले फेरि गाएँ ।

रानी ऐश्वर्याले लेखेको गीत गाउन प्रस्ताव

मेरो ‘एउटा मान्छेको मायाले कति…’ गीत निकै चर्चित भइसकेको थियो । त्यति नै वेला रानी ऐश्वर्याले मेरो स्वरमा रेकर्ड गराउन आफूले लेखेको एउटा गीत पठाउनुभएको रहेछ । दीपक जंगम दाइलाई दुईवटा गीत दिँदै एउटा नारायणगोपाल र एउटा मलाई गाउन लगाउन भन्नुभएको रहेछ ।
गजल शैलीको त्यो गीत मैले गाएँ, तर खासै चर्चित भएन । दरबारका कार्यक्रममा पनि मैले निकै गाएँ । ‘जीवनै बदलिन्छ भने ऋतु बदलिएझैँ के जीवन त्यो…’ बोलको गीत थियो । रानीले लेखेको गीत यो नै पहिलोपटक गाएको हुँ ।
पछि दीपेन्द्र सरकारले लेखेको गीत पनि गाएँ । ‘नौ डाँडा काटी तिमीलाई भेट्न आएँ…’ गीत उहाँले लेख्नुभएको थियो ।

डेनमार्कबाट मगाएर सिगार पिउनुहुन्थ्यो वीरेन्द्र

दरबारको संगतमा रहेर गीत गाउँदागाउँदै म ‘हाई लेभल’मा परिचित भएँ । देश–विदेशबाट मलाई निमन्त्रणा हुन थाल्यो । सन् १९९८ तिर एउटा ‘सो’मा प्रस्तुति दिन म डनमार्क गएको थिएँ । त्यहाँ घुम्दै जाने क्रममा एउटा सिगार पसल देखेँ । पसलमा राजा वीरेन्द्रको फोटो पनि देखियो । त्यो दृश्यले मलाई केन्द्रित ग¥यो । सोधपुछपछि बुझ्दा थाहा पाएँ, वीरेन्द्रले त्यही पसलबाट सिगार मगाउनुहुँदोरहेछ । राजाले सिगार पिउने सवालमा त म पहिल्यै जानकार थिएँ । मैले उहाँका लागि सिगार उपहार लिने योजना बनाएँ । किनेर ल्याएँ पनि । तर, नेपाल आएपछि त्यो उपहार टक्र्याउन निकै डर लाग्यो । केही साथीहरूसँग कसरी दिने भनेर सुझाब पनि लिएँ । व्यक्तिअनुसार सुझाब आए । तर, ममा दिने आँट आएन । किनेको तीन वर्षसम्म आफ्नै घरमा राखेँ ।

०५८ मा दरबार घटनामा उहाँ बित्नुभन्दा एक महिनाअघि लोकेन्द्रबहादुर चन्दको घरमा एउटा कार्यक्रम थियो । मलाई पनि निमन्त्रणा थियो । त्यहीँ मैले सिगार लिएर गएँ, राजालाई उपहारस्वरूप दिन । एडिसीसँग अनुरोध गर्दै राजाको टेबुलमा टक्र्याएँ । राजा चकित पर्नुभयो र हाँस्दै भन्नुभयो, ‘तिमी धेरै चलाख छौ ।’

मेरी हजुरआमा राई हो भन्ने वीरेन्द्र सरकारबाटै थाहा पाएँ

दरबारले जो–कसैलाई त्यसै नजिक बनाउँदैन रहेछ । लामो संगतपछि मैले त्यो बुझेँ । सम्बन्धित व्यक्तिका बारेमा पूरै नालीबेली बुझेर मात्रै दरबारमा भित्र्याउने रहेछ । एकपटक सरकारले मलाई भन्नुभयो, ‘तिम्री हजुरआमा त राई हुनुहुँदो रहेछ है ?’ म त ‘सक्ड’ भएँ । त्यो मलाई थाहा थिएन । मलाई थाहा नभएको कुरासम्म राजालाई थाहा रहेछ । पछि मैले ममीलाई यसबारे भनेँ । उहाँले थप कुरा भनेपछि थाहा भयो, हजुरआमा राई नै हुनुहुँदो रहेछ । बुबालाई सानैमा छाडेर हिँड्नुभएको रहेछ ।

राजा ज्ञानेन्द्र सामु पनि गाएँ

ज्ञानेन्द्र सारकारसामु पनि गीत गाएको छु । एउटा घटना सम्झनामा छ । त्यो संकटकालको वेला थियो । त्यो दिन कफ्र्यु लागेको थियो । घरमै आर्मी आएर गाडीमा लग्यो । त्यसपछि हेलिकोप्टरमा पोखरासम्म गएर गीत गाएको छु । त्यहाँ एउटै गीत दुई–तीनपटकसम्म गाएँ । ‘जीवनमा धेरै खोला तर्नु छ, कति असल हुन्थ्यो होला मेरी मायालु मायाँको डुंगाबाट तर्न पाए, डेरा सर्दासर्दै उमेरै बित्यो कति असल हुन्थ्यो होला मेरी मायालु तिम्रो मुटुमा डेरा सर्न पाए…’ । राजाको फर्माइसमा दुई–तीनपटक गाएको थिएँ । त्यतिवेला ज्ञानेन्द्र सरकारले गाउँदागाउँदै बीचैमा भन्नुभएको थियो, ‘तिमीले कतिचोटि डेरा स¥यौ भाइ ?’ यस्ता धेरै रमाइला क्षण छन्, दरबारसँगको संगतका ।

पारस शाहलाई यसरी जोगाएँ

०४६ को घटना हो । प्रजातन्त्र आइसकेको थिएन, तर आन्दोलन चर्किरहेको थियो । राजा र राजपरिवारलाई जनता हेर्नै मान्दैनथ्यो । जहाँ देखे पनि हुटिङ हुन्थ्यो । एक दिन एभरेस्ट होटेलमा कार्यक्रम सकेर दरबारतिर फर्किंदै थियौँ । पारस शाहहरू अगाडि हुनुहुन्थ्यो, म पछाडि आफ्नै गाडीमा थिएँ । माइतीघरमा पुगेपछि पारसको गाडी दुर्घटनामा प¥यो । ड्रिंक गरेका वेला तीव्र गतिमा चलाएकाले पनि दुर्घटना भयो होला । दुर्घटनापछि क्षणभरमै मान्छेहरू जम्मा भए । को हो, को हो ? भन्दै मान्छेहरू आक्रमण गर्न तम्सिएका थिए । त्यतिवेला ज्ञानेन्द्र शाहका छोरा भनेर कसैले भनिदिएको भए अप्रिय घटना हुन सक्थ्यो । मैले मेरो साथी हो भनेर फुत्काएँ ।