बाबुआमाको मृत्युपछि भेडीखर्केले खुलेर गाए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शान्ता कमली, लमजुङ   |   भदौ २८, २०७४

ब्राह्मण समाजमा छोरा मान्छेले गीत गाउनु गलत हो भन्ने पारम्परिक प्रचलन थियो । त्यही ब्राह्मण परिवारमा जन्मिएका थिए, दीर्घराज अधिकारी । तर, ९ वर्षको उमेरमै उनले सामाजिक र पारिवारिक त्यो प्रचलन तोडिदिए । सायद, जानाजान होइन होला, संगीतको मोहले हुनुपर्छ ।

लहलहैमा तोडेको त्यो परम्परालाई कालान्तरमा उनले वैधानिक बनाए । ब्राह्मणको परिचय पनि लगभग बदलियो । ‘भेडीखर्के साइँला’ नाम बोकेर उनी ठाडो भाकामा रमाउँदै हिँडे । एउटा तागाधारी बाहुन ठिटोले लमजुङका दुरा र गुरुङसेनीहरूसँग ठाडो भाका गाएर कयौँ रात कटाए ।

गण्डकी क्षेत्रको चर्चित भाका हो, ठाडो भाका । दुई दशकयता ठाडो भाकाको एक मात्र अभियन्ताका रूपमा थिए, भेडीखर्के साइँला । ८४ वर्षको उमेरमा भेडीखर्के साइँलाले संसार छाडेर गए । हिजो उनको गायकीलाई लिएर ‘गतिछाडा बाहुन’ भन्ने समाज आज खासखुस गर्दै छ, ‘एउटा द्वीप निभ्यो । ठाडो भाकाको अभियन्ता ढल्यो । अब कसले जोगाउला यो चर्चित भाका ?’ जन्मिएपछि मर्नु त छँदै छ । तर, बाँचुन्जेल के ग¥यो, यो मूल विषय हो । भेडीखर्के साइँलाले जीवनमा धेरै गरेर गए । त्यसैले त उनको मृत्युमा जोडदार प्रश्न उठ्यो, अब कसले जोगाउँछ
ठाडो भाका ?
०००
भेडीखर्केका सहयात्री हुन्, देवीबहादुर गुरुङ । लमजुङे यी गुरुङको मन भेडीखर्केको मृत्युले पोलेको छ । देवीबहादुर चाहन्थे, भेडीखर्के अझै केही वर्ष बाँच्नुपथ्र्यो । किनभने दुई दशकयता ठाडो भाकालाई सही तरिकाले गाउने र जगेर्ना गर्ने एक्लो पात्र थिए, भेडीखर्के । पछिल्ला केही वर्षदेखि नयाँ केही व्यक्तिमा गायनको खुबी सार्ने संघर्षमा थिए, उनी । सिक्दै थिए, केहीले । ‘भेडीखर्के केही वर्ष रहेको भए ठाडो भाकाका नयाँ क्षमता राम्रोसँग जन्माउँथे । कतै भाकै मर्ने त होइन ? मलाई डर छ,’ देवीबहादुरले चिन्ता विसाए ।

नागरिकको लाखौँलाख सम्मान पाएका प्रतिभा हुन्, भेडीखर्के । गण्डकीमा ठाडो भाका गुन्जाएर देशभर ख्याति कमाए । जनस्तरबाटै उनले ‘ठाडो भाका सम्राट शिरोमणि’ उपाधि पाए । तर, राज्यले सम्मानमा सधैँ हात बाँध्यो, यतिसम्म कि मृत्युसँग जुधिरहँदा औषधोपचारमा सहयोग गरेर केही वर्ष बाँच्ने उनको आशा पनि पूरा गरिदिएन । ‘नेताको उपचारका लागि करोडौँ पैसा खर्च गर्ने, तर कलाकारलाई बचाउन कुनै कदम नचाल्ने सरकारको हेलचेक्र्याइँले भेडीखर्केलाई गुमाउनुपर्‍यो,’ देवीबहादुरले गुनासो गरे ।

