नक्कली क्रिप्टोकरेन्सीका सात कारोबारी पक्राउ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   असोज २१, २०७४

जनार्दन बराल, उमेश पौडेल

अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरी ठगी गरेको आरोपमा सातजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । नेपाल र विदेशमा समेत अवैध क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन र बिटक्वाइन कारोबार गर्ने सातजनाको गिरोहलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले गत बुधबार एकैपटक पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुष्कर कार्कीले बताए । ठगी आरोपमा पक्राउ परेकालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले २५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको डिआइजी कार्कीले जानकारी दिए ।

७ जना ठगहरू पक्राउ

नक्कली क्रिप्टोकरेन्सीको अवैध कारोबारसम्बन्धी समाचार नयाँ पत्रिकाले प्रकाशन गरेपछि प्रहरीले ठगीमा संलग्न गिरोहको अनुसन्धान सुरु गरेको थियो । पक्राउ पर्नेमा स्थायी घर सिन्धुली कल्पवृक्ष–४ तथा सर्लाहीको हरिऔन घर भएर काठमाडौं बस्दै आएका ज्ञानप्रसाद (जिपी) पौडेललगायत छन् । पौडेल ग्र्याभिटी क्वाइनको नाममा नक्कली क्रिप्टोकरेन्सी बनाएर ठगी गर्ने नाइकेमध्ये एक हुन् ।

त्यस्तै, अर्घाखाँची खन–७ स्थायी घर भएर काठमाडौं बस्दै आएका माधव खनाल, काठमाडौं–३४ घर भई कामनपा–४ भाटभटेनी बस्ने प्रशान्तप्रताप शाह पक्राउ परेका छन् । त्यस्तै नुवाकोट बेलकोट–५ टिगाउँ स्थायी घर भएर कलंकी बस्दै आएकी २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोक हेलम्बु–७ स्थायी घर भएका मिङमार तामाङ, कामनपा–९ घर भएर ललितपुर हरिसिद्दी बस्ने दमन बस्नेत र रुपन्देही उपमहानगरपालिका–११ घर भएका मनीषकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ठगी गर्नेले प्रयोग गरेका ल्यापटप, कम्प्युटर, मोबाइललगायत उपकरण जफत गरिसकेको र अनुसन्धानका क्रममा रहेको कार्कीले बताए ।

नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनिमय ऐनअनुसार कारबाही

प्रहरीले नक्कली क्रिप्टोकरेन्सीमार्फत ठगी गर्नेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ । राष्ट्र बैंक ऐनमा क्रिप्टोकरेन्सीका विषयमा उल्लेख छैन । तर, ऐनको दफा ९५ मा जाली वा खोटो वा नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेनमा संलग्न भएमा, विदेशी विनिमय कारोबार गरेमा सजाय हुने व्यवस्था गरेको छ । ऐनको दफा ९६ अनुसार उल्लिखित कसुर गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुनासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । उल्लिखित कसुरसम्बन्धी मुद्दा नेपाल सरकार बादी भई दायर गरिने ऐनको दफा ९७ मा उल्लेख छ । पक्राउ परेकालाई राष्ट्र बैंक ऐन र सोअनुसार बैंकले जारी गरेका आदेश तथा निर्देशनविपरीत कार्य गरेको अभियोगमा कारबाही प्रक्रिया अगाडि बढाइने सिआइबी प्रमुख कार्कीले बताए ।

ठगहरूले विदेशी विनिमयको अवैध कारोबारसमेत गरेको प्रहरीले जनाएको छ । यस्तो कसुरमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ समेत आकर्षित हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए । यो ऐनविपरीत भएको कसुरमा कसुरसँग सम्बन्धित विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई बिगोबमोजिमको जरिवानादेखि बिगोको तीन गुनासम्म थप जरिवाना हुने व्यवस्था दफा १७ मा उल्लेख छ । त्यस्तै, विदेशी विनिमयसँग सम्बन्धित कसुरको बिगो रकम १ करोड रुपैयाँ वा सोभन्दा बढी भएमा त्यस्ता व्यक्तिलाई हुने अन्य सजायका अतिरिक्त तीन वर्षसम्मको कैदसमेत थप हुने व्यवस्था ऐनमा छ । ठगहरूले करिब १० करोड रुपैयाँ ठगी गरेको अनुमान गरिएको छ । यो ऐनबमोजिमको मुद्दा पनि सरकारवादी मुद्दाका रूपमा सञ्चालन हुनेछ । नेपालमा बिटक्वाइनलगायत भर्चुअल मुद्रा कारोबार गर्नु अवैधानिक छ भनेर यसअघि नै नेपाल राष्ट्र बैंकले सूचाना जारी गरिसकेको छ ।

मास्टरमाइन्ड अविनाश शाह अझै पक्राउ परेनन्

नेपालमा ग्र्याभिटी क्वाइनको अवैध धन्दा सञ्चालन गर्ने मास्टरमाइन्ड अविनाश शाह अझै पनि पक्राउ परेका छैनन् । उनी केहीअघिसम्म ग्लोबल करेन्सी रिजर्भ (जिसिआर) नामक क्वाइनको नेटवर्क मार्केटिङमा संलग्न थिए । त्यो समूहमा शाहबाहेक मिङमार लामा, जिपी पौडेललगायत २०–२५ जना थिए । जिसिआरले नेटवर्क मार्केटिङ बन्द गरेपछि अविनाश र जिपीलगायतको समूहले ग्र्याभिटी क्वाइन बनाएर ठगी गर्न लागेको हो ।

