छात्रवृत्ति पाएर डाक्टर बनेका युवायुवतीको मर्मस्पर्शी कथा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

दीपेन्द्र अधिकारी/नयाँ पत्रिका कोरियन व्यावसायिक संस्था एसवाई ग्रुपले चितवनको रत्ननगर नगरपालिकामा निर्माण सामग्री उद्योग स्थापना गर्न लागेको छ । घर निर्माणका लागि आवश्यक पर्ने सामग्री उत्पादन गर्न बिहीबार पिठुवास्थित गुञ्जमान…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २८, २०७४

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र व्यवसायी मीनबहादुर गुरुङको साझेदारीमा प्राप्त छात्रवृत्तिले डाक्टर बनेका युवायुवतीको कथा

कतिपय व्यक्ति क्षमता भएर पनि जीवनमा पछाडि परेका हुन्छन् । अर्थ र अवसरको अभावले मान्छेको क्षमता कमजोर साबित हुन्छ । तर, क्षमतामा कमजोर हुनेहरू धन र अवसर पाएर पनि पछाडि परेका उदाहरण उत्तिकै छन् । रोल्पाकी धनमाया घर्तीमगर र खोटाङका शैलेश श्रेष्ठ धनमा कमजोर भए पनि क्षमता र अवसरले सफलता चुम्दै गरेका युवा हुन् । उनीहरू पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र व्यवसायी मीनबहादुर गुरुङको साझेदारीमा दिइने छात्रवृत्तिमा एमबिबिएस कोर्स सकेर आफ्नो नामको अगाडि डाक्टर थप्न सफल भएका छन् । डाक्टर बन्नका लागि उनीहरूले लिएको लक्ष्य र गर्नुपरेको संघर्ष मर्मस्पर्शी छ । नयाँ पत्रिकाकी सरला कट्टेलले डाक्टरद्वय धनमाया र शैलेशको संघर्षका कथा समेटेर स्टोरी तयार पारेकी छिन् :

धनमाया नामका अगाडि डाक्टर थपिएर आउँदा उनी त उद्वेलित थिइन् । सायद, बाबुआमा उनीभन्दा झन् धेरै खुसी थिए । धनमाया घर्तीमगरले आफ्नो नामका अगाडि डाक्टर थप्ने सपना पूरा गरिन्, खुसी सीमाभित्रै रह्यो । तर, बाबुआमाले त देख्दै नदेखेको सपना पूरा भयो, अनि खुसीले सीमा नाघ्यो ।

‘मेरो नामको अगाडि डाक्टर थपिँदा मेरो सपना त पूरा भयो नै, बाबुआमाको त नसोचेको सपना पूरा भयो । मभन्दा बढी उहाँहरू दंग हुनुहुन्छ,’ डा. धनमायाले सुनाइन् ।

धनमाया जन्मिइन्, रोल्पाको विकट गाउँ नुवामा । अभाव र दुःख बाल्यकालमा उनका सखी थिए । तिनै अभाव र दुःखसँग रमाउँदै, सामना गर्दै स्कुले शिक्षा लिइन् । औपचारिक शिक्षामा वञ्चित परिवारभित्रबाट उनी शिक्षाको ज्योति बाल्न सक्रिय थिइन् । गाउँकै श्री अरनिको उच्च माविबाट एसएलसीसम्मको अध्ययन सकिन् ।

०००

निःशुल्क भनिएको स्कुले शिक्षा सक्न नै आर्थिक अभावले पेलेको धनमायालाई उच्च शिक्षामा कदम चाल्न काँडेतारमा हिँड्नुबराबर थियो । तर, पढेर उज्ज्वल भविष्य कोर्ने उत्कट चाहनाले उनको मनमा बाजा बजाइरहन्थ्यो ।

पढ्नुपर्छ भन्ने चेतना परिवारका अन्य कुनै सदस्यमा थिएन । बाबुआमा ठान्थे, नपढे केही हुन्न, काम नगरे बाँच्न सकिन्न । ‘मलाई बाबुआमाले भन्नुहुन्थ्यो– नपढ्दा पनि बाँच्न सकिन्छ, तर काम नगरे भोकै भइन्छ,’ उनले ती दिन स्मरण गरिन् ।