०००
धेरैले भेडीखर्केको मृत्युपछि ठाडो भाका जोगाउने सवालमा चिन्ता गर्दै छन् । तर, भेडीखर्के भने जीवित छँदै ठाडो भाकाको भविष्यबारे घोत्लिन्थे । माइक्रोफोन समात्नासाथ उनी भावुक मुद्रामा बोल्थे, ‘म परे पनि ठाडोभाका नमरोस् ।’ तर, ठाडोभाका गायनमा माझिएको उत्तराधिकारी तयार नहुँदै उनी बिदा भए ।

अरू धेरै भाका छन्, एउटाको मुखबाट फुत्किएपछि छिन–छिनमै सबैको कण्ठमा छापिन्छ । सजिलै स्वर मिलाउन सक्छन् । तर, ठाडो भाका त्यस्तो होइन । साँच्चै जटिल छ, यो भाका । होइन भने दुई दशकसम्म भेडीखर्के एक्लैले भाका जोगाउनका लागि दौडधूप गर्नुपर्ने थिएन । गायनका लागि उर्बर मानिने लमजुङमा भेडीखर्केको ठाउँमा ठाडो भाका गाउने कयौँ प्रतिभा पैदा हुन सक्थे होला ।

उनले सकिनसकी सिकाउँदा पनि दुई–तीनजना नयाँ कलाकार खारिएर आउन सकेका छैनन् । यो भाका सिक्न र गाउन कठिन छ । जोपायो उसैको कण्ठमा टपक्क मिल्दैन, ठाडो भाका । त्यसैले त आफ्नो  बिँडो थाम्ने नयाँ व्यक्ति जन्माउन नसकेरै बिदा हुनुपर्‍यो, भेडीखर्के ।

०००
ठाडो भाका लमजुङ दुराडाँडाको ठुलो स्वाँराबाट देउबहादुर दुराले गाउन सुरु गरेका हुन् । उनको बिँडो थामे, भेडीखर्केले । ९ वर्षको उमेरदेखि रोदी गाउन सुरु गरेका उनले १२ वर्षको उमेरदेखि नै ठाडो भाका गाउन थालेका थिए । भाकासम्बन्धी उनको कुनै लेखोट थिएन । तर, गाउन खालमा बसेपछि धाराबाहिक गाउँथे ।

सिन्दूरेमा उनका बाबु बलभद्रको भेडीगोठ थियो । स्थानीयले उनका बाबुलाई भेडीखर्के भन्थे रे । भेडीखर्केको साइँलो छोरा भएकाले दीर्घराज अधिकारीको नाम भेडीखर्के साइँला रहन गयो ।

पहिले–पहिले यो भाका केटा–केटा मिलेर गाउँथे । देउबहादुर र पञ्चैसुब्बा गुरुङले गाउँथे । तर, केटा–केटा गाउँदा रौनक नआएपछि देउबहादुरले केटीलाई पनि सिकाए । नेटा हाँडीगाउँकी महारानी ठाडो भाका सिक्ने पहिलो महिला बनिन् । त्यसपछि, देउबहादुर र महारानीको जोडी जम्यो, वर्षौंसम्म ।

यो जोडीपछि भेडीखर्के ठाडो भाकामा भित्रिए । उनले २० वर्षअघिसम्म भक्तिमाया दुरासँग गाए । तर, यो भाका गाउन सक्ने बुढाखाडा सबै थला परेपछि पछिल्लो समय भेडीखर्केले तनहुँ बन्दीपुरका उत्तम गुरुङसँग गाउँदै आएका थिए । जीवनको उत्तरार्धतिर भेडीखर्के भन्ने गर्थे, ‘हाम्रो पालामा विद्यालय थिएनन् । उमेर नपुगुन्जेलसम्म गोठालो जानुपथ्र्यो । गोठालो र मेलापात जाँदा यो भाका गाइन्थ्यो । मैले पनि त्यहीवेला सिकेको हो ।’