सिआइएबीका प्रमुख डिआइजी कार्कीका अनुसार उनी भारतमा लुकेर बसेका छन् । मास्टरमाइन्ड शाहलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरिसकेको र केही दिनमा उनलाई पक्राउ गरिने कार्कीले बताए । नयाँ पत्रिकाले नेटवर्किङ गरेर अवैध धन्दा सञ्चालन गरेको भन्ने समाचार प्रकाशित गरेलगत्तै शाह आफूले बोक्ने दुवै मोबाइल नम्बर स्विचअफ गरेर भारततिर भागेको कार्कीले बताए । निकेल भिन्सेन्टको नाममा ग्र्याभिटी क्वाइनको विकास गर्ने सफ्टवेयर इन्जिनियर कृष्ण झाका बारेमा भने जानकारी नभएको सिआईबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

‘बिटक्वाइनको कारोबार गर्ने अझै ठूलो गिरोह छ’

सिआइबीले गरेको अनुसन्धानले नेपालमा बिटक्वाइनलगायत अवैध क्रिप्टोकरेन्सीको दशौँ अर्बको कारोबार गर्ने गिरोह रहेको थाहा भएको बताएको छ । अविनाश शाह र जिपी पौडेल त्यो समूहमध्येका व्यक्ति भए पनि उनीहरूभन्दा माथि अझै धेरै र ठूलो सञ्जाल यसको अवैध व्यवसायमा लागिपरेको डिआइजी कार्कीले बताए । उनका अनुसार अवैध तरिकाले कमाएको कालो धनलाई वैध बनाउन पनि उक्त गिरोह मरिमेटेर लागिपरेको छ । ‘हाम्रो अनुसन्धानले यो समूहभन्दा माथि अझै धेरै ठूलो समूह सक्रिय रूपमा लागिपरेको पत्ता लागेको छ,’ कार्कीले भने, ‘उनीहरूलाई समेत कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले अनुसन्धान तीव्र पारिसकेको छ ।’

हुन्डी, तस्कर, लागुऔषध कारोबारी, सुन तस्कर र कालोधन कारोबारीको सञ्जाल देश तथा विदेशमा सक्रिय रहेको र उनीहरूले नेपालका साना–सानन एजेन्टलाई प्रयोग गर्दै अवैध क्रिप्टोकरेन्सी कारोबार गरिरहेका छन् । सुन तस्करी, हुन्डी र लागुऔषध कारोबार गर्नका लागि बिटक्वाइनको प्रयोग धेरै भइरहेको प्रारम्भिक जानकारी प्राप्त भएको डिआइजी कार्कीले बताए ।

क्रिप्टोकरेन्सी अवैधानिक हो, कारोबारीलाई कारबाही हुनुपर्छ : राष्ट्र बैंक

बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीलाई नेपाल राष्ट्र बैंकले अवैधानिक भनिसकेकाले त्यसको कारोबार गैरकानुनी भएको नेपाल राष्ट्र बैंकले बताएको छ । ‘हामीले बिटक्वाइन कारोबार अवैधानिक भनेर सूचना जारी गरिसकेका छौँ,’ राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख रमेशकुमार पोखरेलले भने, ‘त्यसअनुसार त्यसको कारोबार रोक्ने र कारोबारीलाई कारबाही गर्ने जिम्मा प्रशासन र प्रहरीको हो । प्रहरीले कारोबारीलाई कारबाही चलाउनु सकारात्मक छ ।’

यसअघि भीष्मराज ढुंगाना राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख हुँदादेखि नै बिटक्वाइनलगायत नक्कली क्रिप्टोकरेन्सीका विषयमा सिआइबी र राष्ट्र बैंकले अनुसन्धान गरेका थिए । सो अनुसन्धानबाट १० हजार नेपालीसँग बिटक्वाइन रहेको पत्ता लागेको ढुंगानाले बताए । ‘प्रहरीले नक्कली क्रिप्टोकरेन्सीका कारोबारीलाई पक्राउ गर्नु सकारात्मक हो,’ ढुंगानाले भने, ‘यो कारोबारमा ठूलो समूह सक्रिय छ, सघन अनुसन्धान जरुरी छ ।’

१० करोड ठगी गरेको प्रारम्भिक अनुमान

सातजना ठगले नेपालमा मात्र १० करोडभन्दा धेरै ठगी गरेको उनीहरूको बयानबाट खुलेको पुष्कर कार्कीले जानकारी दिए । ‘उनीहरूले एकैपटकमा तीन लाख डलरसम्म कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगेको छ,’ डिआइजी कार्कीले भने, ‘ठगहरूले हालसम्म कति कारोबार गरे र कतिजना ठगिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ, चाँडै पत्ता लाग्छ ।’ उनीहरूले कति ठगी गरे भन्ने विस्तृत विवरण अझै गहन अनुसन्धान र अध्ययनपछि मात्र भन्न सकिने कार्कीको भनाइ छ । उनीहरूको सञ्जाल पत्ता लगाउन प्रहरीले २४ सै घन्टा काम गरिरहेकोसमेत जनाएको छ ।