पढ्ने मात्रै होइन, उनी त डाक्टरी नै पढ्न चाहन्थिन् । एसएलसीमा प्राप्त पहिलो श्रेणीको नतिजाले पनि उनको मनलाई ‘सेतो गाउनमा सजिएर गलामा आला झुन्ड्याउँदै बिरामीहरूको उपचारमा सक्रिय रहने रहरतिर’ धकेलेको थियो । अझ गाउँघरतिर पढाइको महŒव बुझेकाहरूले ढाडस दिन्थे, तिक्ष्ण दिमाग भएकाहरू त डाक्टर–इन्जिनियर पो बन्नुपर्छ । ‘घाँस, दाउरा गर्दै पढियो । राति एकछिन समय निकालेर पढ्थेँ । पढाइप्रतिको इच्छाले स्कुलमा कहिल्यै दोस्रो हुनुपरेन । तर, एसएलसीपछि अध्ययनलाई निरन्तरता दिन समस्या पर्ने देखियो,’ धनमाया सम्झिन्छिन् ।

तर, दैवले भन्छ रे– तँ आँट, म पुर्‍याउँछु । धनमायाको जीवनमा यो भनाइ सत्यसावित भयो । काठमाडौंमा दुःखजिलो गरेर पढ्दै गरेका दाइले उनको चाहनामा साथ दिए । त्रिचन्द्र क्याम्पसमा आइएस्सी भर्ना भएर पढ्न सुरु गरिन् । अब डाक्टर बन्ने उद्देश्यका लागि उनका पाइला अगाडि बढे ।

एमबिबिएस पढ्न बाटो खुलेपछि खुसीसँगै मलाई विगतको बोझले थिच्यो, आमाका आँसुले झस्कायो, दाइ र दिदीको अकालको मृत्युले जिम्मेवारीबोध गरायो –डा. धनमाया

उता रोल्पामा आमाका आँखामा आँसु कहिल्यै ओभाउँदैनथ्यो । काठमाडौंको बसाइमा आमाको सम्झनाले धनमायाको छाती पोल्थ्यो । आमाका आँखामा आँसुको सागर बनाउने घटनाका कारण पनि उनलाई डाक्टर बन्नु थियो, लक्ष्य मनमा गढेको थियो ।

धनमाया सानै थिइन् रे, उनका एक दाजु र दिदीलाई झाडापखालाले लैजाँदा । घर्तीमगर परिवारका तीन छोरा र तीन छोरीमध्ये एक छोरा र एक छोरीलाई झाडापखालाले खोसेको रहेछ । ‘मेरा एक दाइ र एक दिदी झाडापखालाकै कारण बित्नुभयो । मैले सानैदेखि आमाका आँखामा आँसुको सागर देख्दै आएँ । म त्यतिखेरै ठान्थेँ, डाक्टर बन्न पाए अकालमा ज्यान गुमाउनुपर्ने कैयौँलाई बचाउन सक्ने थिएँ,’ उनले विगतको पीडा मनमा खेलाइन् ।

०००

आइएस्सी सक्दैमा डाक्टर बन्ने रहर कहाँ पूरा हुन्थ्यो र । त्यो त केवल एक पाइला मात्रै थियो । परिवारको बलमा डाक्टरी प्राप्त गर्ने सम्भावना कुनै कोणबाट पनि थिएन । तर, रहर मारिनन् । रहर र इच्छाशक्तिले मान्छेलाई कहिलेकाहीँ ठूलो अवसरसम्म पनि पुर्‍याइदिन्छ । यस्तै भयो, धनमायाको जिन्दगीमा ।

आइएस्सीमा उत्कृष्ट अंकसहित उत्तीर्ण भएपछि एमबिबिएसको तयारीमा सक्रिय रहिन् उनी । पढाइमा अब्बल धनमायाले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा नाम निकाल्न पनि सफल भइन् । तर, एमबिबिएस अध्ययनका लागि भर्ना गर्न चाहिने रकमको अभाव भयो । एमबिबिएस पढ्ने रकम नभएपछि बिएसस्सी अध्ययनलाई निरन्तरता दिन थालिन् ।

तर, पढाइकै क्रममा उनको जिन्दगीमा नयाँ मोड आयो । एमबिबिएस पढ्न पाइने साझेदारी छात्रवृत्तिबारे आफन्तबाट जानकारी पाइन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र व्यवसायी मीनबहादुर गुरुङको संयुक्त सहयोगमा दिइने साझेदारी छात्रवृत्तिबारे विस्तृत जानकारी लिएर आवेदन पनि दिइन् । धनमायाको भाग्य खुल्यो, छात्रवृत्तिमा नाम निस्कियो ।

