मदिरा र खगेन्द्र संग्रौला - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २४, २०७४

प्रस्तुती : विश्वास खड्काथोकी

साँझको ५ बज्दै थियो । सेतो झोला बोकेका, सेतै कपालवाला व्यक्ति चक्रपथमा उभिइरहेको मेरा आँखाले टाढैबाट ठम्याए । उनी थिए, लेखक खगेन्द्र संग्रौला । निम्त्याउनेभन्दा पाहुनाको छिटो उपस्थितिले मलाई थोरै–थोरै अप्ठ्यारो लागिहाल्यो । तर, हतारमा हामफालेँ, उनी भएतिर । ‘सरी ! दाइ कुराएँ,’ मैले सम्मान पोखेँ । ‘कुराइमा मलाई कुनै दिग्दत छैन, जिन्दगीका मोडमा कुर्दै–कुर्दै कपाल फुल्ने हालसम्म आइपुगेको त हो नि भाइ,’ मप्रति प्रेम बिसाए ।

चक्रपथ गणेश मन्दिरको छेवैमा उभिएर यति बातचित भए । तर, मन्दिरमा हामी प्रसाद चाख्न भेट भएका थिएनौँ । मदिरा संवादका लागि समय जुराइएको थियो । तर, मदिरा पिउन होइन, मदिरा पिउँदाका कहानी सुन्न समय मिलेको थियो । फिस्स हाँस्दै उनले भने, ‘जाऊँ त भाइ अड्डातिर ।’ उनको अड्डातर्फ पछि–पछि लागेँ म ।

०००
नुब्बु सेकुवा कर्नर ।

यही बोर्ड मुन्तिरबाट हल्का अँध्यारो कोठातिर छिरे संग्रौला । म पछि–पछि । कुनै वेला उनी भन्थे, ‘यस्तो अमूल्य पैसाले किन बियर पिउछौँ, किन वाइन पिउँछौँ ? त्योभन्दा त बरु पानी पिऊ ।’
तर, आज उनले सुरुमै वाइन मगाए, हिनुवा वाइन । गोलाकार सिसाको ग्लासमा ‘माल’ खन्याए । वाइनको बोतल ट्वाक्क बिसाउँदै मतिर हेरेर मलिन हाँसे र सुनाए, ‘रक्सी मेरो जिन्दगीको पादटिप्पणी हो । यो मेरो शीर्षक होइन । रक्सीभन्दा ठूला कुरा अरू नै छन्, मेरो जिन्दगीमा ।’

संग्रौलाको निजी मामला गिजोल्न मलाई पनि खासै रुचि थिएन । उनको मदिरा मोहबारे सडकदेखि चिया पसलसम्म जुन खालका किस्साहरू सुनिन्थे, म त्यसैको यथार्थ बुझ्न चाहन्थेँ । उनले वर्षौंदेखि पिएको मदिराको गन्ध सुँघ्न हौसिएको थिएँ ।

वाइन पिइरहेका संग्रौलाका औँलाको कापोमा निकैबेरसम्म चुरोटको खिल्ली देखिएन । चुरोट अभावको भाव पनि अनुहारमा पढ्न सकिनँ । परिस्थितिले मलाई एकछिन सोच्न बाध्य बनायो, सार्वजनिक स्थानमै चुरोटको धुवाँ उडाउँदै हिँड्ने संग्रौला यिनै होइनन् ? त्यसैले मदिराभन्दा पहिले उनीसँग धूमपानको किस्सा बुझ्न मन लाग्यो ।

एक चुस्की वाइन स्वाट्ट हान्दै सुनाउन थाले, ‘यति धेरै चुरोट पिएँ कि मैले पिएका चुरोटहरू जोड्ने हो भने काठमाडौंदेखि मुग्लिनसम्म लहरा बन्थ्यो होला । १६–१७ को उमेरदेखि नै बिँडीमा लत बस्यो । ५५ वर्षको उमेरसम्म आउँदा चारपटक धूमपान छाडेँ । अहँ, सधँैका लागि त्याग्न सक्दै सकिनँ । चौबाटोमा चुरोट पिएँ, पेटीमा उभिएर पिएँ, लत बढ्दै गएपछि माइक्रो बसभित्रै पिइयो । त्यतिवेला धेरै साथीहरूको मलाई आपत्तिपूर्ण निवेदन थियो, तिमीले आफ्नो उपयोगी मस्तिष्कलाई मारिरहेका छौ । तर, मलाई त्यो निवेदनले छोएन ।’

