गुड बाई शंखपार्क - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

साउन १, २०७४ शंखपार्कस्थित डेराबाट आज सरेँ, जहाँ मैले करिब एक दशक बिताएँ । सक्रिय जीवनको यो अवधिलाई एकपटक फ्ल्यासब्याकमा हेर्न मन लाग्यो ।

त्यो ठाउँलाई कोही धुम्बाराही भन्थे, कोही चप्पल कारखाना भन्थे, अलि टाढाका कसैले त महाराजगन्ज पनि भने । यी तीनै ठाउँबाट नजिक पर्छ, म बसेको त्यो गल्ली । त्यो गल्लीको नाम वास्तवमा हो ‘प्रगतिटोल मार्ग’ । प्रगतिटोल मार्ग पनि कहीँ नाम हुन्छ ? तर छ । तर, मैले राखेको नाम थियो, ‘शंखपार्क’, किनकि शंखपार्कसँगै जोडिएजस्तै थियो, म बसेको घर र गल्ली । त्यसैले ठेगाना सोध्नेजति सबैलाई म ‘शंखपार्कमा बस्छु’ भन्थेँ । मान्छेहरू मर्निङवाक गर्ने, एक्सरसाइज गर्ने, भेटघाट गर्ने त्यो पार्कको नामबाट मैले त्यस ठाउँकै नाम राखिदिएँ ।

त्यहाँबाट सर्दा एकैतालि दुई ठाउँबाट सरेको महसुस भयो । एक त घरबाट, अर्को त्यो ठाउँबाट । घरसँग जत्तिकै प्रेम ठाउँसँग पनि छ मलाई । सं. २००८ को जुलाई महिना ! विशालनगरको एक कर्नेलको घरमा ११ महिना बिताएर पद्मा दिज्जूको (मेरी फुपू पर्नेकी छोरी) त्यस घरमा सरेको हिजैझैँ लाग्छ ।

सं. २००७ मा आफ्नै घरबाट विशालनगरको डेरामा सर्दा परिवार (पत्नी ईश्वरी, छोराहरू दीपेश र अभिशेष) नेपालबाहिर थिए, अहिले पनि छोराहरू बाहिरै छन् ।

परिवारविहीन एक्लै बस्नुको एकाकीपन र असुरक्षाबाट बच्न नातेदारको त्यो घर रोज्नुको पहिलो कारण थियो । अर्को, प्रायः सबैजसो नातेदारको निवास शंखपार्कबाट टाढा थिएन । बहाल पनि विशालनगरको घरको तुलनामा एकतिहाइले कम थियो ।

त्यस घरभित्र प्रचण्ड गर्मी महसुस कहिल्यै भएन । यो नौ वर्षको अवधिमा पंखा नचलाई नहुने परिस्थिति आइपरेन । जाडोचाहिँ थियो, जुन हिउँदमा काठमाडौंका अरू घरमा पनि हुन्थ्यो । ईश्वरी गुनासो गर्थिन्, ‘यस घरमा जाडो बढी छ,’ । तैपनि, बिजुलीको हिटर हामीले चलाएनौँ, बिजुलीको शुल्क घरबेटी र हामी दुवैले बराबर तिर्ने भएकाले उहाँहरूलाई असजिलो पर्ला भन्ने लाग्थ्यो ।
२०१२ को हिउँदमा ईश्वरीले घरको बाहिर तर कम्पाउन्डभित्र दक्षिणपूर्वी कुनामा एउटा सानो ठाउँ पत्ता लगाइन्, जहाँ दिनभर घाम लाग्थ्यो, हावा चल्दैनथ्यो ।

त्यसपछिका हिउँदहरू उनले जिउलाई खुम्च्याएर त्यही सानो कुनामा घाम तापेर बिताइन् । तर, म धेरै बेर टिक्न सक्दिनथेँ । एक पाखे भएर होला, घाम चर्को हुन्थ्यो । सबैभन्दा पछिल्लो अर्थात् २०१६ को हिउँदमा कतैबाट सानो ब्रान्डी नामक लभ्ली कुकुर हामीलाई आइलाग्यो । ब्रान्डी पनि घाम ताप्ने ठाउँ अन्त नपाएर हो वा सामीप्यता जनाउन हो, चुनुमुनु गर्दै त्यही कुनामा आएर टाँसिएर बस्थ्यो ।