राम्रा गला भएकाहरू मेला सकिएपछि रोधी बस्थे । गुरुङ संस्कृतिमा रोधी बस्ने चलन थियो, त्यसवेला । भेडीखर्के पनि यो संस्कृतिमा रमाउन थाले । यो ब्राह्मण जातिको विरुद्धमा थियो । आमाबाबुको आँखा छलेर रोधी धाउन थालेका भेडीखर्के साइँलाको ठाडो भाकाले रोधीमा निकै चर्चा पाउन थाल्यो ।

गोठालो जाँदा गाउँदागाउँदै भेडीखर्के साइँलाले ठाडो भाका सिकेका थिए । मेलापातमा अरूलाई सुनाउन झन् मच्चिन्थे । ‘हुन त हामीले गाउन हुँदैन भन्थे । बाबुको डर लाग्थ्यो । तर, मेलापातमा दुरा, गुरुङहरूले उरालेपछि मैले प्रतिबन्ध तोडेँ,’ केही वर्षअघि लमजुङमै रेडियो अन्तर्वार्तामा भेडीखर्केले विगत स्मरण गरेका थिए, ‘भेडीखर्केले राम्रो गाउँछ भन्दै धेरै परका गाउँसम्म चर्चा चल्न थालेछ ।’

बिस्तारै उनले अझै बाबुको बन्धन नाघ्न थाले । तुर्लुङ, बजारकोट, बयापानी, राइपालीदेखि कुन्छासम्म ठाडो भाका घन्काउने रहरमा पुग्न थाले । ‘बाबु सुतेपछि साथीहरू लिन आउँथे । राति सुटुक्क भागेर गइन्थ्यो, अनि रनवन घन्किने गरी गाइन्थ्यो । बा नउठ्दै घर आइन्थ्यो,’ जीवनको उत्तराद्र्धमा भेडीखर्केले रमाइलो स्मरण गरेका थिए ।

०००
बाबुआमाको मृत्युमा जोकसैको मन पोल्छ । भेडीखर्केको पनि पोल्यो । तर, एउटा पाटोबाट सोच्दा मन खुसी पनि भयो । बाबुआमाको मृत्यु उनका लागि बाटो खुलेजस्तै भयो । ०२४ पछि मात्र बल्ल उनले दिल खोलेर गाउन थाले । त्यो वेला उनी ३५ वर्षका थिए । दक्ष प्रजापतिको यज्ञको अग्निकुण्डमा सतीदेवी हामफालेका पौराणिक कथाहरू उनले ठाडो भाकामा ढालेर गाउँथे । त्यसपछि लमजुङको ठाडो भाका गोरखा, तनहुँ, स्याङ्जा र कास्कीसम्म फैलियो ।

भेडीखर्केलाई ठाडो भाका देशभर फैलाउने जोस चल्यो । विश्वका संगीत देशमा फैलिँदै गर्दा आफ्नै देशको एक कुनामा स्थापित भाका अर्को कुनामा पुर्‍याउने रहर जाग्यो । त्यसैले ०३५ देखि उनी रेडियो नेपाल धाउन थाले, रेकर्ड गराउन । तर, कसैले मतलब गरेन । अन्ततः ०५३ मा अल्ट्रासाउन्ड प्रालिमार्फत सेरोफेरो एल्बममा ठाडो भाका ल्याए । त्यसपछि भने दर्जनभन्दा बढी गीतहरू रेकर्ड भएका छन् ।

०००
भेडीखर्के साइँलालाई ०५५ मा कोइरालाफाँट युवा क्लबले सम्मान गर्‍यो । ०५७ मा सामाजिक सेवा द रेयुकाई नेपाल लमजुङ उपशाखाबाट अभिनन्दित उनलाई ०६८ मा लमजुङ लोकसंस्कृति विकास केन्द्रले ठाडो भाका सम्राट उपाधि दियो । विभिन्न संघसंस्थाबाट दर्जनौँ सम्मान पाएका उनलाई सरकारले भने कहिल्यै सम्मानको ढोका खोलेन । उनकै संरक्षकत्वमा ठाडो भाका लोककला प्रतिष्ठान स्थापना भएको छ । तर, उनको निधनसँगै अन्य उत्तराधिकारी पनि नभएका कारण ठाडो भाका संरक्षणमा चुनौती भने थपिएको छ ।