संग्रौला आफ्नो चुरोट जिन्दगी सुनाउँदै जाँदा फसिरहेका थिए, विगतमा । त्यसैले त वाइनको गिलासलाई मुखसम्म चढाउन उनको हातले बिर्सिएको थियो । धाराप्रवाह बोल्दै गए, ‘डेढ वर्ष पहिले मेरो छाती निकै दुख्न थाल्यो । स्वास्थ्य जाँच गराएँ । तत्काल चुरोट छाड्नुप¥यो । विगत एक वर्षदेखि मैले चुरोट पिइरहेको छैन । त्यसअघि दिनमै ३०–३५ खिल्ली चुरोटका धुवाँ मेरो फोक्सोमा पुग्थ्यो । डाक्टरले भन्नुभएको थियो– तपार्इं निकै स्ट्रोङ हुनुहुँदो रहेछ । यतिका चुरोट पिए पनि तपार्इंको फोक्सो पूर्ण रूपमा ध्वस्त भइसकेको छैन । रिकभर हुने सम्भावना पनि छ ।’
अब, संग्रौलाको ध्यान वाइनतिरै फर्कियो । सितन सम्झिए । मगाए पापड ।

काठले बारेको सेकुवा कर्नरमा काठकै कुर्सी टेबलमा थियौँ, हामी । यही टेबुल ‘सेयर’ गरेर उनले थुप्रै साहित्यकार, कलाकार, समाजसेवी, नेता, पत्रकारसँग कैयौँ पेग तानेका छन् । कहिलेकाहीँ लेख्दालेख्दै मुड आएन भने यहीँ आएर कालो कफी पिउँछन् रे ! मर्निङवाक गरेर फर्किंदा यहीँ कफी पिएर घर जान्छन् रे ! त्यसैले त होला, सेकुवा कर्नरका धेरै ग्राहक उनका परिवारका सदस्यजस्तै बनेका रहेछन् । आफ्नो निवासनजिकै भएर पनि उनका लागि यो स्थायी अड्डाजस्तै बन्यो, सायद ।
संग्रौला भोड्का र ह्विस्कीका पारखी थिए, पहिले । तर, अहिले वाइनबाहेक छुन्नन् । मलाई यसको राज जान्ने झोक चल्यो । जिज्ञासा बिसाएँ । आफ्नै स्टाइलमा अर्को प्याक तन्काउँदै फिस्स हाँसोमा बोली फुटाए, ‘डाक्टरले नै बाध्य बनाए ।’

संग्रौला उमेरले ७३औँ वर्षमा हिँडिरहेका छन् । यो बुढेसकालमा मदिराको हकमा वाइन नै उनको प्रिय साथी बनेको रहेछ ।

०००
प्रश्न : तपाईंले रक्सी खुवाएको भरमा आर्टिकल लेख्नुहुन्छ रे नि ?

संग्रौलाको शालीन अनुहारमा आक्रोश पोतिएन । कुनै परिवर्तन नै आएन । सायद, यस्ता प्रश्नको सामना उनले पहिल्यै गरिसकेका थिए ।

संग्रौला आफ्नै लयमा बगे, ‘जसले रक्सी खाएर लेख्छ, उसैको आरोप हो यो । मेरो जिन्दगी यति पारदर्शी छ कि, मैले कहिल्यै सफाइ नै दिनुपर्दैन । मलाई कोहीसँग केही माग्नु नै छैन । आफ्नै सीप, क्षमता र बौद्धिकताबाट फलेको आर्जनले जिन्दगी व्यवस्थित गरेको छु । बढी कमाउँदा मीठो खाएको छु, नहुँदा पाँच रुपैयाँमा भट्टीको ठर्रा पनि पिएको छु । मैले कहिल्यै पनि कसैसँग केही मागिनँ भने अब त केको आवश्यकता ? कसैको ढोका ढकढक्याएर मागेको भए के पाउदिनथेँ होला र ?