छोराहरूको स्कुल पनि नसकिँदै मैले कृषि विकास बैंकबाट अवकाश लिनुपरेको थियो । त्यस बैंकको प्रमुख पदबाट समय पुगेर अवकाश लिँदा दीपेश स्कुलको नौ क्लासमा र अभिशेष पाँच क्लासमा थिए । ईश्वरीको प्रथम श्रेणी अधिकृतको जागिर कृषि विकास बैंकमै थियो । बच्चाहरूसँग क्यानडा जान उनले पछि जागिर छाडिन् ।

आम्दानीको नाममा बैंक छाडेको पाँच वर्षपछि खान थालेको बिमा समितिको नयाँ जागिर थियो, त्यो पनि शंखपार्क सरेको नौ महिनामै गयो । तर, स्कुलबाट कलेज, स्वदेशबाट विदेश जान खुट्टा उचालिरहेका बच्चाहरूको पढाइखर्च बढ्दो थियो । खर्च धान्न चाबहिलको घर त बेच्यौँ पनि । कतिले प्रतिक्रिया दिए, ‘सम्पत्ति बेचेर ठीक गरेनौ, यति जोड्न अब कहिले सक्छौ ?’ ठीक हो, अब जोड्न नसकिएला । तर, सम्पत्ति जोड्नकै लागि हो र यो जीवन ?

आफू मात्र हुँदा भुइँतला भाडामा लिएको थिएँ, जहाँ दुई साना बेडरुम, ठिक्कको ड्रइङ रुम, एउटा किचेन र एउटा वासरुम थियो । वासरुम र ड्रइङ रुमको बीचमा एउटा डाइनिङ स्पेस थियो, जहाँ कतैबाट पनि उज्यालो नछिर्ने भएकाले २४सै घन्टा बत्ती बाल्नुपथ्र्यो । त्यही डाइनिङ रुमको एक छेउमा हामीले जुत्ताको ¥याक राखेका थियौँ, सायद यो हाइजेनिक व्यवस्था होइन ।

तर, अरू स्पेस थिएन ।

ईश्वरी पनि २०११ मा काठमाडौंमा बस्न थालेपछि त्यो घर आफसे आफ साँघुरो भयो । डेरामा बस्नुलाई ईश्वरीले ‘इन्फेरियर लिभिङ’ ठानिन् । तर, मलाई प्यारो थियो, त्यो डेरा र ठाउँ । उनले त दुई वर्षअघि नै आफ्नै घरमा फर्किने निर्णय गरेकी थिइन् । यसमा हामीमा विवाद भयो । ‘घर कसरी चलाउँछौ ?’ सोधेँ मैले । तरलताको अभाव थियो हामीमा । उनले विदेशमा रहेका छोराहरूसँग पैसा माग्ने कुरा गरिन् । ‘हरेक महिना छोराहरूबाट हामीले आशा गर्ने ?’ मैले यो गलत हुने बताएँ ।

‘उसो भए भगवान्ले पु¥याउनेछन्’ भनिन् ।

यसपछि म कड्किएँ । बोल्दै थिइन्, हिँडे म । त्यसपछि पनि दुई वर्ष थप बसियो डेरामा । डेरामा को बसेको छैन ? हाम्रा पुस्ताका सबै (काठमाडौंका स्थानीयबाहेक) कुनै न कुनै समयमा डेरामै थिए । सं. २००७ मा जब हामी आफ्नो घर बहालमा दिएर विशालनगरको डेरामा जाँदै थियौँ, भर्खरै एसएलसी गरेको १६ वर्षको कान्छो छोराले उसको ममीको कुराले म झोक्राएको देखेर भनेको थियो, ‘डोन्ट ओरी बुबा । पैसा नभएपछि घर बहालमा दिनप¥यो नि ।’ अचम्म लाग्यो, हामी आफ्नो आर्थिक समस्या बच्चाहरूबाट लुकाउने प्रयासमा हुन्थ्यौँ, तर यो त उनीहरूमा छताछुल्ल भइसकेको रहेछ । मेरो आँखा आँसुले भरियो ।

त्यो घर सुरुमा फ्ल्याट ढाँचाबाट बनेको होइन, पछि बाहिरबाट भ¥याङ झिकेर माथिल्लो तलामा जान सकिने बनाइएको हो । ओरिजिनल भ¥याङले गर्दा माथि र तलको बाटो ह्वांगै थियो । भेनिस्ताले बारिएको थियो, पछि त त्यही भेनिस्तामा पनि प्वाल प¥यो । तल बोलिएको माथि सुनिन्थ्यो । आखिर प्राइभेसी भन्ने पनि कुनै चिज हुन्छ, जुन हरेक परिवारलाई चाहिन्छ ।