‘मलाई त्यसवेला एउटा भनाइ याद आयो । भगवान्ले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे ! छात्रवृत्तिमा नाम निस्केपछि होजस्तो लाग्यो,’ उनले भनिन् ।

०००

एमबिबिएस पढ्न बाटो खुलेपछि तत्काल त धनमायाको जीवनमा खुसीका फोहोरा छुटे । तर, बिस्तारै उनी गम्भीर बन्न थालिन् । ‘खुसीसँगै मलाई विगतको बोझले थिच्यो । आमाका आँसुले झस्कायो । दाइ र दिदीको अकालको मृत्युले जिम्मेवारीबोध गरायो,’ उनले त्यो पल सुनाइन्, ‘अब गम्भीर भएर कुशल डाक्टरका रूपमा रोगीहरूको सेवा गर्नुपर्छ, मेरी आमाजस्ता हजारौँ आमाहरूका आँखामा आँसुको सागर बन्न दिनुहुन्न भन्ने कुराले मेरो मनमा लगाम लगायो ।’

०००

सन् २०१० मेदेखि एमबिबिएस अध्ययन सुरु गरेकी उनी चार वर्षमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डाक्टर बनेर निस्किइन् । २०१६ सेप्टेम्बरमा उनको मिहिनेतले पूर्ण रूप पायो । अहिले उनी गृहजिल्ला रोल्पाकै सुवर्णवती गाउँपालिकामा रहेको सुवर्णवती स्वास्थ्य केन्द्रमा ‘इन्टर्न’का रूपमा कार्यरत छिन् ।

छात्रवृत्ति प्रदायकहरूको सम्झौताअनुसार उनी अब त्यहाँ चार वर्ष काम गर्नेछिन् । अहिले काम गरिरहेको स्वास्थ्यचौकी उनको गाउँबाट करिब ८–१० घन्टाको पैदल दूरीमा पर्छ । त्यहाँ उनकै गाउँबाट पनि उपचार गराउन पुग्छन् । आफ्नै गाउँलेको स्वास्थ्योपचार गर्न पाउँदा उनी मख्ख छिन् । ‘आफ्नै गाउँमा आएर आफ्नैहरूको सेवा गरिरहेकी छु । यो मेरा लागि खुसी र भाग्यको कुरा हो,’ मख्ख पर्दै उनले भनिन्।

सेवा गर्छु भनेर मात्र नहुने रहेछ, बिरामी आउँछन्, औषधि हुँदैन, जोस र जाँगर भएर पनि काम गर्ने वातावरण नहुँदा निराशा जाग्दो रहेछ –डा. शैलेश

रोल्पाकी धनमायाजस्तै खोटाङका शैलेशको डाक्टरी यात्रा पनि संघर्षशील छ । खोटाङको बुइपामा जन्मेका शैलेशले स्थानीय श्री पञ्चावती माविबाट एसएलसी सके ।

स्कुलमा सकेसम्म पहिलो स्थान चुम्ने शैलेश, दोस्रो स्थानमा आक्कल–झुक्कल पर्थे । तर, उनको संघर्ष धनमायाको जत्तिकै कहालीलाग्दो भने छैन । शैलेशलाई बाबुआमाको ढाडस पूरापूर रह्यो । शिक्षित थियो परिवार । तर, उनको डाक्टर बन्ने यात्रा सहज भने पक्कै छैन ।

एसएलसी पहिलो श्रेणीमा उत्तीर्ण गरेपछि विराटनगर झरेर कोसी हेल्थ कलेजमा ‘डिप्लोमा इन फार्मेसी’ पढ्न भर्ना भए । तर, उनको लक्ष्य यतिमा मात्रै सीमित थिएन । डाक्टर बन्ने रहरले उनको मन पनि गिजोलिरहेको थियो । भन्छन्, ‘डाक्टरको मुख देख्न महिनौँ लाग्ने ठाउँमा जन्मेको म, उपचार नपाएर धेरैले ज्यान गुमाएको आफ्नै अगाडि देखेँ । त्यसैले डाक्टर बन्ने सपना थियो ।’

फार्मेसी सकेपछि अब के पढ्ने भन्ने दोधारमा पुगे शैलेश । एमबिबिएस पढ्ने रहर पूरा गर्ने हालतमा थिएन परिवार । शिक्षित भए पनि गरिबीले गाँजेको थियो । छोरालाई डाक्टर बनाउन ५० लाख जुटाउन कताबाट सक्नू ?