एकथरी गिरोहले मलाई रक्सीबाजका रूपमा प्रतिविम्बित गरिरहेका छन् । नेपाली समाज विभाजित छ । उनीहरूले, म जन्मेको रक्सी पिएर हो, हुर्केको रक्सी पिएर हो, लेख्ने रक्सी पिएर हो र मर्ने पनि रक्सी पिएरै हो भन्ने कथा निर्माण गरेका छन् । उनीहरूविरुद्ध मैले पनि शब्दका मिसाइलहरू छाडेँ । उनीहरूले आफ्नो स्वार्थपूर्ति गर्न नसकेपछि मेराविरुद्ध विभिन्न अभियान नै चलाए । नेपाली समाज वर्ग, लिंग, वर्ण, भाषा क्षेत्रमा विभाजित छ । मेरा मित्र र शुभचिन्तक मात्रै छैनन्, शत्रुहरू पनि छन् । जसको स्वार्थविरुद्ध लेखेँ, उनीहरूले नै मेरोबारे यस्तो अपवाह फैलाए ।’

०००
अन्तरजातीय बिहे गर्दै गुरुङ्सेनी भिœयाएका बाहुनका छोरा हुन्, खगेन्द्र संग्रौला । उनकी श्रीमतीले पटक–पटक भन्ने गर्छिन्, ‘गुरुङसँग बिहे गरेको भए लाहुरे भएर सुनले त छपक्क ढाकिदिन्थ्यो, तर रक्सी खाएर दुःख दिन्थ्यो । यही सम्झेर बाहुनसँग बिहे गरेँ, झन् ठूलो जँड्याहाको फेला पो परेँ ।’ यसलाई संग्रौलाले आधा सत्यको रूपमा ग्रहण गर्छन् । रक्सी पिएर दर्जनौँपटक श्रीमतीसँग झगडा गरेका संग्रौलालाई यति भन्नु सायद श्रीमतीको बाध्यता पनि थियो ।

तर, संग्रौलाले बिहेअघि नै रक्सी जिन्दगीको सुरुवात गरिसकेका थिए, जानेर होस् वा नजानेर ।
‘म लिम्बूवानमा हुर्केको मान्छे । बाक्लो बस्ती थियो । साथीहरू सुँगुर धपाउने, चरा मार्ने, फुल चोरेर खाने, काँक्रा चोर्ने थिए । सानै छँदा बुबाले एउटा काम अह्राउँदै मित बाकोमा पठाउनुभयो । पुस महिनाको जाडो थियो । मेरो शरीर लगलग कामिरहेको थियो । मितबा डबकामा केही तान्दै हुनुहुन्थ्यो । गाला र कान राता थिए,’ संग्रौलाले कहानी हाल्न थाले, ‘दिउँसोको ११ बजेको थियो । उहाँले भन्नुभयो, साह्रै जाडो भएछ हो काइला ! कान पो राता पारूँ हो काइला ! मित आमाले डबकामा बाफ उँडिरहेको केही लिएर आउनुभयो । मैले स्वाट्टै पारेँ । त्यसपछि मैले सबै बिर्सेछु । त्यहीँ सुतेछु ।’

यो उनको जीवनकै पहिलो मदिरा अनुभव थियो । वास्तविक रक्सीसँग उनको जम्काभेट भने लमजुङको खुदीमा पुगेपछि भएछ । तर, त्यसअघि उनले काठमाडौंका केही पसलहरूमा नपिएका भने होइनन् ।

०२७ सालमा शिक्षकको भूमिकामा उनी खुदी पुगेपछि एक्लिए । फोनको कुरा त परै जाओस्, रेडियोसमेत टिप्दैनथ्यो । निकै अनकन्टार ठाउँमा पुगेर उनले विद्यासँग पैसा साटेर जीवनका योजना बुन्न थालेका थिए । एकजना मगर्नी आमैकोमा खाना खान्थे रे उनी । हिनुवाको अर्को पेग सुक्र्याउँदै उनी लमजुङको सम्झनामा फर्किए, ‘दाल भात त निहुँ मात्र थियो, उनको खास व्यापार त रक्सी थियो । पुस्तक पढ्दा–पढ्दा वाक्क बनेको मेरो अँध्यारोको साथी रक्सी बन्न थाल्यो । त्यसपछि रक्सीमा लत नै बस्यो ।’

काठ्माडौं फर्किएपछि पनि उनलाई संगतले मदिरासँगै रमाउने बनायो । भन्छन्, ‘मेरा साथीहरू उच्चस्तरका मदिराप्रेमीहरू हुनुहुन्थ्यो । सुरुसुरुमा भट्टीमा पनि गइन्थ्यो । धेरैले आँखा सन्काउँथे । तर, त्यो टेबुलमा बसेपछि सिद्धान्त, बहस, राष्ट्रभक्ति सबैका कुरा हुन्थे । माध्यम त्यही रक्सी थियो । धेरैपटक पाँच रुपैयाँको लोकल ठर्रा पनि खाइयो ।’