दुई तला चलाएकाले घरबेटीहरूलाई भने यो समस्या थिएन । करिब १२ वा १ बजेपछि घरबेटीलाई भेट्न मान्छेहरू आउने फ्रिक्वेन्सी बढ्थ्यो, ढोकाको चर्को घन्टी बज्न थाल्थ्यो, तारन्तार । जागिर नहुँदा र घरै बस्नुपर्दा यो डिस्टर्बिङ फ्याक्टर थियो । ईश्वरी त ‘यो घरमा किताब पढ्न सकिएन’ भन्दै एकताका कमलादीको प्रज्ञा भवनको लाइब्रेरीमा दिन बिताउन थालेकी थिइन् । बिहान बसमा एक्लै जान्थिन्, साँझमा उनलाई लिन म एकेडेमी पुग्थेँ ।

मर्निङवाकका साथीहरूको घरमा चिया वा खाजा वा खाना खुबै खाएँ । तर, दिमागमा चसक्क बिझ्ने कुरा छ (रेस्टुरेन्टमा हाँस्दै धेरै कप कफी खाए पनि स्पेस अभावकै कारणले मैले मित्रहरूलाई आफ्नो घरमा स्वागत गर्ने सन्दर्भ जुटेन । हाम्रो बसाइको स्तर सरदर थियो । तर, ‘न्यूनतम’ पनि नभएको लघुताभास हुन्थ्यो, कुनै वेला ।

प्रगतिटोल मार्ग छाडिसक्दा अहिले केही पश्चातापहरू दिमागमा आए– ९० वर्षकी मेरी मुमाको निवास १० मिनेटको पैदल हिँडाइमा थियो । त्यहाँ राति अबेरसम्म कुरा गरेर बस्ने मेरो रहर आफ्नै कारणले पूरा भएन । हिँडेरै फर्किन सक्थेँ । तर, अब सवारीचालकलाई अबेरसम्म नराखी यो सम्भव छैन । डेनमार्कका अस्तित्ववादी दार्शनिक सोरेन किर्कगार्डले मानव जीवनको जटिलतामा प्रकाश पार्दै भनेको कथन सम्झिन्छु, ‘मान्छेले आफ्नो विगतलाई त राम्ररी बुझ्छ, तर उसले भविष्यमा बाँच्नुपर्छ ।’
निवासबाट पाँचै मिनेटमा पुगिने ओलिभ एन्ड बासिल रेस्टुरेन्ट थियो, जसलाई हामी ‘ओलिभ’ भन्थ्यौँ । तीन वर्षअघि रमाइलो घटना ओलिभमा भयो । साँझ ४–५ बजेतिर मर्निङवाकका साथी विवेक निरौला (अहिले जापानमा) र म कफीको लागि त्यहाँ पुग्यौँ ।

भोक लागिरहेको थियो, एउटा भेज मःम पनि मगायौँ । त्यही वेलामा मर्निङवाकका अर्का मित्र कल्पना भाउजूले फोनमा भन्नुभो, ‘हामी पनि ओलिभ आउँदै छौँ ।’ उहाँ आउन लागेकोमा त हाम्रो आपत्ति भएन । तर, भेज मःम एउटा मात्र मगाइयो, र अर्को मगाउन हामीसँग पैसा थिएन । घरबाट टाढा नभएकाले खल्तीमा धेरै पैसा बोकिएको थिएन । ‘अलि ढिलो गरेर आउनुभए हुन्छ,’ भनेँ मैले ।
‘हैन, किन र हामी त ए–वान (ओलिभबाट २०० मिटर) नजिकै आइपुगिसक्यौँ,’ भाउजूले भन्नुभयो ।

देवेन्द्रप्रताप शाह

‘हामी भन्नाले को–को भाउजू ?’ मैले सोधेँ ।

‘सर (श्रीमान्) र म ।’ जवाफ फर्कियो ।

मैले विवेकलाई हेरेँ, उसले मलाई हे¥यो ।

मैले सोधेँ, (म विवेकलाई तिमी भन्ने गर्थें) ‘तिमीसँग पैसा छ त अर्को भेज मःम मगाउन ? कममा पनि दुई प्लेट त चाहिएला, चारजनाको लागि ।’