०००

विराटनगरमा फार्मेसी सकेर उनी काठमाडौं आए । एमबिबिएस बन्ने बाटो खोजिरहेका उनले एउटा दैनिक पत्रिकामा साझेदारी छात्रवृत्तिको बारेमा विज्ञापन देखे । ‘मलाई लाग्यो, मेरो रहर पूरा हुने उपयुक्त विकल्प साझेदारी छात्रवृत्ति हुन सक्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर सबै कुरा बुझेँ । साझेदारी छात्रवृत्तिमा आवेदन दिएँ,’ उनले त्यो कथा सुनाए ।
०००

पाटन अस्पतालले वर्षमा दुईवटा साझेदारी छात्रवृत्ति कोटा निकाल्ने गर्छ । केही पैसा प्रतिष्ठान आफैँले व्यहोर्छ भने केही रकम कुनै संस्था वा व्यक्तिले । सन् २०१० मा भने खोटाङ र रोल्पाका लागि कोटा छुट्याइएको थियो । धनमाया र शैलेशले त्यही ब्याचमा भाग्य खुलाए । डा. शैलेशले सम्झिए, ‘छात्रवृत्तिमा नाम निस्किएको खबर सुन्नासाथ मैले तत्काल निर्णय लिएँ, पढाइ सकेपछि आफ्नै गाउँमा गएर सेवा गर्नेछु । आज चार वर्षपछि उनको निर्णय पूरा भएको छ । अहिले उनी खोटाङमै ‘इन्टर्न’ गरिरहेका छन् ।

शैलेश अहिले खोटाङ सदरमुकाम दिक्तेलमा रहेको जिल्ला अस्पतालमा काम गरिरहेका छन् । सम्झौताअनुसार उनले पनि धनमायाले जस्तै चार वर्ष जिल्ला अस्पतालमा काम गर्नुपर्नेछ ।

०००

चार वर्षे एमबिबिएस कोर्स सकेर आफ्नै ठाउँमा डाक्टरको हैसियतमा जाँदा कस्तो लागेको छ त ? शैलेशले जिज्ञासा मेट्दै भने, ‘धेरै खुसी छु । आफ्नो रहर पूरा भएको अनुभूत भइसकेको छ । तर, काम धेरै छन् । खोटाङ जिल्ला अस्पतालको हालत भने पुरानै अवस्थामा छ । सामान्य आइसियुसमेत छैन । जिल्ला अस्पतालमा एमबिबिएसको मात्रै कोटा छ । गम्भीर बिरामी आउँदा काठमाडौं पठाउनुपर्ने अवस्था छ ।’

डा. शैलेशले जिल्लाको स्वास्थ्यमा सुधार्नुपर्ने धेरै पाटा देखिरहेका छन् । तर, एक्लो जोडले केही हुनेवाला छैन । स्रोतसाधन उपलब्ध गराउने निकाय अर्कै छ । उनले त स्रोतसाधनका भरमा बिरामीको सेवा गर्ने हो । ‘गाउँमा साधारण उपचार गर्न डाक्टर नै पाइन्नन् । अस्पतालमा औषधि भेट्न मुस्किल पर्छ । मैले सेवा दिइरहेको अस्पतालमा सामान्य अपरेसन गर्ने अवस्था पनि थिएन । अहिले हामीले सुरुवातको प्रयास गरेका छौँ । सेवा गर्छु भनेर मात्र नहुने रहेछ । सरकारले निःशुल्क उपलब्ध गराउँछु भनेको औषधि पनि पाइँदैन । बिरामी आउँछन्, औषधि हुँदैन । जोस र जाँगर भएर पनि काम गर्ने वातावरण नहुँदा हामीजस्ता युवामा निराशा जाग्दो रहेछ,’ शैलेशले स्वास्थ्य सेवाको अवस्था दर्शाए ।

एमबिबिएस कोर्स सकेर इन्टर्न गरिरहेका शैलेश थप अध्ययनको सोचमा छन् । चिकित्सा पेसालाई निरन्तरता दिँदै इन्टरनल मेडिसिन पढ्ने योजना उनले सुनाए ।

०००

धनमाया र शैलेशको सानैदेखिको लक्ष्य, लक्ष्य चुम्न गरेको संघर्ष र संघर्षभित्रबाट उदाएको अवसरले प्राप्त गरेको परिणाम धेरैका लागि अनुसरणीय हुन सक्छ । दुवैको संघर्षशील कथाले एउटै सन्देश दिन्छ, लक्ष्यमा लागिरहे सफलता पक्कै हात लाग्छ ।