तर, आफूलाई दैनिक मदिरा भने नचाहिने उनी दाबी गर्छन् । भन्छन्, ‘कहिलेकाहीँ हप्ताभरि पनि खाइयो होला, कहिले हप्ताभरि खाइन्थेन ।’

मदिरा सेवनपछि कहीँ कुनै सामाजिक प्रतिष्ठामा आँच आउने काम नगरेको बताउने संग्रौलाको घरमा चाहिँ रमिता नै भएको रहेछ । एउटा उदाहरण सुनाउन कस्सिए, ‘रुसी लेखक निकोलाई गोगोलको ‘गभरमेन्ट इन्स्पेक्टर’ भन्ने नाटकको नेपाली अनुवाद गरेको थिएँ । त्यसलाई रसियन कल्चर सेन्टरले प्रदर्शन गर्ने भएछ । रिहर्सलमा मलाई पनि बोलाइयो, गएँ । बेलुकीपख निर्देशकले कक्टेलको अफर गर्नुभयो । त्यहाँ भोड्कै थियो, मेरो प्रिय भोड्का । पिएँ । साथीले नै गाडीमा छाडिदिनुभयो । तर, घर पस्नुअघि मेरो टोलका मदिराप्रेमीहरूसँग ‘कम्पनी’मा पसेँ । त्यहाँ एक अर्थविद् र अर्का कवि थिए । त्यतिवेलासम्म म ठीकठाक नै थिएँ । एक पेग रोयल स्टेग पिइहालेँ । त्यसपछि किन हो मेरो जिब्रो लरबरिन थालेछ । घरको ट्वाइलेटभित्र पसेर चुकुल लगाएँ । त्यहीँभित्र हराएछु । केही छिनमा श्रीमती कराउन थालिन् । बल्लतल्ल बाहिर निस्किएँ ।’

मदिरा सेवनका यस्ता कहानी सुनाउँदै गर्दा संग्रौलालाई कुनै अपसोच छैन । उनी भन्छन्, ‘संसारमा कोही पनि दुर्गुणविनाका असल मान्छे हुन सक्दैनन् । चाहे बुद्ध हुन्, गान्धी वा माक्र्स नै किन नहून् । म पनि धेरै दुर्गुणले भरिएको एउटा मान्छे हुँ । मबाट कसैले ५१ प्रतिशत असल गुण फेला पार्छ भने त्यो सबैभन्दा ठूलो कुरा हो । मलाई आदर्शवादी देखिनु छैन । म वामविचारधाराको पक्षपाती हुँ, तर ढोँगी होइन । सामन्ती समाजमा पर्दापछाडि बेविचार राख्नेहरू पनि पर्दाअगाडि धुनधान शुद्ध, सङ्लो बन्न खोज्छन् । म थुप्रै दुर्गुणसहितको मान्छे हुँ । तर, सार्वजनिक समाजले मप्रति राखेको अपेक्षा र मेरा दायित्वलाई मैले कहिल्यै बिर्सेको छैन ।’

लेखक संग्रौला मदिराकै मञ्चमा चहार्दै गर्दा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपीओलीको टेबुल पनि सेयर गर्न पुगेका रहेछन् । उनैले खोले यो रहस्य । भने, ‘मदिराको टेबुलमा प्रचण्ड खुबै
रोमान्टिक हुनुहुन्छ ।’

यद्यपि, संग्रौलाको मदिरासम्बन्धी केही मतहरू छन् । कुन वेला खाने, कस्तो खाने, कस्ता मान्छेसँग खाने, कसको निम्ता मान्ने र कसलाई निम्ता गर्ने विषयमा उनी आफूलाई निकै कठोर दाबी गर्छन् । ‘मदिरापानपछि ठूला कुरा गर्ने, ट्राफिक जाम गर्ने, महिलाहरूलाई अपमान गर्ने, ठूलो स्वरमा बोल्ने मान्छेहरू लामो समय मेरो टेबुलमा रहेनन् । म आदर्शवादी सामाजिक न्यायमा समानता, अवसरबाट वञ्चित, विकासको निम्ति अवसर नपाएकाहरूको पक्षपाती हुँ र मेरो टेबुलमा पनि मत मिल्नेहरू नै हुन्छन्,’ यति भनेर संवादको बिट मारे ।