‘कफी मात्र खान हिँडेको, छैन दाइ,’ विवेकले जवाफ दियो ।

‘अब के गर्ने त ? एक प्लेट भेज मःम चारजनाले बाँड्न त गाह्रै होला,’ म गम्भीर भएँ ।

‘के गर्ने त दाइ ? जे होला,’ विवेकले गम्भीरतापूर्वक लिएन ।

‘तिमी तल (रिसेप्सन र किचेन भुइँतलामा थियो, हामी पहिलो तलामा थियौँ) गएर दुईवटा काम गर यार । एउटा त भेज मःम छिटो भन । अनि, बाहिर निस्केर उहाँहरूलाई केही गरेर अलमल्याऊ, ताकि म आफ्नो भाग मःम खाइसकूँ ।’

‘अनि मेरो भाग नि दाइ ?’ उसले सोध्यो ।

‘त्यसैबाट बाँड्नुपर्ला, अब के गर्नु ? तिमीलाई भन्दा मलाई बढी भोक लागेको छ । तिमी त कफी मात्र खाने भन्थ्यौ नि, घरमा खाजा खाएर आएको जस्तो छौ ।’

‘हैन दाइ, खाएको छैन,’ विवेकले के यति भन्न भ्याएको थियो, ओलिभको बेयरा प्रेम भेज मःम लिएर भ¥याङबाट उक्लिएको देखियो, पछिपछि भाउजूहरू पनि । म त बेहोस भएँ, तर सम्हालिएँ । पेट कराउन थालेको थियो, तर मःम नबाँडी भएन । तीनजनाले बाँड्यौँ । भाउजूले चाहिँ बुझ्नुभो, मःमतिर हात बढाउनुभएन ।

त्यो ठाउँको एक अर्को फाइदा भयो मलाई । कुनै समारोहमा डान्सको कार्यक्रम सुरु हुन लाग्दा लुक्ने गर्थें म, संकोच लाग्थ्यो । आफूलाई डान्सको लागि तानिदेलान् भन्ने डर हुन्थ्यो । यसैले धेरै पहिलेदेखि डान्स क्लासमा जाने रहर थियो, तर एक्लै जान भएन, डान्स स्कुल पनि नजिक हुनुप¥योे ।

पछिल्लो ६ महिना समूहमा डान्स स्कुल (आस्था कला केन्द्र) जाने अवसर मिल्यो, अनौपचारिक गफगाफमा डुब्ने मर्निङवाकका साथीहरूमध्ये चारजना तयार भयौँ । त्यहाँ जाँदा बिहानको समयमा थोरै भए पनि स्किल र एक्सरसाइज दुवैसँग एकैपटक भेट हुन्थ्यो ।

आस्था कला केन्द्र नारायणगोपाल चोकमै थियो, जहाँ पुग्न मेरो निवासबाट बढीमा ८ मिनेट लाग्थ्यो । ६ महिनासम्म त्यहाँ जाँदा सिकिएको खासै महसुस त भएन, दीर्घकालीन कोर्स लिनुपर्ने रहेछ । तर, संकोच हट्यो ।

‘सिक्ने कामलाई उमेरले छेक्दैन,’ पश्चिमाहरू यसैमा विश्वास गरेर प्रगति गर्न सफल भए । हामी एउटा जागिरबाट अवकाश पाउनासाथ ‘बूढा भयौँ’ भनेर हिम्मत हार्छौं । यो गलत विश्वास हो, जसलाई हामीले चिर्नैपर्छ । आफूलाई मन पर्ने नयाँ चिज गर्न कहिल्यै पनि ढिलो हुँदैन । नयाँले जीवनमा ताजापन ल्याइदिन्छ र स्वास्थ्यलाई फाइदा पु¥याउँछ । जे गरिराखिएको छ, त्यसैमा अल्झिराख्नु जीवनको मर्म नबुझ्नु हो ।

त्यहाँको बसाइको आज अन्तिम बिहान, मर्निङवाकपछिको क्षण । यो असामान्य बिहानीमा पनि सामान्य ढंगले हामी मर्निङवाकका साथीहरू ओलिभमा बस्यौँ, कफी खायौँ र सामान्य कुराकानीमै सीमित भयौँ । मित्रहरू हिजो–अस्तिजस्तै छट्टिए, मानौँ म त्यहाँबाट आज सर्न लागेकै छैन । मनमा खुल्दुली मच्चियो । के–के न मैले मात्र ठानेको रहेछु, यो मित्रतालाई । वियोग त मेरो मात्र भएको रहेछ ।

धत् ! दिक्दारीमा फसेँ म । एउटै मित्र शेरबहादुर कार्की (एसपी सा’ब) आफ्नो घर जाने बाटोलाई छाडेर दुई पाइला वरसम्म पु¥याउन आउनुभो, मेरा लागि विशेष यही मात्र भयो । तुरुन्त अमेरिकी लेखिका हेलेन केलरलाई सम्झिएँ । उनी भन्थिन्, ‘सुखको एउटा ढोका बन्द हुँदा मान्छेका लागि अर्को ढोका खुल्छ, धन्दा नमान ।’ यही सम्झेर चित्त बुझाएँ ।

एसपी सा’बसँग छुट्टिएर आज जब निवास पुगेँ, पद्मा दिज्जूलाई माथिबाट हुत्तिएर तलतिर ओर्लिएको देखेँ । ‘म त बाझ्न आएको’ दिज्जूका यी शब्दहरू मेरो कानमा प¥यो । कहिल्यै नभएको के भएछ भन्ठान्दै घरभित्र पसेँ ।

सोधेँ, ‘के भयो दिज्जू ?’

‘तिमीले मेरो नन्दसँग हिजो हामीभन्दा राम्रा मान्छे यहाँ बस्न आउँछन् भनेछौ भाइ, यो तिमीले के भनेको हो, मलाई बुझाऊ । तिमीभन्दा राम्रो मान्छे मेरा लागि को होला ?’ दिज्जू आवेशमा थिइन्, तर अनुहारचाहिँ त्यति बिग्रेको देखिनँ ।

‘आवेशमा नआइस्यो हजुर, कुरा त्यति गम्भीर छैन । हजुरको नन्द हिजो घरको ढोकानिर भेट भएको थियो । पोकापन्तुरा बाँधेको देखेर अब को आउने होला यस घरमा ? भनिस्यो । मैले चिन्ता नगरिस्योस्, राम्रो मान्छे आउँछन् हामीभन्दा भनेर ठट्टामा हाँसेको हो ।

दिज्जूले चाँडै कुरा बुझिन्, शान्त भइन् ।

अनि दिज्जूसँगै माथि उक्लिएँ । घरको सिरान तलाको भान्छानजिकैको कोठाको कुर्सीमा बसेर पद्मा दिज्जू र मैले एकछिन भावुक क्षणको आदान–प्रदान ग¥यौँ । दुवैले त्यो घरमा सरेको वेलालाई पृष्ठभूमिमा राखेर केही क्षणहरू स्मरण ग¥यौँ । छुट्टिने वेलामा हामी दुवैलाई गाह्रो भयो । दिज्जूलाई मैले भनेँ, ‘यो घरमा बसाइको अवधि सकिँदा नरमाइलो लागिरहेको छ ।’

दिज्जूले सुस्केरा हाल्दै भनिन्, ‘सबै कथाको ह्याप्पी एन्डिङ नहुने रहेछ भाइ ।’ मैले उनको अनुहार हेरेँ । कता–कता महसुस भयो, यत्रा वर्षहरूमा पनि दिज्जूलाई गुन लगाउने कुनै काम गर्न सकिनँ मैले, जसले मेरो सम्झना भइरहोस् उनलाई । पीडा महसुस भयो ।

‘यत्रा वर्षहरूमा जानी वा नजानी चित्त दुखाउने काम गरियो कि ?’ त्यस्तो भएको भए माफी दिन मैले दिज्जूसँग आग्रह गरेँ । दिज्जू एकाएक बोल्न नसक्ने अवस्थामा पुगिन्, गला अवरुद्ध भएको देखेँ । हात हल्लाएर मबाट चित्त दुखाउने काम नभएको संकेत गरिन् ।

हामी दुवैको आँखामा आँसु टल्पलायो । एकछिन सन्नाटा छायो कोठामा । दुवै बोलेनौँ । आँसु आँखाबाट गह हुँदै जब झर्न खोज्यो, त्यहाँ बस्न नहुने ठानेर जुरुक्क उठेँ । आउन खोजेको भक्कानोलाई सकभर रोक्दै मन्द आवाजमा ‘म गएँ’ भनेँ । यसपछि दिज्जूको बोलीलाई नकुरी निमेषभरमै दुई भ¥याङ ओर्लिएँ र गाडीनिर आइपुगेँ । अनि केही नसोची गाडी कुदाएँ, बुढानीलकण्ठको दिशातिर …।

गुड बाई शंखपार्क र साथीहरू !